जनकपुरमा दक्षिण एसियाली खेलकुदको तयारी तीव्र

जनकपुरमा दक्षिण एसियाली खेलकुदको तयारी तीव्र

जनकपुरधाम, मंसिर ६
अगामी मंसिर २० गतेदेखि जनकपुरमा हुन लागेको १३औँ दक्षिण एसियाली खेलकुद(साग)को कुस्ती खेलको लागि तयारी तीव्र पारिएको छ । जनकपुरधामको कवर्ड हलमा हुने महिला तथा पुरुष कुस्ती खेलका लागि कवर्ड हल मर्मतको काम जारी रहेको छ । १३औँ सागअन्तर्गतका विभिन्न खेलहरू काठमाडौँ, ललितपुर, पोखरा र जनकपुरमा हुँदै छ । जनकपुरमा पहिलोपटक सागको आयोजना हुन लागेको हो । मंसिर २० देखि २४ गतेसम्म आयोजना हुने सागका लागि जिल्ला खेलकुद विकास समितिको मुजेलियास्थित कभर्ड हलको मर्मतसम्भारदेखि रंगरोगनलगायतका कार्य तीव्र गतिमा अगाडि बढेको छ । 

खेलकुद विकास समितिका अध्यक्ष चौधरीले कवर्ड हलको भौतिक पूर्वाधार, झ्याल, ढोका, मञ्च, विशिष्ट कक्षलगायत मर्मतसम्भारका कार्य चलिरहेको छ । भौतिक संरचनादेखि अन्य तयारी करिब ८० प्रतिशत पूरा भइसकेको र बाँकी काम पनि १० मंसिरसम्म सकिने सिंहले बताए । प्रतियोगिता आयोजना गर्न जिल्ला खेलकुद विकास समितिले संयोजन गरेको छ भने प्राविधिक तयारी केन्द्रले गरिरहरेको छ । खेलमा लाग्ने ५६ लाखमध्ये २० लाख राष्ट्रिय खेलकुद परिषद्ले दिएको र बाँकी रकम खेलपछि दिने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख विनोदकुमार सिंहले जानकारी दिए । 

जनकपुरमा कुस्ती र कबड्डी खेल आयोजना गर्ने तयारी गरिए पनि राष्ट्रिय खेलकुद परिषद्ले भौतिक पूर्वाधारको अभाव देखाउँदै कुस्ती प्रतियोगिताको अनुमति दिएको थियो । कुस्ती प्रतियोगितामा भाग लिन नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटानका खेलाडी आउने निश्चित भइसकेको र पाकिस्तान तथा माल्दिभ्सले निश्चित गर्न बाँकी रहेको सिंहले बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस