नवकान्तिपुर सहकारीको नाफा छ करोड

नवकान्तिपुर सहकारीको नाफा छ करोड

काठमाडौं, असोज १३
नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले करिब छ करोड नाफा कमाउन सफल भएको छ । संस्थाको २२औँ साधारण सभामा संस्थाको मुनाफा पाँच करोड ९० लाख ५४ हजार दुई सय ५६ रूपैयाँ कायम भएको जानकारी दिइएको हो । संस्थाले आव ०७५/७६ को मुनाफाबाट सदस्यहरूलाई १८ प्रतिशतको दरले लाभांश वितरणको लागि प्रस्ताव समेत गरेको छ । 

संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले आव ०७५/७६ को असार मसान्तसम्ममा संस्थाको कुल निक्षेप दुई अर्ब १८ करोड १२ लाख ९१ हजार एक सय ७१ रूपैयाँ कायम भएको बताए । त्यस्तै कर्जा लगानी एक अर्ब ३५ करोड ५१ लाख २९ हजार चार सय ६२ रूपैयाँ पुगेको छ । 

त्यस्तै संस्थाको चुक्ता पुँजी छ करोड १९ लाख १४ हजार तीन सय रहेको छ भने जगेडा तथा अन्य कोषहरू १५ करोड ७८ लाख ५७ हजार चार सय ८० रूपैयाँ रहेको छ । साथै संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने र हालको कार्यक्षेत्रअन्तर्गतका काठमाडौँ जिल्लाको बुढानिलकण्ठ नगरपालिका, ललितपुर जिल्लाको इमाडोल, भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकामा सदस्य सेवाकेन्द्र खोल्ने योजना बनाएको उनले बताए । 

संस्थाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले लक्षित क्षेत्रमा छरिएर रहेको अनियन्त्रित पुँजीलाई एकत्रित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरेर सहकारी क्षेत्रले देशका न्यून तथा मध्यमवर्गीय समाजमा उल्लेखनीय योगदान पु-याएको बताए । संस्थाले तीन जना ज्येष्ठ सदस्यलाई १० हजार एक रूपैयाँ नगदसहित नवकान्तिपुर ज्येष्ठ सदस्य सम्मान २०७६ बाट सम्मानित गर्नुका साथै २०७६ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गरेका ११ जना सदस्यका छोराछोरीहरूलाई १० हजार एक रूपैयाँ नगद पुरस्कारसहित ‘नवकान्तिपुर एसईई सम्मान २०७६’ बाट सम्मानित गरेको छ । 

१५ वर्ष संस्थामा निरन्तर कार्य गरिरहेका कर्मचारीलाई ७५ हजार एक रूपैयाँ नगद पुरस्कारसहित ‘दीर्घसेवा पदक २०७६’ बाट पुरस्कृत गरिएको संस्थाले जनाएको छ । विसं २०५४ सालमा स्थापना भएको यस नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारण सभा तथा २२औँ वार्षिकोत्सव समारोह गत मंगलबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यमा धुम्रबराह पार्टी प्यालेस, धुम्बाराही काठमाडौँमा सम्पन्न भएको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie