आर्थिक समृद्धिमा ‘लुम्बिनी भ्रमण वर्ष’

आर्थिक समृद्धिमा ‘लुम्बिनी भ्रमण वर्ष’

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागिरहेका बेला त्यसलाई सहयोग पुग्ने गरी प्रदेशमा पनि ‘लुम्बिनी भ्रमण वर्ष’को तयारी गरिएको छ । गत जेठ ४ गते २५ सय ६३औं बुद्ध जयन्तीको अवसर पारेर आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘लुम्बिनी भ्रमण वर्ष’ आरम्भ भएको थियो ।

यसैगरी लुम्बिनीको विकासका लागि प्रदेश ५ सरकारले ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ घोषणा गरेको थियो । यसको साथसाथै लुम्बिनीको पूर्वाधार विकाससँगै प्रचारप्रसार र प्रवर्द्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेर यो घोषणा गरेको थियो ।

अतः ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ एउटा सुरुवात हो । यो कार्यक्रमले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई पनि सघाउने छ । यसर्थ ‘लुम्बिनी भ्रमण वर्ष’मा बाह्य र आन्तरिक गरी २५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको हो ।

यसै सिलसिलामा प्रदेश सरकारले ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ मनाउन तयारी थालेको छ । सन् २०१८ मा आन्तरिक पर्यटकको संख्या छ प्रतिशतले कमी आएको लुम्बिनीमा पर्यटक बढाउन भ्रमण वर्ष मनाउन लागिएको हो । यसर्थ भ्रमण वर्षमा आन्तरिक पर्यटकलाई लुम्बिनी ल्याउने विशेष जोड हुनेछ ।

यसैगरी आन्तरिक पर्यटकमा कमी आए पनि बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकको संख्या भने हरेक वर्ष बढ्दै गएको तथ्यांक छ । जसमा तेस्रो मुलुक र भारतबाट आउने पर्यटक बढेका छन् । भारतीयको पहिलो रोजाइमा लुम्बिनी, पोखरा, सौराहा र काठमाडौँ छन् ।

लुम्बिनी क्षेत्रमा खोलिएका स्तरीय होटलले भारतीय आवागमनलाई बढाएको पर्यटन व्यवसायी बताउँछन् । यसै सिलसिलामा भारतीय पर्यटक कार, जीप, बस लिएर नेपाल प्रवेश गर्ने गरेका छन् । यसमा सोबापत पटके पास लिनुपर्ने हुन्छ । भन्सारमा भने छुट्टै दस्तुर दैनिक हिसाबले तिर्नुपर्छ ।

लुम्बिनी क्षेत्रमा खोलिएका होटलहरू भरिभराउ हुने गरेको देखिन्छ । यसबाट के कुराको अवगत हुन्छ भने हाम्रा दुई छिमेकी देशहरू चीन र भारतलाई पर्यटकको रूपमा घुम्न सक्ने वातावरण सिर्जना गर्नु देशलाई आर्थिक समृद्धिको लागि ज्यादै नै फाइदाजनक हुन सक्छ । यसै कारणले गर्दा विगतका वर्षभन्दा यस वर्ष पर्यटक आवागमन निकै बढेको छ । यसमा सरकारी तथ्यांकले समेत लुम्बिनी आउने पर्यटकको संख्यामा झन्डै २३ प्रतिशतले वृद्धि भएको छ ।

लुम्बिनी विश्व शान्तिस्थल तथा विश्व शान्तिका प्रतीक गौतम बुद्धको जन्मस्थल हो । अर्बौं बौद्ध अनुयायीको प्रियस्थल हो लुम्बिनी । लुम्बिनीको महत्व बुझेर संयुक्त राष्ट्र संघअन्तर्गत लुम्बिनीको विकासका लागि गठित अन्तर्राष्ट्रिय समितिले जापानका वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेलाई सन् १९७२ मा लुम्बिनीको समग्र विकास गर्ने उद्देश्यसहितको गुरुयोजना तयार गर्न जिम्मेवारी तोकेको थियो ।

सोही समयमा प्रोफेसर टांगेले छ वर्ष लगाएर १९७८ मा लुम्बिनीको समग्र विकासका लागि गुरुयोजना तयार पारी तत्कालीन सरकारलाई बुझाएका थिए । गुरुयोजनाअनुसार सन् १९८५ सम्म प्रथम चरण र १९९५ सम्ममा दोस्रो चरण गरी लुम्बिनी गुरुयोजना सम्पन्न भइसक्नुपर्ने थियो तर अहिलेसम्म लुम्बिनी गुरुयोजना सम्पन्न हुनसकेको छैन । यसरी ४० वर्षमा पनि एउटा गुरुयोजनाअनुसारको काम सम्पन्न हुन नसक्नु आफैँमा दुःखद विषय हो । 

सन् २०१७ मा लुम्बिनीमा १५ लाख ५२ हजार पाँच सय ८६ जना पर्यटक लुम्बिनी आएका थिए । जसमा तेस्रो मुलुकका पर्यटक एक लाख ४५ हजार सात सय ९६ जना थिए । गत वर्षमा त्यो संख्या बढेर एक लाख ६९ हजार नौ सय चार पुगेको थियो ।

त्यस्तै भारतीय पर्यटक २०१८ मा एक लाख ९३ हजार छ सय ३५ आएकोमा अघिल्लो वर्ष २०१७ मा एक लाख ५५ हजार चार सय ४४ जना लुम्बिनी आएका थिए । लुम्बिनी भ्रमण गर्ने तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा बढी श्रीलंकाका रहेका छन् ।

श्रीलंकाबाट २०१८ मा ५९ हजार नौ सय ५९ जनाले भ्रमण गरेका छन् । त्यसपछि थाइल्याण्डबाट २६ हजार छ सय ७७, म्यानमारबाट २५ हजार तीन सय ३३ र चीनबाट १८ हजार चार सय ६० जनाले भ्रमण गरेका थिए । यी चारवटै मुलुकका पर्यटक अघिल्लो वर्षको तुलना बढेको अनुमान गरिएको छ ।

सबैभन्दा बढी १० हजार म्यानमारका पर्यटक बढेका हुन् । भियतनाम, दक्षिण कोरिया, जर्मनी, कोलम्बीया, मलेशीया र फ्रान्स लुम्बिनीमा धेरै पर्यटक आउनेमध्ये दशौं स्थानसम्मका तेस्रो मुलुक हुन् । यसलाई सिद्धार्थ राजकुमारको जन्ममूमि लुम्बिनी र आसपासका धार्मिक, पर्यटकीय, पुरातात्विक र ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण र संवर्द्धन गर्न सन् १९७० मा महासचिव उत्थान्तको सक्रियतामा बनेको लुम्बिनी अन्तर्राष्ट्रिय समितिलाई सक्रिय बनाउन सबैको कर्तव्य हुनेछ ।

यसै क्रममा वर्षभरिमा लुम्बिनीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ । लुम्बिनी पर्यटकीय हिसाबले घुम्ने मात्र होइन, आध्यात्मिक ऊर्जा पनि उत्तिकै पाइन्छ भन्ने सन्देश विश्वमा पुगेको लुम्बिनी विकास कोषले जनाएको छ ।

भगवान बुद्धका उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ भन्दै बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको सम्बन्धित क्षेत्रले जनाएको छ । प्रदेश सरकारले यसलाई समृद्धिको मुख्य आधार पर्यटन विकासलाई नै बनाएकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि ‘लुम्बिनी भ्रमण वर्ष’को कार्यक्रम महत्वपूर्ण हुने सम्बन्धित निकायको दाबी रहेको छ ।

समग्रमा भन्नुपर्दा तीव्र गतिमा काम भयो भने कुनै प्राविधिक समस्या भएन भने ३/४ वर्षमै बाँकी काम सम्पन्न हुन्छन् । अब बाँकी काम गर्न अझै कम्तीमा पनि छ अर्ब रूपैयाँ लाग्ने सम्बन्धित क्षेत्रले अनुमान गरेको छ । अहिलेसम्मको भौतिक प्रगति हेर्दा करिब ८५ प्रतिशत काम सम्पन्न भएको र १५ प्रतिशत काम मात्र बाँकी रहेको अनुमान गरिएको छ ।

भ्रमण वर्षका लागि प्रदेश सरकारले चार करोड १९ लाख बजेट विनियोजन गरेको छ । यसमा प्रदेशले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विभिन्न समयमा कार्यक्रम आयोजना गरेको छ । लुम्बिनीसँगै तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, रामग्राम, अरौराकोट, सगरहवा र सिसहनियालगायतका ठाउँलाई समेटेर प्रवर्द्धनात्मक कार्यक्रम गरिनेछ ।

भ्रमण वर्षमा प्रसुति उत्सव कार्यक्रम पनि गरिनेछ । सोही अवसरलाई बुद्ध पूणिर्माको दिन पारेर भ्रमण वर्ष सुरु गरिएको हो । यसमा बुद्धसँग सम्बन्धित सडक प्रदर्शनी नेपालका सातवटै प्रदेशमा र पर्यटन व्यवसायीसँगको सहकार्यमा बुद्धको महिमा गाँसिएका भारतका कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा पनि प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।

सन् २०१८ मा एक लाख ७० हजार विदेशी पर्यटक आएका थिए भने नेपाली र भारतीयसमेत जम्मा गरी १५ लाख ३४ हजार एक सय १० जना पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । यसमध्ये भारतीय २४ दशमलव ५७ र तेस्रो मुलुकका १६ दशमलव ५४ प्रतिशतले बढेका छन् भने हाम्रो देशको आन्तरिक पर्यटनमा भने छ प्रतिशतले घटेको देखिएको छ । यसर्थ लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बढे पनि बसाइ भने लम्बिन सकेको छैन ।

उक्त विकास कोषले पर्यटकको बसाइ अवधि लम्ब्याउने विभिन्न योजना बनाएको छ । जसले गर्दा लुम्बिनीमै पर्यटक भुलाउने गरी विभिन्न संरचना बन्दै छन् । यसबाट विभिन्न देशहरूबाट लुम्बिनी आउने पर्यटकलाई तिलौराकोट र रामग्राम पु-याउने योजना पनि बनाएका छन् । जसले गर्दा पर्यटन लुम्बिनी बसाइलाई लम्ब्याउन सहयोग पुग्नेछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध