गल्याङमा सबै किसानको समूह बनाइने 

गल्याङमा सबै किसानको समूह बनाइने 

गल्याङ, कात्तिक २०
स्याङ्जाको गल्याङ नगरपालिकामा रहेका सबै किसानहरूको समूह बनाइने भएको छ । किसानका समस्या समाधान र अनुदानमा सहजीकरण गर्नका लागि सबै किसानलाई समूहमा बाँडिने भएको हो । स्याङ्जाको गल्याङ नगरपालिका ८, झोल्पेमा एक समूह गठन गरी यसको सुरुवात गरिएको छ । झोल्पेमा ‘गलौँदी–झोल्पे’ कृषक समूह गठन गरिएको छ । मंगलबार बिहान गरिएको एक कार्यक्रममा समूह गठन गरिएको हो । स्थानीय कृषक छविलाल खरालको अध्यक्षतामा नौ सदस्यीय मूल कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा चित्रबहादुर सारु, सचिवमा मथुरा खराल र कोषाध्यक्षमा यामकुमारी थापा चयन भएका छन् । यसैगरी सदस्यहरूमा निमनाथ खराल, तिला खराल, गंगा न्यौपाने खराल, कोपिला थापा र देविप्रसाद खराल चयन भएका छन् । 

सदस्यमा भने झोल्पेका २८ घरधुरीका एक/एक जनाका दरले सहभागी हुने बताइएको छ । समूह गठन कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले किसानको काम गर्नका लागि नै आफू नगरप्रमुख भएको बताए । उनले किसानको अवस्थामा सुधार नगर्दासम्म भाषण गरेर मात्रै नहुने भन्दै नगरपालिकाको सम्पूर्ण शक्ति किसानको अवस्था सुधार्न केन्द्रित गर्ने जानकारी दिए । गतवर्ष नगरपालिकाबाट अदुवा वितरण गरिएको प्रसङ्ग कोट्याउँदै उनले अहिले नगरपालिकामा आठ करोडको अदुवा भएको बताए । अब नगरपालिका मसला जोनमा प्रवेश गरेको भन्दै उनले थप अदुवा लगाउने वातावरण बनाउन आफूले कदम चालेको स्पष्ट पारे । नगरप्रमुख अधिकारीले भने, ‘किसानले आफैँ बिक्री गर्न नसके लागत मूल्यको दोब्बर मूल्यमा खरिद गर्ने व्यवस्था नगरपालिकाले मिलाउनेछ ।’ 

केही महिनामा नै बाँझो जग्गा रहन नदिने गरी नीति बनाउने भन्दै उनले भएको जग्गाको सदुपयोग गर्नुपर्नेमा जोड दिए । किसान समूहमार्फत किसानका वास्तविक समस्याहरू आफूसम्म ल्याउन र समाधानमा लाग्नका लागि गल्याङ नगरपालिकाका सबै किसानहरूको समूह गठन गर्ने प्रक्रियामा रहेको उनले बताए । कार्यक्रममा गल्याङ नगरपालिकाका पशुशाखा प्रमुख सुशिल अर्यालले किसान समूहमार्फत किसानको सहजताको काम गरिने बताए । अर्यालले नगरपालिकाबाट प्राप्त हुने अनुदान र त्यसको व्यवस्थापनका लागि किसानहरूको समूह बनाउनुपर्ने आवश्यकता रहेको बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस