पर्यटन वर्ष २०२० र देवभूमि नेपाल

पर्यटन वर्ष २०२० र देवभूमि नेपाल

‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक आरम्भ हुन अब केही समय मात्र बाँकी छ । यसै हप्ता पर्यटनमन्त्रीले विभिन्न ३१ देशका राजदूतहरूलाई बोलाई आ–आफ्नो क्षेत्रबाट नेपाल भ्रमण वर्ष सफल पार्न आग्रह गरेका छन् । नेपालमा आउने पर्यटकहरू भौतिक सुख सुविधाभन्दा पनि आध्यात्मिक शान्तिका लागि आउने गर्छन् । यहाँको प्राकृतिक हराभरा संसारबाट उनीहरू मोहित हुने गरेका छन् । नेपालले सन् २०२० मा विश्वभरिका २० लाख पर्यटकहरूलाई नेपालमा भित्र्याउने लक्ष्य लिएको छ ।

साँच्चै ‘ने’ नामक तपस्वी मुनिले बस्ती बसालेकोले यस देशलाई नेपाल भनिएको हो । युगौँदेखि यसको छुट्टै अस्तित्व रहेको थियो । संस्कृत भाषामा ‘नयेन पाल्यते इति नयपालः’ भनिन्छ । न्यायद्वारा धर्मको समेत रक्षा गरी जहाँ राज्य सञ्चालन हुन्छ त्यो राज्यलाई नेपाल भनिएको हो भनी शास्त्रकारहरूले टिप्पणी गरेका छन् । संस्कृत भाषा नयपाल अपभ्रंश हुँदा हाम्रो देश नेपाल भएको भन्नेहरू पनि धेरै छन् ।

यो देश हिमालयको काखमा रहेको छ । यो शिव र शक्ति अर्थात् महादेव र पार्वतीको बासस्थल हो । सतीदेवीले आफ्नो प्राण त्याग गरेपछि शिवकै इच्छाअनुसार हिमालय पर्वतराज पुत्री भएर यसै हिमालय क्षेत्रमा जन्म लिई श्री शिवलाई पुनः प्राप्त गरेकी हुन् । सतीदेवीको पछिल्लो रूप हिमालय पर्वत राज महारानी मेनकाको गर्भबाट पार्वतीको रूपमा जन्म भएको हो । उनै पार्वतीका नामले पश्चिम हाम्रो क्षेत्र पर्वत जिल्ला र त्यहाँ रहेका अनेकौँ पर्यटकीय स्थल देखाएर हामी विदेशी मुद्रा आर्जन गरिरहेका छौँ । हिमालयको शिखर सगरमाथाको प्राचीन नाम व्योमकुट हो, जुन विश्वमै सर्वोच्च छ । संसारबाटै सगरमाथा हेर्न र चढ्न आउनेको संख्या कमी छैन हामीकहाँ । 

राजनीतिक रूपमा दृष्टिगत गर्दा नेपालमा पहिले गोपालवंशीहरूले राज्य गरेका थिए । भुक्तमान, जय गुप्त, परमगुप्त, यज्ञ गुप्त आदि राजाहरूले पाँच सय वर्षसम्म राज्य गरे । त्यसपछि महिपाल (जसलाई अहिर भनिन्छ) हरूले शासन गरे । सुरुमा नेपाल भन्नाले काठमाडौँ उपत्यका मात्रलाई जनाउँथ्यो । मूल सिंह, जय सिंह, भुवन सिंह राजाहरूले झण्डै एक सय वर्ष राज्य गरेपछि उपत्यकाको राज्य सञ्चालनको जिम्मा किराँतहरूले लिए । करिब एक हजार वर्षसम्म यिनीहरूले राज्य गरे । यलम्बरलाई किराँतकालीन प्रथम शासक मानिएको कुरा इतिहासविदहरू बताउँछन् । बौद्ध धर्मको पनि बाहुल्यता भएको कुरा विदेशी लेखक राइटले बताएका छन् । काठमाडौँमा स्वयम्भू चैत्य र बौद्ध स्तुपहरू भव्यरूपमा निर्माण छन् । आज त्यहीँ विदेशी पर्यटकहरूको भीडभाड छ । नेपालको इतिहास स्थापना गर्ने कार्यमा महामुनि मञ्जुश्रीको नाम अग्रस्थानमा रहेको पाइन्छ । यो पनि विदेशी पर्यटककै देन भन्नुपर्छ ।

पशुपति मन्दिर परिसरमा स्थापित विसं सात सय ९० को अभिलेखमा लिच्छवी बंशका प्रथम राजा जयदेव प्रथम भनिएको छ । प्रसिद्ध कैलाशकुट भवन, चाँगुनारायणको मन्दिर, बुढानिलकण्ठ स्थान आदिको स्थापनामा मानदेवको नाम अग्रणीरूपमा आउँछ । यी सबै हाल विश्व सम्पदा सूचीमा सूचीकृत छन् । इतिहासले राजा मानदेवलाई प्रथम लिच्छवी राजा मानेको छ । राजा मानदेव र उनका पालामा बनेका धेरै बौद्ध स्तुपहरूको भ्रमण, अवलोकन गराउने काममा हामी पछि परेका छैनौँ ।

विसं नौ सय ३७ सँगसँगै नेपाल मल्लकालीन समयमा अवतरण हुन्छ । मल्ल शासनकालका प्रथम राजा अरिमल्ल, उनका छोरा अभय मल्ल र यसपछि क्रमशः जयस्थिति मल्लको अभ्युदय भएको पाइन्छ । यक्ष मल्लको समयमा आइपुग्दा नेपालको सीमाङ्कन विस्तृत भएको र छोराहरूलाई राज्य सम्पदा काठमाडौं, भक्तपुर र पाटन छुट्ट्एिको देखिन्छ । भक्तपुरमा भुपतिन्द्र मल्लद्वारा बनाउन लगाइएका कला कौशलले पूर्ण मन्दिरहरू धेरै छन् । पाटनमा सिद्धिनरसिंह मल्लले बनाउन लगाएका कलाकारिताले पूर्ण भएका मन्दिरहरू धेरै छन् । काठमाडौँमा प्रताप मल्लका पालामा बनेका सयौँ मन्दिरहरू छन् भने रानी पोखरी पनि उनकै पालामा बनेको हो ।

पर्यटकका लागि आकर्षक बनेका यी सम्पदाहरू विगत चार वर्षअघिको विनाशकारी भूकम्पले देशैभरि आठ सय ९१ यस्ता सम्पदालाई क्षतविक्षत गरायो । जसमध्ये हाल तीन सय ८७ मात्रको निर्माण सम्पन्न भएको छ, बाँकी निर्माणाधीन अवस्थामै छन् । न्यायको, नैतिकताको आधारमा राज्य सञ्चालन हुने, आवश्यकताअनुसार मठमन्दिरहरू बन्ने गरेकाले पुख्र्यौली सम्पदाबाट हामी अभैm धनी भएका छौँ । हनुमान ढोका, कुमारी स्थान, प्रसिद्ध काल भैरवको मूर्ति देखाएरैै हामी हरिया डलर लिँदै छौँ । युगौँयुगदेखि धर्म सम्पदाको रूपमा रही आएको नेपाल एक पवित्र धार्मिक क्षेत्र हो । धार्मिक दृष्टिले सहिष्णु क्षेत्र हो । यहाँको सहिष्णुतालाई बुझेर विदेशीहरू यहाँ आउँछन् ।

हाम्रो मुलुक देवभूमि हो । हरेक युगमा यसको वर्चस्व कायम रहेको छ । सत्य, त्रेता, द्वापरदेखि करिब पाँच हजार वर्षदेखि आरम्भ भएको कलियुगमा पनि यो तपोभूमिकै रूपमा रहेको छ । आधुनिक मेचीदेखि महाकालीसम्मको सीमाना भूमि नेपाल विश्वकै एउटै नमुना क्षेत्र हो । पृथ्वीको सबैभन्दा ठूलो एसिया महाद्वीपको मध्य भागमा रहेको यो मुलुक भारत र चीनका बीचमा अवस्थित छ । आर्थिक विकासको दृष्टिले निकै अगाडि बढेका दुई छिमेकी भारत र चीनसँग यसको विशेष सम्बन्ध रहिआएको छ । सरदर एक सय ९३ किमि उत्तर–दक्षिण चौडाइ र पूर्व–पश्चिम सरदर आठ सय ८५ किमि लम्बाई क्षेत्र ओगटेको यसको क्षेत्र पूर्वी भागको अपेक्षा पश्चिम भाग फराकिलो छ ।

भौगोलिक दृष्टिले विश्व मान चित्रमा सानो आकार भए पनि विश्वको शिखर सगरमाथाको कारण र विश्वमै नौलो प्राकृतिक, सांस्कृतिक, सामाजिक परिवेश भएकाले यो मुलुकप्रति सबैको चासो बढ्नु स्वाभाविक हो । यसको कुल भू–भागको झण्डै ७७ प्रतिशत उच्च हिमाली क्षेत्र र पहाडी क्षेत्र तथा झण्डै २३ प्रतिशत क्षेत्र तराई भागमा पर्छ । धरातलीय आधारमा यसलाई हिमाली, पहाडी र तराई गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको छ भने अपार जल स्रोतको भण्डार रहेको यो मुलुक लामो विगतदेखि नै पर्यटकहरूको आकर्षणको केन्द्रविन्दु बनेको छ । धार्मिक चासोकै कारणले होला पर्यटन वर्ष २०२० मनाउनुपूर्व भारतका ख्यातीप्राप्त एक धर्मगुरुलाई सद्भावना राजदूतको रूपमा आत्मसात गरिएको छ । उनी हाल भारतका चेन्नई, मुम्बई, दिल्लीजस्ता विभिन्न सहरहरूमा नेपाल भ्रमणबारे प्रचार गरिरहेका छन् ।

उत्तर तिब्बततर्फ सीमाना २५ किमिदेखि ५० किमिसम्मको चौडाइमा रहेको नेपालको क्षेत्रले करिब १५ प्रतिशत भू–भाग ओगटेको छ भने अग्ला हिमशिखर कञ्चनजंघा, मकालु, ल्होत्से, मनासलु, धवलागिरिसम्म यसै क्षेत्रमा पर्छन् । शेर्पा, थकाली, भोटे, आदिको अधिक बस्ती रहेको यो क्षेत्रमा आधुनिक विकासको न्यानो घाम लाग्न नसके पनि पर्यटकहरूको घुइँचोे नै लाग्ने गरेको छ त्यस क्षेत्रमा । बौद्ध धर्मावलम्बीहरूको अधिक बाहुल्यता रहेको यो हिमाली क्षेत्रमा सञ्चार, यातायात, शिक्षा, विद्युत्जस्ता विकासका पूर्वाधार तयार गर्ने होे भने, हामीले कल्पना गरेकोे जस्तो होमस्टे तयार गर्ने हो भने पर्यटकहरू थामी सक्नु हुँदैन त्यहाँ । ७७ जिल्लामध्ये १६ वटा जिल्ला ओगटेको हिमाली क्षेत्रको संस्कृति छुट्टै किसिमको छ ।

नेपालको पहाडी क्षेत्रको आफ्नै महत्वको छ । समुद्रबाट टाढा रहेका कारण तेस्रो मुलुकसँग सम्पर्क गर्न कठिनाइ भएको यो क्षेत्र समुद्र सतहदेखि छ सयदेखि तीन हजार मिटरसम्मको उचाइमा रहेको छ । पूर्व–पश्चिम कडा चट्टानी भाग रहेको यो क्षेत्र ७५ किमि देखि एक सय २५ किमि चौडाइ पूर्व–पश्चिम फैलिएको छ । यो पहाडी क्षेत्रले कुल भू–भागको ६८ प्रतिशत क्षेत्र ओगटेको छ । महाभारतको लेक, रारा, ताल, फेवा ताल, सिवालिक पहाडजस्ता ऐतिहासिक धरोहर बोकेको पहाडी क्षेत्रकै कारण यो मुलुकलाई पहाडी मुलुक भनिएको हो । गण्डकी, कोशी, कर्णाली, सुनकोशी, त्रिशुली, महाकालीजस्ता अति पवित्र नदीहरू यहीँ छन् ।

स्वर्गबाट झरेका, शिव जटाबाट बगेका पावन नदीनालाहरूले हिमाली क्षेत्रदेखि यस भू–क्षेत्रसम्मलाई पवित्र पार्दै भारतको प्रसिद्ध क्षेत्र गंगासागरसम्म पुगेका छन् । अयोध्याको क्षेत्रमा बग्ने पवित्र सरयु नदी नेपाल पश्चिम क्षेत्रकी कर्णाली, महाकाली हुन् । बागमती, विष्णुमती हिजोआज प्रदूषित देखिए पनि तिनको उद्गम क्षेत्र शिवपुरी स्वयं शिवजटा नै हो । गहिरो अरुण, पूर्वको कोशी अनि बहुचर्चित मेलम्ची पनि यिनै पहाडी क्षेत्रबाट बगेका छन् । यी सबैको ऐतिहासिक यथार्थ विदेशीहरूलाई बुझाउन सके भ्रमण वर्ष पूरा नहोला कि भन्ने चिन्ता लिइरहनु पर्दैन ।

राजधानी काठमाडौं, सुन्दर पर्यटकीय नगरी पोखरा, विशाल क्षेत्र ओगटेको सुर्खेतको देउती बज्यै र काँक्रे विहार, अत्यन्त रमणीय क्षेत्र डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, दिपायलको राजापुर के छैन हामीकहाँ ? सिन्धुलीको सभ्यतादेखि रुम्जाटार, बेलटार, मंगलटार, पाँचखाल हुँदै पश्चिम रेसुङ्गादेखि रुरुसम्मको क्षेत्र र पवित्र आर्यघाटदेखि देवघाटसम्मको क्षेत्र प्रवेश गर्दासम्म पनि स्वर्णीम आनन्दको अनुभूति हुन्छ । जनकपुरको जानकी क्षेत्रदेखि नवलपरासीको त्रिवेणी क्षेत्र र डडेलधुराको उग्रतारादेखि डोटीकी शैलेश्वरीसम्मले यो भू–भागलाई तीव्रत्तर देवभूमि र आनन्दभूमि बनाएको छ । देशकोे दुई तिहाइ भू–भाग ओगटेको पहाडी क्षेत्रका ३९ वटा जिल्लाहरू र पूर्वमा माइपोखरीदेखि पश्चिममा महाकालीको ब्रह्मदेव क्षेत्रसम्म पावन र पवित्र छ । ब्राह्मण, क्षेत्री, किराँत, मगर, नेवार, तामाङ आदि विभिन्न जातजातिका मानिसहरू आपसी समन्वयका साथ यस क्षेत्रमा बस्दै आएका छन् । जातिपातिमा बैमनस्यता कहिल्यै भएको छैन । त्यही हेर्न, बुझ्न र चिन्तन मनन गर्न आउँछन् यहाँ विदेशी पर्यटकहरू ।

दक्षिण समथर भू–भाग मुलुकको झण्डै १७ प्रतिशतले ओगटेको तराई क्षेत्र हो । हिमश्रृंखलाहरूको विशाल समथर आँगन हो यो । आँगनविनाको घरको शोभा राम्रो हुँदैन । अन्नको भण्डार र वनको सदुपयोग गर्ने हो भने आर्थिक दृष्टिमा तराई क्षेत्रको विशेष योगदान सधैँ रहिहन्छ । भारतसितको सम्बन्ध, आयात–निर्यात व्यापार र राजस्वको स्रोत क्षेत्र तराई नै हो । कृषिको लागि यो क्षेत्र उर्वर छ । औद्योगिक कलकारखाना, यातायातको सुगमता, पूर्वाधार तयार गर्न सजिलो, जीवनस्तर सरल आदिको कारण तराई क्षेत्र नेपालको आर्थिक विकासको अर्को आधार नै हो ।

मैथिली, भोजपुरी, अवधी, थारु आदि भाषाको बाहुल्यता रहेको यो क्षेत्रमा औलो उन्मूलनपछि झण्डै पाँच दशकदेखि पहाडी एवं हिमाली भेगका मानिसहरू त्यहाँ बसाइँ सरी बस्दै आएका छन् । आपसी कटुता र वैमनस्यतालाई बिर्सेर सहयोगी, सद्भाव र आपसी स्नेहका साथ सबै मिलीजुली बस्दै आएका छन् । विराटनगर, वीरगञ्ज, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगडी, कंचनपुरजस्ता औद्योगिक नगरीहरू यस क्षेत्रमा रहेका छन् । व्यापार, वाणिज्यका दृष्टिले यी सहरहरू उन्नत देखिएका छन् । हावापानीको दृष्टिले केही बढी गर्मी महसुस भए पनि पर्यटकहरूको ओहोरदोहर भइरहन्छ ।

नेपालको प्राचीन इतिहास हेर्दा यसको अस्तित्व अर्वाचीनसम्म भेटिन्छ । सत्ययुगमा यसको नाम सत्यवती थियो । राम राज्यका समय त्रेतामा यसको नाम तपोवन रहन पुग्यो । महाभारतकालीन द्वापरमा यसको नाम मुक्तिक्षेत्र रहन गयो । सुगौलीको सन्धिपूर्व यसको क्षेत्र विशाल थियो । बुद्धको जन्मभूमि नेपाल तराई क्षेत्रमा छ । पवित्र लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतले नियालेर हेरिरहेछ । यसै पर्यटन वर्षकै क्रममा यहाँ अन्तर्राष्ट्रिय विमानस्थल तयार हुने भएको छ । सन् २०२१ मा पोेखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुने, बाराको निजगढ विमानस्थलको पनि चर्चा छ । निजी क्षेत्रका उडान सेवा कम्पनीहरूलाई संसारभर उडान सेवामा जान सक्ने अनुमति दिइने अवस्था छ भने नेपालमा हाल भएका ५३ वटा आन्तरिक विमानस्थलहरूमा १० वर्षभित्र सबैलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने सपना पनि देशले देखिसकेको छ ।

‘अहिंसा परमोधर्म’ नेपालको शान्ति, मैत्री र अहिंसा विश्वको लागि उदाहरण बन्नु नै पर्ने हुन्छ । सबै वैदिक सनातन धर्मका आदिम स्रष्टा विश्व साहित्यका आदि कवि वेदव्यास, महर्षि वाल्मीकि समेतको तपस्थली नेपाल भूमि नै हो । त्रेतायुगका सूर्यवंशी राम आफ्ना पितृ उद्धार गर्न नेपालको पश्चिम क्षेत्रमा पर्यटक भई डोटीमा आएका थिए । साथमा रहेकी सीताको नामले सेती नदी अहिलेसम्म बग्दैछ त्यहाँ ।

विश्व साहित्यका प्रणेता व्यास, वाल्मीकीलगायत उच्च विशिष्ट व्यक्तिहरूबाट तयार भएको वेद, उपनिषद्, पुराणका ग्रन्थ तथा हिन्दु, बौद्ध सभ्यतालाई भरपर्दो रूपले व्यवस्थित गर्न सके हामीलाई कहिल्यै अर्काको हात थाप्नु पर्दैन । पानीको मुहान ठ्याम्मै नभएको सिंगापुरमा पाइपबाट मलेसियादेखि उच्च प्रविधिको उपचारपछि पानी ल्याइएको छ र हरेक सडकमा रहेका धाराहरूबाट कीटाणुरहित पानी सिधै पिउन मिल्छ । हिन्दु धर्मअनुसारको सत्संग, पूजा, अनुष्ठान हरेक शनिबार अमेरिकामा आयोजना हुने गर्छ । साइत हेरेर बिहे, व्रतबन्ध आदिको कार्य गर्ने गरिन्छ । पश्चिमाहरू यहाँ आएर पूर्वी सभ्यताको खोजी गर्दैछन् । उनीहरूको अध्ययन क्षेत्र रहेको छ नेपाल । हामीले भने हामीसँग भएको धर्म, संस्कृति, जल, जमिन, जंगल र जडीबुटीको सदुपयोग गर्न सकेका छैनौँ ।

हिन्दु सभ्यता अति पुरानो सभ्यता हो । पाश्चात्य प्रसिद्ध विद्वान म्याक्स मुलरले हिन्दु सभ्यताको जग वेदको लेखन आजभन्दा छ हजार वर्ष पहिले भएको भनेर स्वीकारेका छन् । अन्य धर्महरू पछि आएर चलेका हुन् । वैदिक सनातन धर्म विश्वकै प्राचीनतम मानिएको छ । देव सृष्टिमा मानव सभ्यताको सुरुवातसँगै सुरु भएको वैदिक संस्कृतिको उद्गमस्थल नेपाल भूमि नै हो । यसको संरक्षण र सम्वर्द्धन हामीले गर्नुपर्ने हुन्छ । प्रसिद्ध चार धाम र ६४ ज्योतिर्लिङ्गको उद्गमस्थल पनि नेपाल नै हो । चार धाममध्येको केदारनाथको शिरोभाग यहीँ छ ।

सिन्धुलीदेखि नेपालका १० जिल्लामा पर्ने ६४ ज्योतिर्लिङ्गजस्ता तपस्थलीलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न सकिन्छ । नेपालकै चार धाम रुरुक्षेत्र, मुक्तिक्षेत्र, बाराहक्षेत्र, पशुपतिक्षेत्र यहीँ छ । हाल पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा तीन प्रतिशतले मात्र आफ्नो योगदान पु-याएकोमा समग्र पर्यटन विकासको क्षेत्रमा सुधार गर्न सके निकट भविष्यमा नै यसको योेगदान १० प्रतिशतमा पु-याउन कठिन छैन । अनि वर्षैपिच्छे पर्यटन वर्ष या पर्यटन दशक मनाउँदा पनि केही फरक पर्दैन । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध