समाजिक सञ्जाल फेसबुक वरदान कि अभिशाप

समाजिक सञ्जाल फेसबुक वरदान कि अभिशाप

मार्क जुकरबर्ग अर्थात् फेसबुकका जन्मदाता भन्नेबित्तिकै आजकल मलाई झसङ्ग हुन्छ, हुटहुटी पनि हुन्छ कि उनले मानिसको जनजीवनलाई प्रविधिमैत्री बनाउन सहयोग गरे कि, अल्पविकसित मुलुकका मानिसको समय बर्बाद पारे ? यो प्रश्न अहिले गम्भीररूपमा खडा भएको छ । जब फेब्रुवरी ४, २००४ मा यसको लन्च भयो तब विश्वभर यसको प्रयोग र प्रसार गुणात्मक तवरमा फैलियो । हिजोआज संसारका अधिकांश मानिसको रोजाइमा सामाजिक सञ्जाल पर्ने गरेको छ । सामाजिक सञ्जालअन्तर्गत मुख्यरूपमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम, भाइभरलगायतका विषय पर्दछन् । जसमा हामी यहाँ मुख्यरूपमा फेसबुकका उपयोगिता र अनुपयोगमा केन्द्रित हुनेछौं । फेसबुक अर्थात् मुहारपुस्तिका अहिले विश्वको मात्र नभई नेपालमा पनि वेबसाइटको तुलनामा निकै अगाडि भएको पाइएको छ ।

विश्वका वेबसाइटहरूको सूचीमा गुगल पहिलो स्थानमा छ भने नेपालमा पहिलो स्थानमा फेसबुक छ । सञ्चारको साधन हुन पुगेको फेसबुक अहिले भावना व्यक्त गर्न, कुराकानी गर्न, प्रचारप्रसार गर्न एवं नयाँ व्यक्तिहरूसँग परिचित हुनसमेत प्रयोग हुन थालेको छ । फेसबुक मानिसहरूको लागि निकै उपयोगी र अनुपयोगी दुवै भएको छ । कागले कान लग्यो भनेपछि कागको पछि लाग्ने नेपाली उखान सामाजिक सञ्जाल फेसबुकको हकमा पनि लागू भएको छ । कसैले केही भनेकै भरमा, लेखेकै भरमा तुरुन्तै धारणा बनाइहाल्ने प्रवृति आजका अधिकांश फेसबुक प्रयोगकर्तामा देखा परेको छ । केही व्याक्तिहरूले फेसबुकमा समाजले पचाउनै नसक्ने खालका भावना, मन्तव्य, आक्रोश, लेख रचना, अस्लिल तस्बिर, भिडियो राखिदिँदा फेसबुक चलाउने बौद्धिक वर्गहरूलाई भने यसले इरिटेसन नै बनाएको छ । फेसबुकलाई सही समय र नियमअनुसार सञ्चालन गरिएमा फेसबुक एउटा गाउँको व्याक्तिदेखि उच्चस्तरका व्याक्तिहरूबीचको एउटा सञ्चार माध्यम वा पुल बन्न सक्छ । अन्यथा यो हाम्रो समय बर्बादी गरिदिने भाइरसभन्दा फरक नहोला । मनोरञ्जन तथा समाचार आदि छिटोभन्दा छिटो सबैको हातमा पु-याउन सफल फेसबुक हाल नेपालको सहरी जिल्ला हुँदै क्रमशः गाउँ–गाउँसम्म फैलिसकेको छ ।

सामाजिक सञ्जाल फेसबुकका उपयोगितालाई यसप्रकार देखाउन सकिन्छः
खासमा मुख्य रूपमा के फाईदा गर्छ त सामाजिक सञ्जाल फेसबुकले ? जसलाई बुदागत रूपमा यसरी लेख्न सकिन्छ ।

१. सूचनामा सामान्य नागिरकको पहुँच हनु र प्रविधिसँग थोरै धेरै आबद्ध हुनु ।

. विश्व एउटा ग्लोबल भिलेजको रूपमा विकसित हुनु । छोटो समयमा नै समाचार आदानप्रदान हुनु ।

३. सामान्य ज्ञान र विश्व परिवेशमा भएगरेका समसामयिक गतिविधिहरूको बारेमा अपडेट भइरहनुका साथै सूचना प्रविधिले गर्दा मानिस जाँगरिला, सिर्जनशील र रचनात्मक बन्दै जानु ।

. अहिले विश्वमा सबैभन्दा ठूलो दबाब समूह सामाजिक सञ्जालहरू नै हुन् । सामाजिक सञ्जालले जनमत बनाउँछ । त्यसैले यस्ता सञ्जालमा जनताले राखेका धारणाका आधारमा सरकारले आफ्नो नीति तथा निर्णयमा पुनर्विचार गर्न सक्छ । गलत निर्णय गर्ने ठूला–ठूला पदमा आसीन व्यक्तिहरूको पदच्युत गर्न पनि सामाजिक सञ्जालले टेवा पु¥याउँछ । सामाजिक सञ्जालमा आक्रोश होइन विवेकका आधारमा विचार राख्नुपर्छ ।

५. ज्ञानको भण्डारको रूपमा पनि यो निकै उपयोगी बन्न सक्छ । जस्तोः राम्रा कुरा ग्रहण गर्ने र नराम्रा ज्ञान र जानकारीलाई मन, मस्तिष्कमा घुस्नै नदिने काम भविष्यका कर्णाधार विद्यार्थीहरूले गर्नुपर्छ । विभिन्न सफ्टवेयरमार्फत आफ्ना कक्षाकार्य र गृहकार्यहरू ठीकसँग समयमा नै सम्पन्न गर्न सक्षम बनाइदिएको छ ।

६. सामाजिक सञ्जाल आफ्नो व्यक्तिगत पीर, व्यथा र खुशी साट्ने थलो मात्र हैन, बौद्धिक बहस गर्ने चौतारीसमेत भएको छ । पछिल्लो समय त चुनावी क्याम्पियन र एजेण्डा सेटिङको सशक्त माध्यमका रूपमा पनि सामाजिक सञ्जाल देखापरेको छ । के सहर, के गाउँ जहाँका मानिसहरू पनि सामाजिक सञ्जालमा झुम्मिएकै छन् ।

७. अर्कातिर सामाजिक सञ्जाल यतिबेला समाचार स्रोतको पनि निक्कै सजिलो माध्यम बनेको छ । संसारभर घटेका घटनाहरू प्रत्येक साइटमा पुगेर अपडेटेड हुन सम्भव छैन तर फेसबुक टुइटरले छिनभरमै हामीसम्म ल्याइपुराउँछन् र सञ्चारको लागि पनि यो निक्कै उपयोगी र सस्तो बनेको छ ।

सामाजिक सञ्जालका दुष्प्रभावहरू :- सामाजिक सञ्जाल प्रयोग गर्दा प्रयोगकर्ताको आफ्नो दायित्व हुन्छ जुन उसले सञ्जालको मर्यादा, मर्म र अनुशासन पालन गर्दै पूरा गर्नुपर्छ । जुन कुरा प्रसारित वा सेयर गर्दै छौँ त्यसको प्रयोजनको हेक्का र संयमीत हुन जरुरी छ । कहिलेकाहीँ नबुझिकन या बुझेरै लाइक, सेयर अनि कमेन्ट गर्दा कसैको जागीर नै गएको त कसैलाई साइबर अपराधअन्तर्गत मुद्दा चलाइएको समाचार हामीले बेला–बेलामा सुन्ने गरेका छौँ । पछिल्लो समय सामाजिक सञ्जालका दुष्प्रभावहरू अत्यधिकरूपमा देखिन थालेका छन् । जसलाई यसरी देखाउन सकिन्छ ।

१. प्रधानमन्त्री राष्ट्रपतिजस्ता व्यक्तिको फोटोहरू विभिन्न तरिकाले जोडेर चरित्रहत्या गर्ने काम बारम्बार देखिँदै आएको छ । अमर्यादित सामग्री, व्यक्तिको चरित्रहत्याजस्ता कार्यले सामाजिक सञ्जालको प्रयोगलाई जोखिमपूर्ण बनाउँदै लगेको छ ।

२. सामाजिक सञ्जालमा कति समय बिताउनु उपयुक्त हुन्छ र कुन हद पार गर्दा यसको लतमा परेको मानिन्छ यस विषयमा केही अनुसन्धान पनि भएका छन् तर, कुनै ठोस निष्कर्ष दिन सकेका छैनन् । तर, यो तथ्यचाहिँ पुष्टि भइसकेको छ कि सामाजिक सञ्जाल अत्यधिक प्रयोग गर्ने मानिसहरू मानसिक रोगको शिकार बन्ने खतरा हुन्छ । एकोहोरो हुने, झर्को मान्ने, रिसाउने, रक्तचाप बढ्नेजस्ता समस्याहरू बढ्दै गएको स्वयं चिकित्सकहरू पनि बताउने गरेका छन् ।

३. यो एकप्रकारको रक्सी वा ड्रग्सको नशाजस्तै हो । यसो केही भयो मोबाइल खोलिहाल्ने मोबाइलविना एकछिन पनि अडिन नसक्ने बनाएको छ । जसले गर्दा मानिसको सुत्ने, उठ्ने, पढ्ने समयमा नै अस्वाभाविकरूपमा परिवर्तन आएको छ ।

. डरलाग्दो विषय अनि मन सिरिङ्ग बनाउने अर्को विषय दुर्घटनामा परेका पीडित व्यक्तिका दर्दनाक कारुणिक फोटोहरू उनीहरू वा आफन्तको स्वीकृतिविनै यत्रतत्र आउँछन्, जसले गर्दा आफन्तमा बेहोस हुने, आत्महत्या गर्नेजस्ता घटना घट्न पुग्दछन् । जुन हामीले प्रत्यक्ष देख्दै आइरहेका छौँ ।

५. अर्कातिर यसको आवश्यकभन्दा बढी प्रयोगले भर्चुअल संसारमै हराउने, सूचानाहरू चुहाउने वा साइबर आक्रमणको खतरा दिनानुदिन बढ्दै गइरहेको छ ।

. सामाजिक सञ्जालमा सामाजिक उछृङ्खल र विखण्डनकारी विचारहरूले पनि बढावा पाउँदै गएका छन् । अराजक तत्वहरूले गलत सूचना र विचार प्रवाहका लागि सामाजिक सञ्जालको दुरूपयोग गरिरहेको देख्न सकिन्छ ।

. बाटो काट्दा, गाडी चलाउँदा, गाडी चढ्दा पनि मोबाइल फोनमा झुण्डिदा दुर्घटना बढेर गएको छ ।

८. आफ्नोभन्दा फरक विचारलाई स्वीकार गर्न नसक्नु, पूर्वाग्रही तरिकाले आरोप लगाउनु, चरित्रहत्या गर्नु, अरुको सही विचारलाई पनि बिगारेर चरित्रहत्या गर्नु पनि समस्याको रूपमा आएको छ ।

९. विद्यार्थीहरूको पढ्ने लेख्ने समयमा फेसबुकमा अल्झिँदा पढाइमा नकारात्मक प्रभाव परेको छ । ज्ञानवद्र्धकभन्दा पनि अनावश्यक साइटमा लत बसाल्ने गरेको पाइन्छ ।

विधार्थीहरूले यसको सही उपयोग गरेमा यो बरदान पनि बन्न सक्छ । किनकी यसमा संसार अडिएको छ । तर, हाम्रोमा ठीक उल्टो भएको छ, जुन चिन्ताको विषय बनेको छ । अभिभावकहरू आफ्ना नानीबाबुलाई संस्कार सिकाउनभन्दा पनि सुख र सुविधा दिन खोज्दा व्यावहारिक ज्ञान, असल संस्कार र सामाजिकीकरण हुनबाट वञ्चित भएका छन् । पढ्ने बेलाको गोल्डेन समयमा लाइक, कमेन्ट, फोटो अपलोड, सेयर गरेरै बिताउन थाल्दा भविष्यका कर्णधार कतातिर जाँदै छन् भन्ने गम्भीर चिन्ता र चासोको विषय बनेको छ । त्यो विद्यार्थीको ध्येय, ध्यान र दृष्टिकोणमा भर पर्ने कुरा हो । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भनेजस्तो हो । प्रयोग गर्न जाने वरदान हो नजाने अभिशाप हो ।

१०. सामाजिक सञ्जालमा पोस्ट हुने अधिकांश विषय प्राय व्यक्तिगत हुन्छन् । सामाजिक सञ्जालको अर्को खतरा भनेको व्यक्तिगत गोपनीयता जोगाउन गाह्रो हुनु हो । फेक आईडीमार्फत कसैको चरित्रहत्या गर्ने र गोपनीयता भंग गर्ने परिपाटी पनि पछिल्लो समय निकै देखा परेको छ ।

११. चित्त नबुझेका सम्पूर्ण कुरा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दा कैयौँको पारिवारिक विखण्डन र मित्रतामा गम्भीर समस्या सिर्जना गराएको छ ।

१२. यसले सूचनाको पहुँचमा विस्तार गरे पनि गरिबीको खाडल झन् बढाएको छ । किनकी मध्यम र निम्न वर्गको रोजाइमा महँगा ब्राण्डेड मोबाइल बोक्ने र सकी नसकी ऋण खोजेरै भए पनि राम्रो मोबाइल बोक्ने होडबाजी चलेको छ ।

१३. शौचालयमा पनि लामो समय मोबाइल चलाउँदा पाएल्सको जोखिम बढेर गएको चिकित्सकको भनाइ रहेको छ ।

१४. परिवारमा सहिष्णुता र भाइचाराको अभाव हुँदै गएको छ । किनकी सबै आफ्नो पारामा मोबाइलमा अल्झिने, नबोल्ने खाना पस्केको धेरै बेरसम्म पनि खान नआउने गर्दा अभिभावकलाई वाक्कदिक्क बनाएको छ ।

१५. लामो समय मोबाइलमा व्यस्त रहँदा आँखामा धेरै समस्या आउने गरेको पाइएको छ । त्यस्तै मस्तिष्कमा समेत असर गर्ने गरेको चिकित्सकहरूको भनाइ छ ।

१६. देश शोकमा रहेको बेला पनि आफ्ना घुमाइफिराइका, उल्लासका, मनोरञ्जनका र अन्य यस्ता फोटोहरू पोस्ट हुने गर्दछन् जुन मानवीयताविरुद्धको कार्य र आफ्नो कर्तव्यबाट च्युत हुनु हो । त्यसैले तपाईंलाई जुन कुराको आधार र सत्यतामाथि विश्वास छ र जुन कुराले अरूहरूको मानहानी हुँदैन वा अधिकारमा खलल पर्दैन, कृपया त्यो कुरा मात्र प्रसारित वा सेयर गरौँ ।

१७. अर्को महत्वपूर्ण विषयचाहिँ सामाजिक सञ्जालको जानिनजानी प्रयोग गर्दा वा जथाभाविरूपमा घरमा मोबाइल छोडी हिँड्दा स–साना बालबालिकाले अज्ञानवश चलाउँदा अपलोड भएका विषयले पनि कुनै–कुनै बेला विवादमा ल्याउने गरेको छ ।

वर्तमान परिस्थितिमा सामाजिक सञ्जाल प्रयोग गर्दा सीमित मात्रामा समय छट्ट्याउने, अपरिचित व्यक्तिहरूको अनुरोध स्वीकार नगर्ने, आफूले लेखिएका कुराहरू संयमतापूर्वक र अनुशासित ढंगले अरूलाई चोट नपु¥याउने तरिकाले सम्पेषण गर्ने गरेमा अवश्य पनि नकारात्मकभन्दा सकारात्मक प्रभाव बढी पर्छ ।

सामाजिक सञ्जाल निजी कि सार्वजनिक :- सामाजिक सञ्जालको प्रयोग सबैले एकै ढंगले गर्छन् भन्ने छैन । यसको विभिन्न तरिका तथा उद्देश्यले प्रयोग भइरहेको छ । मुख्यतः निजी र सार्वजनिक गरी दुई उद्देश्यले प्रयोग गरिएको देखिन्छ । आफ्ना परिवार तथा दैनिक जीवनका फोटोहरू पोस्ट गर्ने, परिचितहरूसँग निरन्तर सम्पर्कमा रहने, परिचय तथा मित्रता बढाउने माध्यमका रूपमा सामाजिक सञ्जालको प्रयोग गर्ने धेरै छन् । त्यसैगरी सार्वजनिक जीवन, सामाजिक, राजनीतिक तथा समसामयिक विषयमा सामाजिक बहस तथा सूचना प्रवाहका लागि सामाजिक सञ्जालको प्रयोग गरिएको पाइन्छ ।

सामाजिक सञ्जालमा सामाजिक नै भएर प्रस्तुत हुनुपर्छ, असामाजिक बन्न हुँदैन । सहिष्णु बन्नुपर्छ, असहिष्णु बन्न हुँदैन । असहमत र फरक विचारको आलोचना गर्न हुन्छ, बहस गर्न हुन्छ तर मर्यादा र शिष्टाचारको लक्ष्मणरेखा नाघ्न हुँदैन । एक्लै कोठामा या कुनै ठाउँमा भएको बेला सामाजिक सञ्जालमा विचार लेखिन्छ तर त्यो विचार सार्वजनिकरूपमा प्रस्तुत हुन्छ सबैले मेरो विचार हेर्छन् र प्रतिकृया दिन्छन् भनेर हेक्का राख्नुपर्दछ । अरुका सकारात्मक काम तथा विचारको प्रशंसा गर्न सामाजिक सञ्जालको उपयोग गरिनुपर्छ । सकारात्मक टिप्पणीले व्यक्तिलाई सकारात्मक काम गर्न उत्प्रेरणा मिल्छ ।

अर्थात्, सामाजिक सञ्जालमा विचार लेख्दा तपाईं एक्लै हुनुभए पनि लाखौं अदृष्य मानिसले तपाईंलाई हेरिरहेका हुन्छन् । अइले त झन् रेडियो टीभी पत्रपत्रिकाभन्दा पनि बढी सामाजिक सञ्जालहरू हेरिने भएकोले सोचविचार गरेर मात्र धारणा राख्ने गर्नुपर्दछ । त्यसैले सामाजिक सञ्जाललाई स्मार्ट बन्न अरुलाई देखाउनभन्दा पनि सकारात्मक विषयमा टिकाटिप्णी, बहस तथा पैरवी गरेर समाज र देशलाई योगदान गरौँ । यसो गरेमा मात्र प्रविधि एवं सामाजिक सञ्जाल वरदान सावित हुनेछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध