एकै बोटमा सात क्विन्टलसम्म स्याउ उत्पादन

एकै बोटमा सात क्विन्टलसम्म स्याउ उत्पादन

बझाङ, असोज ९
खप्तड छान्ना गाउँपालिका वडा नं. ६ राजकोट घर भएकी हरूनीदेवी थापाको आयस्रोतको मुख्य आधार स्याउ खेती बनेको छ । आठ जनाको परिवार रहेको उनको परिवारमा कोही पनी जागीरे छैनन् । तीन छोरा, तीन छोरी र बुढाबुढी गरेर आठ जनाको परिवार रहेका उनको आयस्रोतको अन्य माध्यम नभए पनि स्याउ बिक्री गरेर नै वार्षिकरूपमा आठ लाखभन्दा बढी कमाइ हुनेगरेको छ । एकै बोतबाट सात क्विन्टलसम्म स्याउ उत्पादन हुने गरेको हरूनीदेवी थापाले बताइन् । स्याउका धेरै बोटहरू पनि छैनन् । १५÷२० बोटबाट राम्रै आम्दानी भइरहेको छ । छोराछोरीको पढाइ खर्चदेखि घरायसी खर्च, लुगाकपडा सबै चिजको जोहो स्याउ बिक्री गरेर नै हुनेगरेको उनले बताइन् ।

केही दिनअघि मात्रै लागेको खप्तड छान्ना गाँउपालिका वडा नम्बर ६ मा पर्ने शैडाँडा मेलामा एकै दिन आफूले ७५ हजारको स्याउ बिक्री गरेको थापाले बताइन् । आलु, चोतो(मुला), रायोलगायतका तरकारीहरू पनि करेसाबारीमा लगाएर केही रकम त्यहाँबाट पनि आम्दानी गर्नेगरेको उनका श्रीमान् विर्जन थापाले बताए । उनले धर्तीबाट नै हिरामोती फलाउन सकिने बताए । आफूहरूले गर्नसके विदेशमा समेत जान नपर्ने उनको भनाइ छ ।

‘मेरै गाँउका कतिपय व्यक्तिहरू भारतमा रोजगारीका लागि गएका छन्’ थापाले भने, ‘म पनि लामो समय भारतको सिम्ला भन्ने ठाँउमा रोजगारी गरेर छोराछोरीलाई पाल्दै आएको थिएँ । त्यहाँ स्याउ निकै फल्थ्यो र पछि गएर आफूले पनि आफ्नै जन्मभूमिमा गएर स्याउ लगाएर यही नै आम्दानीको स्रोत बनाउने सोचेर स्याउ खेती गर्न सुरु गरेको हो ।’ अहिले भने स्याउबाटै वार्षिकरूपमा मनग्य आम्दानी गर्नेगरेको उनको भनाइ छ । गाँउकै माथितिर आडेगडामा उनले स्याउ खेती गरेका छन् ।

४० वर्षदेखि स्याउ लगाएका भए पनि व्यावसायिक रूपमा भने आफूले स्याउ खेती गर्न थालेको ४/५ वर्ष मात्रै भएको थापाको भनाइ छ । अब यसैलाई व्यावसायिक रूपमा खेती गरेर छोराछोरीहरूलाई रोजगारीका लागि विदेश नपठाउने सोच आफ्नो रहेको थापाले बताए । स्याउ राम्रो फल्ने भए पनि बजार नपाइने भएका कारण आफूहरूले सास्ती खेप्नु परेको उनको गुनासो उनको छ । अहिले स्याउ बिक्रीका लागि बाजुरा र बझाङका केही स्थानीय बजारबाट माग आएको उनको भनाइ छ ।

‘सिंचाईको सुविधा नभएर समस्या भएको थियो ।’ उनले भने, ‘अहिले खप्तड छान्ना गाँउपालिका र वडा नम्बर ६ को सहयोगमा सिंचाईको समेत सुविधा भएको छ ।’ अब झन् बढी स्याउ उत्पादन गर्न सकिने उनको विश्वास छ । खप्तड छान्ना गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तिलककुमार खड्काले सिंचाईको सुविधाका लागि आफूले पहल गरिरहेको बताए ।

स्याउ खेती गर्ने किसानहरूका लागि वडाले प्राविधिक सहयोगदेखि थप स्याउका बिरुवाहरू वितरण गर्दै आएको उनले बताए । थापा परिवारले मात्रै नभएर अरु कृषकहरूलाई समेत स्याउ खेती गर्न प्रोत्साहन गरेको उनले बताए । अबको केही वर्षभित्रै खप्तड छान्ना गाँउपालिकाबाट स्याउ बाहिर पठाउन सक्ने वातावरण सृजना गर्ने लक्ष्य गाँउपालिकाको रहेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie