कागुनो र जुनेलो बालीको परीक्षण खेती सफल

कागुनो र जुनेलो बालीको परीक्षण खेती सफल

दोलखा, भदौ १५
नेपालको सुदूरपश्चिम क्षेत्रमा व्यावसायिक खेतीको रूपमा गरिँदै आएको कागुनो र जुनेलो जातको बालीको परीक्षण खेती दोलखामा सफल भएको छ । पहाडी बाली अनुसन्धान केन्द्र काब्रेले यो दुवै जातको परीक्षण सफल भएको जनाएको हो । गत महिनाको वैशाखमा परीक्षणको रूपमा लगाएको १३ जातको कागुनो र दुई जातको जुनेलो मकैको खेती परीक्षण अवस्थामै राम्रो फलेको हुँदा यो खेती अब दोलखामा पनि गर्न सकिने पहाडी बाली अनुसन्धान केन्द्र काब्रे दोलखाका कार्यक्रम संयोजक एवं बाली वैज्ञानिक नारायण बहादुर धामीले बताए । उनका अनुसार नेपालको सुदूरपश्चिम अञ्चल क्षेत्रमा प्रमुख खेतीको रूपमा खेती हुँदै आएको जुनेलो र कागुनो खेती दोलखाका प्रायः सबै पहाडी भेगका जमिनमा गरिन सकिनेछ । 

दोलखाको काब्रेमा रहेको पहाडी बाली अनुसन्धान केन्द्रले विगत लामो समयदेखि नेपालका पहाडी जिल्लामा हुने खेती र तिनको परीक्षण गर्दै आएको छ । नमूनाको बालीको रूपमा खेती गर्दै आएको र धेरैजसो बालीको बीउ समेत उत्पादन गरेर कृषकलाई परीक्षण खेती गर्न निःशुल्क वितरण गर्दै आएको पहाडी बाली अनुसन्धान केन्द्र काब्रेका हरिहर न्यौपानेले जानकारी दिए । 

त्यसैगरी पछिल्लो समय दोलखाको विभिन्न ठाउँमा लगाएको पुरानो जातको मकैमा अमेरिकी मुलुकमा पाइने फौजी जातको किराको उच्च जोखिम बढिरहेको पहाडी बाली अनुसन्धान केन्द्र काब्रेले जनाएको छ । यो वर्ष फौजी किराको कारण पहाडी जिल्लाको मकै उत्पादन घट्ने पनि बाली अनुसन्धान केन्द्र काब्रेले जनाएको छ । 

बाली अनुगमनको क्रममा पहाडी बाली अनुसन्धान केन्द्र काब्रेको टोलीले दोलखाको काब्रे, मिर्गे, पवटी र दिवाले खड्कलगायतका स्थानमा फौजी जातको किराले धेरै मात्रामा मकै नष्ट गरेको फेला परेको बताएको छ । असार महिनामा सर्वेक्षणका क्रममा फेला परेको किरा अमेरिकी महादेशमा उत्पत्ति भएको फौजी किरा रहेको किट विज्ञान महाशाखा खुमलटारले प्रमाणित गरेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie