रुपन्देहीमा स्थायी लेखा नम्बर लिने बढे

बुटवल, कात्तिक २१
रुपन्देहीको बुटवलस्थित आन्तरिक राजस्व कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या बढ्दै गएको छ । हालसम्म कुल ६० हजार ३ सय ५२ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएको सो कार्यालयले जनाएको छ । उक्त संख्यामध्ये चालू आर्थिक वर्षको २०७६/०७७ को कात्तिक १५ गतेसम्म झण्डै सात महिनाको अवधिमा २८ हजार ६ सय ८४ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएको आन्तरिक राजस्व कार्यालय, बुटवलका प्रमुख कर अधिकृत अर्जुन ढकालले जानकारी दिए ।

व्यक्तिगत स्थायी लेखा नम्बर लिनेमा अधिकांश सरकारी कर्मचारी भएको बताइएको छ । वि.सं. २०७६ असार मसान्तसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ३१ हजार ६ सय ६८ रहेको छ । ‘सरकारले यसलाई व्यवस्थापन गर्न खोजेकाले पनि प्यान अनिवार्य भएको छ’, उनले भने । त्यस्तै व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या पनि बढ्दै गएको छ ।

अहिलेसम्म कूल ५२ हजार २३२ ले व्यावसायिक प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् । उक्त संख्यामध्ये चालू आव २०७६/०७७ को कात्तिक १५ गतेसम्म चार हजार ९९२ ले व्यावसायिक प्यान लिएका छन् । वि.सं. २०७६ असार मसान्तसम्म ४७ हजार २४० ले व्यावसायिक प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् ।

यसैगरी मूल्यअभिवृद्धि कर (भ्याट) मा अहिलेसम्म आठ हजार ६३९ ले दर्ता गराएका छन् भने वि.सं. २०७६ को कात्तिक १५ सम्म एक हजार २७० ले दर्ता गराएका छन् । अहिलेसम्म भ्याटमा दर्ता गराउनेको संख्या सात हजार ३६९ रहेको छ । स्थायी लेखा नम्बर आयकर, मूल्यअभिवृद्धि कर एवं अन्तशुल्कसम्बन्धी सबै कारोवारको लागि प्रयोग हुने बताइएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस