आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्ने

आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्ने

काठमाडौं, पुस २८
नेपाल चेम्बर अफ कफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ६९औं वार्षिक साधारणसभा, चेम्बर दिवस तथा चेम्बरको ७० वर्ष प्रवेशको पूर्वसन्ध्यामा चेम्बर कार्य समितिका सदस्य, प्रदेश/नगर चेम्बर अफ कमर्सका अध्यक्षहरु र प्रतिनिधिसँगको भेटघाट तथा राजस्वसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले आर्थिक ऐन लागू भएको चार महिनाभित्रै करका दर परिवर्तन हुन नहुने बताएका हुन् । अध्यक्ष श्रेष्ठले अनिवार्य प्यान, ढुवानीमा भ्याट, स्थानीय, प्रदेश तथा संघमा दोहोरो र फरक मापदण्ड, भन्सार मूल्यांकन, बैंक कर्जालाई कर कार्यालयको सहमति, पुर्ख्यौली सम्पत्ति हक स्थानान्तरमा उच्च कर र सम्पत्ति अभिलेखीकरणलगायतमा जोड दिए ।

उनले नेपालमा संघीयता लागू भएपछि चेम्बर पनि पहिलेजस्तो एकात्मक संरचनामा रहनु सान्दर्भिक नभई मुलुकको नीति निर्माणमा चेम्बरले गरेको नेतृत्वदायी भूमिका र अभियानमा जोडिन चाहेपछि स्थापित अवसरमा आउँदा राजस्वसम्बन्धी समस्या एंव सुझावसम्बन्धी आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले आफ्नो विभागले असल व्यवसायीको संरक्षण गर्ने, छानबिन अनुसन्धान मात्र गर्ने र पारदर्शी व्यवसायलाई प्रवर्द्धन गर्ने बताए । उनले कर प्रणाली स्वंय कर निर्धारण प्रणालीमा आधारित भएको हुँदा उद्यमी व्यवसायीलाई तदनुसार नै आफ्नो क्रियाकलाप गर्न आग्रह गरे ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक मैनालीले २०७१ सालदेखि नै चर्चामा रहेको भीसीटीएस प्रणालीमा उल्लेख्य सहभागिता भएको बताउँदै यो प्रक्रिया झन्झटिलो नभएको उल्लेख गरे । उनले भीसीटीएसमा छिटो आबद्ध हुन समेत व्यवसायीलाई अनुरोध गरेका छन् । भन्सार विभागका निमित्त महानिर्देशक श्याम प्रसाद भण्डारी वैध व्यापारको विकल्प नभएको र भन्सार प्रशासन र डिजिटल हुने क्रममा निकै अगाडि बढिसकेको र यसको लागि व्यापार सहजीकरण गर्न आफू तयार रहेको बताए ।

सोही अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले जिल्ला/नगर चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीहरुले उठाएको प्यान जारी गर्ने अधिकार जिल्ला चेम्बरलाई दिनेबारे गृहकार्य गरेर माथिल्लो निकायमा पु-याउने बताए । साथै कर सचेतना कार्यमा सहकार्य गरी व्यापक गर्नुपर्ने, करको लागत, दूरी र समय घटाउन कर कार्यालयहरु बढाउने वा कारदनाता सेवा कार्यालयको स्तरोन्नति गरी आन्तरिक राजस्व कार्यलय गर्नेतर्फ सोच भइरहेको बताए ।

करचुक्ता प्रणाली पूर्ण अपरेसनको माध्यमद्वारा लिन सकिने प्रयोगकर्तामैत्री भइसकेको बारेमा प्रचारप्रसार जरुरी रहेको बताउँदै कर कार्यालयसम्म जानु नपर्ने स्थितिको सृजना गर्नेतर्फ विभाग लागिरहेको बताए । यसअघि आइतबार बिहान चेम्बरले वाका थोन कार्यक्रम गरेको थियो । ३ सय ५० जना सहभागी वाकाथोन चेम्बर भवन जमलदेखि वसन्तपुर, न्युरोड, रत्नपार्क हुँदै पुनः चेम्बर भवन पुगी सम्पन्न भएको थियो । चेम्बरले वाकाथोनपछि आइतबार बिहानै चेम्बर भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie