कोरोना कहरमा सरकारको सकारात्मक कदम

कोरोना कहरमा सरकारको सकारात्मक कदम

काठमाण्डौं,चैत ११

संसारमा सबैभन्दा बढी प्रयोग हुने शब्द लभ (प्रेम) हो भने त्यो शब्दलाई अहिले कोराना भाइरसले उछिनेको छ । संसारका सबै मुुलुकका मानिसहरू कोरोना भाइरसबाट आतंकित छन् । कुनै संक्रमणका कारण विश्वभर नै सबै तह र तप्का एकैपटक प्रभावित भएको सम्भवतः यो पहिलो घटना हो । मेडिकल साइन्सका चिकित्सक तथा बायोलोजिष्टहरूका अनुसार कोरोना लाग्न नदिन सबैभन्दा उत्तम उपाय आफूलाई अकेला (आइसोलेसनमा) राख्ने हो । भीडभाडमा नजाने हो । यसरी आपूmलाई एक्लो पार्ने विधिलाई वैज्ञानिकहरूले ‘क्वारेन्टाइन’ नाम दिएका छन् । मान्छेको भेला नसहने यो महामारीकै कारण जनस्वास्थ्य तथा अर्थतन्त्रमा बहुआयमिक असर परेको छ । अर्थतन्त्रका थुप्रै अवयव प्रभावित भएका छन् ।विश्वभर यो महामारीको रूप लिएको कोराना भाइरसको संक्रमणबाट यो आलेख तयार पार्दासम्म १५ हजार चार सय ३३ जनाको मृत्यु भएको छ भने यसको संख्या दिनहुँ बढ्दोरूपमा छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभर तीन लाख ५८ हजार सात सय ३३ व्यक्ति कोरोना भाइरस संक्रमण भएका छन् । संक्रमितमध्ये एक लाख छ हजार ४५ जना उपचारपछि घर फर्किएका छन् । कोरोना लागेको व्यक्ति कम्तीमा १५ दिन क्वारेन्टाइनमा थुनिएर उपचार गरे मात्र रोग हट्ने र अरुमा नसर्ने चिकित्सकहरूले बताएका छन् । कोरोनासँग जुध्ने नाममा विश्वका अधिकांश मुलुक ‘लकडाउन’ भइसकेका छन् । ‘लकडाउन’ भनेको सिंगो मुलुकलाई आफैँ एकान्तवास गराउन खोजिएको हो । विश्वको सर्वशक्तिमान राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई एक महिनाका लागि ‘लकडाउन’ गरेका छन् । युरोप र एसियाका कतिपय देशहरू पनि एकपछि अर्को ‘लकडाउन’ भइरहेका छन् ।

कुनै संक्रमण नदेखिए पनि नेपाललाई विश्व स्वास्थ्य संगठनले उच्च जोखिम रहेको मुलुकमा समावेश गरेको छ । भारत र दक्षिण एसियाका मुलुकमा समेत यो संक्रमण छ, तर चीन, युरोप, अमेरिकाजस्तो तीव्र गति अर्थात् दरमा फैलिएको छैन । हाम्रोजस्तो तेस्रो विश्वका कमजोर आर्थिक तथा सामाजिक पूर्वाधार भएका मुलुकका लागि भरसक यस्ता माहामारीको संकटलाई परै पन्छाउन खोज्नु नै श्रेयकर ठानिएको छ । यस अर्थमा सरकारले माहामारीको उच्च सर्तकता अपनाउन ढिलै भए पनि विभिन्न केही सकारात्मक निर्णय लिएका छन् । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमसँग लड्न महत्वपूर्ण योजना सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार सम्भावित जोखिमलाई परास्त गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन् । उनले सबैको इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारी रोक्न र पराजित गर्न सकिने विश्वास व्यक्त गरेका छन् । उनले संक्रमणबाट जोगिन सचेत भएर बस्न देशवासीलाई आग्रह गर्दै आतंकित नहुन अपील गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण गर्न सार्वजनिक सेवादेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्नेसम्मको योजना सार्वजनिक गरेका छन् ।कालो बजारी रोक्न सरकार सक्रिय रहेको बताउँदै उनले सरकारले १० चैतदेखि लामोदूरीका बस सेवा केही अवधिका लागि सञ्चालनमा रोक लगाइएको जानकारी दिए । यसैगरी नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान आगामी चैतदेखि १८ गतेसम्म स्थगित गरिने उनले बताए । पटक–पटक मृत्युको नजिक पुगी बाँच्न सफल दृढ इच्छाशक्ति भएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि नागरिकहरूलाई सावधान रहन आग्रह गरेका छन् । सरसफाइमा उचित ध्यान दिन, साबुनपानीले पटक–पटक हात धुन र स्यानिटाइजर प्रयोग गर्न भनेका छन् । भीडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न, हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुन र चिकित्सक, विज्ञ तथा प्राविधिकहरूको सल्लाह पालना गर्न सुझाएका छन् । धैर्यवान र सावधान हुन, संयम अपनाउन र आतंकित नहुन अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन १४ दिन घरमा क्वारेन्टाइन बसी सबै दिदीबहिनी तथा दाजुभाइहरूले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्ने’ विश्वास व्यक्त गरेका छन् । संक्रमणबाट जोगिन अरू चिकित्सक तथा विज्ञहरूले दिएका सुझाव पनि यस्तै छन् ।

बितेका साताहरूमा, कोभिड–१९ अब भयानक र विश्वव्यापी महामारीको रूप मात्र धारण गरेको छैन, विद्यार्थी, शिक्षकलाई, स्कुल–कलेजबाट बाहिर पारेको छ । लाखौँ मानिस सामाजिक दूरी र एकान्तवासको सिद्धान्त अंगीकार गर्न विवश भएका छन् । सबै पेसा र तहका मानिसलाई अति ठूलो संख्यामा कामबाट विमुख गराएर कोरोनाले विश्व अर्थतन्त्रलाई तहसनहस पार्ने बाटो खोलेको छ । यति उथलपुथलकारी कोरोना भाइरसको दुनियाँभरको उत्पात देखेको नेपालले आज सम्भावित अनिष्टको सामना गर्ने तयारी गर्ने मौका पाएको छ । संसारभरबाट सिक्ने अवसर पाएको छ । उत्तरी छिमेकीको लकडाउनको सफलता र दक्षिणी छिमेकीमा जनताकफ्र्युको सन्देशमार्फत देखाइएको सावधानीबाट नेपालका शासक र जनता दुवैले गम्भीर पाठ ग्रहण गर्नैपर्छ ।भारतसँगको सीमानाबाट दैनिक हजारौं मानिसको आवतजावत चलिरहेको छ । भारतबाट नेपाल भित्रिने बढिरहेका छन् । तर, नाकामा हेल्थ डेस्क प्रभावकारी छैन । संक्रमण फैलिसकेको भारतबाट भित्रिनेको नाकामा स्वास्थ्यजाँच प्रभावकारी नहुँदा नेपालमा जोखिम बढेको छ । नेपालले भारतसँग जोडिएको करिब १८ सय किलोमिटर सीमा नाकामा आवतजावत थप नियन्त्रण गर्ने र भारतसँग समन्वय गरेर नाकाबन्द गर्नेसमेतको गृहकार्य गरेको छ । तत्काललाई भने आवतजावतलाई सीमित नाकामा सीमित राख्न लागिएको छ । शनिबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना नियन्त्रण समन्वय समितिको बैठकमा यसबारे छलफल भएको थियो । बैठकपछि अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने, ‘भारतसँग हाम्रा सन्धि सम्झौताका कारण एकपक्षीयरूपमा सीमा बन्द गर्न गाह्रो छ । हामी भारतसँग कूटनीतिकरूपमा समन्वय गरिरहेका छाँै । सीमित नाका प्रयोग गर्नेगरी नाका तोक्ने गृहकार्य गर्दै छौँ । खुला र बस्ती तथा घर जोडिएको सीमा भएका कारण पूर्णरूपमा घोषित बन्द गर्न नसकिने तर स्वास्थ्य सुविधा स्तरोन्नति गर्दै र चरणबद्धरूपमा नियन्त्रणका उपायसहित सीमा बन्द गर्ने तयारीबारे छलफल भएको थियो ।


सिंगो राष्ट्र नै संकटमा परेको समयमा यहाँका उद्योग, वाणिज्य, पर्यटनलगायत सबै क्षेत्र प्रभावित भएका छन् । यस्तो अवस्थामा निजी क्षेत्रले पनि यही मौकामा राज्यको दोहन गरिरहेका छन् । राष्ट्रमा आइपर्ने सम्भावित विपत्तिलाई झेल्न सरकार र निजी क्षेत्रको हातेमालो आवश्यक हुन्छ । यसक्रममा निजी क्षेत्रले आपूर्ति व्यवस्थालाई निरन्तरता दिने, मूल्यवृद्धि नियन्त्रणमा सरकारसित सहकार्य गर्ने, बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिने र त्यस्तो अभाव सिर्जना गराउन खोज्नेमाथि कारबाही गर्न सघाउनेलगायत कार्यमा प्रभावकारी भूमिका खेल्न सक्छ । उता, सरकारले पनि निजी क्षेत्रलाई संकटको अवधिभर टिकाउन सहयोगी भूमिका खेल्न सक्नुपर्छ । व्यापारीले समयमै बैंकको ऋण तिर्न सकेनन् भने त्यहाँ थप समस्या सिर्जना हुन सक्छ । यस्तो अवस्थामा सर्वसाधारणको निक्षेपमा समेत असर पर्न सक्छ । त्यसैले राज्यले यस्ता विविध पाटाबाट सम्भावित जोखिमको अध्ययन गरी त्यसको समाधानको उपाय अहिल्यैदेखि खोजी गर्नु पर्छ । खाद्यान्नका ठूला आपूर्तिकर्ताहरूसँग मैले बुझ्दा, चामल, दाल, मैदाजस्ता उत्पादनको मूल्य घटे पनि सर्वसाधारणसम्म पुग्दा बढेको छ । कहीँ आपूर्ति शृंखलामा समस्या परेको हुन सक्छ । ग्यासमा समस्या भइरहेको छ । आयल निगमले बढी आयात भइरहेको बताउँदै आएको छ भने सर्वसाधारणले सहजै पाउन सकेका छैनन् । एक त धेरै सिलिण्डर थुपार्ने गलत अभ्यासका कारण अभाव भएको हुन सक्छ । अर्कोतिर, यही मौकामा सिलिण्डरसमेत बेच्ने र बढी मूल्यमा बेच्ने व्यापारी छन् भने तिनलाई कारबाही हुनुपर्छ । अपूर्ति व्यवस्थामा सम्भावित समस्याको आशंकामा बजारमा अत्यावश्यक वस्तुको माग वृद्धि भइरहेको छ । सरकारले भने अत्यावश्यक वस्तुको मौज्दात, पर्याप्त रहेको र आपूर्ति सुदृढ भएकाले हल्लाका पछि लागेर सञ्चिति नबढाउन उपभोक्तालाई आग्रह गरिरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आफैँ बजार अनुगमनमा खटिएका छन् । उनले बजारमा कालोबजारी गर्ने, गुणस्तरहीन र उचित परिमाणभन्दा कम बिक्री गर्ने, जम्माखोरी गर्ने व्यापारीलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । अन्त्यमा हुनेखानेले त कोरोनाबाट बच्न केही महिना, वर्ष पनि काम नगरी, बाहिर ननिस्की उनीहरूलाई पुग्छ । तर, बिहान खाएर बेलुका के खाऊँ भन्ने अवस्थाका गरिब मजदूर, किसानलाई त्यसो गर्न सम्भव छैन । यस्ता नागरिकहरूलाई सरकारले विशेष ध्यान दिन जरुरी छ । यतिखेर सम्पूर्ण राजनीतिक दलले पनि सत्तापक्ष र प्रतिपक्षको कित्तामा बाँडिएर हुँदैन । सरकारले पनि सम्पूर्ण राजनीतिक दलसित सहकार्य गर्नुपर्छ भने राजनीतिक दलहरूले पनि सरकारको होस्टेमा हैसे गर्नुपर्छ । दलहरूले विनापूर्वाग्रहीले सरकारले गरेको राम्रो कामको प्रसंशा गर्दै कमी कमजोरी भएको स्थानमा सुधारका लागि घचघच्याउन सक्नुपर्छ । तवमात्र यो महामारीको संकटबाट बच्न सकिन्छ ।

प्रतिकृया दिनुहोस



विविध

Techie