सहकारीमार्फत समृद्धिका कार्यक्रम चलाउन स्थानीय सरकारलाई आग्रह

सहकारीमार्फत समृद्धिका कार्यक्रम चलाउन स्थानीय सरकारलाई आग्रह

काठमाडौं, असोज ६
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले स्थानीय तथा प्रदेश सरकारले सहकारीमार्फत काम गर्ने गरी नीति तथा कार्यक्रम बनाउनुपर्ने बताएकी छिन् । उनले स्थानीय र प्रदेशले सहकारीका लागि बजेट छुट्याएको भए पनि पर्याप्त नरहेको बताइन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक प्रादेशिक गोष्ठीको आइतबार उद्घाटन गर्दै मन्त्री अर्यालले स्थानीय तहले सहकारीमार्फत परिचालन गर्ने पैसा न्यून छुट्याएको बताइन् । सहकारीमार्फत समृद्धिका कार्यक्रम अगाडि बढाउन उनले स्थानीय सरकारलाई आग्रह समेत गरिन् । सीप सिकाउने र क्षमता वृद्धि गराउनका लागि समेत सहकारीसँग स्थानीय सरकारले सहकार्य गर्नुपर्नेमा उनको जोड थियो । 

‘जनप्रतिनिधि र सहकारी अभियन्ता सबैले समृद्धका लागि एउटा न एउटा उत्पादनको काममा लाग्नुपर्छ’, उनले भनिन्, ‘माटोले के रोज्छ र नजिकको बजारले के खोज्छ त्यहीअनुसार काम गर्नुस् ।’ पत्येक पालिकामा एक सहकारीले नमूनायोग्य काम गर्नुपर्नेमा उनको जोड थियो । उनले भनिन्, ‘कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सके लोकतन्त्र सफल हुन्छ । अविश्वास र खतरा भयो भने गणतन्त्र जोगाउन नसकिने भएकाले सबैले जनतासँग नजिक सम्बन्ध भएको सहकारीमार्फत सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।’ कार्यक्रममा प्रदेश ३ का १३ जिल्लाका स्थानीय तहका जनप्रतिनिधि कर्मचारी र प्रदेश ३ का प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको छ ।’ 

कार्यक्रममा भारतको इफ्कोका प्रबन्धनिर्देशक यूएस अवस्थी कृषि उत्पादनमा उपयोगी हुने सामग्रीहरु सहयोग गर्ने बताउँदै महासंघसँग मिलेर आगामी दिनमा नेपालको किसानका लागि सहयोग गर्ने बताए । यूएनडीपीकी आवासीय प्रतिनिधि एशनी लावेले जलवायु परिवर्तनका कारण कृषिमा समेत समस्या देखिएकाले यो विषयमा महासंघसँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताइन् । प्रदेश सभा सदस्य सरस्वती बस्नेतले प्रदेश ३ ले सहकारीमार्फत सिन्धुली दुधौलीमा एक सय ५१ बिघा जमिन र चितवनको माडीमा एक सय २१ बिघा जमिन एकीकृत गरी गर्नलागेको खेतीमा सहयोग गरेको बताइन् । गोष्ठी सोमबारसम्म चल्नेछ । 

महासंघद्वारा अवस्थी सम्मानित : सहकारी स्वामित्वमा चलेको विश्वको सर्वाधिक ठूला सहकारीमध्येको एक इफ्को सहकारीका प्रबन्धनिर्देशक यूएस अवस्थीलाई राष्ट्रिय सहकारी महासंघले सम्मान गरेको छ । इफ्कोमा ३६ हजारभन्दा बढी सहकारी समिति सदस्य रहेका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल र महासंघका अध्यक्ष केशव बडालले इफ्को प्रबन्धनिर्देशकलाई सम्मान गरेका थिए । इफ्कोले नेपालको कृषि क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको छ । नियमित रुपमा प्रशिक्षण गराउँदै आएको छ । अवस्थी सोमबार स्वदेश फर्किँदै छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie