हुण्डी कारोबारी सक्रिय बन्दै

रेमिटको नाममा सञ्चालित बैंक खाताको दुरुपयोग

हुण्डी कारोबारी सक्रिय बन्दै

विराटनगर, फागुन ६
सरकारले प्रतिबन्ध लगाएको हुण्डी कारोबार पुनः सुरु भएको पाइएको छ । केही समयअगाडि विराटनगरमा हुण्डीको कारोबार फस्टाउँदै गएपछि जिल्ला प्रहरी कार्यालय मोरङको विशेष प्रहरी टोलीले छापामारी हुण्डी व्यवसायीलाई नै पक्राउ गरेको थियो । प्रहरीले हुण्डी व्यापारीलाई पक्राउ गरी अदालतसम्म पु-याएर कारोबारीले सजाय भोगिसकेपछि बन्द भएको थियो । त्यसपछि करिब–करिब बन्द नै भएको हुण्डी कारोबार अहिले फेरि सक्रिय भएको छ । विगतमा सञ्चालन भएका हुण्डीको कारोबार भन्दा अहिले फरक शैली प्रयोग भएको पाइएको छ ।

पछिल्लो समय विराटनगरका हुण्डी कारोबारीले बैंककै प्रयोगमार्फत कारोबार गर्ने गरेको रहस्य खुलेको छ । हुण्डी कारोबारीले कारोबार गर्दा विभिन्न ठाउँमा दर्ता कायम रहेका रेमिट बैंक खातामार्फत पैसा जम्मा गर्दै कारोबारलाई निरन्तरता दिएका छन् । विराटनगरबाट विशेषगरी काठमाडौं उपत्यकामा दर्ता कायम रहेका रेमिटमार्फत हुण्डीको पैसा जम्मा गर्ने र काठमाडौंबाटै यो अवैध कारोबार सञ्चालन हुँदै आएको छ ।

विराटनगरका हुण्डी कारोबारीले कारोबार नै बन्द गरेको समयमा एक्कासि रेमिटमार्फत हुण्डीको कारोबार हुनुलाई पुनः हुण्डी कारोबारले निरन्तरता लिएको बताइन्छ । सुनसरी मोरङ औद्योगिक करिडोरबाट विशेष गरी उद्योगी व्यवसायीले नै हुण्डीको सहारामा कारोबार गर्ने गरेका छन् । उद्योगी व्यवसायीसँग हुण्डी कारोबारीले भारतको दिल्लीमा हुण्डी गरेबापत नौ रुपैयाँको फरकमा बढी पैसा लिएर हुण्डीको कारोबार गर्ने गरेका छन् । यसबाहेक सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुबाट विशेष गरी तेस्रो मुलुक मलेसिया, दुवई र सिंगापुरका लागि हुण्डीकै सहाराबाट कारोबार हुने गरेको छ । बैंकमार्फत व्यक्तिगत खातामा ठूलो रकम जम्मा गर्न पैसाको स्रोत खोल्नुपर्ने सरकारी बाध्यता भएकोले पछिल्लो समय रेमिटको नाममा सञ्चालित बैंक खाताहरु मार्फत हुण्डीको कारोबार मौलाएको हो ।

विराटनगरबाट हुण्डीको कारोबारलाई व्यवस्थित र विस्तार गर्ने क्रममा सीमावर्ती भारतीय बजार जोगबनी र फारबीसगञ्ज हुँदै पूर्णियासम्म सम्पर्क व्यापारी खडा गरेर अवैध हुण्डी व्यापारलाई निर्बाध रुपले सञ्चालन गर्ने गरेको स्रोतले जानकारी दिएको छ । अहिले पछिल्लो समय भारतीय बजार सिलीगुडीदेखि कलकत्ता, बनारस, दिल्ली, मद्रास र पटनाका लागि विशेष गरेर हुण्डीको कारोबार हुने गरेको छ । हुण्डीको कारोबार पुनः सुरु भएपछि विराटनगरमा हुण्डी कारोबारको सञ्जाल नै सक्रिय बनेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie