विराटनगरमा नक्कली मदिरा कारोबारी पक्राउ

सरकारले मदिराको निकासी नगर्दा करोडौँको राजस्व डुब्यो

विराटनगरमा नक्कली मदिरा कारोबारी पक्राउ

विराटनगर, जेठ ८
सिङ्गो देश कोभिीड १९ नियन्त्रणमा केन्द्रित हुँदा कालोबजारी गर्नेहरूका लागि भने सुनौलो मौका रहेको तथ्य उजागर बन्न पुगेको छ । प्रदेश १ को राजधानी विराटनगरको बसपार्कबाट मोरङ प्रहरीले बरामद गरेको ठूलो परिणामको नक्कली मदिराले राजस्व ठग्ने र कालोबजारी गर्नेहरूका लागि अहिलेको लकडाउन सुवर्ण अवसर भएको कुरालाई प्रमाणित गरिदिएको छ ।

मोरङ प्रहरीले मंगलबार दिउँसो ठूलो परिमाणमा तयार गरेर राखेको नक्कली मदिरासहित मदिरा बनाउने विराटनगर महानगरपालिका वडा नं. ६ का श्रवण मुखियालाई पक्राउ गरेपछि नक्कली मदिराबाट करोडौं रूपैयाँको राजस्व गुमेको रहस्य पनि खुलेको छ । नक्कली मदिरा बनाउने मुखियाले मदिरा बिक्रीका लागि फर्मसमेत दर्ता गरी सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ । उनले सञ्चालन गरेको डीएन ट्रेडर्स नामको फर्मबाट सस्तो मदिरालाई ब्राण्डेड मदिराको खाली बोतलमा मदिरा हालेर बिक्री गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख विश्व अधिकारी सहितको टोलीले नक्कली मदिरा बनाउने श्रवण मुखियाले सञ्चालन गरेको डीएन ट्रेडर्सबाट नक्कली मदिराको थोक बिक्री हुँदै आएको भन्ने सुराकीका आधारमा उक्त थोक मदिरा पसलमा पनि छापा मारेर ठूलो परिमाणमा नक्कली मदिरा समेत बरामद गरेको छ । मुखियाले आफ्नो घरमा समेत नक्कली मदिराको प्याकिङ गर्दै आएको जानकारी पनि प्रहरीले दिइएको छ । सस्तो मूल्यको मदिरालाई महंगो मूल्यको बोतलमा नक्कली मदिरा भरेर बेचने गरेको एसपी विश्व अधिकारीले बताएका थिए ।

सस्तो मूल्यको गोल्डेनवक, गोल्डेन ग्लोबलाई महंगो मूल्यको गोल्डेनवकको बोतलमा हालेर सस्तो मूल्यमा पाइने मदिरालाई ‘ब्राण्डेड’ मदिराको बोतलमा भरेर बेच्ने गरेको प्रहरीले फेला पारेको थियो । राजस्वको स्टिर र विर्कोको सिल समेत नबिगारी खोलेर मुखियाले सस्तो रक्सी भर्ने गरेका हुन् । यसरी सस्तो मदिराबाट ब्राण्डेड बनाएर लामो समयदेखि कालोबाजारी गर्दै आएको दाबी मोरङ प्रहरीको छ । प्रहरीले मुखियाको थोक पसलबाट विभिन्न ब्राण्डका नक्कली लेभल लगाएको खाली बोतल, बोतलको बिर्को, मदिरामा मिसाउने रंग तथा अन्य बोतलहरू समेत फेला पारेको छ ।

नक्कली मदिराको पक्राउ प्रकरण सार्वजनिक भएसँगै गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण आन्तरिक राजस्व कार्यालय विराटनगरले अन्तशुल्कबापत सङ्कलन हुँदै आएको करोडौँ राजस्व गुमाएको छ । मोरङ प्रहरीले नक्कली मदिरा बनाउने सञ्चालक श्रवण मुखियालाई सार्वजनिक गरेपछि सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन रहेका मदिरा उद्योगहरूले आफ्नो ब्राण्डको नक्कली मदिरा पक्राउ प्रकरणबाट उद्योग नै बदनाम हुने त्रास बढेको कुरा बताउन थालेका छन् ।

लकडाउन सुरु हुनुभन्दा दुई दिन अगाडि उद्योगबाट मदिरा निकासीका लागि आन्तरिक राजस्व कार्यालयबाट राजस्व समेत बुझाएर निकासी लिएर बसेको करिब दुई महिना बित्न लाग्दासमेत लकडाउनका कारण मदिरा निकासी गर्न नसकेको बताउन थालेका छन् । सरकारले समेत प्रक्रिया पूरा गरी निकासीका लागि बसेका उद्योगहरूलाई सहजीकरण गरी मदिरा निकासी गरिदिनुपर्नेमा उक्त काम नभएकाले आफ्नो लगानी डुब्ने खतरा रहेको उनीहरू बताउँछन् । मानिसले उपभोग गर्ने वस्तु भएकाले धेरै लामो समय उत्पादन उद्योगमा नै राख्दा करोडौँको नोक्सानी हुने खतरा रहेकोले अविलम्ब त्यसतर्फ ध्यान दिन समेत सुनसरी मोरङ औद्योगिक करिडोरका मदिरा उत्पादन गर्दै आएका उद्योगीहरूले आग्रह समेत गरेका छन् ।

अर्कातिर आन्तरिक राजस्व कार्यालय विराटनगरबाट गत वर्षको चैत र वैशाख महिनामा अन्तशुल्कबापत सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेको नेपाल लिकर्सबाट ५८ करोड १२ लाख, गोल्डेल ग्लोब लिकर्सबाट सात करोड ५६ लाख र चण्डिका डिष्टिलरीबाट सात करोड १४ लाख राजस्व सङ्कलन गरेको थियो । तर, चालू आर्थिक वर्षको चैतदेखि नै कोभीड १९ को कारण देखाएर अहिलेसम्म पनि उद्योगमा उत्पादन भई बसेको मदिरासमेत सरकारले निकासी नगर्दा ७२ करोड ८२ लाख आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व समेत गुमेको राजस्वका कर्मचारीले नै जानकारी दिएका छन । त्यसतर्फ अविलम्ब सरकारको ध्यान जान जरुरी भइसकेको सरोकारवालाले बताएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie