नेपालका जाति, भाषा र संस्कृति – ३५

नेपालका जाति, भाषा र संस्कृति – ३५

नेपालका प्रायशः जाति/जनजातिहरु आधुनिक समाजको सम्पर्क र सम्बन्धका कारण भौतिक मानवीय जीवनयापन गरिरहेका छन् । तर नेपालमा एउटा जाति यस्तो पनि छन् जो घुमन्ते र फिरन्ते जीवनयापन गर्छन् । जसलाई खेतीपाती मेलापात, दशैं, तिहारलगायत जागिर, मजदुरी, उद्योग व्यापारदेखि आधुनिक भौतिक जीवनका आयामहरुसँग कुनै सरोकार छैन । जो जंगल जंगल घुम्दै फिर्दै शिकार खेल्नु, काँडे भ्याकुर, रिठ्ठा कन्दमुलको खोजी गर्दै हिँड्नुमा नै आफ्नो सांस्कृतिक अधिकार ठान्दछन् । कदाचित् प्राकृतिक ढुंगा, काठलगायत आफूहरुबाट निर्मित वस्तुभाउ साटफेर गर्न आधुनिक मानवबस्तीसँग कहिलेकाहीँ सम्पर्कमा आउने गर्छन् । पश्चिम नेपालका पहाड, चुडे लगायत भू–भाग चहार्दै हिँड्ने यी जाति जो विशेषतः सेती नदी तथा त्यसभन्दा पूर्वसम्म माडी नदी छेउछाउ चुरे पहाड र महाभारत श्रृंखलाका पहाडहरुबीचका घना जंगलहरुमा घुम्न रुचाउँछन् ।

अझसम्म घुमन्ते र शिकारी जीवनयापन गरी रहेको अति अल्पसंख्यक र आधुनिक समाजको दृष्टिमा अति नै विपन्न, अशिक्षित र अति पिछडिएको जातिमा दरिन पुगेको छ जाति राउटे वा राउटे जाति भनी चिनिन्छन् । राउटे जातिको क्षेत्र सुदूरपश्चिम नेपालको प्युठान, जाजरकोट, पश्चिममा अछाम, डोटीदेखि जुम्ला डोल्पासम्म यी जाति पुग्दछन् भने तराई वा भित्री मधेश दाङ्ग र बाँकेसम्म यिनीहरुले बसोबास गरेको पाइन्छ । विशेषतः महाभारत श्रृंखलाभन्दा उत्तरी जाडो भू–भाग नलाग्ने र चुरेभन्दा दक्षिणी गर्मी भूभाग नजानु यी जातिको यी जातिका घुमन्ते क्षेत्रहरुभित्र पर्छन् । तिब्बत बर्मेली भाषासँग मेल खाने यी जातिको भाषाका कारण यी जाति नेपालका प्राचीन आदिवासी किराँती जाति हुन् भन्ने लाग्छ ।

समाजशास्त्री डोर ब. विष्टले यस्तै विचार व्यक्त गर्दै राउटे शब्दको उत्पत्ति पनि किराँत वा किराँतबाट अपभ्रंश हुँदै किराउत भएर पछि कि छुटेर राउटे भएको सम्भावना व्यक्त गर्नुहुन्छ । जसो भए पनि राउटे जाति यहीँका प्राचीन आदिवासी किराँती जातिसँग सम्बन्धित जाति हुन् भन्ने कुरामा विवाद छैन । राउते जातिका अनुहार हेर्दा मंगोलभन्दा धेरै अष्ट्रोलोइड जातिको झल्को दिने हुनाले यी जातिको प्राचीन उपस्थितिबारे अध्ययन गरिनुपर्ने विष्ट सबै जातको फूलबारी नामक पुस्तकमा व्यक्त गर्नुहुन्छ । यसैगरी पछि आगमन भएका खसहरुसँग समेत मिसिएर राउत र साउद समेत हुन गएको कुरा त्यस भेगका मानिसहरुले बताउने विष्ट व्यक्त गर्नुहुन्छ ।

राउते जातिको उत्पत्ति स्थल भनेर सेती नदी किनार र माडी नदीको बीचको ठाउँलाई मानिन्छ । किनभने उनीहरुलाई त्यही स्थल वरिपरि अन्य समुदायले देखिआएका हुन् । राउटेहरुमा पनि दुईथरिमध्ये एकथरि भने भिन्दै जस्ता देखिन्छन् । उनीहरुमा खेतीपाती गरी राजाको तिरो तिरेर खाने र अर्काथरि वनजंगल डुल्दै आदिम युगीन जीवनशैलीमा बाँच्ने गरेका पाइन्छन् ।

राउटे शब्द कसरी रह्यो भन्ने सम्बन्धमा कसैले पनि ठ्याक्कै यही कारणले भएको भन्न नसके पनि विष्टको किराँतबाट राउत भयो भन्ने उक्ति तर्क संगत लाग्दछ । संस्कृतमा किराँतको अर्थ हुन्छ पहाडको तल्ला भू–भागहरुमा तिरैतिर हिँड्ने जाति भनेर, सोही हुनाले उनीहरुका बसोबास क्षेत्र मुखाकृति आदिले पनि नेपाल अधिराज्यभरि कुनै समयमा रहेका प्राचीन किराँतीकै सन्तान हुन् भन्ने लाग्छ । थेप्चो नाक, केही कालो र सावँला होचो मंगोल मिश्रित अनुहारले प्राचीन कालदेखि बसोबास गरिरहेका किराँतका सन्तान हुनसक्ने कुरातर्फ इंगित गर्न सकिने आधारहरु रहेका छन् ।

स्याउलाका अस्थायी छाप्राहरुमा बस्न रुचाउने राउटे जाति एकै ठाउँ र एकै गाउँमा स्थायी रुपमा नबसी ठाउँ सरिरहेका हुन्छन् भने उनीहरुको बसाइ अवधि पनि एकदमै छोटो अर्थात् २०/२२ दिन वा १ महिनासम्मका मात्र हुन्छ । जुन प्राचीन इन्डो आष्ट्रोलाइड जातिको प्रवृत्तिसँग मेल खान जान्छ । अष्ट्रोलोआइड जाति पनि समाजको कुनै व्यक्तिको मृत्युपश्चात् नयाँ स्थान र गन्तव्यको खोजीमा शिकारका लागि ठाउँ छाड्दै हिँड्ने जातिमा गनिन्छन् । राउटे जाति ठाउँ सरेर गइसकेपश्चात् १२/१५ वर्षभन्दा अघि सो ठाउँमा फर्किने गर्दैनन् । १२/१४ वर्षमा नयाँ पिँढी तयार भइसकेको हुन्छ । राउतेहरुका विशेषतामा उनीहरु सकभर बगेको खोलाको पानी नखाई मूलको पानी खान रुचाउँछन् ।

एक ठाउँबाट उठेर हिँडी सकेपश्चात् सो ठाउँमा फर्केर हेर्दैनन् । सोझा र सरल राउटे जाति आधुनिक समाज बमोजिम छक्कापञ्जा गर्ने जान्दैनन् भने व्यवहार पनि सोझा र साझा हुनाले कसैले ठगे झूठ बोले वा बेइमानी गरे भने असाध्यै रिसाउने गर्छन् । राउटे जाति फुर्सतका समयमा पनि केही न केही बुन्ने, केही आधुनिक समाजसँग साटफेर गर्न मिल्ने सामानहरु निर्माण गरी रहने सकारात्मक प्रवृत्तिका हुने हनाले गफ गरेर वा गफ चुटेर बसेका राउते जातिहरु कमै भेटिने गर्छन् ।

राउटे जाति उत्ति साह्रो अग्ला नभई सरदरमा पाँच फिटका हुन्छन् भने नाक थेप्चो, कपाल घुम्रेको, सावला वा गहुँ गोरा वर्णका किराँती मंगोल जस्ता समेत देखिन्छन् । राउटे जातिले पोशाक लगाउँदा पिठ्युँमा सादा खालको खस्रो कपडाको गादो भिरेर अगाडि सो कपडालाई गाँठो पारी घुँडा वा तिघ्रासम्म खसालेका हुन्छन् भने स्वास्नी मानिसहरुले खस्रो कपडामा बुट्टा भएको सानो फरियाजस्तो र छातीमा छोप्न सानो चोलो अनि गहनामा फलाम, पित्तल, तामा, टिन आदिका पाखुरा घाँटी, नाक, कान आदिमा लगाउँछन् ।

विगत कालदेखि सदा सर्वदा घुमन्ते जीवनयापन गर्ने राउटे जातिले स्थिर भई बस्न गरिएको अनुरोधलाई स्वीकार्दैनन् । आधुनिक मानव जीवनको सम्पर्कमा आएर एवं रहेर पनि यी जाति आफ्नै मौलिकतामा रमाई वन वन डुल्दै चहार्दै हिँड्ने गर्छन् । शिक्षाको ज्ञान एवं प्रचार बिल्कुलै नभएको यस जाति अझैसम्म पनि आदिम युगमा रहेका झैं प्रतीत हुन्छन् । हिजोआज भने आधुनिक समाज र अन्य शिक्षित वर्गले यस जातिप्रति चासो र उत्सुकता राख्न थालेकाले आधुनिक समाजसँग यी जाति केही हदसम्म घुलमिल हुँदै गएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie