स्थानीय सरकारका साढे दुई वर्ष ‘विकास हुन्छ’ भन्दै बित्यो

बझाङ्, मंसिर २७
स्थानीय सरकार बनेको साढे दुई वर्ष भइसकेको छ । तर, विकास निर्माणका कार्य भने प्राय शून्य छन् । बझाङ जिल्लाका जनप्रतिनिधि विकास हुन्छ भन्न छाडेका छैनन् । स्थानीय तहले सञ्चालन गरेका योजना छनौटदेखि विकास निर्माणका कार्य विवादमुक्त हुन सकेको छैनन् ।कतिपय स्थानीय तहमा त दलीय उल्झनले योजना छनौटसमेत हुन सकेका छैनन् भने छनोट भएका योजना पनि सम्पन्न हुन सकेका छ्रैनन् । खिचातानीकै कारण जिल्लाका कुनै गाउँमा पनि उदारणीय काम बनेका छैनन् ।

कुनै पनि स्थानीय तहमा विकासको नाममा झिँगो पनि नमारेको अनुभव स्थानीयको छ । धेरै गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यशैली र विकासका कार्यमा दलीय आधारमा भेदभाव गरेको भन्दै आलोचना क्रम तीव्र बनेको छ । धेरै स्थानीय तहमा विवादको चुरो आर्थिक पारदर्शिता बनेको छ । जनप्रतिनिधिले नेतृत्व लिएको साढे दुई वर्ष बितिसक्दा पनि विवाद जारी रहनुले स्थानीय निराश बनेका छन् । स्थानीय तहले सम्पदान गरेका कामको हिसाबकिताब सार्वजनिक नगर्नुको कारण भ्रष्टाचार भएको बझाङ जिल्लाका नागरिक समाजका अगुवा धर्मजङ सिंहले बताए ।

वार्षिक आयव्यय सार्वजनिक गर्छु भन्दासमेत नमानेर उनीहरू दलीय प्रतिनिधिसमेत सहभागितामा सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना भएको खप्तड छान्ना गाउँपालिकाका वडा ५ अध्यक्ष किरण गिरीले बताए । विकासका नाममा दलीय आधारमा भेदभाव गरेपछि आफूरूलाई गाह्रो भएको उनको भनाइ छ ।

जनप्रतिनिधि बहाली भएको केही महिनामै स्थानीय तहमा विवादको शृंखला सुरु भए । खप्तड छान्ना गाउँपालिका विवादको चरम उत्कर्षमा पुगेको छ । नागरिक समाज अगुवा कर्मी स्थानीय सरकार गठनसँगै सिंहदरबारको आर्थिक अनियमितताको रोग स्थानीय सरकारदेखि टोलटोलका घरसम्म पुगेको बताउँछन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस