आर्थिक अपराधको जालो

आर्थिक अपराधको जालो

आर्थिक अपराध आधुनिक अवधारणा हो । विश्वमा दु्रत गतिले भइरहेको भौतिक विकास, आर्थिक उन्नति तथा नयाँ–नयाँ प्रविधिको आविष्कार, सूचना प्रविधिमा आएको प्रगतिले अपराध जगतमा समेत निकै प्रभाव पारेको छ । यस परिस्थितिमा अपराध र यसका आयामहरू पनि परिवर्तन हुँदै गएका छन् । विगतमा अपराध भन्नासाथ जुन बुझाईले काम ग-यो अबको समयमा त्यति बुझाइ अपुग हुनथालेको छ । विश्वमा जति–जति सूचना र प्रविधिको विकास हुँदै गएको छ उति–उति नै नवीन अपराधको जन्म पनि भएको छ ।

आर्थिक अपराध विश्वका सबै ठाउँमा घटित हुने अपराध हो । यस्तो अपराध संगठित आपराधिक समूहहरूद्वारा अन्तरदेशिय सञ्जालका रूपमा गरिने प्रवृति बढ्दै गएको देखिन्छ । आर्थिक अपराध प्रत्यक्ष पैसा आर्जनका लागि मात्र गरिने हुँदा यो अपराधलाई अर्थशास्त्रीहरू अप्रत्यक्ष वा अहिंसात्मक अपराध पनि भन्दछन् । आर्थिक अपराधले कुनै पनि राष्ट्रको समग्र अर्थतन्त्र नै ध्वस्त बनाइदिन सक्दछ । आर्थिक अपराधको चक्रव्यूहबाट बाहिर निस्कन विकासशील देशहरूलाई मात्र नभई विकसित देशका लागि पनि हम्मे–हम्मे परेको स्थिति छ ।

अनधिकृतरूपमा रकम वितरण गर्ने, पदीय, दायित्व निर्वाह नगर्ने, मालसामानको गुणस्तरमा परिवर्तन गर्ने, कृत्रिम अभावको सिर्जना गर्ने, सरकारविरुद्ध जालसाजी गर्ने, बैंकिङमा जालसाजी गर्ने, बीमा तथा कर ठगी आर्थिक अपराधका केही स्वरूपहरू छ । नेपालमा प्रारम्भिक समयदेखि नै ठगी र किर्तेको रूपमा देखिएको आर्थिक अपराध निरन्तरको विकासक्रमसँगै बैंक तथा वित्तीय संस्थाहरूको स्थापना र संचालनको बढ्दो क्रमसँगै मुलुकको वित्तीय प्रणालीमा पनि देखापरेको छ । विश्वव्यापी सञ्जाल प्रगाढ हुँदै जानु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरसञ्जाल र आर्थिक कारोबारमा सूचना र प्रविधिको बढ्दो प्रयोगले आर्थिक कारोबारलाई आज नागरिकको सहज पहुँचमा पु¥याएको त छ साथमा अपराधलाई पनि बढाइदिएको छ ।

आर्थिक कारोबार कार्य प्रकृतिका आधारमा उच्च जोखिममा सञ्चालन हुने व्यवसाय भएकाले यस व्यवसायमा अपराध तथा सुरक्षाको जोखिम पनि बढ्दोरूपमा देखिँदै आएको छ । सूचना र प्रविधिको विकास, विकसित सहरीकरण र विलासी चाहनाले मानिस आर्थिक अपराधको बाटोतर्फ उन्मुख भएको देखिन्छ । विश्वका सबै मुलुकमा आर्थिक कारोबारमा सूचना र प्रविधिको निरन्तर विकास र विश्वव्यापीकरणको सकारात्मक र नकरात्मक दुवै प्रभाव परेको देखिन्छ ।

संगठितरूपमा विशेषज्ञको मदत लिएर यी अपराध घटाइने हुँदा यो अपराधको भेउ पाउन निकै कठिन हुने देखिन्छ । आर्थिक अपराधबाट राष्ट्रको विकास र सुरक्षामा पनि नकारात्मक असर पर्दछ । संक्रमणकालीन समाजका लागि त आर्थिक अपराध निकै चुनौतीपूर्ण विषय हो । किनभने आर्थिक अपराधको प्रकृति जटिल, उल्झनयुक्त र दुविधाग्रस्त हुन्छ । त्यस्तो समाजमा एकातिर संक्रमणकालका कारणले सार्वजनिक संरचनाले सामान्य काम त गर्न सकेका हुँदैन भने त्यसैमाथि आर्थिक अपराध भए यसले राष्ट्रिय अर्थतन्त्र नै ध्वस्त बन्न सक्दछ । त्यसैले आर्थिक अपराध संक्रमणकालीन समाजका लागि दुई धारे तरबारजस्तै हो ।

आर्थिक अपराधलाई कतिपय विद्वानहरू श्वेतग्रिभी अपराध भनेर पनि भन्दछन् । श्वेतग्रिभी अपराधलाई एक नवीन र आधुनिक अपराधका रूपमा लिने गरिन्छ । श्वेतग्रेभी अपराधको जन्म विश्वमा औद्योगिक क्रान्तिपछि भएको मानिन्छ । औद्योगिक क्रान्तिपछिको समयमा नै समाजले आधुनिक विज्ञान र प्रविधिको क्षेत्रमा तीव्ररूपमा नयाँ–नयाँ उपकरणको विकास गर्न थाल्यो, जसका कारणले मानवीय क्रियाकलापमा परिवर्तन आए । आधुनिक प्रविधिको प्रवेशले समाजको मूल्य र मान्यतामा पनि परिवर्तन ल्यायो ।

एकातिर जहाँ प्रविधिले मानिसलाई भौतिक सम्पन्नता र सुगमता प्रदान गर्दै गयो भने अर्कातिर तिनै प्रविधिको गलत प्रयोगले अपराध र तिनका प्रकृतिमा व्यापक हेरफेर पैदा हुन गए । त्यसैले अपराधशास्त्रीहरूको मत छ विज्ञान र प्रविधिले विश्वमा सबैभन्दा बढी फैलाएको अपराध आर्थिक अपराध हो । आर्थिक अपराध आज विश्वको हरेक कुनामा पुगेको छ । विकासले भरिपूर्ण राष्ट्रदेखि अविकासको थुप्रोमा जकडिएको हरेक समाजमा आर्थिक अपराध व्याप्त छ ।

श्वेतग्रिभी अपराध भनेको समाजका प्रतिष्ठित र उच्च घरानाका व्यक्तिहरूले आफ्नो पैसा र व्यवसायको सिलसिलामा कानुनको उल्लंघन गरेर गरिने अपराध हो । यो अपराधको प्रभाव बहुआयामिक मानिन्छ । एकातिर यो धनाढ्य वर्गबाट हुने हुँदा नियन्त्रणमा समस्या उत्पन्न हुन्छ भने अर्कोतर्फ यसबाट सामाजिक विकास, नैतिकता र मूल्य मान्यताहरू हराएर जान्छन् । यस्तो अपराधको प्रकृतिमा भ्रष्टाचार, घुसखोरी, कालो बजारी, कार्टेलिङ सिन्डिकेट, खाद्य एवं पिउने पदार्थमा मिसावट, लागू औषध बेचबिखन तथा ओसार पसार, स्वास्थ्य क्षेत्रमा व्यापार र एकाधिकार, गलत तथा भ्रामक विज्ञापन, सरकारी कर्मचारीद्वारा पैसा र पदको आडमा गरिने गैरकानुनी गतिविधि पर्दछन् । नेपालमा आर्थिक अपराधअन्तर्गत खासगरी यी अपराध ज्यादा मात्रामा हुने गरेको पाइन्छ । (१) करछली (२) कालोबजारी (३) खोटाचलन अपराध (४) बैंक तथा वित्तीय अपराध (५) सम्पत्ति शुद्धीकरण अपराध (६) साइबर अपराध आदि ।

विश्व व्यापार संगठनका अनुसार व्यापारिक सामान आयात गर्दा बुझाउनुपर्ने महसुल नबुझाउनु, कुनै पनि व्यापारिक कार्यमा लागेको प्रतिबन्ध छलेर वा छल्ने उद्देश्यले गरिएको कार्य, आफूले फिर्ता नपाउने महशुल फिर्ता लिनु वा पाउन गरिने कार्य, बैंक व्यापारलाई हानी नोक्सानी पु-याउने उद्देश्यले गलत फाइदा प्राप्त गर्ने वा प्रयत्न गर्ने कार्यलाई करछली भनिन्छ । नेपालमा कर छली नगरी कारोबार गर्ने व्यापारी औँलामा गन्न सकिन्छ । नेपालमा करछलीलाई बढी मलजल गर्ने तत्वमा राजनीति र कर्मचारी तन्त्र प्रमुख छन् ।

कालोबजारी नैतिक, सामाजिक र आर्थिक अपराधका साथ साथै एक गम्भीर फौजदारी अपराध पनि हो । कालोबजारी अपराध प्रत्यक्षरूपमा उपभोक्ता हितविरुद्धको अपराध हो । नेपालमा कालोबजारी अपराध निकै खिल गाढेर बसेको अपराधअन्तर्गत पर्दछ । नेपालमा कालोबजारसम्बन्धी अपराधको नियन्त्रणमा रहेका केही समस्याहरूअन्तर्गत एकलवादमा आधारित व्यावसायिक पद्धति, प्रतिबन्धित व्यावसायिक पद्धति र अस्वच्छ व्यावसायिक पद्धति मुख्य छन् ।

निर्धारित गुणस्तरअनुरूप नभई प्रचलित कानुनका दृष्टिमा दोषयुक्त मानिने मालसामानको व्यवहार, सरकारबाट अनुमति नलिई ढक, माना, पाथी, गज, मिटर आदिको आफूखुसी गरिएको चलन खोटा चलन अपराध हो । खोटा चलन अर्थशास्त्रसँग सम्बन्धित एक विशेष आर्थिक अपराध हो । मुद्रा तथा नोटमा मात्र नभई नापतौल, टिकट, खाने चिजबिज उपभोग र प्रयोगका मालवस्तुसम्बन्धी विषयहरूलाई पनि यसले समेटेको छ । नेपालका बजारमा यी विषयसँग सम्बन्धित धेरैखाले अपराध रहने गरेको पाइन्छ ।

सम्पत्ति शुद्धीकरण भन्नाले अशुद्ध धनलाई शुद्ध धनमा रूपान्तरण गरिने कार्य हो । सम्पत्ति शुद्धीकरणकै प्रक्रियाबाट अवैधानिकरूपमा आर्जन गरिएको आयलाई कानुनी आयका रूपमा परिवर्तन गरिन्छ । यो एउटा यस्तो अपराधिक गतिविधि हो जसमा अपराधी र गैरकानुनी माध्यमबाट कमाएको सम्पत्तिलाई बढो नाटकीयरूपमा कानुनी वा सफेद आय बनाइन्छ । वित्तीय अपराधअन्तर्गत पर्ने यो यस्तो अपराध हो जसमा कालोधनको वास्तविक स्रोत र उत्पत्ति लुकाउने र विभिन्न कारोबारको माध्यमबाट नयाँ कानुनी स्रोत सिर्जना गरी शुद्ध बनाउने कोसिसमा अपराधीहरू लागिरहन्छन् ।

आर्थिक अपराधले आर्थिक तथा भौतिक अपराधका धेरै आयामहरू समेटेको हुन्छ । नेपालमा यो किसिमको अपराधलाई गम्भीर फौजदारी अपराधको रूपमा हेरिन्छ । अर्थतन्त्रको आयतन र आर्थिक क्षेत्रको स्रोतलाई हेर्दा नेपाल खासै ठूलो आर्थिक हब त पक्कै होइन तर हाम्रो आफ्नै परिप्रक्ष्यमा हेर्ने हो भने नेपालमा आर्थिक अपराधको जालो व्यापक भैसकेको छ । हामीकहाँ आर्थिक अपराध नियन्त्रणका लागि कानुनी संरचना त केही मात्रामा तयार भएका देखिन्छन् तर प्रविधिगत रूपमा यो अपराध नियन्त्रणका लागि खासै धेरै काम भएको छैन । नेपालमा पछिल्लो समय भ्रष्टाचारको अपराध निकै बढेको र सामाजिक मान्यता पनि कम्जोर बन्दै गएको छ। यस्तो परिस्थतिमा आर्थिक अपराधको वृद्धि अझै हुन्छ । आर्थिक अपराध एक जटिल अपराध हो । यसको व्यापकता भएको समाजमा अन्य अपराधमा पनि बढावा आउने हुँदा यसलाई समयमै नियन्त्रण गर्नु बुद्धिमता मानिन्छ । आर्थिक अपराध रोकथामका लागि राज्य सधैँ सजग रहनुपर्दछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie