बाँझो बारी सुदुपयोग गर्दै देउसाका युवा 

सोलुखुम्बु, भदौ १८
सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसाका युवाहरू कृषितर्फ आकर्षित भएका छन् । जालिम कृषक समूह दर्ता गरेर त्याहाँका युवाले बाँझो जग्गाको प्रयोगसँगै व्यावसायिक कृषिमा लागेका हुन् । वषौँदेखि बाँझो रहेको सात सय १३ रोपनी जमिनको सदुपयोग गर्न आफूहरू केन्द्रित भएको समूहका अध्यक्ष दिपक राईले जानकारी दिए । 

राईका अनुसार अधिकांश युवाहरू आफ्नो जग्गा बाँझो राखेर रोजगारीको खोजीमा विदेशिने क्रम नरोकिएपछि व्यावसायिक खेती सुरु गरिएको हो । समूहले विभिन्न नर्सरी उत्पादन, च्याउ खेती, माछा पालन, फलफूल, तरकारी, अम्रिसोलगायत उत्पादन गर्ने जनाएको छ । बाँझो जग्गाहरूको सही सदुपयोग गर्न सकिएको खण्डमा स्थानीयलाई रोजगार प्राप्त हुनका साथै आम्दानीसमेत बढ्ने समूहको विश्वास रहेको छ ।

लामो समयदेखि गौचरणका रूपमा रहेको जग्गामा अहिले ३० जना युवाहरूले खनजोतका लागि रोजगारी पाएको अध्यक्ष राईले जानकारी दिए । स्वदेशमै रोजगारको सम्भावना खोज्नुको सट्टा रोजगारका लागि विदेशिने युवाहरूका लागि कृषक समूहले नमुना कामको थालनी गरेको स्थानीयले बताएका छन् । यता वडा अध्यक्ष रामसंघर्ष किराँतीले पनि युवाहरूको समूहले नमुना काम गरेको भन्दै प्रसंशा गरे । वडाभित्र रहेको बाँझो जमिनको सदुपयोगमा चुनौती भइरहेको बेला युवाहरूको सक्रियताले सहज भएको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष असिम राईले पनि यस्ता युवाहरूको समूहलाई प्रोत्साहन गर्दै कृषिमा आत्मनिर्भर बन्ने योजना रहेको जानकारी दिए । उक्त योजनाको लागि गाउँपालिकाको तर्फबाट १५ लाख रमक सहयोग गरेको भन्दै व्यावसायिक ढंगबाट खेती गर्ने जो कोहीलाई प्रस्तावनाको आधारमा सहयोग गर्ने अध्यक्ष राईले बताए । उनले अन्य व्यक्ति तथा समूहलाई पनि कृषिमा व्यावसायिकीकरण गर्दै आत्मर्भिर बन्न आग्रह गरे । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie