धार्मिक सद्भावमा कोराना

धार्मिक सद्भावमा कोराना

प्रारम्भमा नोबल कोरोना भाइरस ( कोभिड­१९) को संक्रमणको जोखिम केवल जनस्वास्थ्यको क्षेत्रमा मात्र सीमित रही नकारात्मक अस्तित्व स्वीकार गर्दै आएको पाइयो । प्रस्तुत संक्रमणजन्य प्रकोपले आफ्नो क्षेत्राधिकारलाई क्रमशः अभिवृद्धि एवं विस्तृतीकरण गर्दै मानव जीवनको सामाजिक जनजिविकाका विविध पक्षलाई आफूमा समाहित गर्न सक्षम रह्यो । परिणामतः मानव सम्यतामाथि नै अनेकन प्रश्नचिह्न खडा गर्दै नरसंहारको बितन्डा मच्चाउँदै आएको वर्तमान अवस्था हो । जसलाई आधुनिक औषधि विज्ञानको क्षेत्रमा निक्कै ठूलो चुनौतीपूर्ण अवस्था मान्न सकिन्छ ।

कोरानाजन्य प्रभाव स्वरूप विश्वमा नै विरलै मात्र भेटिने नेपाली सामाजिक परिवेशभित्रको सांस्कृतिक धार्मिक धरोहरको विभिन्न क्षेत्रमा सम्बद्ध संक्रमणको दूष्प्रभाव सूक्ष्मरूपमा अवतरण हुन गएको तथ्यहरूले औँल्याउँदै आएको छ । सामाजिक परिदृष्यभित्रका धार्मिक एवं भाषिक विविधतालाई समग्रमा एकताबद्ध गराउन नेपालका विभिन्न भू–भागमा छरिएर रहेका विविध धर्म संस्कृतिको विशेष महत्व रहँदै आएको तथ्यसँग हामीहरू अनभिज्ञ छैनौँ ।

जसका कारण अनेकन धार्मिक एवं जातिगत समुदायको धार्मिक–सांस्कृतिक आदान प्रदानमा हर्षविभोर हुँदै फरकपनको रस्वादन गर्नु नेपालीजनको विशेषता हो । यही त्यो कारक तत्व हो, जसले हिन्दु, मुस्लिम, बौद्ध, इसाई, आदिका धार्मिक महोत्सवहरूमा रमाउँदै एक–आपसमा रहेको धार्मिक सद्भावकोे अस्तित्वलाई संरक्षण, संवर्द्धन एवं स्वीकार गर्दै एकताको मजबुत डोरीमा ऐक्यबद्ध रहन सक्षम रहँदै आएका छौँ भन्दा फरक नपर्ला । जसको सकारात्मक पक्ष भन्नु नै जातीय धार्मिक द्वन्द्वबाट मुलुकलाई पूर्णतया मुक्त गराउन सम्भव रहेको हो ।

यद्यपि आज विश्वसमुदायमा देखिएको कोराना संक्रमणको जोखिमले विश्वका अन्य मानव समुदायमा जस्तै आम नेपाली समुदायमा पनि गोलबद्ध रहन सामाजिक भौतिक दूरीको प्रावधानका कारण सांस्कृतिक धार्मिक महत्व बोकेको पर्वको रौनकतामा समेत धेरै हदसम्म न्यूनता छाउन सक्ने देखिन्छ । नेपाली मौलिक सांस्कृतिक पर्वको विशेषता भनेकै आम मानिसहरूको भेला गराई एक–अर्को समुदायको धार्मिक एवं सांस्कृतिक अपनत्वको अभिवृद्धि गर्दै शुभकामना एवं न्यानो अभिवादनको साटासाट गर्दै रमाउन सक्नु हो ।

कोराना संक्रमणको त्रासको कारण विश्व सम्पदा सूचीमा रहेको हिन्दुहरूको पवित्र आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरको अतिरिक्त अन्य देव मन्दिरहरू, बौद्धस्तुपा, मुस्लिम समुदायको मस्जिद, तथा इसाईको चर्चमा समेत धार्मिक भक्तजनको उपस्थिति शून्यप्राय अवस्थामा रहनु भनेको संक्रमणको नकारात्मक प्रभाव मान्न सकिन्छ ।

त्रासउन्मुख वातावरणका कारण एकातिर सामाजिक दूरी कायम राख्नुपर्ने बाध्यात्मक परीस्थितिको निर्माण भएको छ भने, अर्कोतर्फ धार्मिक समारोहरूमा मानिसहरूको उल्लेख्य सहभागिता नहुँदा यसको रौनकता तथा अस्तित्व संरक्षणमा समेत चुनौती थपिन जाने प्रबल सम्भावना जीवन्त रहन्छ । जसका कारण हाम्रा सांस्कृतिक एवं ढोगभेटको शैलीमा पनि परिमार्जन गर्नुपर्ने हो कि भन्ने प्रश्न उठन सक्नेछ । यसका साथै हालै मात्र भक्तपुरको विस्केट जात्रा, पाटनको रातो मच्छिन्द्रनाथको जात्रा तथा मातातिर्थ मेलाजस्ता सांस्कृतिक महत्व विशेषका पर्वहरू कोभिड­१९ को संक्रमणका कारणले मनाउन पाइएन ।

संक्रमणजन्य धार्मिक ऋणात्मक असर यत्तिमा मात्र सीमित नरही आगामी तीज, ऋषिपञ्चमी, जनैपूर्णिमा, दशैँ, तिहार तथा छठसमेत प्रभावित बन्नसक्ने देखिन्छ । हिजोको जस्तो निर्धक्कसँग मान्यवरबाट आशिक थाप्नसक्ने अवस्था अब रहेन । जसले जोकोहीलाई पनि असहजता उत्पन्न गराई सांस्कृतिक पर्व विशेषको रौनकतामा खल्लोपनको अनुभूति प्राप्त हुनेछ । यसका अतिरिक्त मानव जीवनका न्वारन, पास्नी, चुडाकर्म, इही, विवाह, श्राद्ध, मर्दापर्दा आइपर्ने अन्य धार्मिक समारोहलाई पनि यसको नकारात्मक असरको जोखिम कायमै रहने अवस्था प्रारम्भ भइसकेको छ ।

तसर्थः अबका दिनमा संक्रमणको दरमा कहीँकतैबाट कमि आउन सकेन भने निश्चितरूपमा मानवीय स्वास्थ्य सुरक्षा सम्वेदनशीलतालाई मध्यनजरमा राख्दै धार्मिक सांस्कृतिक धरोहरको विविध पक्षका विषयमा पुन ः एक पटक गम्भीर भएर सोच्नुपर्ने हुन्छ । सांस्कृतिक महत्व बोकेका पर्वका सन्र्दभमा पछि विवाद उत्पन्न नहुने हिसाबले सर्वपक्षीय सहमति कायम गर्दै आवश्यक भए उपयुक्त परिमार्जन गर्न सकिनेछ । जसले निश्चितरूपमा धार्मिक सांस्कृतिक मूल्य एवं मान्यताको रक्षा गर्दै संक्रमणको जोखिमबाट जनस्वास्थ्यको रक्षा गर्न पूर्णरूपले सफल रहनेछ भन्ने विश्वास लिन सकिन्छ ।

ढोगभेट स्वरूप निक्कै नजिकबाट समर्पण गरिने आत्मीयपनको अनुभूति साटासाटामा समेत मनोवैज्ञानिक रूपमा द्विविधा उत्पन्न गराई संक्रमणजन्य त्रासको भयले एक आपसमा अछुतजस्तो व्यवहार गर्नुपर्ने हुँदा सामाजिक सद्भावको दूरी बढ्न जाने खतरा रहन्छ । कानुनतः छुवाछुत प्रथा अन्त्य भइसके पनि संक्रमणले यसको पुनरावृति गराएको आभाष भएको छ । सामान्यतया मानव समुदायसँग सम्बन्धित रहने धार्मिक सामाजिक क्षेत्रलाई घोषित अघोषितरूपमा त्रसित पार्दै धार्मिक विचलनको अवस्था पैदा गर्न सक्ने हुँदा विविध सामाजिक पृष्ठभूमिमा जीवन्त रहने हाम्रा अमूल्य सांस्कृतिक तथा धार्मिक मूल्य र मान्यतालाई कोभिड–१९ को खतराजन्य अवस्थाबाट पृथक राख्नु जरुरी भइसकेको छ ।

जोखिम निर्मुल भएपश्चात् जोखिमपूर्वको अवस्थामा झैँ सांस्कृतिक रीतिरिवाजले स्वतन्त्ररूपमा विचरण गर्नसक्ने अवस्था तयार पार्नु भनेको यसको अस्तित्व जर्गेना गर्नुसरह हो । परिणामतः क्षणिक गतिरोधलाई चिर्दै सामाजिक सद्भावको मूलभूत कडी मानिएको नेपाली मौलिक सांस्कृतिक पर्वहरूमा रमाउन सक्ने वातावरण पुनः तयार हुने कुरामा हामी कसैको पनि दुईमत हुन सक्दैन ।

अतः कोभिड–१९ को हालसम्म पनि खोप तथा औषधिको विकास नभएको हुँदा संक्रमणको जोखिम कति अवधिसम्म बहाल रहन्छ भन्ने कुरामा विश्वस्त हुनसक्ने आधार तयार भएको पाइँदैन । त्यसो भएको हुँदा हिजोको जस्तो धार्मिक रौनकतामा सहजै रम्न सक्ने अवस्था रहेन । जसलाई सामाजिक दूरीको प्रभावले निम्त्याएको जटिल समस्याको रूपमा लिन सकिन्छ । यस क्षेत्रमा जति विलम्ब हुन्छ त्यति नै जनधनको क्षति हुने क्रम पनि बढ्दै जाने तथ्यलाई अन्यथा लिन मिल्दैन । यसप्रकारका जैविक विपत्तिबाट बच्न मानव समुदायले सधैँ नै अनुसासित एवं संयमित रहनु पर्नेछ ।

अनेकन दृष्य परिदृष्यभित्र कोभिड­१९ले आफ्नो अदृष्य शक्तिको महाशक्ति देखाउने दृष्टता देखाए पनि अन्ततः एक्काइसौं शताब्दीको आधुनिक औषधि विज्ञानको सफलताले यसको प्रभावलाई निस्तेज पार्दै मानव सम्यतालाई बचाउन पूर्णरूपले सफल हुने विश्वास लिन सकिन्छ । तदुपरान्त धार्मिक क्षेत्र पनि कोराना मुक्त क्षेत्रको रूपमा विकास भई हालको विकराल अवस्थाबाट पार पाउनेछ भन्दा फरक नपर्ला । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie