सधैँ नेतालाई गाली गर्नुको सट्टा जनता आफूले पनि केही गर्ने कि ?

सधैँ नेतालाई गाली गर्नुको सट्टा जनता आफूले पनि केही गर्ने कि ?

यो प्रगतिनगर नगरपालिका हो । नामै त प्रगतिनगर भनेपछि अब विचार गरुँ प्रगतिचैँ के होला । यसको सदरमुकामको अलिकति झिलिमिली झ्याँइलाई हेरेर दूर गाउँलाई पनि नगरपालिकाभित्र गाभिदिएका रहेछन्, पहिलेका मेयरसाबले । जनतालाई सुविधा केही दिनु नपर्ने । घर पनि फाट्टफुट्ट छ । धारो, अस्पताल, स्कुल बिजुली, बाटो केही छैन । दिउँसो गाउँले एक्लै हिँड्ने हो भने जंगली जनावरले आक्रमण गर्छ । अहिलेको माथिल्लो सरकारलाई सम्म परेको जग्गा देख्नै नहुने । सम्म जग्गा देख्यो कि नगरपालिका घोषणा गरिहाल्ने र चर्को कर लगाइहाल्ने परम्परा नै बसेको रहेछ ।

जग्गामा बाली समेत राम्रो हुँदैन तर सरकारी मूल्याङ्कनचाहिँ चर्को । किनभने जग्गा किनबेच भयो भने कर दह्रो लगाउन पाइँदो रहेछ । त्यही जनतालाई लगाएको चर्को करबाट स्थानीय प्रतिनिधिले मोज र भोज गर्दारैछन् । यहाँका मेयर बलात्कारको केशमा जेल गए । उप मेयरलाई सम्पूर्ण कार्यभार दिइएको थियो । मैले त्यसको विरोध गरेँ । आखिर उपचुनाव भएरै छाड्यो । मलाई पनि मेयरसाब हुने रहर थियो । पार्टीले पत्यायो । टिकट पाएँ । जसोतसो जालझेल गरेर भए पनि चुनाव जितेँ ।

‘हुन्छराम मायालु’ हो मेरो नाम । म क्याम्पसको राजनीतिमा ढुङ्गा हान्ने, बार भत्काउने, टाएर बाल्ने कलेज स्कुल बन्द गर्ने, यसो रत्नपार्कको भित्तातिर फर्केर पिसाब फेर्ने, अनि त्यही भित्तोमाथि ‘यहाँ पिसाब फेर्न मनाही छ’ भन्ने पम्पलेट टाँस्दै हिँड्ने, हुलदङ्गाको लागि यसो अलिअलि चिया खर्च दिएर मान्छे जम्मा गर्ने कामको ठेक्का हान्थेँ । मैले राजनीति रत्नपार्कको बार भाँच्न र कुनै काम नभएपछि मेरो ग्याङको अगाडि ङिच्च हाँस्नबाट सिकेको । मैले धेरै पढेलेखेको छैन । आईएको जमाना थियो त्यतिबेला । पढ्नुपर्ने जम्मा पाँच विषय थिए । तर, मलाई ६ विषयमा व्याक लाग्यो ।

एक विषयचाहिँ नृत्यकला । नृत्यकलाको किताब निस्केको थिएन । कहिलेकाहीँ कलेजको पिक्निक हुँदा बोकेदारी ठाडो पारेर नाच्थेँ म । कलेजका फ्याउरीहरू मेरो बोकेदारी सुम्सुम्याउथे । भुतुक्क हुन्थे म देखेर । जवानीमा झिँगा पनि फुर्तिलो हुन्छ भन्थे मेरा बाउले । कलेजको प्रोग्राममा धाराप्रवाह भाषण गर्थेँ । सुरुसुरुमा अलि लाज लाग्यो तर रत्नपार्कको बार भाँचेर वीर हस्पिटलतिर हुइँक्याएपछि म रातारात भाइरल बनेँ । कलेजका केटाहरूले ‘हुन्छराम’ भन्थे तर केटीहरूले भने ‘मायालु’ भन्थे । 

यसपाली मलाई कागताली प-यो । यसो ट्राइ गरेको टिकट पनि पत्यायो पार्टीले । मेरो चुनाव क्षेत्रमा सबै गरिब । चुनाव हुने दिन बुथैपिछे एउटा–एउटा राँगो ढालेर भोज गरिदिएँ अनि भात खाँदै भोट हाल्दै । अरुभन्दा हामी अलि धनी । पहिलाको पाँचवटा गाविस मिलाएर प्रगतिनगर नगरपालिका नामकरण गरियो । यो नाम पनि अचम्मले जुरेको । नगरपालिका हुनको लागि आधारभूत आवश्यकता के–के हुन् मलाई थाहा छैन । खानेपानी, ढल निकास, बिजुली, बाटोघाटो, स्कुल, हस्पिटलको अभावमा पनि यसलाई जवर्जस्त नगरपालिका घोषणा गरियो । मैले चुनाव जितेँ । जितेको दिनदेखि हरेक वडामा सम्मान थाप्न जाँदाजाँदा वाक्क भइसकेँ । सगुन खाँदा पुरै जँड्याहा भैसकियो । चुनाव जितेको वर्षदिनसम्म सम्मानमै बित्नेभो । अहिलेको जनतालाई विकासभन्दा पनि नेतासँग व्यक्तिगत सम्बन्ध राम्रो राख्ने सपना हुँदोरहेछ । 

कसैले बिहेमा बोलाउँछन् गैदिनै प¥यो । कसैले भात खुवाइमा बोलाउँछन् जानै प¥यो । कसैले बर्थडेमा बोलाउँछन् नाइँ आउँदिन भन्नु भएन । फेरि आजकालको बर्थडेको कुरा नगरम हजुर । बिहे बरु भागेर गर्छन् बर्थडे त केक काटेर, मान्छे बोलाएर, रक्सी पिलाएर, सुँगुर ढालेर गर्छन् । बर्थडेको पार्टी हो कि बिहेको हो थाहा नहुने भैसकेको अवस्था छ । विकासको काममा भन्दा पनि जनताहरू निजी काममा नेतालाई प्रयोग गर्न थालेदेखि बर्खाको बर्तौली नदीले बच्चा बगाउन थालेको छ ।

यतिसम्म गर्न थाले कि बच्चा जन्मेपछि नाम के राख्ने भनेर नेतालाई सोध्न थाले । अस्ति एउटी दुलाल गाउँकी निर्मलीले फोन गरी राति । “मेयर सर मेरो छोरो भयो नि । ल बधाई छ तपाईंलाई रे“ । ल धन्यवाद भन्दिए । राति निद्रामा खै के–के बोलेँ । अनि मेरो छोराको नाम राख्दिन प¥यो भनिन् । अरु कसैको छोराछोरीसँग मेरो छोराको नाम नमिलोस् भनिन् । निद्रामा थिएँ । राम्रो सोच्नै सकिन अनि भन्दिएँ ‘ढुङ्गाबहादुर’ राख्नू त्यसो भए कसैसँग पनि मिल्दैन । उताबाट गुनासो आयो “ह्या अरुका बच्चाहरूलाई कति राम्रो नाम राख्नुभो मेरोलाई चैँ हेला गरेका । यो पनि हजुरकै बच्चा त हो नि रे ! कति सम्झूँ म साद्दे लाग्दैन । अनि त्यस्तो नाम कसैको नि छैन क्या त्यही फिट छ भन्दिएँ । 

बिहे, ब्रतबन्ध, न्वारान, भातखुवाइ, बर्थडे, साउने, माघे सङ्ग्रान्ती दशैँ, तिहार, नुहागी, फागु पूर्णिमा, इद, क्रिसमस, नयाँ वर्ष आदि इत्यादि । हुँदाहुँदा महिला तरुनी भोटरहरूले त ‘तीजको व्रत बसेको चौबीस घन्टा भो, अब हजुरको आज्ञा भए जल पिएर फलाहार खाउँ कि भनेर अनुमति माग्छन् । अनि आदेश दिनै प-यो । यसरी एउटा नेतालाई वा मेयरलाई न्वारनदेखि तीजको ब्रतमा पानी पिउने आदेशसम्म माग्ने कुरामा अल्मलाउनु के तिनै जनताको कमजोरी होइन त ? चुनाव जितेर के गर्नु व्यक्तिका निजी काममा बोलाको बोलाई । भन्दा पनि लाज हुन्छ कस्ता नामर्द हुन्छन् कोहीकोही पतिहरू त । श्रीमान्हरूको प्रमोशन हुन पनि पत्नीको प्रयोग हाम्रै नेपालमा । 

सधैँ नेतालाई मात्रै गाली गर्ने जनताले एक पटक गम्भीर भएर सोच्ने कि ? विकास र समृद्धिका लागि भनेर चुनेर पठाएको नेतालाई निजी काममा प्रयोग गर्न लगाउनु कति उचित हो ? जनताले भनेका कुरा हार्न नसक्नु नेताको पनि कमजोरी हो । नमान्दा पनि फेरि आर्को चुनावमा भोट नपाइएला भन्ने डर हुन्छ । जनता भेडा हुन भनेर उपनाम पाएका छन् । शायद अबुझ भएरै पो हो कि ? निजी काम गर्दागर्दै आफ्नो कार्यकाल बित्छ । अनि विकासे काम कसरी गर्नु ? विकासको काम गर्न तिनै जनताले फुर्सद पनि दिन प-यो नि । फलानो मेयर त खत्तम भन्ने अनि त्यही मेयरलाई काग तिहारदेखि कुकुर तिहार अनि बच्चाको नाम राख्न समेत प्रयोग गर्ने दोष कसको ? रक्सी नपिउनेलाई रक्सी पिउन सिकाउँछन् । घुसको स्वाद थाहै नभएकालाई घुस लिन सिकाउँछन् । जुवा खेल्न नजान्नेलाई तिहारमा बोलाइबोलाई पैसा आफैँ हाल्दिएर जुवा खेल्न सिकाउँछन् । राजनीति नजान्नेलाई राजनीति सिकाउँछन् । मोज गर्न र भोजमा जान मन नपराउनेलाई हात समातेर बानी पारिदिन्छन् हाम्रो नेपालमा । खराब मान्छेलाई नेता चुन्छौँ हामी अनि खराब नेताबाट असल कर्मको अपेक्षा गर्छौँ । भोट दिएर विकासको काम गर्न अभिप्रेरित गर्नुको सट्टा छोरीको बर्थडेमा केक काट्न बोलाउन थालेपछि मेयरले के गरून् ? उपमेयरहरूले के गरून् हाम्रा नेपालमा ? दोष नेता र मेयरको मात्रै होइन आधा दोषको जिम्मेवारी जनताले लिनुपर्छ । 

घरमा सुतेको ओछ्यान पल्टाउन पनि अब नेतालाई सम्झने बानी भैसकेको छ । त्यही भएर कर्मचारीहरू एक दिन सेवानिवृत हुन्छन् तर नेता सधैँ प्रवृत्त । सधैँ सत्तरी नाघेका बुढा गुन्डाहरूले चलाएको यो देश कहिले जवान भएन । नेतासँग बसेर सेल्फी हान्नेको लाइन हाम्रै नेपालमा । कुनै नेता कार्यक्रममा गयो भने पहिला–पहिला त विकाससम्बन्धी कामकुरो हुन्थ्यो भने अहिले सेल्फी । नेता कुनै ठाउँमा पुग्न पाका हुन्न सलहको लाइनजस्तो सेल्फीको लाइन । सेल्फी खिच्ने र फेसबुकमा अप्लोड गर्ने जनताको बानी देखेर होला मेयरको भोट माग्ने बेलामा वाइफाइ फ्री सिटी बनाइदिन्छु भनेका रैछन् त मेरा सहकर्मीहरूले ? आफू त हनुमानदास, नगरी नहुने पालिकाको मेयर परियो जे भए पनि नानीहरूको उद्दार गर्दिएकै छु जे भए पनि त होला नि । जनता आफैँ केही गर्न सक्तैन । सधैँ नेतालाई गाली गर्छन् । जनता यस्तो लाग्छ कि आँगनअगाडिको फोहोर पनि आफू सफा नगर्ने अनि नगरपालिकालाई सत्तो सराफ गर्ने । जनताको घरको नाली नेताले आएर सफा गर्दिनुपर्छ भन्ने भावनाको विकास हुँदै गएको छ । 

घरअगाडिको सडकको खाल्डाखुल्डीमा आफैँ परेर दुर्घटना निम्त्याउनुको अलवा कुनै नेताकार्यकर्ताको मुख नताकी आधा ट्याक्टर माटो त जनता स्वयंले पनि त गर्न सकिन्छ नि । तर, यहाँ जनता सिन्को भाँच्दैन ऊ केवल नेताकै मुख ताकेर बस्छ । आफैँले केही नगर्ने अनि आफैँले चुनेर पठाको नेतालाई दास बनाउन खोज्नु कतिको जायज हो यो कुरा जनताले बुझ्नु जरुरी भैसकेको छ । खोलाको मुहान नजिक छ गाग्रीमा बोकेर पनि जीवन निर्वाह गर्न सकिन्छ । तर, जनता चाहन्छ खोलाको पानी भान्सामै पुगोस् । 

जनता यति सोखिन भैसकेको छ कि आफू केही नगर्ने अनि यहाँ केही भएन भन्ने । नेताले केही पनि गरेनन् । अर्को चुनावमा देखा जायगा भन्ने । यो प्रवृत्ति नयाँ होइन पुरानै हो । सजिलो छ एकले अर्कालाई दोष दिन र यहाँ केही भएन भन्न । केही भएन भन्नेले आफूले चाहिँ कति गरे यो देशको समृद्धिका खातिर ? यो कुराको पनि मनन गर्ने हो कि ? जनता आफैँ जागरुक नभएसम्म यो देशमा केही हुनेवाला छैन । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध