एसईई स्थगितपछि बिचल्ली विद्यार्थीलाई घर जान निःशुल्क बस सेवा

दोलखा, चैत ७
बिहीबारबाट सञ्चालन गर्ने तयारी भएको माध्यमिक विद्यालय परीक्षा (एसईई) स्थगित भएपछि बिचल्ली भएका गौरीशंकर गाउँपालिकाभरका विद्यार्थीहरुलाई गाउँपालिकाले घरघरमा पु-याइदिएको छ । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमबाट बच्न पूर्वसतर्कताका लागि सरकारले बिहीबारबाट सञ्चालन हुन लागेको एसईई परीक्षा स्थगित गरेको थियो । परीक्षा स्थगितपछि बिचल्लीमा परेका गाउँपालिकाको नौवटा वडाका १ सय २९ जना विद्यार्थीहरुलाई गाउँपालिकाले घरघरमा पु-याइदिएको हो ।

परीक्षा केन्द्र पुगिसकेको अवस्थामा परीक्षा स्थगित भएका कारण विद्यार्थीलाई घर फर्किन समस्या भएपछि गाउँपालिकाले सवारी साधनको व्यवस्था गरेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिए । गाउँपालिकाले आठवटा बोलेरो जिप र एउटा बसको व्यवस्था गरी १ सय २९ जना विद्यार्थीहरुलाई घरघरमा पु-याउने व्यवस्था मिलाएको अध्यक्ष खड्काले जानकारी दिए । सार्वजनिक यातायातको व्यवस्था नभएको कारण विद्यार्थीहरुलाई घर जाने व्यवस्था मिलाउनको लागि करिब ८० हजार खर्च भएको अध्यक्ष खड्काले जानकारी दिए ।

गौरीशंकर गाउँपालिकाभरका ५ ओटा विद्यालयहरुको एसईई केन्द्र हलेश्वर मावि सुरीमा परेको थियो । सुरीबाट झ्याँकु, जँगु, चंखु, मार्बु र खारेका विद्यार्थीहरुलाई जीप र बसको व्यवस्था गरी घरघरमा पठाइएको गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप खड्काले जानकारी दिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie