‘स्थानीय तहमा उद्योग खोल्न आवश्यक’ 

‘स्थानीय तहमा उद्योग खोल्न आवश्यक’ 

काठमाडौं, भदौ २०
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले हरेक स्थानीय तहमा उद्योग खोल्न आवश्यक रहेको बताएकी छिन् । नेपाल सहकारी पत्रकार समाजको नवौँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले सहकारीहरूलाई सहकारी उद्योग स्थापना गर्न आग्रह गरिन् । 

संमृद्ध देश निर्माणका लागि सहकारीले हरेक स्थानीय तहमा उद्योग खोल्न आवश्यक भएको उनको भनाइ छ । साथै उनले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताइन् । ‘अब हरेक सहकारीले एउटा उद्यममा लगानी गर्नुपर्छ’ उनले भनिन्, ‘सहकारीका अगुवाले भाषणा भाषण गर्ने मात्रै होइन ।’ सहकारी संस्थाहरू एकीकृत उत्पादनमा लागेमा बढ्दो व्यापारघाटा कम गर्न सकिने उनको भनाइ छ । ‘हाम्रो भूमि खाली भयो । अब भूमिको अधिकतम् प्रयोग गरेर उत्पादन बढाउनुपर्छ’ उनले भनिन् । 

मन्त्री अर्यालले पठ्यक्रममा सहकारीको विषयवस्तु समावेश गर्न लागिएको र त्यसका लागि त्रिभुवन विश्वविद्यालयलाई अनुरोध गरिसकेको बताइन् । ‘सहकारी क्षेत्रमा केही नयाँ गर्नेगरी सरकार अगाडि बढेको छ,’ उनले भनिन् । उद्यमशीलता बढाउनकै लागि सहकारीको सन्दर्भ ब्याजदर निर्धारण गरिएको उनको भनाइ छ । ‘केही प्राविधिक विषय मिलाउने भन्दै मन्त्री अर्यालले भनिन्,‘अभियानकै अनुरोधमा कार्यान्वयन सुरु भइसकेको छ ।’ मन्त्री अर्यालले भूमिलाई निजी सम्पत्तिको रूपमा स्विकार गरिसकेपछि अहिलेको अवस्थामा भूमिलाई राष्ट्रियकरण गर्न सम्भव नभएको भन्दै बताइन् । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीलाई उत्पादनमा जान नीतिगत समस्या रहेको बताए । सहकारी उद्योग स्थापना गर्न दर्जनौँ कानुन सुधार गर्न आवश्यक भएको उनको भनाइ छ । सहकारी ऐन संशोधन गर्ने क्रममा रहेकाले ऐन संशोधनपश्चात् सहकारी मोडेल अर्थतन्त्र निर्माण गर्न नीतिगत सुधार गर्नुपर्ने बडालले बताए । राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीको विकासका लागि बोर्डले नीतिगत सुधार गर्दै आएको बताए । 

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल, महासंघका उपाध्यक्ष एवम् अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल मेम्बर ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष डीबी बस्नेत, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, काठमाडौँ जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रशाद चौलागाई, सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईँलगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष काजी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तुलसी सुवेदीले गरेका थिए । 

साथै कार्यक्रममा दुई पत्रकार सम्मानित भएका छन् । समाजको नवौँ स्थापना दिवसका अवसरमा क्लिमान्डुमा कार्यरत पत्रकार सोभित थपलिया पुरस्कृत भएका छन् । सहकारी क्षेत्रमा कलम चलाएबापत थपलियालाई ‘सिजेएन राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । त्यस्तै सिजेएन संस्थापक सम्मानअन्तर्गत समाजका संस्थापक उपाध्यक्ष एवम् निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटालाई सम्मान गरिएको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie