अरुको दुःखमा खुसी हुन्छ मान्छे

अरुको दुःखमा खुसी हुन्छ मान्छे

एउटा रुख थियो, गाउँनजिक
जब यो पूर्ण बैंशमा थियो
यसको जरामुनि कुवा थियो
यसको हाँगाबिगा थुप्रै थिए
यसको हरियाली र नवमञ्जरी,
यसको पुलकता, यसको छुवाइ
कस्तो आनन्दमय थियो
मानिसहरू यसको फेदमा बस्थे,
बाख्रा चराउने गोठालादेखि
प्रेम गर्ने युवायुवतीसम्म,
माया गर्ने बुढाबुढीदेखि
सारङ्गी बजाउने गाइनेदाइसम्म
यो सबैको आरामस्थल थियो
यहाँ कतिले वनभोज गरे,
कतिले मनमोज गरे
वनभोज गर्नेले फोहोर गरे,
मनमोज गर्नेले अशुद्ध पारे
यहाँ भीड जम्न थाल्यो,
विविध बिचारको बिचल्लीले
रुखको फेद असफेद हुन थाल्यो

काग, गिद्द र लामपुछ्रे चराहरु
झिँगा, लाम्खुट्टे र किराहरु
यहाँ आएर सभा सम्मेलन गर्न थाले
जुरेली मैना र कोइली भागे
खै कता दूर देश गए
स्याल, गिद्द, हुडार र चितुवा
मलसाप्रो बिरालो र हाब्रे थुप्रिन थाले

जरुवा सुक्यो, पातहरु खस्न थाले
अब यहाँ प्रेम गर्न कोही आउँदैनन्
यहाँ रातमा कोइली कराउन्न
यहाँ मलसाप्राले टोड्को पायो
र आफू छि-यो, लुक्यो लुसुक्क
आफूलार्ई सुरक्षित ठान्यो

गिद्दले सिनो ल्याएर खान थाल्यो
वरिपरि सिनो गनाउन थाल्यो
बाँदरले रुखका हाँगाहरु भाँचे
क्रमशः रुख थोत्रो हुँदै गयो
अब रुखवरिपरि बस्न लाएक भएन
अब रुखले छाँया दिन छोड्यो
रुखलाई सबैले
आ आफ्नै स्वार्थमा उपयोग गरे
रुख त हो नि आखिर यसको पनि जीवन छ ?
पचास नाघेका आमालाई त बृद्धाश्रम छोड्ने हामी
जाबो एउटा बुढो रुखको के माया ?
जरा कुहिँदै गयो, पात सुक्तै गए
कयौँ शरद, हेमन्त, वर्षा
शिशिरको अनन्त प्रहर खपेको रुख
मानिसको घिनलाग्दो स्पर्शबोधिता
रुखलाई पारायाको बोक्सी लाग्यो
यो सतिसाल यो अग्राखलाई माया गर्नेहरूलाई
एक दिन रुवाएर पाखा लागाइयो
र फेदवरिपरि जम्मा हुन थाले हुँडारहरु

जरा लुस्ने, दाउरा बाल्ने
हुल्लड हुक्केहरुका कारण
अन्ततः एक दिन रुख गर्ल्याम ढल्यो
रुख ढलेपछि
मानिसहरू पहिलोचोटी
रुखको माया र सम्झनामा
रोएको देखेँ मैले
रुखलाई पनि दुख्छ
रुखलाई पनि स्नेहको जरुरत छ
रुखले पनि श्वास फेर्छ, रुख पनि बोल्छ
भनेर बुझ्ने मान्छेको कमी देखेँ, मैले यहाँ
रुखको फेदमा बसेर रुख ढाल्नेछन्
रुख त रुख हो नि !
बुद्धले रुखको फेदमा ज्ञान पाएको
अहिलेका बुद्धुहरु रुखको हाँगा होइन
जरा काट्छन् र छाया खोज्छन् !

माथिको कविताले व्यक्त गरेजस्तै जिन्दगीले परिभाषित गरेको मान्छेको जीवनकथा पनि यही हो, यस्तै हो । यतिबेला यो विश्व कोरोनाको सन्त्रासबाट गुज्रिरहेको छ । सबलाई मृत्युको भयले अक्रान्त पारेको छ । मानिसहरू यति भयातुर देखिन्छन् कि अब कहाँ जानेहोला र सुरक्षित तवरले बाँचिन्छ होला । तर, मृत्युले नदेखेको कुनै स्थान छैन । स्वर्गमा शान्ति मिल्छ भनेर परत्र जुनीको विश्वासमा भक्तिमार्गमा लाग्नेहरु पनि धर्मराएको अवस्था छ । हिजो ८ रेक्टरको भुइँचालोले त्रसित र विक्षिप्त बनाएको नेपालीको मन राम्रोसँग शान्त नहुँदै फेरि कोरोनाले तर्साउन थालेको छ । मानिसले आफ्नो शुद्ध आचारणलाई कायम राख्ने हो भने कुनै पनि बाहिरी खराब तत्वले हमला गर्न सक्तैन ।

एउटा दुर्गम गाउँ थियो । त्यो गाउँमा एउटी महिला बस्थिन् । तिनको सानैमा बिहे भएको थियो । तिनका श्रीमान् पैसा कमाउन विदेश गएका थिए र कुनै नराम्रो दुर्घटनामा परी बितेका थिए । तिनको एउटी सानी छोरी थिइन् । श्रीमान् बितेपछि तिनलाई जीवन धान्न अतिनै मुस्किल परिरहेको थियो । दिनभर ज्याला मजदूरीका गर्थिन्, तिनी । तर, त्यतिको भरले आमाछोरीको भरणपोषण गर्न मुस्किल परिरहेको थियो । छोरीको शिक्षादीक्षाका लागि समेत समस्या परिरहेको थियो । छोरी एकचोटी असाध्य बिरामी परिन् । गाउँलेहरुले सापट पनि पत्याएनन् । श्रीमान्ले दिएको एउटा सानो सुनको औँठी थियो, त्यही बेचेर तिनले छोरीको उपचार गरिन् ।

छोरीको उपचार र अरु भैपरी आउने व्यवहारले उनलाई आफ्नो दैनिकीसमेत चलाउन समस्या हुँदै गइरहेको थियो । दशैँ नजिक आयो । छोरीलार्ई भने पनि दशैँ मनाइदिन पर्नेथियो । अब उपाय के गर्ने ? गरिबीका कारण उनको जिन्दगी अँध्यारो थियो । आमाको दुःख, अभाव देखेर छोरीले एकदिन भनिन् ‘आमा हाम्रो आफन्त कोही छैनन् । यो दुःखको बेलामा भगवान मात्रै हाम्रा सहारा हुन् । म भगवानलार्ई एउटा चिठी लेख्छु तपाईं हुलाकमा गएर खसालिदिनू’ आमालार्ई पनि छोरीको विश्वास नतोड्ने बिचार आयो र उनले खुसी हुँदै हुन्छ, भनिन् । नभन्दै छोरीले एक दिन भगवानलार्ई चिठी लेखिन कि ‘हे भगवान हामी धेरै गरिब भयौँ । आमाले ज्याला गरेर यतिसम्म मलार्ई पढाउनुभयो । हामीसग दशैँ मान्ने पैसा पनि छैन, मलार्ई घाँगर किन्ने पैसा पनि छैन । म त्यही पुरानो च्यात्तिएको घाँगर लगाएर स्कुल गैरहेकी छु । दशैँको छुट्टीपछि यो च्यात्तिएको घाँगर लगाएर स्कुल नाआउनू भन्नुभएको छ सरहरुले । त्यसैले भगवान हामीलार्ई दशैँ मान्न र मलार्ई एक जोर घाँगर किन्नको लागि जसरी भए पनि स्वर्गबाट खर्च पठाइदिनुहोला । खर्च नपठाउनुभयो भने म स्कुल जान पनि पाउँदिन र हामी दशैँ मान्न पनि पाउदैनौँ....... ।

गाउँको स्कुलमा तीन कक्षा अध्यनरत छोरीले भगवानलार्ई चिठीसम्म लेख्न सक्ने भइन् भनेर आमा पनि धेरै खुसी थिइन् । आमाले खाम किनेर ल्याइन् । खामको बाहिर ठेगाना के लेख्ने भनेर दुवै आमाछोरीले सल्लाह गरे । अनि भगवानको नाम लेखेर चिठी स्वर्गको ठेगानामा पठाइयो ।हुलाकका हाकिम नयाँ आएका थिए । उनी असल स्वाभाव र परोपकारी भावका थिए । सानो गाउँ थियो । सबैले एकले अर्कालाई चिन्थे । ती विधवा महिलाको दुःखका बारेमा तिनलाई पनि जानकारी थियो । ती महिलाको घरको ठेगानाबाट भगवानको नाममा आएको पत्र हुलाकमा दर्ता भयो । स्वर्गको ठेगानामा लेखिएको त्यो चिठी अब कहाँ पठाउने सबलार्ई धर्मसङ्कट प¥यो । हुलाकका हाकिमले गम्भीरतापूर्वक सोचे र पत्र खोलेर पढे ।

पत्रमा एउटी बालिकाले भगवानसग दशैँ खर्च मागेकी थिइन् । स्वर्गको ठेगानामा लेखिएको यो पत्रको जवाफमा हुलाकका हाकिमले लेखे.... “छोरी ! हामीलार्ई तिम्रो पत्र प्राप्त भयो । दुःखको बेलामा सम्झिएर पत्र लेखिछौ धेरै खुसी लाग्यो । तिमीलार्ई जबजब दुःख पर्छ हामीलार्ई यसैगरी पत्र लेखिरहनू । अहिलेलार्ई तिम्रो लागि स्कुलको घागर किन्न र दशैँ मान्न केही पैसा पठाएका छौँ । तिमीले स्कुल कहिल्यै नछाड्नू र धेरै मिहेनत गरेर पढ्नू । आमालार्ई असाध्य माया गर्नू । ज्ञानी हुनू । स्वावलम्बी हुनू । धेरै फजुल खर्च नगर्नू ..है !“.... पत्रको जवाफ लेखेर खामभित्र पाँच हजार रुपैयाँ पनि राखिदिए । आफ्ना केही सहकर्मी कर्मचारीलार्ई बोलाएर यो घटना सुनाए । सबैसँग सहयोग गर्न अनुरोध गरे । सबैको दशै पेस्की पनि आएको थियो ।

उता भने आमाछोरी अधैर्य भएर पत्रको जवाफ कुरिरहेका थिए । दशैँ नजिक आइसक्यो, हामीलार्ई भगवानले खर्च कहिलेसम्म पठाउने हुन् भनेर छोरीले आमासँग गुनगुन गरिरहन्थिन् । नभन्दै घटस्थापनाको दिन स्वर्गबाट एउटा पत्र आइपुग्यो घरको ठेगानामा । दुवै आमाछोरी खुसीले असाध्य गदगद भए । सबलार्ई सुनाए कि हाम्रा आफन्त कोही नभए पनि भगवान त रहेछन् भनेर । छोरीले खाम खोलिन् । पत्रको जवाफ पढेर आमालार्ई सुनाइन् । ती आमा ईश्वरको जवाफ सुनेर असाध्य खुसी भइन् । आखामा हर्षका आँसु चुहिए । उनले सोचिन कि कोही नहुनेको भगवान त साथमा हुँदोरहेछ नि है ! भन्दै आफ्नो छोरीलार्ई अगालोमा बेरिन् । यो कथाका पात्रहरूजस्तै सहयोगी मनहरुको आवश्यकता छ आज ।

एउटा सानो कथा त सकियो । तर, यो कथाले धेरै अर्थ बोकेर अन्त्य भएको छ । यो जगतमा केही निर्मल हृदय भएका मानिस पनि छन तिनले नै यो विश्वलाई बचाइरहेछन् । असल मान्छे खोज्नुपर्छ तर खराब मान्छे खोज्नुपर्दैन, जहातही भेटिन्छन् । शीतल पाउन रुखको छाँया खोज्नुपरेजस्तै हो असल मान्छे भेट्नका लागि पृथ्वीमा । हरेक मनुष्य तातेको छ आज । ऊभित्र लोभ र भौतिक जडभरताको रसेटो दन्किरहेछ । आफैँभित्रको तातो चिस्याउन आज मनुष्य चिसो खोजिरहेको छ । लोभ र इर्ष्याको अग्नि त आफैँ निभाउन सकिन्छ भन्ने कुराको अभिबोध हुन पहिला त निर्मल हुनुपर्छ मनुष्य स्वयं ।

आजभन्दा पाँच हजार वर्ष पहिले यो धरामा निर्मल हृदय लिएर केही सिद्ध पुरुषहरूको जन्म भएको थियो । ती सर्वश्रेष्ठ पुरुषमा श्रीकृष्ण, वेदव्यास, बिदुर, योग सुत्रपात गर्ने पतञ्जली । तिनै युगमा वेदव्यासले महाभारत, गीता, पुराणहरु लेखे । आजसम्म यिनै ग्रन्थमा आधारित रहेर हिन्दु धर्म जिवित छ । ठीक त्यसको २५ सय वर्ष पछाडि नेपालमा बुद्ध जन्मिए । त्यही निर्मल हृदयको छायाको शीतलताले आजको दिनसम्म मानिसमा कल्याणको सोच जिवित रहेको छ । सबै पापी नै पापीले पृथ्वी भरिने हो भने पृथ्वी जति कलङ्कित ग्रह अरु कुन होला र ? ईश्वर छ र त मानिसहरू ईश्वरसँग डराइरहेका छन् । घरमा अभिवावक नभएपछि जसरी बच्चाहरु उन्मुक्त भाँडभैलो मच्चाउछन्, त्यस्तै ईश्वर पनि नभएको भए अझै मनुष्यले के गरिसक्थ्यो होला ।

ईश्वर छ । मनको अन्तःकरणमा छ । ईश्वर छ भन्ने विश्वासले हामीलार्ई बाँच्न प्रेरित गरिरहेको छ । जसै घाम छ । जुन छ । उज्यालो छ । बनस्पति छ । समुन्द्र छ । समुन्द्रभित्र अनन्त जलचर छन् । आकाश छ । इन्द्रेणी छ । छ सबैथोक छ । त्यही सबैथोकमा छ एक ईश्वर एक पनि । त्यहीँ ईश्वर छको विश्वासमा छ हाम्रो जीवन जगतको गति । ईश्वर छैन् भन्नेलाई पापको चेत पनि छैन । पाप र अपराध बोधको अनुभूति नहुनेलाई दोस्रो जीव र जीवनप्रतिको माया छैन । ऊ आफ्नो चित्त र अरुको चित्तमा विभेद ल्याउँछ । ईश्वर कतै थियो भने हाम्रो मनभित्र थियो अतीतमा र अहिले पनि ईश्वर छ भने हामीभित्र छ । मन्दिर मस्जिद चैत्य बिहार त मनलार्ई बुझाउने संरचना मात्रै हुन् । मनुष्य ऊ आफ्नो रगतलाई रगत हो भन्छ र अर्काको रगतलाई पानी सम्झिन्छ । ऊ आफ्नो र अर्काको सन्तानबीच भिन्नता देख्छ । त्यस्तै मनुष्यले हो समाजमा असमानता र विभेदता निम्त्याउने । जगतलार्ई जागरुकले कहिले बिगार्दैनन् ।

जगत बिगार्ने तिनै सिल्ली सिल्पटहरु नै हुन्, जो आफूलाई सर्वैसर्वा सम्झिन्छ, अरुलाई अमानुष सम्झिन्छ । जगतलार्ई कि भोगीले बिगारे कि ढोँगीले बिगारे । भोगीहरुको संख्या दिनानुदिन बढिरहेको छ । जसका कारण धर्म हराउँदै छ र बदलामा पापकर्म फैलिँदै छ । हिजो धर्म, संस्कृति र परम्परा मान्नेहरु आज भत्काउनतिर लागिरहेका छन् । विशेष गरेर हिन्दु राज्य भनेर चिनिएको नेपाललार्ई धर्म निरपेक्ष मुलुक बनाएर आफ्नो पहिचान बागमतीमा सेलायौँ हामीले । धर्म हराएको देश भनेर कुनै दिन नेपाललार्ई भनिन बेर लाग्दैन ।

हामीहरु सबै भोगी नै हौँ । भोग्नलाई मनुष्य योनीमा जन्मलियौ । जुन द्वारबाट मनुष्य जन्मिन्छ त्यही द्वारलार्ई नै मनुष्य अपवित्र बनाउँदै छ । हामी मातृयोनीबाट यो अपार सृष्टिमा अवतरण हुन्छौँ र फेरि तिनै योनीहरुलाई दुत्कार्छौँ । तिनै स्त्रीहरुलाई बलात्कार गर्छौँ । तिनै आमाहरूको अपमान गर्छौँ । तिनै सृष्टिका जननीहरुलाई दाइजो नपाएको निहुँमा ज्युँदै बाल्दिन्छौँ । तिनै द्रौपदीहरुलाई घिसार्छौँ । तिनै सीताहरुलाई अग्निपरीक्षा लिन्छौँ । तिनै योगमायाहरुलाई समाधी लिन बाध्य तुलाउछौँ । तिनै निर्मल निर्मलाहरुलाई सामूहिक बलात्कार गर्छौँ ।

पृथ्वी आफैँ निर्मल निर्मित छ । यसलाई अनिर्मल बनाउने काम मनुष्यहरुले गर्दै आए । मानवीय समगुणले मानव एउटै हो, तर मानवले नै मानवमाथि अनेकौँ विभेधकारी नियम लागू ग-यो । गोरो, कालो, गरिब, धनी, बाहुन, क्षेत्री, छूत अछुत आदिमा विभाजन निर्माण ग-यो । यो २१औं शताब्दीमा हामी अझै जात लिङ्ग, वर्ग, क्षेत्र र धर्मलार्ई आधार बनाएर अहमको राजनीति गरिरहेछौँ र आफूलाई प्रगतिशील पार्टीको महान नेता वा कार्यकर्ता भनिरहेछौँ ।

सबैभन्दा प्रगतिशील त उही हो जसको हृदय निर्मल छ । सबैभन्दा निर्मल उही हो, जसको बिचार व्यवहार र सम्पूर्ण कर्मादी प्राकृतिक छ । घामको किरण सागरको तलसम्म जसरी पुग्छ । हावाले जसरी रोगी मान्छेको घाउदेखि तरुण मान्छेको ओठसम्मलाई स्पर्श गर्छ, फूलको सुगन्ध फोहोरमै पनि फैलिदिन्छ र आफ्नो ससीम अत्तरले नुहाइदिन्छे वातावरणलार्ई । जुन आफ्नो जुनेली किरण बिरहमा रोएकी प्रेमीदेखि मधुर मिलनमा मदोन्मादित जोडीलार्ई समेत समानरूपमा बाँडिदिन्छे । खोइ त यहाँ कहीँकतै विभेध छैन नि ! प्रकृतिले पनि विभेद गरेकी भए आजको स्वार्थन्धमा लागेको मानिस कति विच्छेद र विक्षिप्त हुन्थ्यो होला ।

निर्मलता धोएर आउँदैन । निर्मलता रोएर आउँदैन । निर्मलता पढेर आउँदैन । निर्मलता गाएर पनि आउँदैन । निर्मलता हामीभित्रको अँध्यारोलार्ई फालेपछि मात्रै आउँछ । अबोध बालकको जस्तै हुन्छ निर्मल मनमाथिको कथामा एउटी अबोध बालिकाले भगवानका नाममा पत्र लेखेजस्तै हुनुपर्छ, त्यो निर्मलता । अनि बच्चालार्ई स्नेहको जुनले नुहाइदिने हुलाकका हाकिमजस्तो हुनुपर्छ निर्मलता । डर, त्रास, भय, सन्ताप, लोभ, ईष्र्यारहित मन नै निर्मल मन हो । निर्मल मन शून्य हुन्छ । शून्य मन सुनिश्चित हुन्छ । ऊ कतै भोकको लयमा भड्किँदैन । ऊ कतै भोकको भयमा काँप्तैन । उसले भोगको भाषा पनि जान्दैन । भोगबाट नै भीखको सुरुवात हुन्छ । आधुनिक युगका कथित गुरुहरु भोगको शिकारी हुन् । परम परमेश्वरका नाउँमा अज्ञानी मनुष्यमाथि राज गरिरहेछन् । सुनिन्छ बेला–बेलामा तिनका कर्तुत व्यपार ।

देशभन्दा विशाल हुन्छ मन । सागरभन्दा अतल गहिरो हुन्छ मन । आकाशभन्दा फराकिलो हुन्छ मन । मन हलुकोमा हावा हो, मन गह्रुङ्गोमा पहाड हो, मन शीतलतामा हिउँ हो । मन कठोरतामा फलाम हो । मन कोमलतामा फूल हो । उज्यालोमा मन घाम हो । अँध्यारोमा मन ब्ल्याक होल हो । यही सर्वेश्वर मन नै परमेश्वर हो । मनको निर्मलताले नै सिद्धार्थ गौतम बुद्ध बनेका थिए । बुद्ध मन र अहिलेका स्वघोषित नेताहरूको मनमा कति फरक छ ।

निर्मल मनले मान्छे ईश्वर बन्छ । निर्मल मनले मानिस ईश्वरनजिक पुग्छ । निर्मल मन निर्माणको त्यो पहिलो प्रहर हो जस्ले जिन्दगीको ज्योति बोकेर ल्याएको हुन्छ । निर्मल मन हुनेहरूले निर्मलाहरुको सम्हार गर्दैनन् । हाम्रो शिक्षाको अभीस्टता राम जन्माउनलायकको होइन । हाम्रो शिक्षण विधिले पौराणिक पौरस्त्य विधान र मनुष्यभित्र नै विकास गर्न सकिने ईश्वरको निर्मल रुप जन्माउन सकिरहेको छैन । हरेक मनुष्यभित्र ईश्वर छन तर हामीभित्रको त्यो ईश्वरलार्ई जानी–जानी सैतान बनाइदिन्छौँ । हामीभित्रको ईश्वरलार्ई कुकर्म गर्न गर्न प्रेरित गरिरहेका छौँ ।

निर्मल हृदय बनाउन जूनबाट, घामबाट, पानीबाट, फूलबाट रुख, बिरुवा, पातबाट सिक्नुपर्छ । जबसम्म लोभको भारी बोकेर हिँडिरहन्छौ हामी हृदय निर्मल हुँदैनौँ । लाभको भारीप्रति होइन प्रेमको भारी–भारी बोकेपछि मात्रै त्यो आत्मा शुद्धतातिर नवनित हुन्छ । त्यस्तो प्रेम जूनले पृथ्वीलार्ई गरेको जस्तो । घामले धरतीलार्ई किरणले छोपेजस्तो । राग मिसिएको प्रेम त अशुद्ध हुन्छ । हामी नेपालीहरु प्रायः संक्रमणमै बाँचिरहेका छौँ । बुद्ध जन्मेको देश किन सधैँ संक्रमणमा गुज्रिरहेको छ भन्दा यहाँका नेताहरुको मन निर्मल नभएर संक्रमित छ । नेताका बिचारहरु जब संक्रमित हुन्छन् अनि त्यही बिचारले सिङ्गो देशलार्ई संक्रमित पारिदिन्छ ।

यो देशमा सकेसम्म संक्रमणकाल लम्ब्याउने काम हुन्छ र त्यही मौकाको फाइदा लिरहेका छन्, नेताले । मानिस मानसिकरूपमा ठीक भएन भने उसलाई अनेकन रोगले आक्रमण गर्छ । हाम्रा नेताहरूको मानसिक स्थिति नै अशान्त छ । अस्थिर मन छ, त्यसैले हाम्रो राजनीति पनि अस्थिर छ । जसरी देश र शासन व्यवस्थापन अस्थिर छ । नेताहरू रोगी छन्, मानसिक र शारीरिक दुवैरूपमा । हामीलार्ई भोकभन्दा पनि भोगको चाह र तृष्णा बढी हुन्छ । यही भोगको शिकार हुन्छन्, कलिला निर्मलाहरु । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie