गुणस्तरीय जीवनमा धुम्रपानको असर

गुणस्तरीय जीवनमा धुम्रपानको असर

स्वास्थ्य मानव जीवनको बहुमूल्य सम्पति हो । असल स्वास्थ्यविना अन्य विकासको परिकल्पनाहरू सार्थक बन्न सक्दैन । स्वास्थ्यको विविध पक्षहरू हुन्छन् । प्रतिकारात्मक, प्रर्वद्धनात्माक वा उपचारात्मक सबै पक्षहरूको महत्व असल स्वास्थ्य प्राप्तिको निम्ति उतिकै रहेको हुन्छ । पूर्ण स्वास्थ्यका लागि शारीरिक, मानसिक तथा सामाजिक तीनै पक्षहरूलाई समेट्नु पर्दछ ।

हाल आएर समाजमा सुर्तीजन्य पदार्थले समाजको हरेक पक्षहरूमा मन्द विषको रूपमा मानव सभ्यतालाई नै विकृति सँगसँगै अन्धकार वा विनाशतिर धकेलिरहेको छ । धुम्रपान भन्नाले धुमपान वा धुवाँ सेवन भन्ने साधारण अर्थमा बुझिन्छ । धुवाँ सेवन भनेको चुरोट, तमाखु, सुर्ती, गाँजा वा कक्कड वा कुनै पनि सुर्तीजन्य पदार्थमा आगो लगाएर त्यसबाट निस्केको धुवाँ सेवन गर्नु हो ।

जब मानव सभ्यतामा आगोको आविष्कार भयो, त्यतिबेलादेखिनै धुवाँको सुरुवात भएको मान्न सकिन्छ । बिस्तारै सुर्तीजन्य पदार्थमा आगो लगाएर सेवन गर्ने प्रचलनको पनि ऐतिहासिक कालदेखि नै सुरु भएको मान्न सकिन्छ । नयाँ संसार (अमेरिकी महादेश) मा सबैभन्दा पहिले धुम्रपान प्रचलित रहेको पाइन्छ । युरोपेलीहरूले अमेरिका पत्ता लगाएपछि मात्र धुम्रपानको सुरुवात गरेका हुन्, जुन करिब १६औं शताब्दीतिर पर्दछ । अमेरिकी रेड इण्डियनहरूले धुम्रपान गर्ने नाली (पाइप)लाई ‘टोवागो’ भन्दछन्, जसमा उनीहरू सुर्तीको पात हालेर सेवन गर्दथे ।

विभिन्न उत्सव, समारोहमा शान्तिवार्ता हुँदा यस्तो धुम्रपान गरिन्थ्यो । कालान्तरमा यही बिरुवाको नाम निकोटिन रहन गयो । बिरुवाको पातको सेवनलाई लोकप्रिय बनाउने फ्रेन्च नागरिक ज्याँ निकोटको नामबाट निकोटियाना बन्न गएको हो । सुर्तीको बिरुवा सुरुमा युरोपमा औषधिको रूपमा भित्र्याइएको थियो । त्यतिबेला पनि युरोपमा सुर्तीलाई राम्रो मानिएको थिएन । टर्कीमा धुम्रपान गर्नेहरूको लागि मृत्युदण्ड समेत दिने चलन थियो । रसियाका बादशाहले धुम्रपान गर्नेको नाक चिर्ने, कोर्रा लगाएर साइबेरियामा निर्वासित गर्ने तजविज गरेका थिए ।

चुरोटको धुवाँमा शरीरलाई असर गर्ने चार हजार रसायनिक तत्वहरू रहेका हुन्छन् । त्यसमध्ये मुख्य तत्वहरू कार्बनमोनोअकसाइड, निकोटिन, टार आदि प्रमुख हुन् । हिन्दु वैदिक संस्कारअनुसार देवादिदेव महादेव विष, भाङ, धतुरो खाई मात्तिएर बस्दथे भन्ने भनाइ छ भने प्रसङगहरूमा जब महादेव सुत्ने समय हुन्थ्यो वा कुनै नयाँ कार्य गर्नु परेमा भाङ भन्ने धुम्रपान गर्दथे भनिन्छ । हाल पनि गाँजा खाने मानिसहरू जोगीहरूसँग बसेर महादेवको बुटी भनी सेवन गर्दछन् ।

विश्वमा धुम्रपान अम्मलीहरूको ठूलो भाग दक्षिणपूर्वी एशियामा अवस्थित छ । विशेषतः नेपाल, भारत, पाकिस्तानमा धुम्रपानका अम्मलीहरू अधिक मात्रामा रहेका छन् । नेपालको हिमाली तथा पहाडी भागमा चुरोट, बिँडी, तमाखु, गाँजा खानेहरूको संख्या बढी मात्रामा रहेको छ भने तराई भागमा सुर्ती सेवन गर्नेहरूको संख्या अधिक मात्रामा छ । सुर्तीजन्य पदार्थको कारणबाट लाग्ने रोगका रोगीहरूको संख्या नेपालमा अधिक मात्रामा रहेको छ । चुरोट, बिँडी, तमाखु सेवनका कारण दम, फोक्सोको रोग, अपच, फोक्सोको क्यान्सरजस्ता रोगहरू तथा सुर्ती सेवनका कारण गालाको क्यान्सर, मुखको क्यान्सर, दाँत तथा गिजारोग आदि रोगहरू लाग्ने गरेका छन् ।

त्यसभन्दा बाहेक सुर्तीजन्य पदार्थको सेवनबाट महिला तथा पुरुषमा बाँझोपन समेत अधिक मात्रामा लागेको पाइन्छ । त्यस्तै देशमा अधिक मात्रामा रहेको क्षयरोग, मृगौलाको रोग, श्वासप्रश्वाससम्बन्धी रोग आदि धुम्रपानको उपज हो भन्नुमा कसैको दुईमत नहोला । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वमा रहेको एक दशमलव दुई अर्ब सुर्तीका अम्मलीहरूमध्ये पाँचौ भाग अम्मलीहरू रहेको भारतमा मात्र सुर्ती सेवनका कारण वर्षेनी छ लाखभन्दा बढी नाबालक केटाकेटीहरू समेत सुर्तीका अम्मली भइसकेका छन् यसको प्रभाव प्रत्यक्षरूपमा हाम्रो देश नेपालमा पनि परेको छ । सुर्ती सेवनले गर्दा विश्वमा वर्षेनी करिब ५० लाख मानिसहरू मर्दछन् ।

सामान्यतया धुम्रपानका अम्मलीहरू विशेषगरी गरिबीको कारणसँगै झुण्डिएको छ । मानिस गरिब भएपछि विविध पीरचिन्तामा डुब्ने गर्दछ र पीरबाट मुक्ति पाउन सकिन्छ भन्ने भ्रममा परेर अधिक धुम्रपान गर्दछन्, जसबाट स्वास्थ्यमा असर पर्न गई पुनः बिरामी पर्दछ र पैसा खर्च गरेर उपचार गर्नु पर्दछ । यसरी धुम्रपान र गरीबीबीच चक्र चलिरहन्छ । गरिबीको कारणबाट रहेको निरक्षरता पनि धुम्रपानको अम्मली बनाउने प्रमुख तत्व हो । उदाहरणको रूपमा हाम्रो टोलका एकजना व्यक्तिले एकदिनमा कम्तिमा २० ओटा सूर्य चुरोट सेवन गर्दछन् भने अब उनको धुम्रपान खर्च हेरौँ ।

आजभोलि सूर्य चुरोटको मूल्य प्रतिगोटा १५ रूपैयाँ रहेको छ । एक दिनमा २०ह१५=३०० रूपैयाँ, एक महिनामा (३०ह३००)=९००० रूपैयाँ, एक वर्षमा (३६५ह३००)=१०९५०० रूपैयाँ, अब यदि उसले १५ वर्षमा धुम्रपान सुरु गरेको भए, (६०–१५) वर्ष ४५ वर्षमा जम्मा खर्च (४५ह१०९५००)=४९,२७,५०० अर्थात ४९ लाख २७ हजार पाँच सय रूपैयाँ गर्दछ । जुन रकमले उनले आरामसँग जिन्दगी बिताउन सक्दछन् भने वृद्ध अवस्थामा दम, खोकीजस्ता रोगसँग जुध्नु पर्दैन । स्मरण रहोस्, उक्त रकममा धुम्रपानबाट लाग्ने रोगमा खर्च हुने रकम समावेश गरिएको छैन ।

समाजमा धुम्रपानको अधिक अम्मली बनाउनमा प्रमुख भूमिका समुदायका अभिभावक वा प्रतिष्ठित व्यक्तित्वहरूको समेत रहेको पाइन्छ । जब हजुरबुबाले नातिलाई तमाखु भर्न सक्ने हुँदा नहुँदै हुक्का पाइप, पानी भर्न र चिलिममा तमाखु टाँस्न व्यस्त गराउँछन् र आफू सोखले नलीमा मुख लगाएर गड्गडाउँछन् । हामी कल्पना गरौँ त्यो अबोध बाल मष्तिष्कमा कस्तो छाप पर्छ होला ? आमा मेलापात जाँदा सिरानीबाट चुरोट र सलाई झिकेर लगिदिने काम विद्यालय जानुभन्दा अघि छोरीको हुन्छ भने विद्यालयबाट फर्कँदा बेलुका बाबुआमालाई चुरोट र हजुरबुबालाई तमाखु किन्ने काम छोराको हुन्छ । एउटी आमा जो अबोध दुधे बालकलाई दुध चुसाउँदै बिँडीको धुवाँ उडाइरहेको हुन्छिन् ।

समाजका भद्रभलादमी चौतारीमा बसेर अरुको झगडा छिन्ने निहुँमा चुरोटको सर्को तानेर धुवाँसँगै एउटा निरीह व्यक्तिको हाँसो उडाउँछन् । पाँचतारे होटलदेखि छाप्रे रेष्टुरेण्टसम्म एक बोतल वियर फोरेर १०औँ वटा चुरोट सल्काउँछन् र कोठामा बाक्लो कुहिरो फैलाउँदछन् । यस प्रकारको वातावरणमा हुर्केको एउटा बालक अब कसरी धुम्रपानको अम्मली नबनी रहन सक्छ ? समुदायमा धुम्रपान गर्नेहरूमध्ये निरक्षरको संख्या अधिक रहेको छ । जबसम्म अन्धकाररूपी निरक्षरतालाई हटाउन सकिँदैन तबसम्म धुम्रपान मात्र नभई समाजको कुनै पनि कुलतलाई हटाउन असम्भव हुन्छ ।

राज्यले असल नागरिक निर्माण गर्ने भन्ने उद्देश्य बनाउनुभन्दा पहिले देशलाई स्वस्थ जनशक्तिको कति महत्व छ भनी बुझ्नु नितान्त जरुरी छ । समुदायका गुरुहरू जो अभिभावकसँग विद्यार्थीको असल भविष्यको कुरा गर्दा चुरोट तानिरहेका हुन्छन् र विद्यार्थीलाई कक्षामा धुम्रपान गर्नु हुँदैन भनिरहेका हुन्छन् । शिक्षा एउटा समुदायको त्यो आवाज हो, जसले व्यक्तिको व्यक्तिगत आचरणदेखि समाज र राष्ट्रको भविष्य ठेक्का लिएको हुन्छ । त्यसैले शिक्षकले धुम्रपानविरोधी अभियानमा सशक्त भूमिका निर्वाह गर्न सक्दछ । धुम्रपान सुरुवात गर्ने साथीभाइसँगको लहलहैको उमेर किशोर समूह हो, जुन अहिलेका बालबालिकाहरूको विद्यालय, विश्वविद्यालयमा बितिरहेको हुन्छ । उक्त समयमा उचित निगरानी भएमा देशमा व्याप्त अम्मलीको संख्या पक्कै नियन्त्रण गर्न सकिन्छ ।

विभिन्न व्यक्तिहरू समाजमा आफ्नै किसिमको स्वभाव लिएर जन्मेको हुन्छ । त्यसैले त भनिन्छ– कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि हुन्छ । त्यस्तै मानिसका सोखहरू पनि विविध प्रकारका हुन्छन् । एउटा व्यक्ति समाजमा शारीरिक, मानसिक तथा सामाजिकरूपले स्वस्थ भएर बाँच्नको लागि सामान्य स्वभाव हुनु आवश्यक हुन्छ । धुम्रपान गर्ने व्यक्तिहरू केही न केहीरूपमा असामान्य स्वभाव भएका हुन्छन्, त्यसले समाजमा विभिन्न विकृतिहरू देखाई रहेको हुन्छ ।

धुम्रपानको असरलाई कम गर्न यसको विरुद्ध जनचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ, खाना खाएपछि धुम्रपान गर्न लाग्ने तलतल मेट्न ल्वाङ, सुकुमेलजस्ता वस्तु सेवन गरेर यसको तलतलबाट बच्न सकिन्छ, किशोरवयको समयमा धुम्रपानको सुरुवात गर्ने भएकोले उक्त समयमा विद्यालय, शैक्षिक संस्था तथा अभिभावकले विशेष निगरानी राख्नुपर्छ, धुम्रपानको कुलतमा नफस्नको लागि धुम्रपान सेवन गर्ने साथीहरूसँग नहिँड्ने यदि कुनै साथी धुम्रपान गर्ने भएमा छाड्न लगाउनु पर्छ, विशेषतः आमाबाबु वा परिवारका ठूला व्यक्तिहरूको धुम्रपानबाट बालबालिकाले सिक्ने हुनाले घरपरिवारमा ठूलावडाले धुम्रपान गर्नु हुँदैन, पीर, चिन्ता हटाउन धुम्रपानले सहयोग गर्दछ भन्ने भ्रम हटाउनु पर्छ, धुम्रपानबाट मुख गनाउने, टाउको दुख्ने, छातीको रोग, मुटुको रोग, दम, क्षयरोग, दाँत र गिजाको रोग, विभिन्न क्यान्सरजस्ता रोगहरू लाग्ने भएकोले विभिन्न श्रव्यदृश्य तथा छापा माध्यमहरूबाट धुम्रपानविरुद्धका सामग्री प्रचारप्रसार गर्नुपर्छ, धुम्रपानसम्बन्धी भड्किला विज्ञापनहरू छाप्न र प्रशारण गर्न बन्द गराउनु पर्छ, धुम्रपानबाट परिवार, समुदाय र राष्ट्रमा परेको आर्थिक, सामाजिक नकारात्मक असरबारे समयमै कार्यानीति बनाई स्थानीय, प्रदेश र केन्द्रीय सरकारले यो समस्या हल गर्न पहल गर्नु समयको माग हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस