सिङ्गो गाउँ नै किबी खेतीमा

सिङ्गो गाउँ नै किबी खेतीमा

दोलखा, पुस २७
कालिञ्चोक गाउँपालिकाको एक वडालाई किबी पकेट क्षेत्र घोषणा गरिएको छ । उच्च भेगमा रहेको कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ का किसानले गाउलाई किबी पकेट क्षेत्रको रूपमा विकास गर्न भन्दै सामूहिक किबी खेती सुरु गरेका छन् । दुई सय १४ हेक्टरमा फैलिएको जमिनमा करिब ४० हजार किबीको बिरुवा रोपिएको छ । गाउँपालिकाले किसानलाई निःशुल्क किबीको बिरुवा वितरण गरेको थियो । शुक्रबार एक औपचारिक कार्यक्रम आयोजना गरी एक सय ३४ जना कृषकहरुले बिरुवा रोपेर सामूहिक खेतीको आरम्भ गरेका हुन्

कालिञ्चोक गाउँपालिकाको चाथली क्षेत्रमा किबी जोन दोलखाले जमिन परीक्षण गरेको थियो । किबी उत्पादनको लागि जमिन प्रमुख भूमि देखिएकाले केही गैरसरकारी संस्थाको सहकार्यमा गाउँपालिकाले दुई सय ५० किसानलाई ४० हजार किबी बिरुवा वितरण गरेको कालिञ्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामीले जानकारी दिए । अध्यक्ष थामीले स्थानीय किसानसँग सहजीकरण गरेर किबी उत्पादन समूहको फर्म निर्माण गरी किबीका बिरुवा वितरण गरेको बताए । स्थानीय कृषकलाई भूकम्प कार्डको आधारमा किबीको बिरुवा वितरण गरिएको हो ।

चाइथलीका कृषक गाउँपालिका र गैरसरकारी संस्थाको पहलमा आधुनिक प्रणालीबाट खेती गर्न पाएपछि खुसी भएका छन् । सो क्षेत्रमा सुरु गरेको किबी खेतीको नियमित रूपमा गाउँपालिका र किबी जोन दोलखाले अनुगमन गरिरहनेछ । त्यस्तै भर्खरै खुलेको लापिलाङ कृषि प्राविधिक स्कुलका विद्यार्थी आफ्नो तालिमको प्राक्टिकल सोही पकेट क्षेत्रमा गर्नेछन् । अहिले सोही विद्यालयका करिब एक सय विद्यार्थीले किबी रोप्न सहयोग गरेका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie