ग्रामीण भेगमा खुल्न थाले दूग्ध चिस्यान केन्द्र

ग्रामीण भेगमा खुल्न थाले दूग्ध चिस्यान केन्द्र

दोलखा, असोज १
ग्रामीण भेगमा दूग्ध चिस्यान केन्द्र खुल्न थालेका छन् । ग्रामीण भेगका कृषकहरूले गाईभैँसी पालन गरेर दुध उत्पादन गरी बिक्रीवितरण गर्न थालेपछि स्थानीय तहमा चिस्यान केन्द्र खोल्न थालिएको हो । स्थानीय सरकारले पशुपालक कृषकलाई अनुदान दिन सुरु गरेसँगै दुध र तरकारी उत्पादकको संख्या वृद्धि भएको हो । दुर्गम गाउँअन्तर्गत पर्ने जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर ६ तीनपिप्लेमा धेरैजसो कृषकले गाईभैँसी पालन गरेर राम्रो आम्दानी हुनेगरेको बताएका छन् ।

मेलुङमा उत्पादन गरेको दुधलाई व्यवस्थापन गर्नका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेर दूग्ध चिस्यान केन्द्र स्थापना गरी प्रयोगमा ल्याएको छ । मेलुङ गाउँपालिको अनुदान सहयोगमा गाउँघर साना किसान कृषि सहकारीले व्यवस्थापन गर्ने गरी दूग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । चिस्यान केन्द्र सञ्चालनका लागि गाउँपालिकाले पाँच लाखको अनुदानमा चिस्यान केन्द्रका लागि आवश्यक सामग्रीहरू खरिद गरी वितरण गरेको थियो । गत वर्ष प्रदेश सरकारले मेलुङ गाउँपालिकाका कृषकहरूका लागि गाई खरिद गर्न २५ लाख अनुदान वितरण गरेको र सोही रकमवाट गाई खरिद गरी ३० घर परिवारले गाई पाल्दै आएका छन् । 

किसानहरूले प्रतिलिटर दुधको फ्याटको आधारमा ६६ रूपैयाँसम्म पाउने गरेको साना किसान कृषि सहकारीका अध्यक्ष श्रीराज पोखरलले जानकारी दिए । कृषिमा उत्पादन बढाउने उद्देश्यले कृषकहरूका लागि सहुलियत कर्जामा सहकारीले एक करोड रकम लगानी गरेको उनले बताए । त्यस्तै गरी जिल्लाको कालिन्चोक गाउँपालिकाको वडा नम्बर ९ मा पनि स्थानीय गाईभैँसी पालन गर्ने कृषकले उत्पादन गरेको दुध जम्मा गर्नका लागि वडाको आर्थिक सहयोगमा दूग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको कालिन्चोक गाउँपालिका वडानम्बर ९ का वडा अध्यक्ष रामप्रसाद मैनालीले जानकारी दिए ।

वडाले गत आर्थिक वर्षदेखि गाईभैँसी पालन गर्ने चाहाना भएका कृषकलाई अनुदान दिन भनेर वडाले तीन लाख बजेटमार्फत अनुदान दिँदै आएको वडा अध्यक्ष मैनालीले बताए । गाउँघरमा स्थापना भएका कृषि सहकारी र कृषि समूहले सहकार्य गरेर पछिल्लो समय गाउँघरमा धेरै मात्रामा दुध संकलन केन्द्रहरू बन्न थालेका छन् । 

जिल्लाको बैतेश्वर गाउँपालिकाले पनि आगामी मंसिर महिनादेखि सञ्चालन हुनेगरी चिस्यान केन्द्र निर्माण गरिरहको छ । गाउँपालिकाको ७५ लाख बजेटमा सबै वडालाई समेट्ने गरी चिस्यान केन्द्र निर्माण गरिरहेको बैतेश्वर गाउँपालिकाले जनाएको छ । पछिल्लो समय जिल्लाका अन्य दुर्गम ग्रामीण भेगमा रहेका गाउँपालिकाले पनि आफ्नो ठाउँमा दूग्ध, तरकारी, फलफूल चिस्यान केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको जनाएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie