मकैमा देखिएको अमेरिकी फौजी किरा नियन्त्रणमा 

मकैमा देखिएको अमेरिकी फौजी किरा नियन्त्रणमा 

स्याङ्जा, कात्तिक १९
स्याङ्जाको गल्याङ नगरपालिकामा लगाइएको बेमौसमी मकै खेतीमा देखिएको अमेरिकी फौजी किरा नियन्त्रणमा आएको छ । नगरपालिकाका कृषि प्राविधिकको पहलमा अमेरिकी फौजी किराको प्रकोप नियन्त्रणमा आएको हो । नगरपालिकाका कृषि शाखा प्रमुख शिव ढकालले मकैका बोट कलिलै अवस्थामा भएकाले अमेरिकी फौजी किरा नियन्त्रण गर्न सकिएको बताए । असोज २३ गते शाखा प्रमुख ढकालसहितको टोलीले रोग प्रभावित मकै लगाइएको क्षेत्रमा पुगेर मकैमा लागेको रोग पत्ता लगाइएको थियो । ढकालले मकैमा लागेको रोग अमेरिकी फौजी किरा भएको पत्ता लागेपछि नियन्त्रणको प्रयास भएको बताए । 

नगरपालिकाका कृषि प्राविधिकहरू गिरिराज रेग्मी र सविता पाण्डेले किटनासक विषादी प्रयोग गरेर मकैमा देखिएको फौजी किरा नियन्त्रण गरिएको हो । समयमै अमेरिकी फौजी किराको प्रकोप पहिचान भएकाले नियन्त्रण गर्न सकिएको प्रमुख ढकालले बताए । आगामी वर्ष ‘पुस एण्ड पुल’ पद्दतिबाट मकै लगाई रोग लाग्न नदिने व्यवस्था गरिने उनले जानकारी दिए । ढकालका अनुसार ‘पुस एण्ड पुल’ सिद्धान्तअनुसार नेपियर र डेस्मोडीयम घाँस प्रयोग गरी किरा नियन्त्रण गरिनेछ । उनले भने, ‘मकैको बीचमा डेस्मोडिएम घाँस र ओर पर नेपिएर घाँस लगाउने प्रविधि हुन्छ, जसमा डेस्मोडिएम घाँसको गन्धले किरा मकैबाट पर भाग्छ र वरपर लगाएको नेपिएर घाँसमा अन्डा पार्छ । यसरि मकैमा किराको प्रकोप कम हुन्छ ।’ 

यसैबीच, गल्याङ नगरपालिका वडा नम्बर सात छाम्माटेमा किसानले लगाएको धानबालीमा देखिएको फौजी किरा पनि नियन्त्रण गरिएको छ । यस ठाउँमा देखिएको जिवाणु अमेरिकी फौजी किरा नभई फौजी किरा मात्रै रहेको कृषि अधिकृत तथा नगरपालिका कृषि शाखा प्रमुख शिव ढकालले जानकारी दिए । कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा दिएको स्याङ्जाको गल्याङ नगरपालिकाले किसानहरूको समस्या समाधानका लागि दक्ष कृषि प्राविधिक तथा पशु प्राविधिकको व्यवस्था गरेको छ । उनीहरू दिनरात तथा बिदाको समयमा पनि किसानको समस्या भएमा परिचालित हुने गरेका छन् । तरकारी खेती, अन्य खेती तथा पशुमा रोग देखिएमा नगरपालिकाबाट तुरुन्तै उपचारको व्यवस्था भएपछि किसानहरू उत्साहित भएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस