दिगो पर्यटनका पूर्वाधार र नेपाल

दिगो पर्यटनका पूर्वाधार र नेपाल

सामान्यरूपमा पर्यटनलाई घुमफिर भनेर बुझिन्छ । कुनै एक ठाउँबाट अर्को ठाउँसम्म घुमफिर, मनोरञ्जन, अध्ययन वा अन्य उद्देश्यले पुगिन्छ भने त्यो पर्यटन हो । विश्वमा हाल पर्यटनका विभिन्न स्वरूपहरू विकसित हुँदै आएका छन् । जस्तैः व्यवसायिक पर्यटन, ग्रामीण पर्यटन, पर्वतारोहण पर्यटन, पदयात्रा पर्यटन, स्वास्थ्य पर्यटन, जलयात्रा पर्यटन, साहसिक पर्यटन, कृषि पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक खेलकुद, चलचित्र, शैक्षिक आदि इत्यादि विषयलाई पर्यटनमा समावेश गरिएको छ ।

पर्यटनले त्यस्ता मानिसहरूलाई बुझाउँदछ जो कुनै विशेष वा नवीन स्थानको भ्रमणमा रहन्छन् । कुनै एक ठाउँबाट अर्को ठाउँ घुमफिर वा मनोरन्जन, शैक्षिक प्रयोजन आदिका लागि गरिने गतिविधि अर्थात् घुमफिर नै पर्यटन हो । पर्यटन विश्वको ठूलो र तीव्ररूपमा विकसित आर्थिक क्षेत्र हो । प्राकृतिकरूपले नै मानिसले घुमफिरमा बढी रुचि राख्ने गरेको देखिन्छ ।

मानव विकासको ऐतिहासिक विकासक्रम हेर्दा पनि मानिस एक ठाउँबाट अर्को ठाउँमा घुम्ने, फिर्ने गरेको पाइन्छ । पर्यटनले देशको आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास र वातावरणीय सुधारमा समेत महत्वपूर्ण योगदान पु-याएको हुन्छ । पर्यटनले विश्व भाइचारा र समझदारीमा अभिवृद्धि, वैज्ञानिक चिन्तनको विषयमा सहयोग, परम्परागत मान्यतामा सुधार, रोजगारीमा वृद्धि, प्राकृतिक स्रोत र साधनको उपयोग, पूर्वाधारको विकास, नयाँ प्रविधि र विकास, उद्योगधन्दाको विकास, विदेशी मुद्रा आर्जनको स्रोत, अन्तर्राष्ट्रिय सम्पर्कमा वृद्धि, सांस्कृतिक आदानप्रदानमा जोडलगायतका विभिन्न क्षेत्रमा मदत गर्दछ ।

पर्यटनका सन्दर्भमा पछिल्लो समय दिगो पर्यटनको अवधारणा अगाडि सारिएको पाइन्छ । पर्यावरणको पूरा ख्याल गरी गरिने पर्यटनको अवधारणाबाट दिगो पर्यटनको सोच विकसित भएको हो । पर्यावरण हरेक मुलुकको सम्पदा हो । खोलानाला, हिमाल, पहाड, उपत्यका, आदिजस्ता भौगोलिक स्वरूपदेखि लिएर नदि, ताल, झरना, पोखरी, जंगल, चराचुरुङ्गी, जनावर आदिको सामूहिक परिवेश पर्यवरणका आधार हुन् र यिनै विषयवस्तु पर्यटकका लागि रुचिकर हुन्छन् ।

दिगो पर्यटनलाई संयुक्त राष्ट्रसंघले यसरी परिभाषित गरेको छ ‘त्यस्तो पर्यटन विधि जसले सामाजिक, आर्थिक, सांस्कृतिक आवश्यकताको पूर्ति गर्दैगर्दा पनि ती विषय, स्रोत वा ठाउँको सांस्कृतिक अवयव, वातावरणीय विविधताको संरक्षण र जीवन सञ्चालनको विधिलाई संरक्षण गर्न सफल रहन्छ वा स्थानीयपना संरक्षणको कोसिस गरिन्छ ।’

सामान्यतः पर्यटनमा प्राकृतिक पर्यटन नै दिगो हुने मानिन्छ किनकी यसको मुख्य आश्रय प्रकतिसँग रहेको हुन्छ । यातायातलाई छोडेर हेर्ने हो भने पनि यसका अरु सबै श्रोत नविकरणीय नै हुन्छन् । पछिल्लो एक दशकमा दिगो पर्यटनका केही सिद्धान्तहरू निर्माण भइसकेका छन् । दिगो पर्यटनको सञ्चालनबारे खासगरी चारवटा मुख्य पक्ष रहेको छ जसले पर्यटनको दिगोपनाबारे चर्चा गर्दछन् :

(१) आर्थिक दिगोपना
क. यसमा तत्काल गरिनुपर्ने विषय र दीर्घकालमा गरिनुपर्ने विषयहरू समावेश गरिएका हुन्छन् ।
. दिगो पर्यटनको लागि स्थानीय तहदेखि बहुराष्ट्रिय संघसंस्थाबीच रचनात्मक सहकार्य हुनु जरुरी हुन्छ भन्ने मान्यता स्थापित छ ।
ग. पर्यटक र सरोकारवालाबीच पर्यटनको दिगोपना र वातावरणीय स्वच्छताबारे रचनात्मक विचार विमर्शका विषयहरू समावेश गरिनु पर्छ ।
घ. पर्यटनबाट भएको आर्थिक उपार्जनको केही रकम समुदायको वृत्ति विकास, वातावरण संरक्षण र स्थानीय स्रोत निकायमा लगानी गर्नुपर्छ ।

(२) पर्यावरणीय दिगोपना
क. दिगो पर्यटनको दोस्रो खम्बाका रूपमा पर्यावरणीय दिगोपनाको विषय रहेको छ ।
ख. यसमा पर्यावरणअनुकूल विकासका कामहरू हुनुपर्ने, त्यस्तै गरेर स्रोत व्यवस्थापनको विषयमा समुदाय र अन्य सरोकारवाला निकायको सक्रियता रहनुपर्ने, त्यस्तैगरी पर्यावरण संरक्षणबारे प्रत्येक तहमा पर्यटकलाई सुसूचित गराउने विषय रहेका छन् ।
ग. जिम्मेवार पर्यटक, पर्यावरणमैत्री पर्यटक, प्रकृतिप्रेमी पर्यटकलगायतका कार्यमार्फत उनीहरूलाई उत्प्रेरित र जिम्मेवार बनाउनुपर्छ ।
. समुदाय र स्थानीय तहमा पर्यावरण संरक्षण र सम्वर्द्धनबारे विभिन्न कार्यक्रमको विकास गरिनुपर्दछ ।

(३) सांस्कृतिक दिगोपना
विवेकशील मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत सिर्जनाअनुरूपको जीवनशैली नै मानव संस्कृति हो । मानवले निर्माण वा रचना गरेका सिर्जनाहरू भौतिक र अभौतिक गरी दुवै किसिमका हुन्छन् । दुवै किसिमका सिर्जनाहरू नै संस्कृति हुन् । सांस्कृतिक दिगोपनाले यिनै संस्कृतिको दिगोपनाको वकालत गर्दछ । यसमा समुदाय र तिनको संस्कृतिको संरक्षण गरिनुपर्ने सवाल रहन्छ ।
क. संस्कृतिलाई गतिशील र उत्पादनसँग जोडिनु पर्दछ ता कि संस्कृतिको संरक्षण र सम्वर्द्धनमा मदत पुगोस् ।
ख. त्यस्तै गरी सांस्कृतिक गतिविधिको उपयोग गर्दा यसका आधारभूत मान्यताहरूको ख्याल गरिनुपर्दछ ।
. समुदाय र स्थानीय जनतालाई सांस्कृतिक क्रियाकलापका लागि निरन्तर अभिप्रेरित गर्नुपर्दछ ।
घ. संस्कृति र यसको लचकपनासँग पर्यटन र पर्यटकलाई जोड्ने गतिविधिको सञ्चालन गर्ने,
ड. आदिवासी जनजातीको जमिन र सम्पत्ति तथा उनीहरूको रैथाने संस्कृति संरक्षणमा पूरा ख्याल गरिनुपर्दछ ।
च. स्थानीय प्रकृति, सामाजिक सांस्कृतिक र परम्परागत ज्ञान, सीप, कला र अन्य विषयको संरक्षण र सन्दर्भमा प्रतिबद्ध रहनुपर्दछ ।
संस्कृति कुनै पनि समाज र मानिसको परिचयको केन्द्रबिन्दु हो । यसले मानिसमा एउटा सकारात्मक भावको विकास गराउँदछ । त्यसैले सांस्कृतिक विशेषता जरुरी विषय हो ।

(४)स्थानीय दिगोपना
दिगो पर्यटनको अन्तिम खम्बाको रूपमा स्थानीय दिगोपना रहेको हुन्छ । यसभित्र स्थानीय समुदाय र तिनको जीवकाका विषय प्रमुखताका साथ आउने गर्दछन् ।
क. कुनै पनि पर्यटकीय कार्यक्रमको निर्माण गर्दा स्थानीय समुदाय र रैथाने वर्गलाई केन्द्रमा राखि उनीहरूको फाइदालाई ध्यानमा राख्दै कार्यक्रमको विकास गर्नुपर्दछ ।
ख. स्थानीय समुदाय, जनजाती समूह आदिका लागि आथिक उपार्जन हुने खालका कार्यक्रम बढीभन्दा बढी निर्माण गर्नुपर्दछ । यसले एकातिर आर्थिक उपार्जन हुन्छ भने बृहत्रूपमा गरिबी निवारणमा पनि ठोस मदत पुग्दछ ।
ग. त्यस्तै गरी स्थानीय समुदायलाई वा आदिवासी समूहलाई आर्थिक सहुलियतको प्रत्याभूतिले स्थानीय कला, संस्कृति संरक्षणमा मदत पुग्दछ र यसले पर्यटक आकर्षणमा थप टेवा पुग्दछ ।
घ. दिगो पर्यटनको लागि स्थानीय जनशक्ति र स्रोतको विकासमा जोड दिनुपर्दछ र प्रत्येक कार्यक्रममा बढीभन्दा बढी युवा सहभागिताको कोसिस पनि गरिनुपर्दछ ।

दिगो पर्यटन त्यो हो जसले वातावरण र समाजमा नकारात्मक प्रभावलाई रोक्ने गर्दछ । स्थानीय संस्कृति, प्राकृतिक अवस्थाका विषयवस्तु, वनजंगल र वन्यजन्तु, मानिस र तिनको संस्कृति, परम्परा र कला आदि दिगो पर्यटनका प्रमुख सरोकार हुन् । सांस्कृतिक र जैविक विविधताको संरक्षण, स्थानीय मानिसहरूलाई रोजगारी प्रदान गरी जैविक विविधताको संरक्षण गर्ने तथा सामाजिक तथा आर्थिक फाइदा स्थानीय समुदायसम्म ल्याई पु-याउने उद्देश्यले दिगो पर्यटनको माग दिनप्रतिदिन बढिरहेको छ । त्यस्तै पर्यटनको पर्यटकीय प्रभावलाई कम गर्ने तथा स्थानीय संस्कृति, जीवजन्तु र वनस्पतिको संरक्षण गरी प्राकृतिक अवस्था अक्षुण राख्ने सोच दिगो पर्यटन हो ।

पर्यटनको विकासका साथै वातावरण, पर्यवरण र स्थानीयपना जोगाउने सोच दिगो पर्यटन हो । नेपालका सन्दर्भमा दिगो पर्यटनको अपरिहार्यतालाई नजरअन्दाज गर्नुहुँदैन । प्राकृतिक र सांस्कृतिक दिगोपनामा नै नेपालको सम्पूर्ण पर्यटनको भविष्य रहेको छ । नेपाल सरकारले यो विषयमा काम गर्नु जरुरी छ । माथि उल्लेखित विषयका बारेमा अबका पर्यटनका कार्यक्रम केन्द्रित गरिनुपर्दछ । नेपालीपना संरक्षणका लागि दिगो पर्यटनभित्रका हरेक स्तम्भलाई उत्तिकै चासो र महत्व दिनुपर्दछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie