व्यापारघाटा न्यूनीकरणका उपाय

व्यापारघाटा न्यूनीकरणका उपाय

साधारणतया आयातको वृद्धिदर बढ्नु र निर्यातको वृद्धिदर घट्नु नै व्यापारघाटाको अवस्था हो । नेपालमा उत्पादन कम र खपत अत्यधिक मात्रामा भएकोले यस्तो अवस्था विद्यमान भएको हो । नेपालले प्रत्येक वर्ष झण्डै एक आर्थिक वर्षबराबरको रकम व्यापारघाटा बेहोर्नु परेको छ । यहाँ विप्रेषणबाट दैनिक सरदर दुई अर्ब रूपैयाँ भित्रिए पनि उक्त रकमले यहाँको व्यापारघाटालाई थेग्न सकेको छैन । निरन्तर तीव्र गतिमा बढिरहेको आयातको कारण यहाँको शोधनान्तर स्थिति पनि ऋणात्मक भएको छ । 

गएको आर्थिक वर्षमा यहाँको आयातको हिस्सा ९३ दशमलव नौ प्रतिशत र निर्यातको छ दशमलव एक प्रतिशत रहेको कुरा एक आधिकारिक तथ्याङ्कले इंगित गरेको छ । यहाँ उत्पादन र उत्पादकत्व बढ्न नसकेको कारण यो वर्ष व्यापारघाटा ११ खर्ब ६२ अर्ब पुगेको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा कुल व्यापारघाटा ४५ दशमलव नौ प्रतिशतले बढेको छ ।

उक्त प्रतिवेदनअनुसार असोज मसान्तसम्म व्यापारघाटा बढेर तीन खर्ब ४९ अर्ब ८४ करोड रूपैयाँ पुगेको छ । यस अवधिमा कुल वस्तु आयात ४३ दशमलव छ प्रतिशतले बढेर तीन खर्ब ७३ अर्ब ७९ करोड रूपैयाँ पुगेको छ । उक्त अवधिमा भारतबाट ४० दशमलव आठ प्रतिशत, चीनबाट ४५ दशमलव नौ प्रतिशत र अन्य मुलुकहरूबाट ५० दशमलव पाँच प्रतिशतले आयात बढेको छ । 

चालू आवको तीन महिनामा कुल वस्तु निर्यात १६ दशमलव एक प्रतिशतले बढेर २३ खर्ब ८४ करोड पुगेको छ । जसमध्ये भारतमा २० दशमलव दुई प्रतिशत, चीनमा १४ दशमलव चार प्रतिशत र अन्य मुलुकहरूमा ११ दशमलव दुई प्रतिशत छ । वस्तुहरूमा पोलिष्टर, धागो, जस्तापाता, ऊनी, गलैँचा, पश्मिाना र दन्तमन्जनको निर्यात बढेको छ भने अलैँची, रोजिन, छाला, जीआई पाइप र आल्मुनियमका वस्तुहरूको निर्यात घटेको छ । उक्त तथ्याङ्कले आयात र निर्यातबीच निकै असमानता भएको इंगित गर्दछ । त्यसैले व्यापारघाटा निकै बढेको छ ।

वस्तुतः व्यापारघाटा न्यून गर्न निकासीका लागि प्राथमिकतामा परेको वस्तुहरूको उत्पादन तथा बजार विकासका लागि चाहिने सिंचाई, बाटोघाटोजस्ता अत्यावश्यक सुविधाहरूका लागि नेपाल सरकारको सम्बन्धित मन्त्रालयले व्यवस्था गर्न नितान्त आवश्यक छ । निकासीयोग्य कृषि तथा वनजन्य वस्तुहरूको उत्पादन तथा प्रशोधनका लागि आवश्यक, औजार, कच्चा पदार्थ तथा अन्य सामग्रीहरू पैठारी गर्न इच्छुक निकासीकर्ताहरूलाई उपयुक्त आर्थिक सहयोग उपलब्ध गराएमा यहाँको निकासी अभिवृद्धि गर्न सहयोग हुनेछ ।

यति मात्र होइन, निकासी गर्न तोकिएका कृषि तथा वनजन्य वस्तुहरूको उत्पादनका लागि जग्गा, बीउबिजन, मल र सिंचाईको व्यवस्था गर्न सहुलियत दरमा ऋण प्रदान गर्न वाञ्छनीय देखिन्छ । वर्तमान समयमा धेरै मूल्य प्राप्त हुने तर चाँडै सड्ने कृषिजन्य वस्तुहरू पनि प्रचुर मात्रामा निकासी हुन थालेकोले यस्ता वस्तुहरूको निकासीकर्ताहरूलाई प्रोत्साहन दिन उचित स्थानमा अत्याधुनिक शीत गोदामको व्यवस्था गर्न जरुरी छ । यसका लागि निजी क्षेत्रलाई विशेष सुविधा दिई प्रोत्साहन दिन उपयुक्त हुन्छ ।

वस्तुतः यहाँका निकासीकर्ताहरूलाई तोकिएका बाली भित्र्याई तिनका सुरक्षा, प्राशोधन, प्याकिङ, ढुवानी आदि कार्यसम्बन्धी सूचना, जानकारी, तालिम र विभिन्न देशमा आयोजना गरिने अन्तर्राष्ट्रिय कृषिसम्बन्धी भेलाहरूमा सहयोग गरेमा निकासी प्रवर्द्धन गर्न सकिन्छ । विगतमा नेपालले बाह्य कृषि मेलाहरूमा सक्रियरूपले भाग लिएको पाइँदैन । त्यसैले आउँदा वर्षहरूमा उक्त मेलाहरूमा यहाँ उत्पादित निकासीयोग्य वस्तुहरू प्रदर्शन गरेमा यहाँको निकासी व्यापारमा सकारात्मक प्रभाव पर्न सक्छ । 

नेपालका निकासीयोग्य चीजहरूमा हस्तकला तथा घरेलु उद्योगका सामानहरूले एक महत्वपूर्ण स्थान ओगटेको छ । त्यसैले यी चीजहरूमध्ये सुनचाँदीको गहना, ढाका कपडाका सामान, ऊनीका सामान, लोक्ताका कागत एवं सामान, काठ तथा माटाका सामानलाई प्राथमिकता दिई ती चीजहरूको थप निकासीका लागि सम्बन्धित पक्षको विशेष ध्यान आकृष्ट हुनु परेको छ । 

वर्तमान सन्दर्भमा हस्तकला तथा घरेलु उद्योगको सामानहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन निकासी गर्दा लाग्ने ढुवानी भाडामा सहुलियत दिन जरुरी छ । जसरी यहाँबाट निकासी गरिने सुनचाँदीका गहनाका लागि गुणस्तर सुधारका लागि आधुनिक प्रविधिको आवश्यकता छ त्यसरी नै आवश्यक औजारको पैठारी एवम् तालिम प्रदान गर्न उत्तिकै जरुरी छ । 

ऊनका सामानहरूको गुणस्तर सुधार गर्ने, ऊन पैठारी गर्ने र धागो बनाई सम्बन्धित व्यक्तिहरूलाई बिक्री गर्ने उद्यमीहरूलाई कच्चा ऊन ढुवानी गर्दा लाग्ने भाडामा केही सहुलियत प्रदान गर्न आवश्यक छ । वर्तमान समयमा लोक्ला कागजको माग निकै बढेको छ । त्यसैले लोक्ता उत्पादन गर्न इच्छुक व्यक्तिहरूलाई लोक्ता उत्पादन परियोजनाअन्तर्गत लिजमा जग्गा उपलब्ध गराइदिन आवश्यक छ । 

विगतमा निकासीयोग्य भनी तोकिएका हस्तकला तथा घरेलु उद्योगका सामानहरूको गुणस्तर प्रवद्र्धन गर्न इच्छुक व्यक्तिहरूलाई प्राविधिक तथा आर्थिक सहयोग जुटाउन वाञ्छनीय देखिन्छ । यति मात्र होइन, उक्त सामानहरूको सूची तयार गरी वेवसाइटमा राखेमा पनि निर्यात प्रवद्र्धनमा केही योगदान पुग्न सक्छ । निर्यातजन्य वस्तुको पहिचान, प्रवद्र्धन र बजारीकरणको अभावले वर्षेनी व्यापारघाटा बढेको सरोकारवालाहरूको भनाइ छ । त्यसैले यसका लागि सम्बन्धित पक्षको ध्यान आकृष्ट हुनु पर्छ । 

प्रत्येक वर्ष बढिरहेको व्यापारघाटा न्यून गर्न रणनीतिक योजनाको आवश्यकता छ । निर्यात व्यापार अभिवृद्धि गर्न यहाँका उत्पादनमूलक वस्तुको उत्पादन बढाउन जरुरी छ जसका लागि वर्तमान करको दर न्यून गर्न आवश्यक छ । यहाँ विद्यमान व्यापारघाटा कम गर्न एकातर्फ उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्ने गरी कानुनी व्यवस्थाको सुनिश्चितता कायम गर्न आवश्यक छ भने अर्काेतर्फ आन्तरिक व्यापार स्वच्छ, प्रतिस्पर्धी र नियमित गर्न पनि उत्तिकै जरुरी छ । यीबाहेक यहाँ भइराखेको सुख्खा बन्दरगाहको विस्तार एवं स्तरीय सामानहरूको उत्पादनका लागि गुणस्तर विकास कार्यक्रमहरू सञ्चालन गर्न उचित देखिन्छ । 

वास्तवमा यहाँ यथेष्ट मात्रामा निकासीयोग्य सामानहरूको उत्पादन गर्न नसक्दा व्यापारघाटा प्रत्येक वर्ष बढ्दै गएको हो । केही वर्षयता यहाँबाट निकासी गरिँदै आएका फलाम र फलामका वस्तुहरू, धागो, ऊनी, गलैँचा, तयारी पोशाक, जुटका सामान, पश्मिनाका सामान, तामाका सामान, चिया, मञ्जन, छाला आदिको निकासी अभिवृद्धिको क्रम जारी गर्न निकासकर्ताहरूलाई बिनाधितो ऋण दिने व्यवस्था गर्नुपर्छ । 

विदेशमा प्रशस्त माग भएका र सहज तरिकाबाट बजार पाउन सकिने भनी पहिचान गरिएका कृषिजन्य वस्तुहरूको लागि सम्बन्धित जिल्लाहरूलाई उक्त वस्तुहरूको निकासीयोग्य जिल्ला भनी घोषणा गर्न उचित हुन्छ । यति मात्र होइन, विभिन्न निकासीयोग्य वस्तुहरूको उत्पादन तथा प्रशोधनमा योगदान पु-याएका अन्य जिल्लाहरूलाई निकासी जिल्लाको रूपमा घोषणा गरी निकासी प्रवद्र्धनमा विशेष जोड दिन जरुरी छ । 

निर्यातकर्ताहरूले आ–आफ्ना कार्यालयहरू विदेशमा खोल्न चाहेमा अनुमति र कार्यालय सञ्चालनका लागि निर्यातबाट आर्जन गरेको रकमबाट केही प्रतिशत विदेशी विनिमय सटही सुविधा प्राप्त गरी कार्यालय सञ्चालन गर्ने स्वीकृति दिन उचित हुन्छ । कृषि तथा वन क्षेत्रमा थप लगानी गरी उत्पादकत्व तथा प्रशोधन कार्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्यातयोग्य चिजहरू जस्तैः तरकारी, दाल, चिया, कफी, रेशम, अदुवा, लसुन, फूल, फलफूल आदि कुराहरूलाई प्राथमिकता दिई व्यवसाय तथा बजार व्यवस्थापन गर्न आवश्यक छ । 

नेपाल औद्योगिक क्षेत्रमा निकै पछाडि भए पनि यहाँका हस्तकलाका सामानहरूको विदेशमा निकै माग छ । यी सामानहरूमध्ये धातुबाट बनेका मूर्ति तथा गहनाहरू अग्र स्थानमा छन् भने अल्लो, सिस्नो र बाँसबाट बनेका कपडाको निकै माग छ । परन्तु केही वर्षयता यहाँका युवाहरू रोजगारीका लागि खाडी मुलकहरूमा जाने प्रवृत्ति बढेकोले हस्तकलाका सामानहरू उत्पादन गर्न कठिन भएको छ । केही ठाउँमा त उक्त सामानहरू उत्पादन गर्न विदेशी कालीगडहरू बोलाउने अवस्था पनि सिर्जना भएको छ ।

वस्तुतः हस्तकलाको प्रवद्र्धनले त्यहाँको व्यापारघाटा न्यून गर्न केही सघाउ पु¥याउन सक्छ । त्यसैले एकातर्फ यहाँ विद्यमान हस्तकलाका सामानहरूमा युग सुहाउँदो केही परिवर्तन गर्न आवश्यक छ भने अर्काेतर्फ संरक्षणको लागि सरकारको सहयोग पनि उत्तिकै आवश्यक छ । जबसम्म नेपालमा आन्तरिक उत्पादन वृद्धि गरी निर्यात बढाइँदैन, तबसम्म व्यापारघाटा कम हुँदैन । त्यसैले सरकारले वित्तीय सन्तुलनसम्बन्धी नीति–नियमहरू बनाई कार्यान्वयन गर्नुपर्छ । हालसालै प्रकाशित एक आधिकारिक तथ्याङ्कअनुसार नेपालको व्यापारघाटा केही घटे पनि विगतमा यहाँको उक्त घाटा निरन्तर रूपले बढेको थियो । एक दशकको अवधिमा यहाँको व्यापारघाटा झण्डै तीन सय प्रतिशत बढेको छ ।

वस्तुतः विगतका सरकारले स्वदेशी उत्पादनको बजारीकरण त गर्न सकेन नै निर्यातमूलक उत्पादन विस्तारका लागि पनि ठोस पहल गर्न सकेन । निर्यात बढाउन नेपाल एकीकृत व्यापार रणनीति बनाइएको थियो जुन धेरैजसो कृषि उत्पादनमा केन्द्रित थियो । उक्त रणनीतिले विशेष महत्व दिएका उत्पादनहरूलाई जोड दिन थप योजना तथा कार्यक्रम बनाउन नसक्नाले ठोस प्रतिफल दिन सकेन । 

मुख्यतया भारत, बङ्गलादेश र चीनको स्वशासित क्षेत्र तिव्बत नेपालको कृषिजन्य वस्तुको प्रमुख बजार हुन् । भारतसँगको निर्यात व्यापारमा नेपालले धेरै कठिनाइ सामना गर्नु परेको छ । परन्तु हालसम्म पनि कुनै पनि सरकारले यस सम्बन्धमा ठोस कार्य गर्न सकेको छैन । वास्तवमा वर्तमान अर्थमन्त्रिले सरकार गठन भएलगत्तै सर्वजनिक गरेको श्वेतपत्रमा विद्यमान व्यापारघाटा यहाँको अर्थतन्त्रका लागि जोखिमपूर्ण भएको उल्लेख गरेका थिए । तर, खेदको कुरा त के छ भने वर्तमान सरकारको पछिल्लो बजेट आएदेखि नै व्यापारघाटा चुलिँदै गएको छ ।

हालसालै सरकारको लक्ष्यअनुरूप आयात नभएको कारण कम भन्सार उठेको कुरा प्रकाशमा आएको छ । जब सरकारले नै औपचारिकरूपमा आयात बढाउने र यसबाट बढी राजस्व आर्जन गर्ने लक्ष्य लिन्छ भने भविष्यमा पनि व्यापारघाटा न्यून हुने कम सम्भावना छ । व्यापारघाटा कम गर्न एकतिर आन्तरिक उत्पादनमा जोड दिनु आवश्यक छ भने अर्कोतिर विलासी वस्तुहरूको आयात बढाउन जरुरी छ ।

तर, यो कुरा अझसम्म पनि सम्भव भएको छैन । नेपाल एक अति कम विकसित मुलुक भएकाले विश्व व्यापार संगठनको नीतिमा केही खुकुलोपन छ । त्यसैले एकातर्फ उक्त खुकुलोपनको सदुपयोग गर्न आवश्यक छ भने अर्कोतर्फ आन्तरिक उत्पादन अभिवृद्धि गर्न नयाँ नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर्न पनि उत्तिकै जरुरी छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस