वनविनाशको असर : जलवायु परिर्वतन

वनविनाशको असर : जलवायु परिर्वतन

नेपालको १ लाख ४७ हजार १ सय ८१ वर्गकिमि कुल क्षेत्रफलको ४४.७४ प्रतिशत क्षेत्रफल वनक्षेत्रले ढाकेकामा जम्मा वनक्षेत्रको करिब १८ प्रतिशत संरक्षित क्षेत्रभित्र र बाँकी ८२ प्रतिशत वनक्षेत्र राष्ट्रिय वनका रुपमा विभिन्न वन व्यवस्थापन प्रणालीअन्तर्गत व्यवस्थापन भएको छ । सहभागितामूलक तथा वन सम्वर्द्धनमा आधारित व्यवस्थापनबाट वनक्षेत्रले उपलब्ध गर्ने सेवा एवं वस्तुको उत्पादन र उत्पादकत्व बढाई स्थानीय तथा राष्ट्रिय समृद्धिमा योगदान पु¥याउने वनक्षेत्रको मुख्य लक्ष्य रहेको पाइन्छ ।

वन ऐन, २०४९ ले व्यवस्था गरेअनुसार राष्ट्रिय वनलाई सरकारद्वारा व्यवस्थित वन, संरक्षित वन, सामुदायिक वन, गरिबी न्यूनीकरण तथा व्यावसायका लागि कबुलियती वन, साझेदारी वन र धार्मिक वनका रुपमा विभाजन गरी व्यवस्थापन गरिएको छ । समुदायमा आधारित वन व्यवस्थापनको रुपमा सामुदायिक वन, तथा गरिबी न्यूनीकरणका लागि कबुलियती वन व्यवस्थापन पद्धति कार्यान्वयनमा छन् । सबै किसिमका वन व्यवस्थापन पद्धतिबाट जैविक विविधता एवं वातावरणीय सेवाको संरक्षण गर्दै स्थानिय तथा राष्ट्रियस्तरमा वन पैदावारको आपूर्ति, वनमा आधारित उद्यम विकास, आयआर्जन तथा रोजगारी सिर्जनामार्फत नेपालको वातावरण संरक्षण गरी समृद्ध नेपाल र सुखी नेपाली को आधारशिला खडा गर्न टेवा पु-याउने उद्देश्य रहेको छ ।

सहरीकरणको विस्तार तथा राष्ट्रिय स्तरका आयोजनाहरु (जस्तैः विद्युत, निजगढ विमानस्थल, फास्ट ट्र्याक निर्माण) ले गर्दा वनजंगलको विनाश भई पानीको प्रदूषण, वायुको प्रदूषण र खासगरी सवारी साधनबाट हुने प्रदूषण व्यापक रुपमा बढिरहेको छ । जस्तै ध्वनी, दुर्गन्धसम्बन्धी प्रदूषण, पानी सम्बन्धी प्रदूषण, हावासम्बन्धी प्रदूषण अरु फोहोर मैला इत्यादिबाट जथाभावी हुने प्रदूषण बढेका छन् । फोहोरमैला यत्रतत्र फाल्ने, प्लास्टिक जलाउने कार्य यथाबत छन् । यस्तो प्रदूषणलाई नियन्त्रण गर्न अन्तराष्ट्रियस्तरमा कमन ल पद्धतिका मुलुकमा जस्तै राष्ट्रहरुउपर दुष्कृतिको दायित्वको कानुन छ । तर त्यस्तो कानुन हामीकहां छैन, भएको कानुन पनि कार्यान्वयनको अभाव छ । 

वन क्षेत्रमा भएका अनेकौं तत्वहरुमध्ये एकको घटी वा बढीले अरुलाई समेत असर पार्दछ । अन्य प्राणी, वनस्पति तथा समग्रमा जीवीत प्राणी र मानव जातिको अस्तित्वमा समेत प्रश्न खडा गर्नसक्छ । वन क्षेत्र विनाशको कारण र वातावरणको नियन्त्रणमा भएको उदासीनताले वातावरणको क्षेत्रमा चिन्तित हुनुपर्ने अवस्था छ । वन तथा वातावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, राजनैतिक, जैविक लगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित भएको वन तथा वातावरण विनाश मानव बाँच्ने आधार संख्याहरु नष्ट हुँदै गएर पग्लिँदो हिमश्रृंखला जल्दो बल्दो समस्यामा परिणत भएकोले वर्तमान समयमा वन तथा वातावरणलाई वातावरणप्रेमीले अति महत्वका साथ हेर्न थाल्नु स्वभाविकै हो र तर सम्बन्धित सरकारी पक्षले जति गर्नु पर्ने हो त्यती आफ्नो दायित्व पूरा गरेको देखिदैन ।

नेपालमा योजनाकार र नीति निर्माणहरु वन तथा वातावरणलाई असर पार्ने तत्वहरुको पहिचान गरेर मात्र निर्णय लिने तथा विकास योजना बनाउने अवस्थामा नपुगेको कारण यो वन तथा वातावरणीय दुर्दशा भएको हो । यो परिणाम विगतमा मानिसले वन तथा वातावरण प्रति गरेको परिणाम तथा त्यसले मानिसलाई पारेको नोक्सानीलाई हेर्दा वन तथा वातावरणको यथोचित संरक्षण विना दिगो विकास दीर्घजीवी हुन नसक्ने प्रष्ट छ । मानव जातिको समुन्नति एवं अस्तित्वकै लागि पनि वन तथा वातावरणको महत्व प्रष्ट हुँदै गएको छ ।

तसर्थ, मानवजातिको सुख समृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जति महत्व छ त्यतिकै मात्रामा वन तथा वातावरणको संरक्षण पनि अपरिहार्य छ । हाम्रो समुदायमा बढ्दै गएको वन, वातावरणीय विनाशले नेपाल र नेपालीहरुको वन, वातावरणीय परिवेश अवस्था लगायतमा नकारात्मक परिणाम ल्याएको छ । राष्ट्रमा विकास आयोजना सञ्चालन गर्दा वातावरणप्रति उदासीन हुनु हुँदैन यदि उदासीनता देखिएमा वन, वातावरण विनाशले ठूला दुर्घटना निम्त्याउँछ । 

मुख्यतः वन, वातावरण विनाशबाट जलवायु परिवर्तन भएको छ । जलवायु परिवर्तन विश्वव्यापी चुनौति र समस्याको रुपमा देखिएको छ । हरितगृह ग्याँस उत्सर्जनमा न्यूनीकरण नहुनाले तापमान वृद्धि भएको छ । यो जलवायु परिवर्तनको असर हो । नेपालको हिमाली क्षेत्रमा ०.६ डिग्री सेल्सियसको दरले तापक्रम बढ्न गई हिमश्रृंखला पग्लनु, पानीको मुहान सुक्दै जानु, अनावृष्टि र अल्पवृष्टि जस्ता समस्या देखा पर्नु, २००० मिटरको उचाई सम्म लामखुट्टे देखा पर्नु, वन्यजन्तु लोप हुनु, महामारी हैजा जस्ता रोग फैलनु, विनाशकारी आँधी र बाढी आउनु, नदीनालाको सतह घट्दै जानु आदि वातावरण विनाशबाट उत्पन्न परिणाम हुन् । 

७ दशक अगाडि नेपालको जनसंख्या करीब ८० लाख थियो भने हाल करिब ३ करोड पुगेको अनुमान छ तर बन, जङ्गल र जमीनको क्षेत्र बढेको छैन, जमिनको उत्पादकत्व बढेको छैन । कृषि आकाशेपानीमा निर्भरता, आयातीत बिउ, रासायनिक मल र कीटनाटक विषादीको प्रयोगबाट उत्पादन केहीमात्रामा बढेको भए पनि गुणस्तरीय र स्वस्थ खाद्यान्न पाउनु चुनौति भएको छ । नेपाल जस्तो कम विकसित देशमा औद्योगिक तथा सहरी विकासको क्रममा जल तथा वायु प्रदूषण र फोहोरमैलाको समस्या र ग्रामीण भेगमा वनविनाश चुनौति बन्दै गएको छ ।

प्राकृतिक स्रोतको उच्च प्रयोगबाट सृजना भएको भू–क्षय, बाढी, पहिरो, कृषि उत्पादन र वनको उत्पादकत्वमा कमीजस्ता समस्याहरु वृद्धि भएका छन् । यी समस्याहरुले जनस्वास्थ्यमा समेत प्रतिकुल असर परिरहेको छ । वन विनाश, भू–क्षय, बाढी, पहिरोका साथै प्रदूषण एवं जलवायुको असर जस्ता वातावरणीय समस्या ठूलो चुनौतीको रुपमा बढिरहेको छ । 

वन, वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरुको अस्तित्वका लागि अति आवश्यक हुन्छन् । यी जैविक वस्तुहरुमा भएको वातावरण विनाशको मात्राले पनि बृहत रुपमा प्रभाव पार्दछ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैन । मानवको अस्तित्व उसको वरीपरीको वन, वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्दछ ।

मानिसको अस्तित्वको लागि वन जंगल जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वन जंगल, जल आदिको अस्तित्व संकटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा पर्नु हो । मानिसले आफ्नो अस्तित्वको लागि प्रकृतिबाट धेरै वस्तुहरु ग्रहण गर्दछ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ न कि वातावरणीय विनाशबाट । 

जैविक विविधताको दृष्टिले लोप हुन लागेका बोटविरुवा, जडीबुटी तथा प्राणीलाई संरक्षण तथा बढवा दिनुपर्छ । भू–क्षय हुने संभावना भएका क्षेत्र, धेरै भिराला क्षेत्र, चराचुरुंगीको गुँड तथा बासस्थान भएको क्षेत्र, पानी मुहान तथा नदी किनार क्षेत्रमा रुखविरुवा संरक्षण गर्नुपर्छ । प्राकृतिक पुनरुत्पादनलाई बढावा दिनुपर्ने भएको अवस्थामा सम्बन्धित क्षेत्रमा प्रकाशका लागि क्षेत्र खुला गर्ने र उक्त क्षेत्रलाई चरिचरण तथा डढेलोबाट बचाउने क्रियाकलापहरु सञ्चालन गर्नुपर्दछ । यसर्थ हिँउदको समय, वैज्ञानिक वन व्यवस्थापनमा महत्वपूर्ण योगदान पु-याउन सक्ने समय भएकाले वनलाई समृद्ध, सुन्दर, मनोरम एक बाटिकाको रुपमा विकास गरी वन विनाशको असर रोकी वातावरण संरक्षण गर्नु आजको आवश्यकता हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध