नेपालको पर्यटनमा चीन र भारतको उपस्थिति

नेपालको पर्यटनमा चीन र भारतको उपस्थिति

नेपालमा चीनका पर्यटकहरू सन् २००३ देखि मात्रै आउन थालेका हुन् । त्यसअघि चीन सरकारले आफ्नो देशका नागरिकलाई नेपालमा पर्यटक भएर आउने अनमुति दिएको थिएन । यसरी सन् २००३ मा चीन सरकारले आफ्नो देशका सर्वसाधारण नागरिकलाई पर्यटकको रूपमा नेपाल भ्रमण गर्ने अनुमति दिएपछि सोही वर्ष सात हजार पाँच सय ६२ जना सर्वसाधारण चिनियाँ नागरिकहरू घुम्न–डुल्नका लागि पर्यटकका रूपमा नेपाल भित्रिएका थिए भने त्यसयता लगातार चीनबाट नेपाल आउने पर्यटकहरू बढिरहेका छन् । 

त्यति मात्रै होइन, केही वर्षपछि नै भारतबाट भन्दा चीनबाट नेपाल आउने पर्यटकको संख्या धेरै हुनेछ । सन् २०१६ देखि नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या बढाउनकै लागि पनि नेपाल आउन चाहने चिनियाँ पर्यटकहलाई निःशुल्क प्रवेशाज्ञा दिने नीति लिएको छ, नेपाल सरकारले । त्यसका लागि हाल नेपाल सरकारले १५ दिन, ३० दिन र ९० दिन गरी तीन तहमा नेपाल आउन चाहने चिनियाँ पर्यटकलाई निःशुल्क प्रवेशाज्ञाको व्यवस्था लागू गरेको छ । 

चिनियाँ पर्यटकको सन्दर्भमा भन्नुपर्दा हालसम्म नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । जस्तैः चिनियाँ पर्यटकहरू नेपालमा चार/पाँच दिनदेखि ९/१० दिनसम्म बिताउनेहरू बढी देखिन्छ । हुन त चिनियाँ पर्यटकहरू ट्रेकिङ, -याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिकरूपमा भने भारतीय पर्यटकहरूभन्दा चिनियाँ पर्यटकहरूबाट फाइदै फाइदा देखिन्छ । तापनि हामीले डिलक्स, लक्जरियस, सक्दो खर्च गर्न सक्ने र कम्तीमा ८/१० दिनदेखि १४/१५ दिनसम्म नेपालमा बिताउने खालका चिनियाँ पर्यटक र भारतीय पर्यटकहरू धेरैभन्दा धेरै भित्र्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ । 

त्यसो त चिनियाँ पर्यटकहरू ‘मक्खिचुस’ नै भने होइनन् । किनभने, गत केही वर्षअघिदेखि संयक्त राष्ट्र संघ सम्बद्ध संस्था यूएन–डब्लूटीओलगायत विश्व पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूले गरेको विभिन्न अनुसन्धान गरेर निकालेको तथ्याङ्कहरूमा चिनियाँ पर्यटकहरू लगातार विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिएका/दरिएका छन् । त्यति मात्रै होइन, चिनियाँहरू संख्याकै आधारमा पनि विश्वका धेरै संख्यामा विश्व भ्रमणमा निक्लिने पर्यटकका रूपमा दरिएका छन् । सायद अब पृथ्वीको अस्तित्व रहेसम्म चिनियाँ पर्यटकहरूको संख्या र खर्च गराई दुवैलाई अन्य देशका पर्यटकहरूले उछिन्न सक्ने छैनन् । 

हुन त नेपालमा भारतीय र चिनियाँ पर्यटक मात्रै होइन, अन्य देशका विदेशी पर्यटक भित्र्याउनका लागि नभई नहुने आधारभूत आवश्यक्ताहरू जस्तैः हवाइजहाज, हवाई मैदान अर्थात् विमानस्थल, मोटरबाटो अर्थात् सडक, होमस्टे, होटल, लज, गेस्ट हाउस, रिसोर्ट, मोटेल (नेपालमा हालसम्म मोटेलको अवधारणाले साकार रूप लिइसकेको छैन) कुनै पनि विदेशी पर्यटकले इच्छाएको खाना, हुन त खानाको सन्दर्भमा भन्नुपर्दा स्थानीय उत्पादनलाई जोड नदिने हो भने कुनै पनि पर्यटकले खानाका लागि खर्च गर्ने लगभग ८० प्रतिशत पैसा विदेशीने सम्भावना हुन्छ ।

यो कुरा केही अघिसम्म र हालसम्म पनि नेपालमा सञ्चालित ठूला होटल/तारे होटलहरूमा माछा, मासु, मरमसला, खाद्यान, पेय, पदार्थलगायत कतिपय आवश्यक सरसामान नेपाल बाहिरबाटै ल्याउँथे भने अझै पनि तारे होटलहरूले विदेशी खाद्यपदार्थ नै ल्याउनु पर्ने बाध्यता छँदै छ । हुन त केही वर्षदेखि नेपाली खानालाई पनि प्रवर्द्धन गर्ने क्रम बढेको छ । जुन कुरोलाई ढिलै भए पनि राम्रो मान्न सकिन्छ । निश्चय नै यसले भविश्यमा राम्रो परिणाम दिनेछ । यता कतिपय ठूला होटलहरूले आफ्नो लागि चाहिने दक्ष जनशक्ति जस्तैः म्यानेजर, हेड कुक, एसिस्टेन्ट कुक, क्याप्टेन, वेटर, बारमेन आदि समेत विदेशी नै (खासगरी भारतीयहरू) ल्याउने गरेको पाइन्छ । त्यसो त होटल म्यानेजमेन्टको पढाइ नेपालमै पनि हुँदै गरेको र विदेश गएर होटल म्यानेजमेन्ट पढेर आउने नेपालीहरू पनि बढ्दै गएकोले यो समस्या पनि छिट्टै समाधान होला नै । 

जे होस्, हामी सबैले देखेको, भोगेको र महसुस गरेको भनेको नेपालको पर्यटन प्रवर्द्धनमा सबैभन्दा ठूलो समस्या भन्नु नै हवाईजहाज र अन्तर्राष्ट्रिय हवाई मैदानको समस्या हो । हुन पनि हालसम्मको हाम्रो देशको अवस्था कस्तो छ भने अहिलेसम्म एकैपटक दोहोरोरूपमा ठूलो जहाज (अन्तर्राष्ट्रिय रुटमा चल्ने हवाईजहाज) उड्न र बस्न सक्ने धावनमार्ग भएको विमानस्थल समेत छैन । विगत लामो समयदेखि सञ्चालनमा रहेको एउटा विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ पनि अन्तर्राष्ट्रिय मापदण्डविपरित गुजुमज्जु मानवबस्तीसँगै छ । त्यो वास्तविक क्षमताभन्दा १०औँ गुणा बढी यात्रुको चाप र हवाईजहाज पार्किङ गरेर राख्नु परेको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलको कुरो गर्दा बल्लतल्ल बारा जिल्लाको निजगढ, कास्की जिल्लाको पोखरा, कपिलवस्तु जिल्लाको लुम्बिनी आदिले चर्चा पाइरहेको छ । चर्चा पाइरहेको मात्रै होइन, कपिलवस्तु जिल्लाको भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा त अब लगभग ठूला खाले विमानहरू उडान र अवतरण गर्न सकिने गरी तयार भएको भनी पत्रपत्रिकामा समाचार आएको छ । जे कुरोमा पनि राजनीति गर्ने बानी परेको हामी नेपालीहरूले यस विषयमा पनि ठूलै राजनीतति गरेको देखिन्छ । अन्तर्राष्ट्रिय विमानस्थल कहाँ बन्ने भन्ने विषय टुङ्गो लाग्न नै लामो समय लागेको कुरा सबैलाई सर्वविधितै छ । कहिले निजगढ, कहिले पोखरा त कहिले लुम्बिनीमा बन्ने भन्दै लामो समयसम्म नेपालीलाई अलमल्याएको पाइन्छ । यसरी नेपालमा नयाँ अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने चर्चा भएको लामो समयपछि बल्लतल्ल बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने तय भएको छ । यो सबै नेपाली र समग्र पर्यटन क्षेत्रको लागि खुशीको कुरा हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध