शिक्षामा अदूरदर्शी राजनीति, खस्कँदो नतिजा

शिक्षामा अदूरदर्शी राजनीति, खस्कँदो नतिजा

राज्यसञ्चालनमा आवश्यक सबै नीतिहरूको प्रमुख स्रोत राजनीति हो । राजनीतिले शिक्षा नीति बनाउने भएकोले देशलाई विश्वसामु एक सफल राष्ट्र बनाउन राजनीतिकर्मीको अहम् भूमिका रहन्छ नै । राजनीतिमा आउने विकृति र विसङ्गतिलाई न्यूनीकरण गर्नका लागि समेत शिक्षाको अतुलनीय योगदान हुन्छ । त्यसकारण राजनीतिकर्मीले क्षणिक लाभ र स्वार्थलाई भन्दा दूरदृष्टि राखेर दिगो राजनीतिका निम्ति प्रतिस्पर्धी र प्रतिष्ठित देशको रूपमा उभ्याउन शिक्षामा अशोभनीय राजनीति गर्न तत्काल त्याग्नु पर्दछ ।

सबै राजनीतिक दलहरूले शिक्षण संस्थालाई मर्यादित एवं स्वच्छ वातावरणमा चल्न दिन व्यवहारमा समेत उतार्ने खालको सङ्कल्प गरेमा निश्चय नै नेपाललाई गुणस्तरीय शिक्षा हासिल गर्ने उत्कृष्ट थलोको रूपमा स्थापित गर्न सकिन्छ । तसर्थ, शिक्षामा राजनीति कि राजनीतिमा शिक्षा भन्ने विषय हरेक राजनीतिक दलले गहन बहस गर्ने बेला आएको छ ।

राष्ट्रियस्तरमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको केही दिन शैक्षिक गुणस्तरको बारेमा चर्चा चुल्लिने गरेको छ । सामुदायिक विद्यालयको नतिजा खस्कनुको कारण र निराकरणका बारेमा आ–आफ्नो दृष्टिकोण राख्ने होड नै चलेको पाइन्छ । सरोकार पक्षबीच आफू पानीमाथिको ओभानो बनेर अरुलाई आक्षेप लगाउनेको भीड पनि उल्लेख्य नै रहेको जगजाहेर नै छ । शैक्षिक नतिजा ओरालो लाग्नुमा विविध पक्ष भए पनि राजनीतिले तय गर्ने मूल शिक्षा नीतिको प्रभावकारितामा भरपर्ने वास्तविकतालाई नजरअन्दाज गर्न सकिन्न ।

समृद्ध नयाँ नेपाल बनाउन दक्ष जनशक्तिको खाँचो पर्दछ । दक्ष जनशक्ति उत्पादन गर्न साधन र स्रोतसम्पन्न व्यवस्थित शिक्षा हुनुपर्दछ । विद्यार्थीको प्रतिभालाई अधिकतम उत्खनन गरेर उनीहरूको ऊर्जाशील क्षमतालाई सामाजिक रूपान्तरणमा खर्चेर देश विकास गर्न राजनीतिले निर्णायक भूमिका खेल्दछ । भनिन्छ बाली लगाउन ६ महिना, फलफूल फलाउन १० वर्ष र मानिस बनाउन सय वर्षको योजना चाहिन्छ ।

शिक्षक कर्मचारीलाई उनीहरूको पेसागत दक्षता र विवेकभन्दा पनि राजनीतिक आस्थाको आधारमा मूल्याङ्कन गरिनुका कारण वालवालिका गुणस्तरीय शिक्षा पाउनबाट विमुख भएका छन् । विद्यालय वर्षको दुई सय २० दिन खुल्नुपर्ने प्रावधान भए पनि ९० दिन पढाइ भए ठूलो उपलब्धि भएको ठान्नुपरेको छ । खुलोस् पनि कसरी जब कि बन्दहड्ताल जुलुसको प्रमुख तारो विद्यालय हुने गरेको छ । पाठ्यक्रम पाठ्यपुस्तकले निर्धारण गरेको समयावधि पढाई नभएको अवस्थामा हामीले कस्तो गुणस्तरीयताको अपेक्षा गर्न सकिएला ? अब त राजनीतिज्ञलाई नै संस्कारयुक्त शिक्षा दिनुपर्ने खाँचो देखिन्छ । अतः देशको हरेक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव पर्ने भएकोले राजनीतिकर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा ठूलो मान्छेभन्दा पनि असल नागरिक बन्नेतर्फ प्रेरित गर्ने खालको शिक्षाको खाँचो खट्किएको देखिन्छ  ।

हरेक प्रशासनिक निकायमा राजनीतिक स्वार्थ राखेर च्याँखे थाप्ने प्रवृत्ति हाबी भएको बग्रेल्ती उदाहरण छन् । समयको मागअनुसार शिक्षाको विकास र विस्तार गर्न आस्थाको आधारमा गरिने हस्तक्षेपकारी वैचारिक राजनीतिभन्दा पनि शैक्षिक राजनीति हुनुपर्दछ । व्यक्तिको भन्दा विधिको, नेताभन्दा नीतिको सम्बोधन गर्ने खालको दृढ इच्छाशक्ति भएको दूरदर्शी राजनीतिकर्मी उत्पादन गर्ने शिक्षा आजको खाँचो हो ।

चेतनास्तरलाई परिष्कृत गर्न शिक्षा अपरिहार्य छ । मानवको अन्तरनीहित प्रतिभाको आविस्कार गरेर त्यसको रचनात्मक, सकरात्मक र सिर्जनात्मक काममा लगाउने खालको व्यवहारिक शिक्षा आजको आवश्यकता हो । शिक्षित र चेतनशील नागरिकमा राजनैतिक चेतना पनि उच्च हुनु स्वभाविकै हो । अहिले राजनीति शब्दलाई नेपालमा सकारात्मकभन्दा नकारात्मक किसिमले हेर्ने गरिन्छ । अनियमित, अस्वाभाविक, अनैतिक काम र घटनासँग जोडेर राजनीतिलाई परिभाषित गर्नेहरूको संख्यामा पनि कमी छैन ।

वास्तवमा स्वच्छ र निःस्वार्थ दूरदर्शी राजनीतिले देश र जनताको भाग्य र भविष्य सुनिश्चित गर्छ । हरेक क्षेत्रमा अस्वाभाविक राजनीतिक हस्तक्षेपले अस्तव्यस्तता ल्याएको छ । शिक्षामा विद्यालयस्तरीय होस् वा उच्च शिक्षा राजनीति व्याप्त छ । राजनीतिको कपटपूर्ण खेलको अभ्यास गर्ने थलोको रूपमा शिक्षण संस्था परिचित हुन थालेका छन् ।

टाठाबाठाको भूलभुलैयामा अधिकांश विद्यार्थीले आफ्नो लक्षित गुणस्तरीय शिक्षा हासिल गर्नुभन्दा विद्यार्थी र जनताको हकहितको नाममा गरिने विभिन्न रूपका आन्दोलनमा होमिएका पाइन्छ । कतिपयलाई आन्दोलनको मर्म र धर्मका बारेमा छेउ पुच्छर थाहा हुँदैन । आन्दोलनको दुरगामी असरसमेत उनीहरूलाई जानकारी हुँदैन । उच्च शिक्षाका अधिकाश विद्यार्थीको यो हालत छ भने विद्यालयको के हाल होला ? आजकल शिक्षण संस्थको तोडफोड तथा गुरुलाई कालोमोसो दल्ने, कुट्ने पिट्ने, थुन्नेजस्ता सांघातिक हमलाहरू पुरुषार्थ ठहर्छ र सामान्य घटना हुन थालेका छन् । जुन विद्यार्थी राजनीतिको विकृतरूपको पराकाष्ट हो भन्दा अन्यथा नहोला ।

तोकिएको आबश्यक सेवा शर्त पूरा नगरिकन शिक्षण संस्था किन खुल्दछन् ? शिक्षक, कर्मचारीको नियुक्ति, पदस्थापना, सरुवा आवश्यकता र चाहनाअनुसार विधिसम्मत भएका छन् त ? अनुशासित शैक्षिक वातावरण कायम राख्न किन सकिएको छैन ? यी र यस्तै खाले कतिपय प्रश्नहरू राजनीतितर्फ लक्षित हुन्छन् । विद्यार्थी, शिक्षक कर्मचारीलाई आफ्नो योग्यता, क्षमताअनुसार दक्षता प्रर्दशन गरी विवेकपूर्ण निर्णयहरू लिनलाई राजनीतिले प्रभाव पारेको छ । आफैँ नीति नियम बनाउने तर त्यहीँ नीति नियमलाई मिचेर काम गर्न विवश बनाउने प्रवृत्ति अपरिपक्व राजनीतिको हैन र ? अर्को अर्थमा भन्नुपर्दा पेसाकर्मीलाई प्रत्यक्ष, परोक्षरूपमा निहित राजनीति उद्देश्य पूर्तिको लागि कठपुतली बनाएको छ भन्दा वर्तमानमा असान्दर्भिक नहोला कि ? तसर्थ भावि पिँडीलाई इमानदार राजनीतिज्ञ बनाउन अहिलेदेखि नै शिक्षा दिनुपर्ने खाँचो टड्कारो देखिन्छ ।

शिक्षण संस्था तोकिएको विधि र प्रक्रियाबाट निर्वाधरूपमा चल्न पाउनुपर्दछ । शिक्षण संस्थामा अनुशाशित विद्यार्थी, लगनशील शिक्षक, र सचेत अभिभावकको खाँचो पर्दछ । व्यावहारिक र कडा आचारसंहिताको व्यवस्था कार्यान्वयन गरिनुपर्दछ । राजनीतिकर्मीले आफ्नो अधिकार र कर्तव्यको अज्ञानताले शिक्षामा राजनीति गरेको हो भने उनीहरूको भूमिका के हुनुपर्दछ भन्ने बारेमा शिक्षा प्रदान गरिनु पर्दछ । जसबाट शिक्षामा हस्तक्षेपको राजनीति गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न टेवा पुग्दछ ।

जानी–जानी शिक्षामा राजनीति गरेर शैक्षिक वातावरण खलबल्याउने कुत्सित नियत भएका जोकोहीलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक बहिस्कारसमेत गर्ने नीति अवलम्बन गरिनु पर्दछ । शिक्षण संस्थामा कार्यरत शिक्षकदेखि उच्च पदाधिकारीहरूले विद्यार्थीको पठन पाठनलाई केन्द्रमा राखेर नीति नियम, योजना निर्माण र कार्यान्वयन गरिनु पर्दछ । उनीहरूको कार्य दक्षताको मूल्याङ्कन विद्यार्थीले हासिल गरेको उपलब्धिस्तर र प्रतिस्पर्धी श्रमबजारमा रोजगार खपतको आधारमा दाँजेर हेरिनु पर्दछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie