महरालाई सफाइ

महरालाई सफाइ

काठमाडौँ, फागुुन ६
जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको छ । सोमबार महराले अदालतबाट सफाइ पाएका हुन् । न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिने फैसला गरेको हो ।

गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासले महरा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । सो आदेशअघि महरा गत असोज १९ गतेदेखि कात्तिक १८ गतेसम्म झण्डै एक महिना प्रहरी हिरासतमा रहेका थिए ।

पूर्वसभामुख महराले जिल्ला अदालतको थुनामा पठाउन गरिएको आदेश गैरकानुनी भएको उल्लेख गर्दै साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने निवेदन उच्च अदालतमा निवेदन गत मंसिर ५ गते दर्ता गरेका थिए । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महरालाई धरौटीमा छाड्न अस्वीकार गर्दै काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई सदर गरेको थियो ।

पूर्वसभामुख महराविरुद्धको घटना गत असोज १२ गते प्रहरीले सार्वजनिक गरेको थियो । सोही अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोग पुष्टि नभएपछि पुर्पक्षका लागि थुनामा रहेका महरा सफाइ पाएर घर फर्किएका हुन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie