विदेशबाट फर्केर ‘फूल’खेती

विदेशबाट फर्केर ‘फूल’खेती

तुलसीपुर, कात्तिक १४
दाङको घोराही उपमहानगरपालिका–१४ झिगौरामा व्यावसायिक रुपमा सयपत्री फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । अन्य स्थानमा पनि व्यावसायिक रुपमा नभए पनि फूलको खेती गर्न थालिएको छ । झिंग्रौरा निवासी लोकेन्द्र रोकामगरले व्यावसायिकरुपमा सयपत्री फूलखेती गरेका हुन् । शुरुका केही वर्ष तिहारको लागि मात्र उनले फूलखेती गरेका थिए । 

पछिल्लो समयमा आएर व्यावसायिकरुपमा नै अगाडि बढेको उनको भनाइ छ । उनले जलजला पुष्पखेती फार्म दर्ता गरेर सयपत्रीको व्यावसायिक रुपमा खेती सुरु गरेका छन् । अहिले १२ कट्टा जग्गा भाँडामा लिएर खेती गरेका उनले वार्षिक ४८ हजार भाँडा तिर्ने गरेको बताए । आउँदो वर्ष १८ कट्टामा फूलखेती उनको भनाइ रहेको छ । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोकामगरले जिल्लामा दशैँतिहारलगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फूलको माग देखे पछि फूलखेती गर्ने थालेको बताए । 

‘दाङमा व्यावसायिकरुपमा फूलखेती कतै थिएन, काठमाडौँतिर फूलखेती पनि व्यावसायिकरुपमा गरेको देखेको थिए अनि यहाँ मैले गरेको हुँ’, रोकाले भने । अहिले उनले भारतको कोलकत्ताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्री फूलको बीउ ल्याएर व्यावसायिक खेती गरेका छन् । घोराही बजार नजिकै फूलखेती गरे पछि आफूलाई बजारको लागि कुनै पनि समस्या नभएको रोकाले बताए ।

दैनिकजसो फूलको अडर आउने गरेको छ’, उत्पादन गरेको फूल कहाँ लिएर बिक्री गरौँ भन्ने समस्या छैन’, रोकाले भने । आफूले उत्पादन गरेको फूल जिल्लामा नै सकिने गरेको उनको भनाइ रहेको छ । जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङका शहरबाट समेत फूल लिन आउने गरेका छन् । ‘

काठमाडौँबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन’, रोकाले भने । मागअनुसार जिल्लामा फूल उत्पादन हुन नसकेको उनको भनाइ छ । अहिले उनले एक वटा मालालाई १०० रुपैयाँमा बिक्री गर्ने गरेको बताए । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले यस वर्षदेखि बाह्रै महिना फूल उत्पादन गर्ने बताए । गत वर्ष उनले गरेको फूलखेतीबाट एक लाख रुपैयाँ नाफा गर्न सफल भएको बताए । आफूसँगै परिवार तथा अन्य तीनजनालाई समेत रोजगार प्रदान गरेको उनको भनाइ छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस