भिजिट नेपाल र बागमतीको स्वच्छता

भिजिट नेपाल र बागमतीको स्वच्छता

हामी यतिबेला ‘नेपाल भ्रमण वर्ष २०२०’ लार्ई सफल बनाउन लागिपरेका छौँ । दुईचार जना केटाकेटीले भिजिट नेपाल भन्दै फेसबुकमा घुमेको ठाउँको फोटो पोष्ट्याएका छन् अनि सरकार भन्दै छ भिजिट नेपाल सफल हुँदै छ । यतिबेला चाइनाबाट उत्पत्ति भएको कोरोना भाइरसका कारण विश्वमा तनाव छाएको छ । चाइनिज पर्यटकबाट नेपालले वर्षेनी थुप्रो आम्दानी गरेको थियो त्यो आम्दानी पूरै घटेको छ । यतिबेला चीन तर्फबाट आउने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । कतिपय उडानहरू हामीले चाइनालार्ई बन्द गर भन्नुभन्दा अगाडि नै उनीहरू स्वयंले आफ्नो देशबाट नेपालतर्फका उडानहरू बन्द गरिसकेका छन् ।

भिजिट नेपाल यसपाली सफल नहुने कुरा निश्चित भैसकेको अवस्थामा हामीले अब आन्तरिक पर्यटनलार्ई नै प्रमुखता दिनुको विकल्प छैन । आन्तरिक पर्यटनलार्ई पुर्ण रूपमा चलायमान गर्न सकियो भने भिजिट नेपालको नारा यतिकै खेर जादैन । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हामीले हाम्रा ऐतिहासिक र पुरातत्व बोकेका धरोहरलार्ई जिवित तुल्याउनु पर्छ । उपत्यकाको सबैभन्दा फोहोरी स्थान नै बागमती नदी हो । भारतबाट तीर्थ गर्न भनेर आउने भारतीय पर्यटकको मूल उद्देश्य पशुपति दर्शन र बागमतीमा स्नान हो । तर सबैभन्दा दुःखको कुरा हाम्रो भावनाको पवित्र गङ्गा बागमती कहिले पनि सफा हुन सकेन । शिवपुरी बाग्द्वारको मुहानबाट झरेर असभ्य सहरभित्र बागमती प्रवेश गर्छिन् अनि यिनको अस्मिता हरेक घरको हरकले बिटुल्याउन थाल्छ । बागमती नसङ्लिएसम्म काठमाडौँ उपत्यकाको सभ्यता सङ्लिनेवाला छैन ।

जन्मपछिको देहान्त अवस्यम्भावि र अकाट्य नै छ । बाँचुन्जेल मृत्यु सम्झिएर कर्म गर्ने हो भने हामीमा भ्रष्टाचार, अनैतिक क्रियाकर्मादी गर्नतिर सायद मन पनि जाँदैनथियो होला । हिन्दु मात्रको एउटा महान तीर्थस्थल पावन पशुपतिनाथमा अवस्थित भस्मेश्वर घाटको यो दुर्गन्ध र दुर्गतिको कारण आफन्तको अन्तिम संस्कारका लागि आएका नेपालीहरूले ज्यादै कष्ट भोग्नु परिरहेको छ । बागमती सफाइ अभियानको सयौँ हप्ता बितिसकेको छ तर ब्रह्मनालदेखि भस्मेश्वर घाटसम्मको दृश्य हेर्दा यस्तो अनुभूति हुन्छ कि नेपालको सबैभन्दा फोहोर र दुर्गन्धित स्थान यही हो । घर, मन्दिर, अस्पतालजस्तै घाट पनि सफा र स्वच्छ हुनुपर्छ भन्ने कुरासँग खै कहिले सहमति हुने हो हामी ?

मृतकका आफन्त उसै त वियोगमा हुन्छन् झन् त्यहाँको फोहोर र दुर्गन्धित वातावरणको कारण झन् अरु पीडा थपिदिन्छ । आराध्यदेव भगवान श्री पशुपतिनाथको सुरक्षा, संरक्षण सम्वर्द्धन गर्नका निम्ति सिङ्गो गुठी छ । एनजीओ, आईएनजीओ र विभिन्न संघसस्थाहरू समेत लागेका देखिन्छन् । त्यसरी लागेअनुसारको कामको प्रतिशत भने शून्य देखिन्छ । त्यो पवित्र स्थानका लागि चढाइएको लाखौँको भेटी नै काफी हुन्छ त्यति थोरै स्थान सफा राख्नका लागि ।

नेपाललार्ई पशुपतिनाथको देश भनेर पनि चिनिन्छ र संसारबाट आराध्यदेव भगवान श्री पशुपतिनाथको दर्शनका लागि करोडौँ भक्तजन आउछन् । भगवानको दर्शन पाउलान् या नपाउलान् त्यो आफ्नो ठाउँमा छ तर फोहोर र दुर्गन्धबाट अवाक भएर पुनः फर्केर नआउने मनसाय बोकेर भने गैरहेका हुन्छन् । पशुपतिनाथ र बागमती नदी एक–आर्कासँग अन्योन्याश्रित छन् । पाशुपतको पावनता बागमती नदिको पवित्रतासँग जोडिएको छ तर विगत २० वर्षदेखि बागमती पानी होइन मान्छेका मलमुत्र बोकेर बगिरहेकी छिन् ।

पशुपतिनाथको वरिपरि मानिस होइन पशुहरू बसिरहेको भान हुन्छ । तिनीहरूको ठग धन्दा मौलाएको छ । कात्रोदेखि बाँससम्म मालादेखि अविर, धुपसम्म बेच्दा तिनले राम्रै ठग्छन् । एउटा लासका लागि प्रयोगमा ल्याइएको बाँस कसैले फेरि उठाएर लैजाने र पुनः त्यही बाँस अर्काे लास सदगतीका लागि बेचेको सम्म देखियो । यस्तो व्यापारको फाइदा लिने निकायमाथि हामी निर्लज्ज भएर हेरिरहेका छौँ । शोकाकुल मलामीहरूलार्ई पनि ठग्नु कति पशुवत व्यवस्थापन हो, आर्यघाटको । पाशुपत क्षेत्रमा व्यापार गरेर बसिरहेका सबै व्यापारीहरूको ध्यय कसरी तीर्थ गर्न आउनेलाई ठग्ने भन्ने हुन्छ यसलाई नियमन र नियन्त्रण गर्ने निकाय भए पनि तिनै व्यापारीहरूबाट यस्ता नियमन निकायले हप्ता असुल्छन् ।

एउटा सामान्य नेपाली रोग लागेपछि नेपालका नीजि क्लिनिक र हस्पिटलहरूबाट व्यापकरूपमा ठगिनु र फेरि देहावसानपछि पनि पशुपतिमै ठगिन पुग्नु कति यातना भोगिरहेका छौँ, तलको तस्बिरले नै प्रमाणित गर्दछ । फोहोरको नाली र दुर्गन्धित चितामा बल्नुको विवशता भोगिरहेका छन् नेपालीले । जन्मदेखि मृत्युपर्यन्त ठगिनुको नाम हो नेपाली । उसले जन्मसँगै आफ्नो ललाटमा ठगिने ट्याग झुण्ड्याएर आएको हुन्छ सायद । हामी यदि पुनर्जीवन वा पुनर्जन्ममा विश्वास राख्छौँ भने यस्तो फोहोरमा बलेर कसरी सम्भव होला पुनर्जीवन ? लास हो यसलाई दुख्दैन भनेर जे–जस्तो स्थानमा पनि यसको शेषान्त गर्ने हो भने त्योभन्दा राम्रो त कुनै रुखको फेदमा पुरेर बिरुवालार्ई हुर्कन मलको काममा उपयोग गरे हुन्छ नि बरु हाम्रो मृतशरीर ।

सारा हिन्दु जगत र धार्मिक उद्देश्यबाट प्रभावित भएका नेपालका केही राजनीतिक पार्टीहरूले हिन्दु राज्यको माग गरिरहेका बेला एक पटक पाशुपत क्षेत्र अवस्थित ब्रह्मनालदेखि भस्मेश्वर घाटको फोहोर र पाशुपत क्षेत्रको व्यथितिलार्ई गहिरिएर निहालिदिए कति राम्रो हुन्थ्यो होला ? शिवको नामबाट खोलिएका राजनीतिक संघसंगठन शिवसेनाहरू खोइ कहाँ छन् ? केका लागि राजनीति गर्ने कसका लागि राजनीति गर्ने र कुन उद्देश्य प्राप्तिका लागि राजनीति गर्ने भन्ने कुराको स्पष्टता अब हरेक राजनीतिककर्मीले लिनुपर्छ । पशुपतिनाथको नाउँमा कमाउ धन्दा मात्रै फैलाउने पशुपतिनाथको महिमागान मात्रै गाउने तर पशुपतिनाथको वरिपरि रहेको दुर्गन्ध हटाउने बारेमा कसैले पनि नबोल्ने यो कस्तो प्रवृत्ति हो हाम्रो ? पशुपति क्षेत्र क्षेत्रफलको आधारमा मुस्किलले तीन सय रोपनी जति जग्गामा अवस्थित होला यति थोरै एरियालार्ई पनि हामीले स्वच्छ राख्न सकिरहेका छैनौँ ।

मुर्दालार्ई पनि सफा स्वच्छ स्थानमा जलाउने व्यवस्थापनको जिम्मेवारी राज्यले मिलाउनुपर्छ । मनुष्य जीवनको दुई महत्वपूर्ण क्षण जन्म र मृत्यु हो । यो दुई क्षणलाई सकेसम्म कष्टतापूर्ण नहोस् भनेर राज्यको ध्यान जानु आवश्यक हुन्छ । सबैको आँखा जाने सबैले पुग्नुपर्ने पशुपतिको मन्दिर आसपास क्षेत्र र खास गरेर हिन्दु जगतका आस्थाका नदी जो पाशुपत क्षेत्र भएर बग्दछिन् तिनलाई कसरी स्वच्छ राख्ने भन्ने कुरामा हामी चिन्तित देखिएका रहेनछौँ ।

आराध्यदेव भगवान श्रीपशुपतिनाथको मन्दिरभित्र चढाइएको पञ्चामृत भित्री भागबाट बगेर तल ब्रह्मनालसम्म पुग्छ । हिन्दु परम्पराअनुसार मृत्युपछि वा मृत्योन्मुख भएको व्यक्तिलार्ई त्यो ब्रह्मनालसम्म बगेर आएको पञ्चामृत खुवाइयो भने मृतात्मालाई शान्ति मिल्छ भनेर विश्वास गरिन्छ । आत्मा मर्दैन यो अजरा अमर छ । देहलोक छोडेर परलोकको मार्ग तय गर्न लागेका व्यक्तिलार्ई ब्रह्मनालमा सुताउने चलन छ । यो हिन्दुको आदीय परम्परा हो । यो एउटा विस्वास हो ।

विस्वास नै परम्पराको रूपमा समाजमा प्रचलित हुँदै जान्छ । तर, यो ब्रह्मनाल अर्थात् ब्रह्माजीलाई अमृतले नुहाइदिँदा त्यही अमृत माथिदेखि बगेर तल बागमती तीरमा स्थित नाल अर्थात् कुण्ड नै फोहोर छ भने विश्वासको त्यो अमृत नै दुर्गन्धित भयो नि । अमृतरुपी बागमती किनारमा अवस्थित त्यो ब्रह्मनालदेखि तल भस्मेश्वर घाटसम्मको स्थललार्ई स्वच्छ पार्नका लागि तल उल्लेखित काम गर्नका लागि म नेपाल सरकारलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छुः
ब्रह्मनालदेखि भस्मेश्वर घाटसम्म करिब तीन सय फिट लम्बाइको पूरै क्षेत्रमा बाक्लो र बलियो सेतो रङको मार्बल बिछ्याउने, बागमती किनारमा डिपवेल बोरिङ गरेर पानी निकाली त्यही पानीलार्ई पाइपको माध्यमबाट हरेक दिन तीन पटक फोहोरा दिएर मार्बल ओछ्याइएको स्थान सफा गर्ने, अन्तिम संस्कारमा प्रयोग गरेर बाँकी रहेका बाँस दाउरा र कपडालाई सिधै बगिरहेको बागमतीमा नफाली तत्कालै त्यसको सुरक्षित स्थान्तरण गर्ने ।,

धार्मिक विस्वास र परम्पराअनुसार त्यसको पुनः प्रयोग नगर्ने, सुनिन्छ मुर्दा पोलेर बाँकी रहेको काठका दाउराहरू सिनामंगलस्थित सेकुवा घरमा सेकुवा पोल्नका लागि प्रयोगमा आइरहेको छ । स्वास्थ्यको दृष्टिकोणले सिनामंगलस्थित सेकुवा घरहरूमा सेकुवा खानु कति उपयोग हुन्छ त्यो हामीले बुझ्नुपर्ने कुरा हो । बागमतीवरिपरि रहेका व्यापारीहरूलाई त्यहाँको फोहोर व्यवस्थापनका लागि कडा निगरानी र नियन्त्रण गर्ने ।, पशुपति गुठीलार्ई नेपाल सरकारअन्तर्गत राखेर अरु आम्दानीयोग्य संस्थासरह त्यसको विकास गर्ने ।,

आवश्यकतानुसार पशुपति र बागमती सफाइ गर्ने कर्मचारी भर्ती गर्ने र उनीहरूलार्ई सफाइ र स्वच्छतासम्बन्धी विशेषज्ञका रूपमा दक्ष बनाई उनीहरूको सीपको सदुपयोग गर्ने ।, बागमती नदी किनार अवस्थित ब्राह्मनालदेखि माधवराज घाटसम्म पूरा हरियाली रुख बिरुवा रोपी बगैँचाको रूपमा विकास गर्ने । ता कि त्यहाँ पुग्दा नर्क होइन स्वर्ग नै पुगिएको अनुभूति होस् ।, सीमित स्रोतबाट सञ्चालित कतिपय प्रोजेक्ट पनि दक्षतापूर्वक सम्हाल्न सकियो भने त्यसबाट धेरै सेवाग्राहीले फाइदा लिन सक्छन् । हामीमा यो कुराको संस्कार कहिले बसेन ।

पशुपति आर्यघाटमा यत्रतत्र छरिएका लुगाफाटो काठपात डढेर बचेका मुढा बाँसको कन्तबिजोग सजिलोसँग देख्न सकिन्छ । विदेशी पर्यटक मन्दिर प्रवेश नगरे पनि बागमतीको यो फोहोर र दुर्गन्धको तस्बिर भने अवश्य प्रचारप्रसार भैरहेको छ । यो कुरामा छिटोभन्दा छिटो सम्बन्धित निकायको ध्यानाकर्षण होस् र पशुपतिको देश हेर्न आउनेले आर्यघाटको फोहोर देखेर नफर्कियोस् । आर्यघाटमा धूप, अविर, माला, पानी बोकेर बिक्री गर्न आउने सानातिना व्यापारीले मलामीहरूलाई ज्यादै सताइरहेका हुन्छन् । त्यो कर्कस ध्वनिले मानिसहरू ज्यादै सताइएका छन् । ती व्यापारी र तिनको व्यापारको यथोचित व्यवस्थापन हुन सकिरहेको देखिँदैन । यसप्रति तत्काल सम्बन्धित निकायले निकासा निकाल्नु जरुरी देखिन्छ ।

व्यापार गर्नुपर्छ यो पेशाले पनि कसैले आफ्नो परिवारको भरणपोषण गरिरहेका छन् मात्रै भन्न खोजेको मलामी र तीर्थालुलाई नसताइकन बेच्ने यथोचित प्रबन्ध मिलाउनु जरुरी छ । शिवका नाउँमा सञ्चालित शिवसेना हुन् कि नेपालका लालसेना हुन् सबैको अभियान र अभीष्टता नेपाल र नेपाली जनताका हितमा उभिएका यदि छन् भने पाशुपत क्षेत्रको यो पवित्रतालार्ई जोगाउनु सबैको कर्तव्य हो ।

हामी सार्वभौमिकताका कुरा गर्छाैँ । देश रक्षाका कुरा गर्छाैँ । राष्ट्रवादका कुरा र भाषण गरेर थाक्तैनौँ । कुरामा जति सम्पन्नता हामी काममा भने कहिले पनि हुन सकेनौँ । नेपालको एक मात्र प्राचीन मन्दिर पशुपतिनाथलाई त हामी भरणपोषण सफा, सुरम्य र सुरक्षित राख्न सक्तैनौँ भने हामीले भाषणमा बोल्ने खोक्रो राष्ट्रवादको के अर्थ । राष्ट्रवादमा राष्ट्रको सम्पदा पनि आउँछ, देशको भूगोल र सिमाना मात्रै होइन । धार्मिक आस्थामा हामी एक–अर्कासँग भिन्न भए पनि सम्पदा त सबैको साझा हो नि, यसको सफाइ, सुरक्षा र सम्वर्द्धनका लागि राज्यले जिम्मेवारीबोध गर्ने कि नगर्ने ?

गैरसरकारी संस्थाका भरमा यस्ता धार्मिक स्थलहरूलाई मात्रै जिम्मा दिने हो भने मुलुक पनि ठेक्कामा यति वर्ष चलाएर विकास गर भने भैगो नि । दानपत्रमा चढाइएका भेटीका बारेमा बेला–बेलामा कुराहरू उठे पनि यसलाई पारदर्शी अझैसम्म गर्न सकिएको छैन । आराध्यदेव पशुपतिनाथलाई सिधै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा राखेर यसको पवित्रता र स्वच्छतामा कुनै कमी आउन नदिनु राज्यको दायित्व हो । नजिकको तीर्थ हेला भनेजस्तै पशुपतिनाथको महिमा त ती हजारौँ कोशबाट तीर्थ गर्न आएकालार्ई सोध्नुभयो भने थाहा हुन्छ ।

कोही ईश्वर मान्छन् कोही मान्दैनन्, त्यो आ–आफ्नै नीजि कुरा होलान् तर राज्यले पर्यटकीय महत्वका धरोहरलार्ई भने सफा स्वच्छ राख्नका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्न हुँदैन । कोरोना भाइरसको महामारीका कारण विदेशी पर्यटक नेपाल आउने सम्भावना कम हुँदै गए पनि २०२० लार्ई पर्यटन वर्षका रूपमा मनाउने तयारीमा जुटेका हामी आफैँ चाहिँ कति सफा छौँ कति स्वच्छ छौ भन्ने कुरा सहरको मुटुबाट बग्ने बागमती कति सफा छ त त्यस्ले नै देखाउँछ । हाम्रा सभ्यताका धरोहरहरू सफा राख्न सक्तैनौँ भने हाम्रो विकास र योजना केवल नारामा मात्रै सीमित रहनेछन् । यदि भिजिट नेपाल २०२० लार्ई सफल बनाउने हो भने आन्तरिक पर्यटन र भारतीय पर्यटकको आकर्षणको केन्द्र आराध्यदेव भगवान श्री पशुपतिनाथको आँगनबाट बगिरहेकी बागमतीलार्ई स्वच्छ बनाऔँ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie