गुणात्मक प्रविधिमा समृद्धि

गुणात्मक प्रविधिमा समृद्धि

काठमाण्डौं,चैंत १४
आर्थिक विकासको लक्ष्यसहित समृद्धि प्राप्तिको लागि परम्परागत प्रविधिलाई अङ्गीकार गर्दै लक्ष्यमा पुग्ने प्रत्यत्न गरिएको हुँदा वर्तमान एक्काईसौँ शताब्दीसम्म पनि नेपालीजनको समृद्धिको सदिच्छा पूरा गर्न नसकिएको हो । परिणामतः चाहना हुँदाहँुदै पनि आर्थिक पछौटेपनलाई स्वीकार गर्न बाध्यात्मक परिस्थितिको निमार्ण हुन पुग्यो । अन्ततः परम्परागत प्रविधिमा आधारित रहेको कारण आजको औद्योगिकीकरणको यात्रालाई सहजरूपमा पूरा गर्दै समृद्धिको लक्ष्य हासिल गर्न मुलुकका औद्योगिक समूह पूर्णरूपले असफल रहन गए । जसका कारण हाम्रा परम्परागत औद्योगिक प्रविधिहरू आर्थिक विकासका साझेदारी तत्व बन्न सकेनन् । तसर्थ वर्तमान परिप्रेक्षमा परम्परागत औद्योगिक प्रविधिलाई क्रमशः विस्तापित गर्दै आर्थिक विकास र समृद्धिको खातिर उच्च गुणस्तरीय युगसुहाउँदो आधुनिक प्रविधिको विकासलाई मुलुकका औद्योगिक प्रतिष्ठानहरूमा समावेश गराउँदै जति सके चाँडो कार्यान्वयनको गतिशीलतालाई जोड दिनु भनेको औद्योगिकीकरणलाई प्रोत्साहित गर्नु हो । मुलुकमा कृषिभूमि क्रमशः ह्रास हँुदै गएको अवस्थामा आर्थिक विकासको मूल मन्त्र भनेको औद्योगिकीकरणको यात्रा हो । जसको सफल एवं विवेकसम्मत प्रयोगबाट मात्र अवका केही वर्षभित्रमा नै मुलुकले आशलाग्दो समृद्धि प्राप्त गर्ने कुरामा हामीहरू कसैको पनि दुईमत हुन सक्दैन । आर्थिक विकास र समृद्धिको अभावलाई मूल मुद्दा बनाई सो लक्ष्य प्राप्तिको लागि मुलुकले करिब–करिब सात दशकभन्दा अधिक समयावधि अस्वस्थ राजनीतिक अराजकताको कूचक्रको अतिरिक्त विकसित अवस्थामा नोवेल कोरोना भाइरस (कोभिड—१९)जस्ता विषम परिस्थितिका कारण आर्थिक विकासका मुद्दाहरू निश्चितरूपमा प्रभावित हुनसक्ने देखिन्छ । असहज परिवेशमा पनि धैर्यताका साथ कार्य गर्ने मनसाय देखाउने हो भने, असम्भव भन्ने प्रश्न नै उठ्दैन ।यसप्रकारका विविध समस्याहरूसँग जुझ्दै समग्रमा नेपाली र नेपालीको सुखद भविष्यका लागि सघिय गणतन्त्रात्मक शासकीय स्वरूपको अवधारणाबाट मात्र सकारात्मक निकास निस्कन सक्नेछ भन्ने विश्वासले निम्त्याएको प्रतिफल वर्तमान राजनीतिक अवस्था हो । राजनीतिक अराजकताबाट मुक्त नभई आर्थिक सम्पन्नता हासिल गर्न सकिँदैन भन्ने तथ्यलाई मनन गर्दै मुलुक र जनताको आर्थिक सम्मुन्नतिको लागि आर्थिक क्रान्तिका माध्यमबाट समृद्ध बनाउने चाहनाअनुरूपको व्यवहारलाई आत्मसात गर्न खोजिएको हो । जसको शत प्रतिशत सफलताको लागि विश्वका औद्योगीकीकरणबाट समृद्धि प्राप्त गरेका मुलुकको गुणात्मक एवं गुणस्तरीय प्रविधिलाई हाम्रा औद्योगिक प्रतिष्ठानहरूमा भित्र्याउनुबाहेक अर्को विकल्प मुुलुकसामु अब रहेन । जसमा निश्चितरूपमा समृद्धिको सम्भावना जीवन्त रहनेछ ।

गुणात्मक प्रविधिको अवधारणाको अभावमा आर्थिक विकासका साझेदारी अंगका रूपमा परिचालित रहँदै आएका बैंक तथा वित्तीय क्षेत्रलगायतका औद्योगिक, यातायातजस्ता क्षेत्रले आफ्नो समूहमा सम्बद्ध प्रविधिको गतिलाई पूर्णरूपले समाहित नगरेसम्म आर्थिक विकासको प्रारम्भिक प्रारूपसमेत तयार हुनसक्ने अवस्था रहँदैन । आर्थिक क्रान्तिको सही कार्यदिशा प्राप्तिको लागि मुलुकले नयाँ र नौलो गुणस्तरीय प्रविधिलाई आफ्नो व्यावसायिक प्रतिष्ठानमा लोकतन्त्र प्राप्तिका दशकपश्चात् केही हदसम्म भित्र्याउने चेष्टा गरेको परिणामस्वरूप वर्तमान अवस्था सेवाग्राहीको कार्यमा सुगमताको स्थिति कायम रहन आएको मात्र हो । यस कार्यको पूर्ण सफलताको लागि औद्योगिक क्षेत्रमा हुनेगरेको प्रविधिगत बौद्धिक चोरीको दरलाई क्रमशः न्यूनीकरण गर्दै लैजानुपर्ने अवस्था प्रारम्भ भइसकेको छ । जसले निश्चितरूपमा गुणात्मक प्रविधिको विकासमा सहयोग पु¥याउनेछ भन्दा त्यति अत्युक्ति नहोला । नेपाललगायत विश्वको व्यापार विविधीकरणको परिधिलाई नजिकवाट नियाल्ने प्रयत्न गर्ने हो भने, बहुसंख्यक औद्योगिक घरानालाई एउटै व्यवसायिक छाताअन्तर्गत समाहित गर्ने प्रयास गरिँदै आएको पाइन्छ । यसप्रकारका व्यवहारलाई एक्काइसौँ शताब्दीअनुरूपको राष्ट्रका औद्योगिक प्रतिष्ठानहरूमा हुबहु भित्र्याउन सकिएन भने निश्चितरूपमा अन्य सम्प्रदायभन्दा पछि पर्दै लक्ष्यअनुसारको प्रगति हासिल गर्न असम्भव प्राय देखिन्छ । जसको सफल प्रयोगको लागि सूचना प्रविधिको क्षेत्रमा आएको उल्लेख्य सुधार एवं रचनात्मक कार्यलाई अन्यथा लिन मिल्दैन । यसका अतिरिक्त उत्पादनजन्य यान्त्रिक एवं सोमा आधारित प्रविधिलाई मुलुकमा भित्र्याई वस्तु तथा सेवाको उत्पादकत्वमा अभिवृद्धि गर्ने कार्यमा लगाउनुपर्ने हुन्छ ।

परीणामतः बजारीकरणको क्षेत्रमा उच्च प्रतिस्पर्धात्मक विधिलाई आत्मसाथ गर्दै मनग्य आर्थिक लाभ हासिल गर्नुको साथै मुनाफा आर्जन गर्न मुलुकमा अवस्थित औद्योगिक प्रतिष्ठानहरू हर तरहले सफल रहनेछन् भन्ने विश्वास लिन सकिन्छ । गुणात्मक प्रविधिको विकासले निश्चितरूपमा उच्च दक्षतायुक्त व्यवस्थापकीय विधिलाई आत्मसाथ गर्दै मुलुकको आर्थिक विकासलाई जोड दिन नेतृत्वदायी समूहलाई सधैँ नै घच्घचाउने अवसर प्राप्त हुनेछ । जसले निरन्तररूपमा दक्षतायुक्त, गुणस्तरको सकारात्मक पक्षलाई कार्यान्वयनमा ल्याउन जोड अवस्था पैदा गर्ने देखिन्छ ।मूलतः आवश्यकता नै आविस्कारको जननी हो भन्ने सत्यपरक तथ्यलाई आत्मसात गर्दै आफ्नो आवश्यकता एवं दक्षताअनुसारको प्रविधिको विकासलाई मानव सभ्यताको प्रारम्भिक अवस्था देखिन नै प्रचलनमा ल्याउने प्रयासहरू गरेको औद्योगिक विकासका घटनाक्रमले क्रमशः औँल्याउदै आएको छ । प्रस्तुत सैद्धान्तिक पृष्ठभूमिको ज्ञानबाट आर्थिक विकास र समृद्धिको चाहना राख्ने मुलुकका औद्योगिक प्रतिष्ठानहरू कुनै पनि हालतमा पृथक रहन सक्दैनन् ।यसै तथ्यको प्रभावस्वरूप राष्ट्रको औद्योगिकीकरणको रणनीतिले आफ्नो गन्तव्यलाई वेगवान गतिमा अगाडि बढाएको पाइन्छ । आर्थिक विकासको सकारात्मक पक्ष भन्नु नै मुलुकमा आबद्ध रहेका नागरिक समुदायको चाहनाअनुसारको वस्तु तथा सेवाको उत्पादनमा जोड दिई राज्यका हरेक क्षेत्र र समुदायमा बिक्रीवितरणमा अभिवृद्धि गर्नु हो । प्रस्तुत अवस्थापश्चात् राष्ट्रिय पुँजीको सञ्चयमा वृद्धि भई गुणात्मक प्रविधिको विकास एवं सञ्चालनको क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्न सम्भव रहन्छ । जसबाट लगानीको सुनिश्चितता प्रदान गर्न कुनै किसमको कसर बाँकी रहने छैन भन्दा फरक नपर्ला । जसका कारण दिनहँु बढ्दै गएको बेरोजगारी समस्या समाधानको क्षेत्रमा आवश्यक व्यवस्थापन गर्न मुलुकका औद्योगिक प्रतिष्ठानहरू हरतरहले सबल एवं सक्षम रहने्छन् भन्ने विश्वास लिन सकिन्छ । त्यसो भएको हुँदा यस क्षेत्रसंग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने समुदायको बौद्धिक दक्षता वृद्धि गर्ने काममा निपूर्णता ल्याउने प्रयास गरिनुपर्ने हुन्छ । यही त्यो कारक तत्व हो जसले गुणात्मक प्रविधिलाई औद्योगिक समुदायको कार्यदिशाभित्र समेट्दै मुलुकको आर्थिक विकास र समृद्धिको लागि अपनाउनु श्रेयकर मानिन्छ । तर, यसका लागि राजनीतिक स्थिरताका साथै ऊर्जा निरन्तरताको निर्णायक भूमिका रहन्छ । साथै दीर्घकालीन सफलताको लागि निरन्तररूपमा गुणस्तरको अनुगमन, नियमनकारी निकायबाट सकारात्मकरूपमा हुनु जरुरी छ । जसका लागि लगानीमैत्री वातावरण तर्जुमा गर्नुपर्ने हुन्छ । प्रस्तुत अवस्थापश्चात् सुशिक्षित नेपालीजनको आर्थिक समृद्धिको चाहनालाई पूर्णता दिन सम्भव रहन्छ ।

प्रतिकृया दिनुहोस


Techie