डस्टरको टुटुल्कोले निर्माण गरेको मार्गदर्शन

डस्टरको टुटुल्कोले निर्माण गरेको मार्गदर्शन

वर्षातको मौसम, सिमसिम पानी, उत्सुकता र अलमलसँगैको बसाइ । एक्कासी मोबाइलमा रिङ बज्यो “ल्बचबथबल क्ष्च ऋबििष्लन” कुरा भयो, खुसी लाग्यो । मैले आफ्नो बालपन बिताउँदै माध्यमिक तहसम्म पूरा गरेको विद्यालय श्री गंगा माविको स्मारिका प्रकाशन हुने रे भन्नुभयो । सँगै तिम्रो पनि एउटा लेख राख्नुपर्छ है ? संवाद सकियो, दिमाग घुम्यो विषयको खोजीमा । तर, भेटिएन । सम्झेँ त्यो दोस्रो बेन्च, ती साथीहरू, झट्ट याद आयो, डस्टरको पीडाले निस्केको टुटुल्को ।
भनिन्छ, बालपनको सुन्दरता विद्यालय जीवनले रङ्गाएको हुन्छ ।

झनक्क रिस उठेर आउनु पर्ने हो तर मनभरि सम्मानका छालहरू आएर त्यसै–त्यसै भरिदिन्छन् अनि त्यही भाव अनुहारमा आएर छल्किदिन्छन् । त्यो बचपनलाई नियाल्छु , जहाँ आँसुभित्र हर्ष लुकेको छ । आधा घण्टाको पैदल यात्रा, ती बालसखा, बाटो तलमाथिका काँक्रा, बोडी, सुन्तला, अनि कनिकनि बोक्दै हिँड्ने झोला, विद्यालय परिवार, पाँच रूपैयाँको छोले चिउरा, उत्साह, जाँगर सबैसँग जोडिएका ती डस्टरका टुटुल्काहरू जसले विद्यार्थीका रुचि, क्षमता, आवश्यकता, चाहना र विषयवस्तुको मूल्याङकन गर्दै शिक्षाको ज्योति छरेर गंगाझैँ पवित्र बनाएको छ हाम्रो समाजलाई ।

शिक्षालाई विकासको मूल आधार मानेर शैक्षिक गुणस्तरका लागि वातावरण, उपयुक्त थप सिर्जनात्मक पाठ्यक्रम, शिक्षक तथा विद्यालय व्यवस्थापनमा कुनै कन्जुस्याइँ नगरी चन्द्रमाको उज्यालो भरिदिएको त्यो समाज जुन त्यही टुटुल्कोले याद दिलाउँछ । मानिसको जीवनचक्रको पहीलो चरण या भनौँ बाल्यकाल जुन सफलता र असफलताको मार्गचित्र निर्माण हुन्छ । जहाँ गंगा कहिल्यै चुकेको महसुस भएन । कहिल्यै थाकेको महसुस भएन । आफ्ना सन्ततिका भविष्यलाई संसारसामु चम्काउनका लागि अनवरतरूपमा लागिरहेको पाएँ । सुनौलो भविष्यको मार्गचित्रमा हिँडिरहेको ममा फेरि टुटुल्कोले याद दिलाउँछ, त्यो अविस्मरणीय पलको ।

ज्ञानको शक्तिलाई ज्ञानको उत्पादनशीलतामा रुपान्तरण गर्नुनै गंगाको सफलता हो । भनिन्छ, विद्या गुरुको पनि गुरु हो । पुरातनवादी सोचलाई भत्काएर विश्वव्यापीकरणको मापदण्डलाई अनुशरण गर्न खोज्दै शिक्षाले त्यो भूगोलको व्यक्तिमा आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा मानवीय क्षमतामा चामत्कारिक परिवर्तन गरेको छ । डाक्टर, इन्जिनियर, टिचर, सीए, उधमी, सामाजिक संवाहकहरू त्यो समाजका प्रायजसो परिवारमा भेटिन्छन् । सायद टुटुल्काको सकारात्मक मार्गचित्रले नै होला । गाउँ, सहर, देश, विदेश विभिन्न कुनाकाप्चामा पहिचानसहितको परिचय निर्माण गर्दै गंगाको उत्पादन स्थापित हुनुले गंगाको मार्गदर्शनलाई पलपल झल्काउने गर्दछ ।

अनुशासन सफलताको मार्गदर्शन हो । ‘अनुशासित ढङ्गले शिक्षामा गरिएको लगानी मानव विकाशमा गरिएको लगानी हो’ भन्ने मूल मर्मका साथ विद्यालयका सरोकारवाला पक्षहरू शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यालय निरीक्षक तथा स्रोतव्यक्तिहरूको समन्वयात्मक दरिलो उपस्थिति एवं क्रियाशीलताले गंगा पश्चिम पाल्पाको नमुना विद्यालयको रूपमा स्थापित हुनुले पुर्वजलाई भाग्यमानी र आगामी पिँडीलाई बलियो आधार निर्माण गरेको छ । 

गुणस्तरीय शिक्षा नेपाली समाजको आजको आवश्यकता र माग दुवै हो । कुनै पनि वस्तु वा सेवामा भएको उत्कृष्टताको मात्रा नै गुणस्तर हो, जुन स्थान, समय र परिवेशअनुसार फरक हुन्छ । शैक्षिक सोचमा आएको परिवर्तनले प्रतिस्पर्धा खोज्यो, प्रतिस्पर्धाले गुणस्तर खोज्यो, गुणस्तरले गुणस्तरीय पाठयक्रम, शिक्षक, गुणस्तरीय विद्यार्थी खोज्यो, जसको परिणाम भौगोलिक विकटताले स्वीकारेको हाम्रो समाजमा यस्तो पवित्र गंगा स्थापित छ । जसले आज इज्जत बढायो, प्रतिष्ठा बढायो, सम्मान बढायो, हो, यही इज्जत, मान, समान्न प्रतिष्ठाले त्यही टुटुल्कालाई पुनः झल्काउने गर्छ ।

सबल र समद्धिसहितको राष्ट्र निमार्ण सक्षम समाजमा आश्रित रहेको हुुन्छ । व्यक्तिको जोड परीवार र परिवारको जोड समाज हुन्छ । जब व्यक्ति शिक्षित हुन्छ, स्वाभाविक रूपले सक्षम समाज निर्माण हुन्छ । जसमा हरेक विद्यालयले मार्गदर्शनको कार्य गरेका हुन्छन् र गर्नुपर्छ पनि । यही सिलसिलामा प्रिय गंगा, यो तिम्रो विशिष्ट विरासतलाई बचाउँदै राष्ट्रको आर्थिक, समुन्नतिका लागी श्रमबजारमा देखा परेको गतिशीलता, प्रविधिको प्रयोग तथा परिवर्तन, श्रमबजारको संरचना र वातावरणीय तथा अन्य राष्ट्रिय श्रमबजारमा नेपाली कामदारका लागि विकसित भइरहेको रोजगारीका अवसरलाई दृष्टिगत गर्दै शिक्षा प्रणालीमा सुधार तथा आधुनिकीकरणको आवश्यकतालाई ध्यानमा राखेर अगाडि बड्नु अबको गर्विलो चुनौति रहेको छ । विद्यार्थीको चाहना, इच्छा, रुचिअनुरूपको कार्यनीति बनाएर अगाडि बड्नु नै वर्षौँ वर्षका लागि उच्चतम र सम्मानजनक मार्गदर्शन हुनेछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध