नेपाली कथित बौद्धिक जमातको सोच र प्रधानमन्त्री ओली

नेपाली कथित बौद्धिक जमातको सोच र प्रधानमन्त्री ओली

सुलसुले । फागुन १८ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रिपरिषद् सदस्य र पार्टीका नेताहरूलाई एउटा जानकारी दिए, ‘आफ्नो शरीरमा दोस्रो मिर्गौलाको प्रत्यारोपण २१ गते बुधबार नेपालकै शिक्षण अस्पतालमा गर्ने । त्यसको लागि सोमबार साँझ आफू अस्पताल भर्ना हुँदै छु ।’ प्रधानमन्त्रीको कार्यशैली र व्यवहारलाई लिएर पछिल्लो समयमा पार्टीभित्र उनको विरोध भैरहेको थियो । खासगरी संविधान संशोधनका लागि असहमति र वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने विषयमा पार्टीले गरेको निर्णयलाई ओलीले चुनौती दिएपछि उनलाई हटाउनेसम्मका खेल भएका थिए । त्यही भएर उनले आफ्ना पार्टीका आफूसरहका र आफूपछिका नेताहरूलाई कुनै पनि जानकारी दिएका थिएनन् । जब आफ्नो तीव्र विरोध हुन्छ भने आफ्नो बारेमा खास जानकारी दिन पनि प्रधानमन्त्री ओलीले उचित देखेनन् । त्यही भएर अस्पताल भर्ना हुनुअघि मात्र उनले उक्त जानकारी पार्टी र सरकारमा बसेका मन्त्रीहरूलाई दिए ।
ओली प्रस्ट वक्ता मात्र होइन आफ्ना कुरा लुकाउन सक्ने क्षमता भएका नेता पनि हुन् । उनले कतिपय विषयलाई आश्चर्यमा परिणत गरिदिएका छन् । त्यस्तै आश्चर्य उनको दोस्रो मिर्गौला प्रत्यारोपणमा पनि हुँदै छ । उनको शरीरमा धेरै रोग भएको कारण मिर्गौलाको प्रत्यारोपणको विषयमा धेरै प्रश्न पनि उठाइएको थियो । तर, त्यसलाई ओलीले भिडियो सन्देशमार्फत सहज जवाफ पनि दिएका थिए । उनले आफू सपना देखाएर अलप नहुने बताएका थिए । त्यो उनको ठूलो आत्मविश्वास थियो । त्यो आत्मविश्वासलाई डाक्टरहरूले सत्यमा परिणत गराइदिए । त्यो पनि नेपाली डाक्टरहरूले नै ।
ओलीले आफ्नै भान्जी नाता पर्ने युवतीको मिर्गौला दान लिएर आफ्नो शरीरमा प्रत्यारोपण गर्दै थिए । तर, मानवीय संवेदनाहरू हराएकाहरूले विभिन्न प्रश्न गरे । जुन प्रश्न अप्रेशनका लागि तयार भएको व्यक्तिलाई जति सुकै सत्रु भए पनि गर्नु उचित थिएन । तर, नेपाली समाजमा जे विषयलाई पनि राजनीतिक रङ्ग दिनेहरूले प्रश्न बनाइदिए । उनीहरूको प्रश्न र प्रदर्शन हेर्दा लाग्थ्यो कि प्रधानमन्त्री ओली जीवित भएकामा उनीहरूलाई धेरै पीडा छ । प्रधानमन्त्री ओलीले उनीहरूको सबै अधिकार, भाग खोसेका छन् । त्यही भएर ओली आवश्यक छैन । यस्ता भद्दा स्टाटसहरू फेसबुकमा लेखिए कि ती यहाँ उल्लेख गर्न उचित नै थिएन । जुन स्टाटसहरू आफ्नो सबैभन्दा ठूलो सत्रुका बारेमा पनि लेखिन्न । तर, यहाँ कथित पत्रकार, सामाजिक अभियन्ता, कानुनका जानकार, राजनीतिक दलका नेता र कार्यकर्ता भन्नेहरूले प्रधनमन्त्रीको स्वास्थ्य, उनलाई मिर्गौला दिने महिला र उनले प्रधानमन्त्री पद बहाल राखेर अप्रेशन कक्षमा प्रवेश गरेको विषयलाई जसरी लेख्ने र बोल्ने काम गरे त्यो नेपाली समाजमा राक्षसीय र दानवीय विचार मात्र थियो भन्न सकिन्छ । कुनै पनि सभ्य नागरिकले त्यस्ता कुरा लेख्न र बोल्न त के मनमा सोच्न पनि मिल्दैनथ्यो । त्यस्तै अपराधको खेती गर्नेहरूले समाजमा आफूलाई राजनीतिक दलका नेता, कार्यकर्ता, शुभचिन्तक, पत्रकार, कानुन व्यवसायी, नागरिक समाजका अगुवाजस्ता उपमा दिइरहेका छन् ।
जसले जति नै सराप दिए पनि ओलीको नेपाली डाक्टरहरूले सफल सल्यक्रिया गरेका छन् । ओलीको राजनीतिक विचार र कार्यशैलीप्रति पूर्ण असहमत हुने अधिकार सबैलाई छ । ओलीको सबै विचार र कार्यशैली र उनको स्वास्थ्यलाई कदापि तुलना गर्न पाइन्न । उनको विचार र कार्यशैलीप्रति असहमति राख्दैमा उनलाई धर्तीमा देख्न नपरोस् भनेर सोच राख्न जत्तिको राक्षसीयरूपमा अरु केही पनि हुन सक्तैन । ओलीका कतिपय विचार र शैलीप्रति मेरो पनि असहमति थिए र अझै होलान् तर उनको स्वास्थ्यलाभको कामनाबाहेक अहिले केही पनि गर्न सकिन्न ।
नेपाली समाजले आफ्नो मानवीय संवेदना गुमाउँदै गए पनि ओलीको मिर्गाैला प्रत्यारोपण मात्र सफल भएन नेपाली डाक्टर र अस्पतालको पनि विश्वभर सकारात्मक प्रचार भएको छ । यसले नेपालीको नै शिर ठाडो बनाएको छ । स्वदेशी अस्पतालमा नेपाली अनुभवी चिकित्सकले मुलुकको कार्यकारी प्रमुखको मिर्गाैला प्रत्यारोपण गरेको यो विशेष क्षणलाई स्वदेश र विदेशबाट समेत चासो र प्रतिक्षाका साथ हेरिएको थियो । यसलाई ओलीको मात्र नभई नेपाली चिकित्सा क्षेत्रकै सफलताको रूपमा हेर्नुपर्छ । ओलीलाई उपचारकै क्रममा तत्काल अलप भएको हेर्न चाहनेहरूले आफूलाई एउटा संवेदना भएको मानवको रूपमा फर्काऊन् । ओलीको स्वास्थ्य लाभ होस् । उनले राजनीतिक यात्राको क्रममा अर्थात् स्पष्ट बहुमतको सरकार चलाउँदा गरेका गल्ती र देखाएको कमजोरी आगामी दिनमा सबै सच्चिएर जाने अपेक्षा मात्र गरौँ । तर, त्यो पनि पहिलो स्वास्थ्यलाभको कामना नै यो बेला उचित शब्द होला । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie