युरिया मलको अभाव

वीरगञ्ज, असोज ७
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीको लापरबाहीका कारण पर्साका किसानहरू मलबाट वञ्चित भई समस्या झेलिरहेका छन् । किसानलाई युरिया मलको खाँचो छ तर कृषि सामग्री र साल्ट ट्रेडिङमा भने डीएपी मल सञ्चय छ । दुवै कम्पनीले डीएपी मल आवश्यकता भएको बेला युरिया मल सञ्चय गरेका थिए भने अहिले युरिया आवश्यक भएको बेलामा डीएपी सञ्चय गरेर राखेका छन् । किसानहरूले भने धान रोप्ने बेलामा डीएपी मलको आवश्यकता हुनेगरेको र सो बखत दुई हजार एक सय ५० रूपैयाँ पर्ने डीएपी दुई हजार सात सय रूपैयाँ तिरेर खरिद गर्नुपरेको बताएका छन् ।

किसानहरूले धान रोप्ने बेलामा डीएपी मल प्रयोग गर्दा सो मलले तीन महिनासम्म धान्ने र त्यसपछि गोडमेल गर्दा युरिया मलको आवश्यकता पर्ने गरेकोमा अहिले युरियाको अभाव भएको जनाएका छन् । पर्सा जिल्लामा अहिले ९० प्रतिशत धान रोपाइँ भइसकेको छ र डीएपी मलको आवश्यकता छैन । अहिले किसानहरू धानखेतीको गोडमेलमा लागेका छन् । उनीहरूलाई युरिया मलको आवश्यकता छ । डीएपी मलको अभाव झेलेका किसानहरू अहिले युरिया मलको अभाव झेलिरहेका छन् ।

सहकारीहरूले कृषि सामग्री र साल्ट ट्रेडिङसँगको मिलेमतोमा किसानको नाममा मल उठाउने र ती मललाई सञ्चय गर्ने तथा आवश्यकता परेको बेलामा महँगो मूल्यमा बिक्री गर्ने कार्य विगत केही वर्षदेखि गर्दै आएका छन् । नक्कली सहकारीको नाममा दुवै कम्पनीबाट मल खरिद गर्ने घटना पछिल्ला चरणमा थुप्रै भेटिएका छन् । तर मिलेमतो भएको कारण कारबाही भएको छैन । किसानको नाममा सहकारीहरूले लाने मल गाउँटोलमा अहिले तस्करीको कारण बढी मूल्यमा बिक्री भइरहेको छ । एकजना किसानले महँगो मूल्यमा युरिया खरिद गर्नुपरेको र केही किसानहरूले भारतबाट ल्याउनुपरको बताए । 

असार, साउनमा खेत रोपाइँ गर्दा डीएपीको लागि यसैगरी महँगो मूल्यमा खरिद गर्नुपर्ने अथवा भारतबाट ल्याउनुपर्ने भएको थियो । कृषि सामग्री कम्पनी वीरगञ्जका प्रमुख गोविन्द पराजुलीले डीएपी मल सञ्चित रहेको र अबको १० दिनमा युरिया मल पनि आउने बताए । यसैगरी, साल्ट ट्रेडिङ कम्पनीका प्रमुख अनोज लामिछानेले पनि युरिया मलको अभाव रहेको र डीएपी मल सञ्चित रहेको बताए ।

उनले कम्पनीले मगाएको युरिया मल असोज १९ गतेको हाराहारीमा आइपुग्ने जानकारी गराए । कृषि सामग्री कम्पनीले भने यसअघि साउनमा आउने गरी मगाएको डीएपी अहिले आइपुगेको छ । समयमा नआएको डीएपी अब सहकारीहरूले खरिद गर्ने र सञ्चय गर्ने तथा पुनः किसानहरूलाई आवश्यकता परेको बेलामा महँगो मूल्यमा बिक्री गर्ने गरेका छन् । 

तस्करहरूसँगको साँठगाँठका कारण दुवै कम्पनीले अनुकूल समयमा मल नल्याउने र प्रतिकूल समयमा ल्याएको मल विभिन्न तरिकाबाट तस्करहरूलाई सुम्पने गरेका छन् । एक जना कारोबारीले सहकारी तथा ढुवानीका ठेकेदारहरूको मिलेमतोमा मलको तस्करी हुनेगरेको बताएका छन् । उनीहरूको इसारामा साल्ट ट्रेडिङ र कृषि सामग्रीले मलमा अनियमितता गर्ने गरेको थाहा हुन आएको छ । प्रतिसय बोरा १० हजारसम्म घुस लिएर ढुवानी ठेकेदार तथा सहकारीलाई मल दिने गरिएको स्रोतले जनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie