‘नेपाल भ्रमण वर्ष सन् २०२०’

‘नेपाल भ्रमण वर्ष सन् २०२०’

अहिले सबैतिर चर्चामा रहेको विषय हो, ‘नेपाल भ्रमण वर्ष २०२०’ । अबको केही समयपछि नै हामीले यसलाई पर्यटन क्षेत्रको उत्सवको रूपमा मनाउँदै छौँ । नेपाल र नेपाली अनि यहाँ रहेका अथाहा हाम्रा सम्पदाहरूलाई विश्वसामु चिनाउने यो प्रयास साँच्चै सह्रनीय छ । त्यसो त हामीले यसरी नेपाल भ्रमण वर्ष मनाउन थालेको सन् १९९८ देखि नै हो । तर, यस सन्दर्भमा यहाँ एउटा प्रसङ्ग उल्लेख गर्नु महत्वपूर्ण देखिन्छ । 

हाल धेरै नेपालीहरूले खासगरी पर्यटन व्यवसायी र नीति निर्माताहरूले बिर्सिसके होलान् कि, हामीले सन् २०१६ मै ‘सन् २०१८’ लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने तय गरेका थियौँ । तर, त्यो बेला कुनै पूर्वतयारीविनै ‘सन् २०१८’ लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरिएकोले पछि गएर रद्ध गरी ‘सन् २०२०’ लाई फेरि नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिएको हो । हुन पनि कुनै पूर्वतयारीविना भ्रमण वर्ष मनाउने गरिएकोले हालसम्म मनाइएको वा भनौँ घोषणा गरिएको कुनै पनि भ्रमण वर्ष वा पर्यटन वर्षमा निर्धारण गरेको विभिन्न लक्ष्यहरू पूरा भएका छैनन् । 

उदाहरणका लागि सन् १९९८ को नेपाल भ्रमण वर्ष, सन् २००२ को नेपाल पर्वतीय पर्यटन वर्ष, सन् २०११ को नेपाल पर्यटन वर्ष, सन् २०१२ को पोखरा भ्रमण वर्ष, सन् २०१३–१४ को लुम्बिनी भ्रमण वर्ष आदिलाई लिन सकिन्छ । त्यो बेलामा जे–जस्तो लक्ष्य र उद्देश्य लिएर कार्यक्रमहरू गरिएको थियो, ती कुनै पनि लक्ष्य र उद्देश्यहरू पूरा भएका थिएनन् । कतिपय पर्यटनसम्बन्धी कार्यक्रमहरू त लक्ष्यभन्दा निकै टाढा रहेको पाइन्छ । नेपालको इतिहासलाई हेर्दा लक्ष्यको झण्डै आधा मात्रै उपलब्धि हासिल भएको देखिन्छ । त्यसैले हामीले भ्रमण वर्षलगायतका पर्यटनसम्बन्धी अन्य कार्यक्रमहरू गर्दा हामीले तय गरेको लक्ष्यमा पुग्न के–के पूर्वतयारी गर्नुपर्छ ? सोच–विचार गरेरअघि बढ्नु पर्ने देखिन्छ । 

नेपालमा पर्यटनको कुरो गर्दा हामीमध्ये कोहीले सन् २०२५ सम्ममा २५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएका छौँ, सपना देखेका छौँ । कोहीले सन् २०३० सम्ममा ५० लाख विदेशी पर्यटक भित्र्याउने सपना देखेका छौँ । तर, प्रश्न उठ्छ, यी लक्ष्य र सपनाहरू हामीले व्यावहारिकरूपमा पूरा गर्न सक्ने खालको छ त ? हामी नेपालीहरूले हचुवाको भरमा घोषणा गरिहालेकै भरमा लक्ष्य पूरा गर्न सकिएला ? प्रश्न गम्भीर छ । किनभने, हालसम्म हामीले समग्र पर्यटन क्षेत्रमा गर्न सकेको/गरेको प्रगति विवरणका ठेली/प्रदिवेदनहरू हेर्ने हो त्यति सकारात्मक छैनन् । 

माथि सुरुमै उल्लेख गरेझैं नेपालले यसअघि सन् १९९८ मा पनि पाँच लाख विदेशी पर्यटकलाई नेपाल भ्रमणार्थ आकर्षित गर्नेलगायतका विभिन्न उद्देश्य र कार्यक्रमसहित ‘नेपाल भ्रमण वर्ष’ मनाइएको थियो । त्यस्तै सन् २००० मा पर्वतीय पर्यटन वर्ष, सन् २०११ मा १० लाख विदेशी पर्यटकलाई नेपालको भ्रमण गराउने लक्ष्यसहित ‘नेपाल पर्यटन वर्ष’ मनाइएको थियो भने सन् २०१२ ‘पोखरा भ्रमण वर्ष’, सन् २०१३–१४ मा ‘लुम्बिनी भ्रमण वर्षलगायत विभिन्न पर्यटकीय कार्यक्रमहरू अनेकौँ लक्ष्यसहित मनाइएको हो । 

पहिलो पटक नेपालले मनाएको ‘नेपाल भ्रमण वर्ष २०९८’ मा पाँच लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष लिइएकोमा चार लाख ६३ हजार छ सय ८४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले गरेको दैनिक खर्च भने लगभग ४१ अमेरिकी डलर मात्रै रहेको थियो । स्मरण रहोस्, उद्देश्य भने नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई दैनिक ४९ अमेरिकी डलर खर्च गराउने लिइएको थियो । तर, सन् १९९९ मा भने चार लाख ९१ हजार पाँच सय चार जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । त्यसपछि नेपालमा बढ्दै गएको आन्तरिक राजनीतिक द्वन्द्व, भारतीय विमान नेपालबाट उड्ने क्रममा भएको अपहरण, राजदरबार हत्याकाण्ड लगायत अनेक कारणले नेपाल आउने पर्यटकको संख्या लगातर घटेर दुई लाख ६० हजार चानचुनमा झरेको थियो । 

जे भए पनि नेपालले फेरि सन् २०११ मा १० लाख विदेश पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल पर्यटन वर्ष २०११’ मनायो । तर, सन् २०११ मा पनि लक्ष्यभन्दा निक्कै कम विदेशी पर्यटक नेपाल आए । अर्थात् सन् २०११ मा १० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकोमा सात लाख ३६ हजार दुई सय १५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरे । त्यस्तै नेपाल पर्यटन वर्ष मनाएको दोस्रो वर्ष अर्थात् सन् २०१२ मा भने नेपाल आउने विदेशी पर्यटकको संख्या बढेर आठ लाख तीन हजार, ९२ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

भ्रमण वर्ष २०२० को लक्ष्य पूरा गर्न के गर्ने ? हुन त कुनै पनि सपना देख्नु र लक्ष्य/उद्देश्य लिनु आफैँमा नराम्रो होइन । तर, नेपालको पर्यटन र पर्यटन उद्योगको क्षेत्रमा सपना देख्ने र उद्देश्य लक्ष्य लिने क्रममा हामीले खालि पर्यटकको टाउको गन्ने वा यो सालमा यति संख्यामा विदेशी पर्यटक भित्र्याउने भन्ने मात्रै सपना देख्छौँ/उद्देश्य लिन्छौँ । त्यही पनि कहिल्यै पूरा हुने होइन/भएको छैन । तर, गत केही महिनाअघि उत्तरी छिमेकी देश चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र उनले आफ्नो सम्मानमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको रात्री भोजलाई सम्बोधन गर्ने क्रममा आफ्नो देशका नागरिकहरूलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने भनी गरेको वा आशय व्यक्त गरेकोले साँच्चै चिनियाँ पर्यटकहरू कल्पनै नगरेको संख्यामा नेपालको भ्रमणमा आउने अनुमान गर्न सकिन्छ । अनुमान मात्रै होइन, यो सम्भावना छ पनि । किनकि चीनका राष्ट्रपति सी चिनफिङ चिनियाँ जनताहरूका लागि हाल भगवानसरह स्थापित भएका छन् भन्ने भनाइ छ । फेरि यो माओ र देङको पालाको समय नभएर २१औं शताब्दीको समय हो । 

हो, पर्यटनको सन्दर्भमा भन्नुपर्दा हाम्रो देश नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्न नसक्नुमा निश्चय नै विभिन्न कारणहरू छन् नै । जस्तैः नेपालका विभिन्न राजनीतिक दल र तिनका भातृसंगठन, धार्मिक संघसंस्था, जातीय संघसंगठनहरू, स्थानीयवासीलगायतले गर्ने बेमौसमी र बेफ्वाँकको बन्दहडताल अझै पनि रोकिएको छैन । नेपालको पर्यटन व्यवसाय अपेक्षित ढंगले नफस्टाउनुमा यी कारणहरू पनि एक हो । 

नेपालमा विदेशी पर्यटकको संख्या बढाउका लागि टड्कारो आवश्यकता भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै मुख्य हो । के भनिन्छ भने, हाल वार्षिक लगभग २५ लाख विदेशी पर्यटकलाई धान्ने बेड क्षमता छ, नेपाली होटलहरूको । उता बाराको निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रियस्तरको विमानस्थलमा सकेसम्म आफ्नै लगानी जोहो गर्ने प्रयास भइरहेको र, छिट्टै शिलान्यास गर्ने भनिए पनि हालसम्म त्यसको चाँजोपाँजो मिलेको छैन । त्यसो त अन्तर्राष्ट्रिय विमानस्थलको कुरो गर्दा सकेसम्म सन् २०१८ मा नै सक्ने भनेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्कालीन प्रधानमन्त्रीले शिलान्यास गरेका थिए ।

नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथ’ पनि स्तरोन्नति भैरहेको छ । उता सन् २०१३ देखि अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठन (आईकाओ) को प्रतिवेदनलाई आधार मान्दै र युरोपियन युनियनअन्तर्गत रहेको युरोपेली उड्ड्यन आयोगले ‘युरोपियन हवाई सुरक्षा सूची’ अनुसार नेपालका प्रायः सबै हवाई सेवा कम्पनीलाई असुरक्षित मान्दै आफ्नो आकाशमा कुनै पनि नेपाली वायु सेवा कम्पनीलाई उडान भर्न नपाउने गरी अस्थायी प्रतिबन्ध अर्थात् कालो सूचीमा राखेको छ ।

यसरी युरोपियन उड्ड्यन आयोगले ‘युरोपियन हवाई सुरक्षा सूची’ अनुसार आफ्नो आकाशमा कुनै पनि नेपाली वायु सेवाको जहाज उड्न नपाउने गरी लगाएको अस्थायी प्रतिबन्धबाट हटाउन नेपालले सुरुदेखि नै पहल गर्दै आएको छ । तापनि हालसम्म उसले लगाएको अस्थायी प्रतिबन्धबाट हट्न भने नेपाल सफल हुन सकेको छैन ।

उल्टै सन् २०१९ मा पनि यो प्रतिबन्ध कायमै रहेको छ भने सन् २०२० मा के हुने हो ? यसबारेमा अझै टुंगो लागेको छैन । कालो सूचीबाट हटाई पाऊँ भनी नेपालस्थित युरोपियन युनियनअन्तर्गत रहेको तत्कालीन राजदूत रेन्जे टिन्रिकलाई नेपाल सरकारको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले तयार पारेको आधारपत्र बुझाएको पनि लगभग दुई वर्ष भइसकेको छ ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस