कोरोना भाइरस नेपाल: कोभिड-१९ र सम्बन्धित विषयमा नेपाली वैज्ञानिकहरू कस्तो अनुसन्धान गर्दैछन्

कोरोना भाइरस नेपाल: कोभिड-१९ र सम्बन्धित विषयमा नेपाली वैज्ञानिकहरू कस्तो अनुसन्धान गर्दैछन्

काठमाडौं,जेठ ९

नेपालमा पाइएको कोरोनाभाइरसको अनुवांशिक संरचना र सङ्क्रमितहरूमा देखिएको रोगप्रतिरोधी क्षमतासहित विभिन्न विषयमा वैज्ञानिक अनुसन्धान अघि बढाउन लागिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिवले बताएका छन्।

स्वास्थ्य मन्त्रालयको उक्त अनुसन्धान परिषद्ले नेपालमा स्वास्थ्यसँग सम्बन्धित रहेर गरिने सबै खालको अनुसन्धान गर्ने जिम्मेवारी पाएको छ।

सो परिषद्ले हालसम्म ३३ वटा विभिन्न अनुसन्धान प्रस्तावलाई स्वीकृति दिइसकेको छ भने आफ्नै अग्रसरतामा १० वटा अनुसन्धान अघि बढाउँदैछ।

विज्ञहरूले चाहिँ नेपालमा भाइरसहरूसँग जोडिएका कतिपय अध्ययन तथा अनुसन्धान गर्न प्रविधि र स्रोत साधनको अभाव रहेको औँल्याएका छन्।

सरकारी स्तरको अनुसन्धान

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव प्रदीप ज्ञवालीका अनुसार परिषद्ले विभिन्न निकाय र सङ्घसंस्थाले प्रस्तुत गरेका ३३ वटा अनुसन्धानको प्रस्ताव अनुमोदन गरिसकेको छ भने आफैँ १० वटा अनुसन्धान अघि बढाउन लागेको छ।

नयाँ कोरोनाभाइरसतस्वीर कपीराइटEPA

विभिन्न तहमा रहेका अस्पतालको अवस्था र तयारी, कोभिड-१९ बारेको सर्वसाधारणको बुझाइ, क्वारन्टीनमा रहेका मानिसको मनोवैज्ञानिक अवस्था, अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीको मानसिक अवस्था, विदेशबाट फर्किएका व्यक्तिमा देखिएका कोरोनाभाइरसको लक्षण र बजारमा उपलब्ध द्रूत परीक्षण किट आरडीटीको प्रभावकारिताबारे परिषद्ले अध्ययन अघि बढाएको छ।

ज्ञवालीले नेपालमा कोरोनाभाइरससको सङ्क्रमणबाट निको भएका व्यक्तिको रगतबाट प्लाज्मा निकालेर 'प्लाज्मा थेरपी' विधिबाट कोरोनाभाइरसको उपचार गर्ने विधिबारे अनुसन्धान अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुमति दिएको जानकारी दिए।

उनी भन्छन्, "यो अनुसन्धानअन्तर्गत निको भएको व्यक्तिको रगतबाट प्लाज्मा निकालेर त्यहाँ उत्पादित एन्टीबडी सङ्क्रमण देखिएका व्यक्तिहरू दिने भन्ने कुरा छ।

कसरी गर्ने भन्ने विधि र आचारसंहिताबारे पनि कुरा गरिरहेका छौँ। यो अनुसन्धान चाँडै अघि बढाउन सकिने अवस्था देखिन्छ।"

औषधिको पनि अनुसन्धान

उनका अनुसार सङ्क्रमण देखिएका व्यक्तिबाट नमुना सङ्कलन गरेर कोरोनाभाइरसको आनुवंशिक संरचनाको (जीन) सिक्वेन्सको अध्ययन गरी बिरामीको प्रतिरक्षा विज्ञानबारे अनुसन्धान गर्ने सोच बनाइएको पनि उल्लेख गरे।

यो अध्ययनबाट नेपालमा देखिएको कोरोनाभाइरसको शक्ति र सङ्क्रमणको स्वरूप जानकारी पाउन सकिने उनको भनाइ छ।

कोरोनाभाइरसतस्वीर कपीराइटRSS

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कम्तीमा ५० जना कोरोनाभाइरस सङ्क्रमितहरूमा यो अध्ययन गर्ने योजना बनाएको र यसका लागि परिषद्अन्तर्गत रहेको आचारसंहिता हेर्ने निकायबाट अनुमोदन प्राप्त गरिसकेको सदस्यसचिव ज्ञवाली बताउँछन्।

त्यसबाहेक विश्व स्वास्थ्य सङ्गठनले ऐक्यबद्धता जनाएका औषधि र खोपको क्लिनिकल परीक्षणबारे पनि वैज्ञानिक अध्ययन गर्न लागिएको छ।

निजी क्षेत्रले सिफारिस गरेको औषधि वा खोपमा जाने मनसाय नरहेको भन्दै परिषद्का सदस्यसचिव ज्ञवालीले हाल अमेरिकी नियामक निकायले परीक्षणका लागि अनुमति दिइएको रेम्डेसिभिर औषधिको परीक्षण गर्न सकिनेबारे पनि छलफल भइरहेको जानकारी दिए।

परिषद्ले अरूलाई अनुसन्धान गर्न स्वीकृति दिएका भनिएका अनुसन्धानहरू कोरोनाभाइरससँगै देखिएका मनौवैज्ञानिक समस्या, क्वारन्टीनका चुनौती, अस्पताल र कार्यस्थलमा देखिएका असहजता जस्ता विषयसँग सम्बन्धित छन्।

 
कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण

त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी केन्द्रीय विभागका प्रमुख मेघराज बन्जाराका अनुसार विभागका वैज्ञानिकहरूले कतिपय अनुसन्धानमा परिषद्लाई सघाइरहेका छन्।

उनी भन्छन्, "हामी नेपालमा देखिएको भाइरसको आनुवंशिक चरित्र र अरू देशको भाइरसको चरित्र कस्तो छ भनेर परिषद्सँगै अध्ययनमा संलग्न छौँ। त्यसबाहेक हालसम्म नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाएका व्यक्तिमा देखिएको भाइरसको चरित्र र अरू व्यक्तिमा देखिएका सङ्क्रमणलाई पनि दाँज्न सकिन्छ कि भनेर हेर्न खोजिरहेका छौँ।"

"परिषद्‌बाट कागजी प्रकिया पूरा हुनेबित्तिकै यी अनुसन्धान अघि बढ्छन्।"

बन्जाराले यस्ता अनुसन्धान अघि बढाउन नेपालमा स्रोतसाधनको चुनौती रहेको पनि बताए।

सहकार्य

उनी भन्छन्, "हामीसँग भाइरसलाई एकदमै मिहिन ढङ्गले केलाएर हेर्न सक्ने क्षमता भएका बीएसएल-३ वा त्योभन्दा माथिका प्रयोगशाला छैनन्। राम्रो प्रयोगशालाको अभावमा हामी कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न सकिने औषधि जस्ता विषयमा अध्ययन गर्न सक्दैनौँ।"

कोरोनाभाइरसको नमुना परीक्षण गर्दै आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सुरक्षित बीएसएल-३ प्रयोगशाला रहेको छ।

अधिकारीहरूले सरकारी स्तरबाट अघि बढाइएका अनुसन्धानमा उक्त प्रयोगशाला, इपिडिमिओलोजी तथा सरुवा रोग अस्पताल, विभिन्न अस्पताल तथा विश्वविद्यालय जस्ता निकायहरूसँग सहकार्य गरी अनुसन्धान गरिने बताइरहेका छन्।

परिषद्का सदस्यसचिव ज्ञवालीले आर्थिक र प्राविधिक पाटोमा चुनौती देखिन सक्नेबारे जानकार रहे पनि त्यसका लागि सरकारबाट सहयोग प्राप्त हुने अपेक्षा गरेको बताए।

विज्ञहरूले जनस्वास्थ्यसम्बन्धी संवेदनशील विषयमा हुने भनिएका यस्ता अनुसन्धान तथा प्राज्ञिक शोधमा सहभागी हुने व्यक्तिहरूको अनुमति लिनु अनिवार्य भएको भन्दै त्यसमा अझ ध्यान दिइनुपर्ने बताएका छन्।

नेपालमा सबैभन्दा पहिला कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएका एक व्यक्तिबाट सङ्कलित नमुनाको जीन सिक्वेन्सिङ गरी एउटा अन्तर्राष्ट्रीय जर्नलमा लेख प्रकाशित भएको थियो।

बिनाअनुमति त्यो गरिएको भन्दै उक्त काममा संलग्न भएको भनिएका राष्ट्रिय प्रयोगशाला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण विभाग तथा टेकु अस्पतालका विशिष्ट कर्मचारीहरूसँग स्पष्टीकरण सोधिएको थियो।

(वीवीसी नेपाली सेवा बाट)
 
 

प्रतिकृया दिनुहोस


Techie