पुरुष हिंसा : कहिले र कसले बोल्ने ?

पुरुष हिंसा : कहिले र कसले बोल्ने ?

मेरो एउटा साथी थियो अभिनव थापा । हामी सँगै कलेज पढेको । ऊ म्हेपीमा कोठा लिएर बस्थ्यो । रहँदा बस्दा उसलाई घरबेटीको छोरीले मन पराइछन् । साथीको आर्थिक अवस्था कमजोर थियो । ऊ कतै निजी स्कुलमा पढाउने काम पनि गर्थ्यो । कोठा अबेर आउँदा ती घरबेटीको छोरी ऊ आउने बाटो कुरेर बस्दिरैछिन् । समय दिन सक्तिन, मेरो अध्यन बिग्रन्छ, मलाई मेरा बाबुआमाले पढ्न भनेर सामल खेपेर सहर पठाको, म अहिले लभको चक्करमा लाग्दिन भनेर साथीले त्यो नानीलाई सम्झाउँदा केटीले जबरजस्ती गरिछन् र भनिछन् मसँग लभ गरिनस भने म आमाबाबुलाई भन्दिन्छु कि तिमीले मलाई हातपात ग-यौ भनेर । केटो धर्मसङ्कटमा प-यो । कोठामै आउन छोडेर बाहिरबाहिर साथीहरूकोमा बस्न थाल्यो ।

आखिर कतिन्जेल बाहिर बस्नु । एक हप्तापछि आफ्नो कोठामा आउँदा केटीको आमाबाबुले घेरा हाले । निर्दोष केटो अनाहकमा फस्यो । आखिर पढ्न छोडेर गाउँ गयो र खेतीपाती गरेर बस्यो । आज ऊ मसँग कहिलेकाहीँ फोनमा कुरा गर्छ, स्त्रीको चरीत्रका बारेमा । अझैसम्म उसले त्यो कालो अतीतलाई भुल्न सकेको छैन । स्त्रीले चाही भने एक निमेषमा निर्दोष पुरुषलाई सडकछाप बनाइदिन्छिन् । हाम्रो समाजमा अहिले त्यही भैरहेको पनि छ बाहिर आउन नसकेको मात्रै हो । यहाँ स्त्री हिंसालाई मात्रै हिंसाको रूपमा लिइन्छ । पुरुष हिंसाचाहिँ हिंसा र अपराध नै होइन भनिन्छ ।

सरकारी स्कुलमा पढाउँदा छोरीको अङ्ग्रेजी त्यति राम्रो लागेन भन्दै श्रीमतीले फोनमा ट्युसन पढाउने कुरा गरिन् । उताबाट प्रेमजीले अनुमति दिए । खर्च पनि पठाए । एक जना अग्रेजी शिक्षक खोजियो र ती शिक्षक कोठामै पढाउन आउन थाले । छोरीलाई अङ्ग्रेजी पढाउने शिक्षक दैनिक कोठामा आउन थालेपछि हिमचिम भो, चिया पिउने, बिस्तारै खाजा खाने, अनि पछि भोजन नै त्यहीँ हुन थाल्यो । जवान शिक्षकको खाइलाग्दो शरीरमा लोभिइन् उनी । शिक्षक पनि के कम उनी पनि लोभिए । दुवैमा मायापिरिम बस्यो । उता अरबमा काम गर्ने श्रीमान्को वास्ता कम हुन थाल्यो ।

शिक्षक पनि धुर्त थिए । बिहे नै गर्छु भन्न थाले । मायाको कारण पेट बोकिन् उनले । बिहे नै गर्ने भन्न थालिन् । आफ्नो नाउँको घडेरीसमेत पास गरेर शिक्षकलाई दिइन् । छोरीलाई उतै रामेछाप हजुरबुबा हजुरआमा भएको ठाँउमा छोडेर पोइल गइन् । स्त्री मात्रै हिंसामा पर्छन् भन्ने कुरो यो अवैज्ञानिक भैसक्यो अब । हाम्रो कानुन पुरुषका लागि बनेका छैनन् । समाजमा सबै मनुष्य धर्मपरायण हुने हो भने सम्बिधान कानुन प्रहरी प्रशासन जेल नीतिनियम नियन्त्रण किन चाहिन्थ्यो र ? जति पुरुष खराब छन् त्यति नै महिला पनि खराब छन् । स्त्री मात्रै असल सतिसावित्री सीता भएको भए तिनले पुरुषलाई पनि असल बनाउन पर्ने हो नि हैन ? पुरुष मात्रै बदमास भन्ने स्त्रीहरू आफैँ खराब छन् किनभने एक खराबले नै अर्कोलाई बराब र बदमास देख्ने हो ।

आरक्षणको नाउँमा होइन योग्यता सक्षमता कार्यकौशलता व्यावस्थापकीय सुझबुझ र नेतृत्वदायी भूमिकालाई मात्रै मान्यता दिनुपर्छ । महिला कमजोर छिन् भनेर जब राज्यले नै ट्याग लगाइदिन्छ अनि महिला कमजोरमै दर्ज हुन्छिन् । स्त्रीजातिलाई कमजोर र कोमल बनाइदिने काम स्वयं पुरुषले नै गर्छ र कमजोर बनाएको फाइदा यो समाजले नै लिन्छ । सदियौँदेखि पुर्वेली समाज खुलारूपमा बाहिर आउन सकेन । यौनलाई आनन्दको रूपमा नलिएर यसलाई हिंसाको रूपमा लिँदै आयो र यौन हिंसा भयो । यौन समाज समृद्धिको एउटा महत्वपूर्ण बाटो पनि हो तर यही यौनलाई हाउगुजीको रूपमा स्वीकार्न बाध्य छ हाम्रो समाज । सभामुखजस्ता व्यक्तिलाई पनि अपराधीका रूपमा प्रस्तुत ग-यो र उनी जेल गए । दस वर्षसम्म सम्बन्धमा रहँदा बलात्कार नहुने अनि लेनदेनको कुरा नमिलेपछि बलात्कार ?

यो २१औँ सताब्दीका मानिसहरू दुई चिजका भोका छन् । एक सम्पत्तिका, दोस्रो हो नामका । सम्पन्नता हासिल गरेसी मानिस नाम कसरी कमाउने भन्ने चिन्तामा हुन्छ । नाम अर्थात् पहिचान स्थापनाका लागि मानिसले विविध हर्कत गर्दै छ अहिलेको यो डिजिटल युगमा । तिनै हर्कत र विभिन्न विवाादास्पद कामहरू गरेर मानिस अरुको ध्यान आफूतिर खिच्न चाहन्छ । हिजो कृष्ण क्राइस्ट बुद्ध र ओशोहरूले सन्सारको ध्यान आफूतिर खिचेकै हुन र आजसम्म खिचिरहेकै छन् । हिजो र आजको प्रस्तुति फरक मात्रै हो । विश्वमा जति पनि आन्दोलन भए र हुनेछन् त्यो केवल मलाई सुन मलाई हेर मलाई बुझ भन्ने अहंकार मात्रै हो र यसै सिलसिलामा उनिएको थप एउटा अर्को आन्दोलन हो सहर केन्द्रित आन्दोलन ‘मि टू’ । अन्यायमा स्त्री मात्रै होइनन् पुरुष पनि पर्छन् र परेका छन् भन्ने बुझाइको कमी छ हामीमा ।

पचास डिग्री तातो अरबको मरुभूमिमा रोजगार गरेर कमाएको पैसाले काठमाडौँमा श्रीमतीका नाउँमा तीन आना घडेरी जोडेका थिए प्रेम खत्रीले । श्रीमतीप्रति यति विश्वास थियो कि आफ्नो ज्यानै बन्दगी राख्न परे पनि तयार थिए उनी त्यो जाबो घडेरी त के हो र ? चार वर्षको कमाइले जग्गा जोडे अब अरु तीन वर्ष खाडी मुलुक बसेर घर निर्माण गर्ने प्लान गरेर उनी पुनः विदेश गए । गाउँमा थिइन् श्रीमती र राम्रै थियो सुरक्षित थिइन् उनी । तर, अलिक पैसा जम्मा गरेपछि सासुससुरासँग मिल्न सकिनन् । गाउँ छोडेर काठमाडौँ आइन् । जुन ठाउँमा घडेरी लिइएको थियो त्यहीँ नजिक भाडामा कोठा लिइदिएका थिए प्रेमजीले । एउटा सानी छोरी थिइन् तिनलाई स्कुल भर्ना गरियो । धेरै महँगो स्कुलमा हाल्न सक्ने हैसियत थिएन । सरकारी स्कुलमा भर्ना गरेको कुरा सेयर गरिन् श्रीमानलाई विदेशमा । 

जुन देशमा महिला रास्ट्रपति छिन्, जुन देशमा महिला न्यायाधीश भइन्, जुन देशमा माथिल्ला कानुन निर्माणका तहमा महिला पुगेका थिए र छन्, त्यो देशमा महिलामाथि नै यति बर्बरता हुन नपर्ने हो । तर, महिलालाई नै शासनको बागडोर थमाउँदा समेत निर्मला पन्तहरू निस्साएर मरिरहेका छन् । एकातिर माथिल्लो तहमा र कानुन निर्माणका हैसियतमा रहेर पनि महिलाहरू आफ्नो कार्य कुशलता प्रदर्शन गर्नबाट चुकेकै हुन त ? शासनको उपल्लो तहमा पुगेपछि समग्र महिला हकहित र सुरक्षाका समृद्धिका कुरालाई बिर्सिएर आफ्ना सुविधा मात्रै बढाउनतिर लाग्ने हो भने महिलालाई महिलाले नै घृणा गर्न थाल्छन् । पदमा पुगेपछि महल जोड्ने निजी सम्पन्नतातिर स्वार्थ जोड्ने करोडौँका विलासिताका कार जोडनुमा ध्यान दिने हो भने के काम भयो र ? 

महिला हिंसाको कुरा गर्दा किन हाम्रो समाज पुरुष हिंसाको कुरा गर्दैन ? महिला हिंसा अन्त गरौं भन्ने स्लोगानसहितको कोटको खल्तीमाथि ब्याज भिरेर हिँड्ने ती पुरुषहरू आफैँ पनि कति प्रताडित छन् त महिलाबाट ? तिनले कहिले पनि आवाज उठाउन सकेका छैनन् । हरेक दिन महिला सुरक्षाको बारेमा नयाँ–नयाँ कानुनको निर्माण र व्याख्या भैरहेको हुन्छ तर पुरुष ऊ आफैँ पनि कति निरीह छ त्यो उसले मौन भएर सहिरहेको छ । महिला हिंसाविरुद्धको ब्याच भिर्नु एउटा कुरा, महिलालाई सम्मान माया र सुरक्षा दिनु अर्को कुरा । हामी सधैँ महिलाको सुरक्षाको लागि चिन्तित रह्यौँ र उनीहरूलाई स्वतन्त्र बाच्ने आधार निर्माणका लागि बाटो बनाइदिरह्यौँ । फलतः पुरुष अब बिस्तारै महिला अधिनायकवादमा फस्न थालेको उदाहरण थुप्रै छन् । 

जसरी भए पनि महिला सुरक्षित हुनुपर्छ । जाबो नाथे पुरुष मरोस् कि बाँचोस् भन्ने कानुन ल्याउनु पर्छ भन्ने माग छ महिलावादी समूह र संघसंगठनका । पुरुषले जतिसुकै कमाउन् उसले कमाएको सम्पत्तिमा महिला आफ्नो अधिकार स्थापित गर्छे । यस्तोसम्म देखिन्छ कि आफैँले आर्जन गरेको सम्पत्ति खर्च गर्न पनि महिलाको आदेश चाहिने भएको छ पुरुषलाई । सहरीया महिलाहरूले त पुरुषले कमाइदिएको दश प्रतिशत लिपिस्टिक, क्रिमलगायतका सोह्र शृङ्गारदेखि लुगाफाटो र फजुल खर्चमै सक्काइदिन्छन् । अनावश्यक कुरामा खर्च नगर्नू भन्यो भने महिला हक अधिकारका कुरा गर्छन् । महिलाको बरबादीको पछाडि पुरुष मात्र जिम्मेवारी छन् त ? के महिला आफैँ पनि जिम्मेवारी छैनन् ? पुरुष पात्रचाहिँ महिलाको कारणले के कहिले पनि प्रताडित हुँदैनन् वा भएका छैनन् ? सबै दोष पुरुषलाई थुपरेर महिला आफू सधैँ चोखो र पवित्र बनिरहने परम्पराको बारेमा कहिले चासो राखेनौँ हामीले । कानुन पुरुषभन्दा पनि बढी महिलाको हितमा नै बनेका छन् । कानुनले महिलालाई अत्यधिक सुरक्षित संरक्षित र सम्वर्द्धित बनाएको छ । तर, महिला असुरक्षित छन् भनेर झ्याली पिटिन्छ ।

पुरुष असुरक्षित भएको कुराचाहिँ समाजले पत्याउँदैन । पुरुष यातनामा परेको कुरा कसैले परिकल्पना पनि गर्न सक्तैन । किनकी आदिम कालदेखि नै स्त्रीलाई पुरुषले नै यो असुरक्षित छे । यस्लाई हामीले सरक्षण गर्नुपर्छ भन्दै आयो । महिला र पुरुषका लागि बनेका प्रायः सबै कानुनमा पनि स्त्री सुरक्षाका कुरा मात्रै आए । पुरुष सुरक्षाका कुराचैँ कहिले कतै उल्लेख भएनन् । सहअस्तित्वका कुरामा कानुन निर्माण हुनु पर्ने हो । तर महिला सधैँँ नै असुरक्षित छे भन्ने कमजोर चिन्तनको पराकाष्ठा हो अहिलेको परिवेश । 

तीन करोड जनसंख्या भएको देशमा बलात्कारका छिटपुट घटनालाई अनर्गलरूपमा प्रचारवाजी गरिन्छ र सिङ्गो समाजलाई उत्तेजित बनाइन्छ । यसमा सिङ्गो मिडियाकर्मीको पनि हात छ । बलात्कारका न्युज खोजीखोजी हिँड्ने, हिंसा र उत्तेजित तुल्याउने खबरलाई पहिलो प्राथमिकतामा राखेर सूचना प्रवाह गर्ने पीत पत्रकारिताको उपज पनि हो अहिलेको नेपाली समाज । नेपाली युवाले जहाज बनाएको सुखद खबरलाई पत्रिकाको भित्री पृष्ठमा सानो अक्षरमा लेखिन्छ तर बलात्कारको न्युजचैँ अगाडि हेडन्युजमा देखाइन्छ । 

यसले के देखाउँछ भने हाम्रो समाज बलात्कारको न्युज सुन्न चाहन्छ, हाम्रा युवाहरू यौन र यौनसँग सम्बन्धित खबरलाई महत्वपूर्ण स्थान दिन्छन् भन्ने प्रमाणित हुन्छ, हामी असल कुरामा होइन खराब कुरामा बढी आफ्नो ध्यानाकर्षण गर्छौँ भन्ने कुरा देखाउँछ । स्त्रीका कुराहरूलाई स्त्रीसँग सम्बन्धित परिघटनालाई ज्यादातररूपमा हामी प्रचारप्रसार गर्छौँजस्तो अहिले भैरहेको छ । निर्मला पन्तको घटनाबाट पनि हामी यो कुरा बुझ्न सक्छौँ । अपराध र अपराधी नभएको समाजको परिकल्पना गर्नुको साटो हामी झन् अपराध र अपराधीलाई चलचित्रजस्तै प्रचार गर्दै विज्ञापन गर्दै हिँड्छौँ झन् । यो अफावझैँ फैलिन्छ । स्त्रीका कुरा राख्नासाथै पत्रकार ठूलो, एनजीओ, आईएनजीओ र नेताहरू ठूला सम्झिने परम्परागत सोचको विकास भएको छ ।

हामी सधैँ आमाको आँसुको कुरा गर्छौँ तर खेतको आलीमा कोदाली बिसाएर बुबा रोएको कुरा कहिल्यै गर्दैनौँ र बुबालाई कहिले सहानुभूति पनि राखेनौँ । मानौँ बुबाको आँसु पानी हो र आमाको आँसु मोति हो । खेत खनेर नसकी भातको भाग लाग्दैन, भान्सामा नआउनू भन्छिन् आमाले बुबालाई मानौँ बुबा त्यो घरका एक हली मात्र हुन् । पुरुषले सधैँ ५० डिग्रीको तापक्रममा उसिनिएर घरमा पैसा पठाइरहेका छन् र पत्नीलाई भनिरहेका हुन्छन् । भो तिमी दुःख नगर, म छु पैसा पठाउँछु तिमी आनन्दले बस । कति नारीहरू पतिको कमाइमा रमाउँदै बाँचेका छन् र पतिको अनुपस्थितको फाइदा लुटेर परपुरुषसँग सल्किएर हजारौँ घर बरबाद भएको कुरा पनि छन् । महिलालाई बिचरी मात्र बानायौँ हामीले किन ? नेपाली समाजले यदि महिलालाई तल मात्र राख्ने सोच राखेको भए सायद यो देशको शासन बागडोरमा महिलाले हालिमुवाली गर्न सक्दैनथे होलान् । तलका सत्य कुराहरूले अझै पुष्टि गर्छ कि पुरुष पनि कति प्रताडित छन् महिलाहरूबाट भन्ने कुरा ।

७६ सालको दशैँमा जब राजु घले कत्तारबाट आफ्नो घर चैनपुर आए, ६ वर्ष काम गरेर पठाएको पैसा, गरगहना लिएर नाबालक दुई सन्तानलाई छोडेर धर्मपत्नी पोइल गइन् । प्रत्येक पटक विदेशबाट फोन गर्दा श्रीमती घरमा छु, बच्चालाई बोडस गरेकी छु भन्दिरहिछन् । तर, आउँदा अर्कैको भैसकेकी । सामाखुशीमा एक गरिब परिवार बस्थ्यो । पछि घरजग्गाको कारोबार गरी धन दौलत जोडी आफ्ना बालबच्चालाई राम्रो स्कुलमा राखेर पत्नीको सबै सोख पूरा गरिदिएका एक इमानदार पुरुष थिए । उनकी पत्नीले एक आर्मी जवानलाई भाइटिका लगाउँथिन् तिहारमा । पछि तिनै टीका लगाएको भाइसँग सबै सम्पत्ति, जग्गाजमिन र गरगहना बोकेर भागिन् । पतिको कन्तबिजोक पारिदिइन् । हिजोआज सहरमा लिभ इन रिलेसनशिप खुब मौलाएको छ । यो पश्चिमी सभ्यताको उपज हो । बिहे गर्नुपूर्व आफूखुशीले जोडी भएर सम्बन्धमा बस्नु । यसको शिकार भएका छन्, भैरहवाका किरण बिसी । एक वर्षसम्म आफ्नी केटी साथीको माग पूरा गर्दै आएका थिए । तर, पछि जब किरणको काम खुस्कियो अनि उनी बेकम्मा भए तब आफ्नै केटी साथीले जबर्जस्ती करणीसँगै केटालाई अंश मुद्दा हालिन् ।

मन मिलुन्जेल सहमति र मन बिग्रन थालेपछि जबर्जस्ती ग¥यो केटाले भनेर आफ्नै केटी साथीले सामाजिक बेइज्जत गरिदिइन् । बिचरो त्यो किरण अहिले जेलमा छ र केटीले अर्कैसँग बिहे गरिसकिन् । यही पीरले उनकी आमाले बिष सेवन गरेर आत्महत्या गरिन् । केही वर्षअघिको घटना हो, गाउँबाट एसएलसी दिन सदरमुकाम आएको एउटा केटो १० दिनको लागि होटेलमा बस्छ र त्यही होटेलमा केही महिला विद्यार्थी पनि बस्छन् । एकै गाउँका त्यो भाइलाई म्याथ राम्रो आउँथ्यो तर तिनैमध्येकी एउटी बहिनीलाई म्याथ नआउने । उनकै अनुरोधमा त्यो बहिनी दुई साँझ त्यो भाइसँग म्याथ सिक्न गइन् । त्यो भाइले राम्रो सहयोग ग-यो । जाँच दुवैको राम्रो भयो । ती बहिनीले त्यो भाइलाई मन पराइछिन् । बिहेको प्रपोज गरिन् तर केटोले मानेन । पछि तिनै नानीले बेज्जत गरिन् कि यसले मलाई यसले बिहे गर्नुपर्छ भनेर सम्बन्ध राख्यो । गाउँले केटीको कुरा सुनी जबरजस्ती बिहे गराइदिए । पछि केटोले आत्महत्या ग-यो अनि थाहा भयो, एक्लो छोरो धनी देखेर केटीले नै फसाएकी भनेर । पछि ती बहिनीले अपराध स्वीकार गरिन् ।

पुरुष मात्र खराब महिला सधैँ सोझा निमुखा कोमल कलिली निरीह नारी । उनलाई सधैँ माया सम्मान र सुरक्षा गर्नुपर्छ भनेर भन्नु एक हिसाबले ठिकै होला तर सँगै पुरुषमाथि बज्रेको प्रातडनाको कुरा पनि आउनु पर्थ्यो समाजमा । सधैँ महिला हिंसाका कुराले पुरुषमाथि परेको कयौँ ब्यथा नलेखिने कथा बनेका छन् समाजमा ।

पुरुषविना महिला अधुरो, अपुरो र महिलाविनाको पुरुष अपुरो । फेरि किन महिलाको शत्रु पुरुष र पुरुषको शत्रु महिला ? सधैँ आमा रोएको कुरा गर्नेले कमाएर पालनपोषण गर्ने बुबाको आँशुको पनि कुरा गरून् । अनि पो समानता आउला समाजमा । अनि पो महिला हिंसा पनि कमी आउला । यी माथिका चार उदाहरण सत्य घटनाका उपज हुन् । पुरुषको पनि झर्ने आँसु हुन पानी होइन । सतपथमा हिँड्ने महिला र सतपथ अपनाउने पुरुषको लागि यो लेख तयार पारेको होइन ।

महिला यौन हिंसाका बारेमा पीडित महिलाहरूले बोल्ने साहस गरिरहेका छन् । पुरुष मित्रका बारेमा विरोधका स्वरहरू उचालिरहेका छन् महिला मित्रहरूले । आफूमाथि घटेको घटना पुरानो हो तर अहिले त्यसलाई उजागर गरेर एउटी साहसी महिलाको परिचय स्थापित गर्न लागेका छन् ती नारीहरू । इन्डियाका महान हस्तीहरू पनि यो विवादमा मुछिएका छन् । जतिबेला त्यो घटना घटित भयो त्यो बेला उनी चुपचापले बसिन् । बीचमा तिनै पुरुष मित्रसँग कतिपय कामहरू सहकार्यमा सप्पन्न भए । त्यो हिंसा थियो कि दुवै मिलिजुली गरिएको थियो ? तर, अहिले महिला अतीतको गर्तमा लुकेर बसेको आफू र आफ्नो केटा साथी मिलेर गरेको यौवनको मधुमाधुर्य पललाई दुत्कार्दै पो छिन् कि ? बुझ्न गाह्रो भएको छ ।

त्यो बेला त्यही क्रिया सकारात्म्क अहिलेचैँ नकारात्मक भयो । अधिकांश महिला हिंसा पहाडमा हुन्छन् । पहाडका महिलालाई ‘मि टु’ भनेको के हो थाहा नै छैन । यो सहर केन्द्रित आन्दोलनले पहाडका सोझा महिलाहरूलाई चाहिँ के फाइदा पुग्छ होला ? अरुको देखासिखी र लहैलहैमा लागेर नाउँ कमाउने र मिडियामा छाउने लोभले पनि कतिपय महिलाहरू यसमा लागेका छन् । तर, यसको परिणाम अन्ततः दुवैलाई नै घातक हुने निश्चित छ ।

लैलैको तालमा लागेर आफ्नो चरित्रको साविती बयान दिनुभन्दा पनि अबका दिनहरूमा कसरी महिला सुरक्षित हुन सक्छे यो कुराको बहस हुनु जरुरी छ । अहिले हरेक पुरुष महिलादेखि डराउन पर्ने स्थिति सिर्जना भएको छ । पुरुष र स्त्रीसँगको मित्रवत व्यवहार र प्रेमको इन्द्रेणी नै धमिलो हुँदै जान थालेको छ । अब यदि यही रूपमा यो चर्चा चुलिँदै जाने हो भने मानिसहरूको सामाजिक जीवनमा नै असर पर्न जानेछ । स्त्री र पुरुषबीचको माया र विश्वास संकटको अवस्थामा पुग्नेछ र समाज झनै असुरक्षित हुनेछ । माया लोप हुनेछ । कृतिम यौन अंगहरूको विकास हुनेछ । स्त्री र पुरुष दुवैको जिन्दगी कृत्रिमतातिर धकेलिनेछ । हो, पीडा लुकाउन हुन्न बोल्नुपर्छ । यसको मतलब यो होइन कि प्रेम गर्ने, यौन साटासाट गर्ने अनि लेनदेन नमिलेपछि ब्रेकअप अनि हिंसा भयो भनेर स्त्रीले आफ्नो पुरुष साथीलाई जेल पठाउनु के यो न्यायोचित भयो त ? समयमै सबैको ध्यान जान जरुरी छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस