नेपालीको सपना र प्रजातन्त्र दिवस

नेपालीको सपना र प्रजातन्त्र दिवस

हरेक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँने गर्छौँ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि भन्दै गरेको लामो समय व्यतीत हुँदा पनि नेपालीहरूका सपना भने अधुरै छन् । जब राज्य निदाउँछ तब चोर फटाहाहरूको बिगबिगी बढ्छ । गुण्डागर्दी फस्टाउँछ । विश्वबन्धुत्व नै गुमराहमा पर्न जान्छ । चोरी, हिंसा, लुटपाट हुन रात नै पर्नु पर्दैन । दिनदाहाडै नागरिकहरू असुरक्षित हुन्छन् । राज्यमा अन्याय बढ्छ । राज्य सुत्ने होइन, जागा हुन जरुरी छ । यो सर्वमान्य सिद्धान्त हो ।

जात कुनै सोपान होइन । कार्यविशेषले सबै ब्राह्मण, क्षत्री, वैश्य, शुद्र हुन् । जब ज्ञानको, सीपको, दक्षताको, कुशल नीतिको, दैवी शक्तिको प्रयोग हुन्छ, व्यक्ति ब्राह्मण हुन्छ । पढ्ने पढाउने उपदेश दिने सबैजसो कार्य मुखबाटै हुन्छ । शिक्षा, दीक्षा, चरित्र निर्माण कार्य ब्राह्मण कार्य भयो । त्यही व्यक्ति सबैको रक्षा, सुरक्षा दिन्छ, साहसी काय गर्छ, ठूला वीरताका कार्यहरू गर्छ, बाहुबलको प्रयोग गर्छ, आत्मबल बाहुवलमा प्रयोग हुन्छ, त्यही व्यक्ति क्षत्री भैहाल्छ । पहिला मुखको प्रयोग, अब क्षत्री भयो बाहुको प्रयोग, इतिहास रच्ने साहसी कार्यमा लाग्यो । उही व्यक्ति भरण पोषण, खरीद, बिक्री, बन्द, व्यवसाय आदिमा लाग्यो, प्रगतिपथ, आर्थिक लगानी, उत्पादन, उत्पादनका वस्तुहरूको प्रयोग, खाद्यान्न, लत्ताकपडा, जीवनयापका क्षेत्रमा आइपर्ने तमाम आर्थिक गतिविधि गर्न बस्यो उही व्यक्ति वैश्य भइहाल्यो । थोरै नाफा लिएर व्यापारिक समुन्नति, सेवातर्फ लाग्यो वैश्य भयो । अब यतिले जीवन पूर्णता भएन । सेवा चाहियो सेवा गर्न एउटै स्थानमा थन्किएर हुन्न । मान्छे मूर्ति, चलायमान हुन खोज्छ, उसका खुट्टाहरू बलिया हुनुपर्छ । सेवा लिन, सेवा दिन हिँड्डुल जरुरी छ अर्थात् खुट्टाको प्रयोग, आपूर्ति धन्दा, यातायात, सञ्चार आदि । खुट्टामा काँडा बिज्दा शरीरको सबै अङ्ग शिथिल भइहाल्छ । घरको जग राम्रो भएन भने के हुन्छ ? सुन्दर शरीर राम्रो घर, राम्रा व्यापारिक कम्प्लेक्स हुन्, मजबुत हुन सतह बलियो हुनु जरुरी छ ।

रामका गुरु विश्वामित्र जन्मदै ब्राह्मण थिएनन् । महाभारतका प्रकाण्ड विद्वान विदुर दासीपुत्र हुन् । हाम्रै काले राई ब्राह्मण कुलका होइनन् । सिद्धार्थ गौतम पनि ब्राह्मण कुलका होइनन्, खप्तड बाबा, शिवपुरी बाबा यस्ता धर्मवीर, कर्मवीर हाम्रासामु कति उदाहरण छन् । हिजो आजकै मठ–मन्दिरमा पनि सबैतिर ब्राह्मण कुलमा जन्मेका बाहुनहरू मात्रै छन् र ? यो जातिपातिका कुरो ठूलो समस्यै होइन । एउटै व्यक्ति कार्य विशेषले ब्राह्मण, क्षत्री, वैश्य एवं शुद्र हुन सक्छन् । कोही कसैले होच्याउन मिल्दैन । आ–आफ्नो कुल परम्पराअनुसार सबैले सबैको सम्मान गर्नै पर्छ । राज्यले सबैको आत्मसम्मान हुने र स्वाभिमानमा बाँच्न पाउने वातावरण तय गरिदिनुपर्छ । त्यही हो प्रजातन्त्र, अब्राहन लिङ्कनले उहिल्यै भनेका थिए प्रजातन्त्र जनताको, जनताकै लागि, जनताद्वारा सन्चालित प्रणाली हो भनेर ।

बाह्य चर्चा बढी छ, हामीकहाँ । कस्तुरी मृगले नाभिबाट आउने बास्ना अन्त कतैबाट आएको होला भनी खोज्दै हिँडेझैँ हामी त्यस्तै भएका छौँ मृगतृष्णामा छौँ । मुलुकमा एक सय २३ भाषा छन् । तीमध्ये ९६ प्रतिशत नेपालीले १९ भाषा प्रयोग गर्छन् । बाँकी एक सय चार भाषा ४ प्रतिशत नेपालीले बोल्छन् । पहिलो मातृभाषा नेपाली बोल्ने ४४ दशमलव छ प्रतिशत छन् । दोस्रो भाषाका रूपमा बोल्नेहरू ३२ दशमलव आठ प्रतिशत छन् । संविधानले मुलुकमा बोलिने रैथाने भाषालाई राष्ट्रभाषा मानेको छ । राष्ट्रभाषाले राष्ट्र निर्माणमा सघाउँछ । मुलुकमा सात हजार पाँच सय बढी पत्रपत्रिकाहरू प्रकाशित हुन्छन् । तीमध्ये पाँच हजार नेपाली भाषामै निस्कन्छन् । दुई हजार पत्रपत्रिका अन्य मातृभाषामा निस्कन्छन् ।

झण्डै दुई हजार पत्रपत्रिका अंग्रेजी भाषामा प्रकाशित हुनेगरेका छन् । भाषा भन्नु आमा हुन्, जसले वाणी दिएको हुन्छ, बोली, शब्द, अलंकार, साहित्य, वर्णविन्यास, एक–अर्कालाई अभिव्यक्त गर्ने शब्द भाषा नै हो । यो राष्ट्रको प्राण हो, राष्ट्रियता हो । पछिल्लो जनगणानाअनुसार ४५ प्रतिशत नेपालीको मातृभाषा नेपाली नै हो । विकसित मुलुकमा झैँ हामीले भाषामा जोड दिन सकेका छैनौँ । हाम्रो रैथाने भाषा लोपोन्मुख छ । भाषामाथि अतिक्रमण भएको छ । शुद्धाशुद्धीमा ध्यान दिइएको छैन । व्याकरणिक नियमलाई छोडिएको छ । लेख्दा, बोल्दा जे लेखे पनि हुन्छ, बोल्दा जे जसरी पनि हुन्छ भन्ने मान्यताले प्रश्रय पाएको छ । वर्णविन्यास, ह्रस्वदीर्घ, कारक, विभक्ति, लिङ्ग सबै बेलगामको घोडाझैँ बनेका छन् । यहाँसम्म कि स्तरीय भनिएको राष्ट्रिय दैनिक पत्रपत्रिका, साप्ताहिक, मासिक, छापा मिडियादेखि बोलीचालीको भाषा प्रयोग हुने श्रव्यदृश्यका ठूला च्यानलहरूबाट पनि भाषिक शुद्धता अपनाएको पाइँदैन । समाचारमूलक सन्देश, गहन लेख, रचना, प्रकाशित पुस्तकहरूमा पनि मनग्गे त्रृटीहरू रहेका छन् । यसरी भाषामा हेलचेक््रयाइँ गरिने हो भने केही समयपछि हामीले आफ्नो भाषा हराइसकेका हुनेछौँ । व्यापारिक कम्प्लेक्स, सार्वजनिक परिवहन, होडिङ बोर्डहरू जसमा प्रत्यक्ष आँखा पर्दछ, यस्ता संयन्त्रहरूमा देखिने गरेको भाषिक अशुद्धताले हाम्रो नेपालीपनको मौलिकता गुमेको आभाष हुन्छ । यसरी गुम्दै जाँदा राष्ट्रियता नै कमजोर बन्छ ।

राजनीति र राष्ट्रियता नङमासुको सम्बन्ध भएझैँ संस्कृति सभ्यता, भाषा, धर्म राष्ट्रियताको पर्याय हो । स्रष्टाहरूको सम्मान मात्र गरेर पुग्दैन । भाषा, साहित्यका पुर्खा र विद्यमान सर्जक साहित्यकार, भाषाविद्, कवि, लेखकहरूको उचित सम्मानको साथै उनीहरूले दिने योगदान उनीहरूको भविष्यप्रतिको चिन्ताप्रति पनि राज्यले सजग हुनुपर्छ । देश डसेको हेर्न कोही चाहँदैन । विभिन्न भाषामा आफ्ना मनहरू पोखिएका हुन्छन् । भाषा, साहित्य सृजना आखिर समाजको दर्पण हो । राजनीति र भाषा, साहित्य अलग होइन, महाकवि देवकोटा नै यसको उदाहरण छन् । महाकवि देवकोटा पनि मन्त्री भएका हुन्, सारगर्भित पुस्तक प्रकाशन गर्ने स्रष्टाहरूलाई राज्यले खोजीसम्म गर्न सकेको छैन । राज्य राजनीतिमै मस्त छ । मुलुकको पीडा दयनीय छ । झाडु बोक्नेहरूको चित्र हेरौंँ । गरीबीको, पीडा हेरौँ, सडेगलेका झिँगा भन्केका खाना खाई लालावाला हुर्काउनेहरूको पीडा हेरौँ । सडकमा गिटी कुट्नेहरूको पीडा हेरौँ । सानो कटेरो, बाँस र चित्राले बेरेर रात कटाउनेहरूलाई हेरौँ । नाना, खाना र छानामा सम्पूर्ण जीवन अल्झिएकाहरूलाई हेरौँ, चित्र आफैँ बोल्छ चित्रण गर्नै पर्दैन । हुनेखानेको कुरा होइन हुँदाखानेको अवस्था समाजको दर्पण आफैँ प्रतिबिम्बित छ ।

छ दशकअघिको कुरा हो, मुुलुकमा दुई तिहाइ बहुमत प्राप्त सरकार थियो तर, ढल्यो । अहिले बलियो बहुमतको सरकार छ । तर, सबैतिरबाट आलोच्य छ । श्रमिकलगायत सर्वाहारा वर्गको नेतृत्व लिँदै उपल्लो दर्जामा पुगेको राष्ट्रपति पद आम जनमानसबाट आलोच्य बन्न पुग्यो । १८ करोडको गाडी सुविधाबारे राष्ट्रपति भवन विस्तार गर्ने भन्दै नजिकै स्थापित सरकारी कार्यालय विस्थापित भयो । पुरानो सामाजिक संस्था समाज कल्याण परिषद् विस्थापित हुँदै उपराष्ट्रपति भवन स्थापित भयो । राष्ट्रपति उपराष्ट्रपतिको मात्रै कुरा होइन देशभरि नै राजनीतिक निकायहरूबाट अन्य संस्थाहरू, भवनहरू विस्थापित हुँदैछन् । आम जनताप्रति वितृष्णा हुने काम राज्यले गर्नु भएन ।

२२ करोड जनसंख्या भएको भारतको उत्तर प्रदेशमा जम्मा एउटा प्रदेश छ । १० करोड जनसंख्या भएको पश्चिम बंगालमा एउटा प्रदेश छ । अनि झण्डै एक तिहाइ जनता कामको खोजीमा बाहिर गएका मुलुक हामीकहाँ ७ प्रदेशको आवश्यकता नै भएको हो त ? वैज्ञानिक पुष्टि पनि हो कि पदस्थापना मिलाउन परेर हो । कति तहका सरकारै सरकार संख्या कति हो कति । सबै तहलाई न्यूनतम पूर्वाधारको लागि मात्र मुलुकको खर्च धान्न गाह्रो हुन्न त ?

राष्ट्रियता हाम्रो यक्ष प्रश्न हो, हाम्रो स्वाभिमानमा कतैबाट आँच आउनु हुन्न । मुलुकको राष्ट्रियता कमजोर छ अहिले । सुगौली सन्धिपछि कायम भएको मेची महाकाली भूगोल हामीले दरिलो बनाउनै पर्छ । सीमा विवादको प्रसङ्ग खुलेर बाहिर आएको छ । भाइचाराको सम्बन्ध दक्षिण हाम्रो मितेरी साइनो मजबुत हुनुपर्छ । राष्ट्रियताको मियो राजनीतिमै हुन्छ । केही दशकयतादेखि राजनीति रङ्गकर्मीहरूको थलो बनेको छ । चालू नयाँ राजनीतिक परिवेशको सूत्रपात बाह्र बुँदे सम्झौता दिल्लीमै भएको थियो । भाषा संस्कृतिले डो-याएर होस् वा सामाजिक परिवेश विहावारी, लेनदेन, आर्थिक लेनदेन बजार विविधीकरण या भनौँ धार्मिक, सांस्कृतिक परिवेशले नेपाल भारतको सम्बन्ध पुरानै युगदेखि प्रगाढ रही आएको छ ।

उत्तरतिर भृकुटीको नामले दक्षिणतिर सीताको नामले पनि धार्मिक, अध्यात्मिक क्षेत्र, नारायणी विश्वनाथ होस् या पशुपतिनाथ, चारैधाम होस् या द्वादश ज्योति लिङ्ग, मुक्ति क्षेत्र जनकपुर या अयोध्या, नेता पुराना नयाँ पुस्तादेखि मोदी युगसम्म नेपाल–भारतको सम्बन्ध चिसोतातो हुँदै अध्ययन, अवलोकन, आरोह, अवरोह हुँदै लामो इतिहासदेखि हालसम्म आइपुगेको छ । पटक–पटकको सीमा विवाद, आर्थिक नाकाबन्दी कुनैबेला भात भान्सा बन्द स्वासप्रस्वास रोकिँदा पनि अबोध बालकझैँ निरीह बस्यौँ हामी । अधिकांश हाम्रो अर्थ बजार आयात निर्यात भारतीय भूमिको विकल्प छैन ।

भूपरिवेष्ठित भूमिको कारण मात्र राष्ट्रियता कमजोर भएको होइन । माया भन्नु स्वदेशको माया हो, स्वदेशीपन हो । नेपाल अरुको उपनिवेशमा परेन तर आर्थिक औपनिवेसिकता, परनिर्भरता, भाषिक औपनिवेशिकता, आयातित संस्कृतिले मुलुकको राष्ट्रियता कमजोर भएको छ । मुलुकमा रोजगारी छैन । स्वेच्छा वा विवशताले नेपालीहरू विदेशिएका छन् । आयातित सामान र तिनबाट हामीले विकासको मूल फुटाउने इच्छा गरेका छौँ । मुलुको राष्ट्रियतारूपी गाडी बलियो हुन आफ्नै धर्म, संस्कृति, भाषा र भूमिरूपी चार पाङ्ग्रा हुन जरुरी छ । भूमिमा पनि कहिल्यै टनकपुर र महाकाली सन्धिको कुरा छ, कहिले चाँदनी दोधाराको, कहिले लिपुलेकको, कहिले कोशी सम्झौताको, कहिले त्रिवेणी–सुस्ताको, कहिले मेचीपुलको । विश्वकै एक मात्र हिन्दु राष्ट्रको नाम झिकिसक्यौँ हामीले ।

पावन पशुपतिनाथको एक मात्र भूमि नेपालमा मौलिक धर्म, हिन्दु त्यो अब रहेन । विश्वको आँखा यता तान्न सकिन्थ्यो, मुलुक नेपालभन्दा नेपाल र नेपालीको मुहार सगरमाथाको शिरझै उँचो हुन्थ्यो । यसमा हाम्रो गहिरो ध्यान गएन । मुलुक बहुआयामिक संस्कृतिको धनी छ । सबै संस्कृतिलाई धेरै फूलहरू मिलाएर एउटै धागोमा बाँधेर माला बनाएझैँ रङ्गीन, हराभरा बनाएझैँ एक सूत्रमा आबद्ध थियो पहिले । अब एक–अर्काप्रति अविश्वासको संस्कृति हुर्केको छ । विदेशी संस्कृतिले बढी प्रश्रय पाउन थालेको छ । खानपिन, रहनसहन, लवाइ, भाषा, भेषभुषा सबै विदेशी संस्कृतिमय बनेको छ । वैवाहिक जोडीको संस्कृतिभन्दा पारपारचुकेको संस्कृति भित्रिरहेको छ ।

लैङ्गिक र जातीय असमानता, भौगोलिक विकटता र आर्थिक असमानतालाई हटाइनुपर्छ । हाल गणतन्त्र नेपालले धेरै विषयमा फड्को मारेको छ । मुलुकको संरचना संघीय शासन प्रणालीमा गएको छ । तर, यो प्रणाली बहुत खर्चिलो छ । विश्वका कम मुलुकमा मात्र यस्तो शासन पद्धतिले पश्रय पाएको छ । जनतालाई सार्वभौम गराउनु पर्छ तर बोलीले मात्रै होइन यो व्यवहारतः हुनुपर्छ । नेताहरूको निहित स्वार्थभन्दा नीतिले नै सञ्चालित हुनुपर्छ मुलुक । नेपालमा एक किसिमको द्वन्द्व कायमै छ । राजनीतक परिवर्तन पूरा भएको भनिए पनि आर्थिक समृद्धिको मार्गमा राज्य खुलेर लाग्न सकेको छैन ।

दिगो विकास र समृद्धिका लागि मुलुकको आफ्नै चिनारी जरुरी छ । भाषिक औपनिवेशिकता छ यहाँ भर्खरै बोली सिक्न लागेको बच्चाले पिता, माता वा हजुरबा भन्न जान्दैन । उसले भन्न जान्दछ डेडी, ममी । हाम्रो सिद्धान्त र व्यवहारमा आकाश जमिनको फरक छ । बोलीमा स्थिरता छैन, निरन्तरता छैन । मानव चित्कार छ, कुण्ठा छ, बेमेल छ, विसङ्गति छ, बेचैनी छ, बेरोजगारी छ, बेवास्ता छ, पदको लोभ छ, प्रतिष्ठाको भोक छ, पैसाको खेल छ । राम्रा मान्छेको सट्टा हाम्रा मान्छेको चयन छ, राजनीति हाबी छ, सबैतिर भागवण्डा छ, सबैतिर राजनीतिक रोजगारी छ । सुख र सन्तोष, मानव अस्मिता मानव अङ्ग बेचबिखन हुन थालेका छन् । सबै कुरा खुला बजारमै बिक्री वितरण हुन थालेको छ । ज्ञानभन्दा कुर्सी शक्तिशाली भएर ठडिएको छ । सबैलाई हाम्रो समाजमा कृष्ण बन्ने हतारो छ, युधिष्ठिर बन्ने होइन । सबैलाई यहाँ राम बन्न हतार छ, लक्ष्मण बन्ने होइन । सबैलाई कुवेर बन्ने इच्छा छ, सबैलाई अध्यक्ष बन्ने हतार छ, सबैलाई नेता नै बन्नु पर्ने हतार छ, नैतिक बन्नु नपर्ने भएको छ ।

सगरमाथा, बुद्धभूमि, अपार जलस्रोतको भण्डार, अथाह प्राकृतिक स्रोत साधन, विविधताको भूगोल, हिमाल, पहाड, पर्वतीय सृँखला, महाभारतको लेक, उर्वर तराईको भूमि, प्रशस्त औद्योगिक सम्भावना, एक मात्र हिन्दुबाहुल्य संस्कृति, धर्म, संस्कार, मन्दिरै मन्दिरले सजिएको सौन्दर्य, पर्यटन उद्योगको बेजोड सम्भावना, सरल स्वभावका नागरिकहरू, विश्वमै चिनिएको वीर गोर्खाली नेपाली कहिल्यै उपनिवेशको छायाँमा नपरेको स्वाभिमानी जनता, बहुभाषिक एकता, धर्म र संस्कृतिमा पखेरामा हुर्केका समाज, पाहुनालाई देवतासरहको व्यवहार गर्ने, साहित्यको धनी बेजोड नमूनाहरू छन् यस मुलुकमा । दिवस मनाएर मात्र हुन्न काम पनि गर्नु पर्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie