पर्यटकको आकर्षण बन्दै तारेभीर पोखरी

पोखरा, कात्तिक २१
कलान्तरदेखि वर्षात्को पानी संकलन गरी वस्तुभाउसँगै कृषिमा उपयोग गर्दै आइएको यहाँको एक ऐतिहासिक पोखरी यतिखेर भने पर्यटकीय गन्तव्य बनेको छ । पर्यटकीय नगरी पोखराको वडा नं २२ पुम्दीभुम्दीस्थित तारेभीर पोखरी संरक्षण र आवश्यक भौतिक संरचना निर्माणसँगै यो आन्तरिक एवं बाह्य पर्यटकको पनि आकर्षण बनेको हो । स्थानीय ९२ वर्षीय जङ्गबहादुर गुरुङका अनुसार खानेपानीको समेत अभाव रहेको तत्कालीन अवस्थामा पशुपालन र खेत रोप्नको लागि तारेभीर पोखरीको पानी प्रयोग गर्दै आइएको थियो ।

गाउँको सिरानमा रहेको पोखरीमा वर्षौंभर पानी रहने गरेको अनुभव सुनाउँदै उहाँले त्यस समयमा पशुलाई पोखरीमै लगेर पानी खुवाउनुको साथै भैँसीका लागि आहाल बस्न उपयोगी भएको थियो । गाउँको इतिहासको साक्षीजस्तै बनको पोखरी यतिखेर संरक्षण र पूर्वाधार विकाससँगै पर्यटकीय गन्तव्य जस्तै बनेको उनले बताए । त्यस समयमा खानेपानी भने आधा घण्टा लगाएर धाराखोलाबाट ल्याउने गरेको जानकारी दिँदै उहाँले अहिले भने पातलाखर्कबाट पाइपमा ल्याइएको पानीका धारा घरघरमा रहेको बताए ।

समुद्री सतहदेखि लगभग एक हजार ६०० मिटरको उचाइमा अवस्थित २० मिटर लम्बाइ, १५ मिटर चौडाइ रहेको पोखरीको गहिराइ साढे एक मिटर रहेको वडासदस्य चेतभक्त बरालले जानकारी दिए । उनका अनुसार पोखरा महानगर वडास्तरीय बजेट दुई लाख ५० हजार र हरियो वन कार्यक्रमको ७५ हजार रुपैयाँ एवं स्थानीय जनसहभागिता परिचालन गरी लगभग चार लाखको लागतमा पोखरीको पुनर्निर्माण गरिएको हो ।

पोखरीको चारैतर्फ पक्की परखाल लगाई करिब १० मिटर उचाइको तारजालीले बारेर दुई वटा ढोका राखिएको बताउँदै उहाँले जसले संरक्षणसहित सफा र सुन्दरतामा सहयोग पुगेको जानकारी दिए । आफू सानो हुँदा पोखरीको पानीमा पौडी खेल्ने गरेको स्मरण गर्दै स्थानीय डिलबहादुर गुरुङले अहिले संरक्षण गरेसँगै पोखरीमा माहुर जातका ८०० माछाका भुरा हालेको बताए । पोखरीमा अहिले भैँसीलाई आहाल बस्न नदिने गरी संरक्षण गरिएको बताउँदै उहाँले पोखरीको निकासबाट तल्लो भेगमा रहेको दश घर परिवारको लगभग १५ हल खेतमा सिँचाइको सुविधा पुगेको बताए ।

अन्नपूर्ण, माछापुच्छ्र्रे, धौलागिरिलगायतका मनोरम हिमशृंखलासहित फेवाताल र केही पोखरा बजारको समेत दृश्यावलोकन गर्न सकिने सो स्थानमा अहिले पनि दैनिक ५० देखि एक सय जनासम्म पर्यटक आउने गरेको उनको भनाइ छ । पोखरीबाट नजिकै रहेको पुम्दीभुम्दीको कालावाङ घडेरी घरवास कार्यक्रममा आउने पाहुनालाई उक्त रमणीयस्थलसम्म पु¥याउनका लागि पहल भइरहेको बताउँदै उनले यसको प्रचारप्रसारको आवश्यकता रहेको औँल्याए ।

तारेभीर पोखरीको आँगनमा रहेको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसादले पोखरीलाई विद्यालयको आम्दानीको स्रोतका रुपमा विकास गर्नुपर्ने बताए । विद्यालयमा हाल ४० विद्यार्थी अध्ययनरत छन् । पोखरा–सिद्धार्थ राजमार्ग खण्डको छोरेपाटनदेखि पर्यटकीयस्थल शान्ति स्तूपा हुँदै पलाइचे गाउँको सिरानमा रहेको सो पोखरीसम्म पुग्नको लागि कच्ची मोटर बाटो निर्माण गरी यातायाताको सुविधासमेत पुगेको छ । तत्कालीन आवश्यकताका लागि पुर्खाले सयौँ वर्ष अघि खनेका तारेभीरजस्तै प्राचीन पोखरीको संरक्षणसहित पर्यटन प्रवर्द्धन गर्नसके ग्रामीण क्षेत्रमा हुने प्राङ्गारिक उत्पादनको बजारीकरणमा सहयोग पुग्ने र स्थानीय बासिन्दाको आयआर्जनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । रासस (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस