कोरोनाको व्याधिसँगै नेपालमा मृत्युदर घटेको हो ?

कोरोनाको व्याधिसँगै नेपालमा मृत्युदर घटेको हो ?

काठमाडौं,बैशाख २
हस्पिटलमा बिरामी छैनन्, जति लकडाउनअघि हुन्थे । आर्यघाटमा लासहरू छैनन्, जति लकडाउनअघि हुन्थे । पशुपतिको भस्मेश्वरमा काम गर्ने व्यक्ति भन्छन् ‘लकडाउनअघि हरेक दिन १५ देखि २५ वटासम्म लास आउँथे तर अहिले लास आउने क्रम व्यापक घटेको छ । कहिलेकाहीँ त एउटा पनि नआएर भस्मेश्वरमा परालको मुठालाई लास बनाएर संस्कार गर्नुपर्ने दिन पनि आयो’ । अहिले अधिकाम्स प्राइभेट नर्सिङ होमहरू खाली छन् । कोरोनाबाहेकको रोग लिएर कोही बिरामी त्यहाँ पुगेका छैनन् । सरकारी अस्पतालमा पनि रोगीको चाप पहिलेभन्दा धेरै घटेको छ । रोगले लकडाउन चिन्दैन र पनि मानिसहरू बिरामी नै नभएर हस्पिटल नगएका हुन् वा रोग सहेर बसेका हुन् सबैले अचम्म मानिरहेका छन् ।

कोरोनाका कारण सिंगो नेपाल लकडाउनमा छ । मानिसहरूलार्ई आवातजावत गर्न कडाइ गरिएको छ । एक गाउँको मान्छे अर्को गाउँमा जाँदा पनि होशियारपूर्वक र सहमति लिएर जानुपर्ने भएको छ । सहर चोखिएको छ । सडकमा धुलो छैन । दुर्गन्ध र पोलुसन ह्वात्तै घटेको छ । वरिपरिका पहाडहरू तुवाँलो र धुवाँले ढाकिएका छैनन् । आकाश खुला र चम्किलो छ । वायुमण्डल असाध्य चोखिएको छ । मानिसहरूको बिचार व्यवहार र खानपिनमा सादापन छ । रक्सी पिउने पियक्कडहरूले रक्सी छोडेका छन् । शुद्धता विचारमा कर्म र व्यवहारमा अनि खानपिनमा ल्याउने हो भने मानिस बिरामी नहुने रहेछ भन्ने कुरा यो ४९औँ दिनले हामीलार्ई सिकाइरहेको छ ।

अहिले उपत्यकाका नर्सिङहोमहरू सुख्खा छन् । बिरामी आएदिए हुन्थ्यो भनेर प्रार्थना गर्ने डाक्टरहरू यतिबेला घरमा फिलिम हेरेर बसिरहेका छन् । लकडाउनपछि मानिस किन बिरामी भएनन् भन्ने प्रश्नको जवाफमा एक जना निजी नर्सिङहोमका डाक्टरले भने ‘अहिले खासगरी सहरका मानिसहरूमा हेल्थ अनुशासन छ । उनीहरूमा रोग लाग्यो भने हस्पिटल जानुपर्ने हुन्छ र कोरोना सर्न सक्छ भन्ने त्रास पनि छ त्यही कारणले पनि जथाभावि नखाने जथाभावि नहिँड्ने कसरी स्वस्थ रहन सकिन्छ भन्ने मात्रै चिन्ता छ । त्यही कारण पनि उनीहरू बिरामी परेका छैनन् । यतिबेला पुराना दीर्घरोगीहरू आवश्यकताअनुसार नियमित औषधि खाएर घरमा नै बसेको अवस्था छ ।’

आर्यघाटमा लास घट्नु, नर्सिङहोममा बिरामी घट्नु, किरियापुत्री बस्ने घरहरू खाली हुनुले के संकेत गर्छ भने जति ओखती खायो त्यति रोग बल्झिने, जति–जति अस्पतालमा गयो त्यति–त्यति मानिसको मृत्युदर बढी हुने र नेपालमा नयाँ–नयाँ खोलिएका कमाउ धन्दा र फसाउ धन्दामा लागेका निजी नर्सिङ होमहरू नै बिरामी संख्या र मृत्यु संख्या बढाउने कारखाना त होइनन् कतै भन्ने जनमानसमा हल्ला चलिरहेको छ । एउटा सामान्य रोग निदानका लागि रोगीको अवस्था हेरेर एकदेखि दुईटासम्म औषधि सिफारिस गरे पुग्नेमा अनेकौँ थरीका औषधि र महंगा भिटामिन सिफारिस गर्दा रोगीको रोग निको हुनुभन्दा झन् बल्झिरहेका छन् । नेपालमा सबैभन्दा फस्टाएको निजी धन्दा बोर्डिङ स्कुल र नर्सिङ होमहरू हुन् । जनतालाई शारीरिकरूपमा रोगी र आर्थिकरूपमा शोषण र टाट पल्टाउने कर्महरू यिनै दुई क्षेत्रबाट भैरहेका छन् ।

कोरोनाअघिको अवस्था र अहिलेको अवस्थामा मानिसको मृत्युदर घट्नुको कारणमा वैज्ञानिक र सामाजिक अध्यन हुनुपर्छ अनि मात्रै त्यसको निक्र्याेलमा पुग्न सकिन्छ । अस्पताल र नर्सिङ होम अनि निरन्तर डाक्टरको निगरानी नचाहिने रहेछ त । मानिसहरूको शरीर कुनै प्रयोगशाला होइन भनेर डाक्टर गोबिन्द केसीले पनि कुरा उठाउनुभएको थियो । रोगीहरू रोगको कारणले भन्दा पनि मानिसमाथि हुने औषधिको प्रयोगको कारणले मरिरहेका रहेछन् भन्न कर लाग्न थालेको छ । उपत्यकामा दैनिक दुर्घटनाबाट दुईदेखि तीन जना मान्छे मर्न गर्थे र मुलुकभर दिनको ७ देखि १० जना त सडक दुर्घटनाबाट नै मर्थे । अहिले लकडाउनका कारण यसमा कमी आएको छ । मानिस अनुशासनमा बसिरहेका छन् त्यसकारण पनि मृत्युदरमा कमी आएको हुनसक्छ ।

मानिसलार्ई डाक्टरले जीवनदान दिन्छन्् भन्ने मानसिकतामा अब परिवर्तन आउन सक्छ । सबै डाक्टरमा अस्पतालमा र नर्सिङ होममा यो नियम लागू नहोला तर अहिले आएर यो भन्नु जरुरी छ कि आवश्यकताविना औषधि सिफारिस गर्नु त्यसको कमिसन डाक्टरलार्ई र नर्सिङहोमलाई जानू, बिरामीमाथि नै दलाल र कमिसनको चक्कर चल्नु अनि अन्तर्राष्ट्रिय क्षेत्रमा एक रूपैयाँ पर्ने औषधि नेपालमा पाँच सयसम्म पर्नुले पनि नेपालका अधिकांश नर्सिङ होम र मेडिकल स्टोरहरू नेपाली जनताका लागि कति सुरक्षित भरपर्दा र विश्वसनीय छन् भनेर देखाउँछ । नेपाल सरकारले निजी स्कुल र निजी नर्सिङ होमहरूलाई कहिले पनि आफ्नो नियन्त्रणमा राख्न सकेको छैन । अहिले कोरोनाको त्रासदीले विश्व भयभित छ । मानिसमाथि मृत्युले ताण्डव नृत्य नाचिरको छ ।

आजसम्म कोरोनाकै कारण नेपालभित्र कुनै पनि नेपालीले आफ्नो ज्यान गुमाउनु परेको छैन । भारतीय खुला सिमानाको कारण कोरोना प्रभावितको संख्या योभन्दा बढ्नसक्ने सम्भावनाचाहिँ उतिकै छ । प्रभावित संख्याको आधार हेर्ने हो भने यो हाम्रो नियन्त्रणबाहिर गएको छैन । कोरोनाको कारण मुलुक लकडाउनमा गयो । मानिसहरूको जीवनशैलीमा परिवर्तन आयो । हिंड्नपर्ने मानिस घरमा नै बस्न थाले । सामान्य रोगमा समेत अस्पताल र नर्सिङ होमको चक्कर लगाउने मान्छे अब डाक्टरकोमा नजाने भए । यातायातका सबै साधन बन्द भए । मान्छेको राक्षसी भीडभाढ र भागदौडमा बन्देज लाग्यो । मान्छेको अगाडि निरिह बन्दै गएकी प्रकृति थोरै हाँस्न थालिन् ।

पहाडहरू थोरै मुस्कुराउन थाले । तुवाँलोले छोपेको हरिया जंगल परैबाट हाँसेको देखिन थाले । मान्छेका अनन्त लात र कुल्चाइले थिल्थिलिएको जमीनले थोरै मात्र भए पनि आरामताको महसुस गर्न थालिन् । हावामा पारोको मात्रा कम हुँदै गयो । स्वतन्त्रताको दुरूपयोग गर्ने मानिस अनुशासनमा रहन थाले । मानिसमा बिरामी होइन्छ कि भन्ने डरको कारण पनि जे मन लाग्यो त्यही गर्न छाडे । बाहिर होटेल रेस्टुरेन्टमा गएर टन्न खानेहरू घरमा नै खान थाले ।

पानी उमालेर पिउने आदत बस्न थाल्यो । जाँड, रक्सी, चुरोट, खैनी, गुठ्का, पान र लागूपदार्थका पसलहरू बन्दका कारण यी चिजबिजको खरिदबिक्री रोकियो । हरिया सागसब्जी र ताजा खानपिनको आदत बस्यो । फलस्वरूप मानिसहरू कम बिराम हुन थाले । सामान्य बिराममा पनि मेडिकल जाने र मनलाग्दी औषधि किनेर खाने बानी छुट्दै गयो । सामाजिक दूरी कायम गरेर मात्र मानिसहरू व्यवहार व्यवस्थापन गर्न थाले । यी आदत बसाल्न यो लकडाउनले भरपुर मदत गरिरहेको छ । जब मानिसले प्रकृतिलार्ई नै हराउन खोज्छ अनि ऊ आफैँ हार्छ । अनि जब मनुष्य प्रकृतिसँग मिल्छ, ऊ आफैँ निरोगी हुन्छ, आत्मबल जागृत हुन्छ । आत्मबल भन्नुनै मनोबल हो र मनोबल भनेको रोगसँग लड्न सक्ने क्षमताको अभिवृद्धि हो । हामी जे खान्छौँ त्यस्तै बन्छौँ । हामी जस्तो सोचाइ राख्छौँ त्यस्तै हुन्छौँ । आफ्नो कामको परिणाम भोग्नुको विकल्प छैन ।

अहिले मानिस कम मरिरहेका छन् किनकी अहिले मानिस संकल्पमा छन् । अनुशासनमा छन् । जथाभावि नगर्ने, नसोच्ने, जथाभावी नहिँड्ने, नखाने हो भने मानिसलार्ई कोरोनाले केही गर्दैन । मानिस यदि पूर्ण अनुशासनमा रहने हो भने नेपालका सबै नर्सिङहोम र अस्पतालहरू आफैँ बन्द हुन्छन्् । यहाँ मृत्युको कारण मानिस स्वयं दोषी छ । सडक लेन मिचेर आवश्यकताभन्दा तीव्र गतिमा सवारी साधन चलाउनेहरू दिन दिनै मरिरहेका हुन्छन्् । मृत्यु एउटा नियमित आकस्मिकता भए पनि यदि मानिस संयमित हुने हो भने कालले बाटो छोड्नु पर्छ । अहिले नेपालमा प्रायः मानिसहरू अनुशासनमा छन् । जिन्दगीमा शायद नेपालीले पहिलो पटक होला अनुशासनमा बसेको पनि ।

यही र यस्तै अनुशासन निरन्तर आवश्यकता छ अबका दिनहरूमा पनि । मानिसमा छाउने अधैर्यता, अशान्ति, अनमेल, असन्तोषका कारण पनि हो छिटो मृत्युका मुखमा पुग्ने । हिजोआज मानिसमा एकप्रकारको शान्ति छाएको छ । ज्याला मजदुरी गरी खाने मानिसलार्ई पनि धेरथोर राहत मिलेको छ । कोरोनाबाट विश्वमा यति धेरै मानिसहरू हताहत भैसक्ता पनि नेपालमा आजका दिनसम्म त्यो अवस्था आएन । यो कुरा नै सबैभन्दा खुसीको कुरा हो । साँच्चिकै नेपाललार्ई श्री पशुपतिनाथले कल्याण गरेकै हुन् ।

प्रतिकृया दिनुहोस


Techie