सिंगापुरको वास्तुकलामा विशाल बौद्ध गुम्बा र विद्यालय

सिंगापुरको वास्तुकलामा विशाल बौद्ध गुम्बा र विद्यालय

रामेछाप जिल्लाको उत्तरी भेग उमाकुण्ड गाउँपालिका वडा नं ६ झगरेखानीमा करोडौं रूपैयाँको लगानीमा भव्य गुम्बा, बिहार र बौद्ध शिक्षालयको निर्माण हुने भएको छ । २०७६ साउन ३ गते परमपुजनीय छैटो निर्माणकाय धर्मगुरु थेण्डुप रिन्पुछेले उमाकुण्ड गाउँपलिकामा वडा नं ६ को झगरेखानीमा शान्ति, समद्धि र दिगो विकासका लागि वाङ तथा प्रवचन कार्यक्रमको आयोजना गर्नुभई गुम्बा, बिहार र बौद्ध शिक्षालय निर्माण गर्ने घोषणा गर्नुभएको थियो ।

उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार प्रशासकीय अधिकृत र वडा अध्यक्ष कृष्णबहादुर सुनुवारको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा रामेछाप जिल्लाको उत्तरी भेग उमाकुण्ड, गोकुलगंगा र लिखुतामाकोशी गाउँपालिकाका हजारौँ मानिसहरूको सहभागिता रहेको थियो । उमाकुण्ड गापा वडा न. ६ मा जन्मनुभएका राजनीतिज्ञ तथा पत्रकार कृष्णबहादुर तामाङ र सामाजिक क्षेत्रमा सकृय रहनुभएका कर्म छेतेन लामाको पहलमा गुम्बा, बिहार र बौद्ध शिक्षालयको निर्माण हुने भएको हो ।

परम पुजनीय छैटौँ निर्माणकाय धर्मगुरु थेन्डुप रिन्पुछेज्यूले वाङ तथा प्रवचन र बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माण गर्ने घोषणा गर्नुभएकोे थियो । कार्यक्रममा धर्मगुरु रिन्पुछेले उमाकुण्ड ६ झगरेखानीमा करिब चालीस रोपनी क्षेत्रफलमा भव्य बौद्ध गुम्बा, बिहार, शिक्षालय र प्रवचन दिन आउने रिन्पुछे र धर्मगुरुहरूको निम्ति विशिष्ट र साधरण गरी दुईवटा अतिथिगृहको पनि निर्माण गर्ने भोषणा गर्नुभएको थियो । निर्माण सम्पन्न गर्ने योजना सफल बानाउन गाउँपालिका र वडाका जनप्रतिनिधिहरूले आफूले गर्न सक्ने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता र घोषणा समेत गरेका थिए ।

बैद्ध गुम्बा, बिहार र शिक्षालय निर्माणको निम्ति यसै वडाका बासिन्दा गरुडसिंह तमाङले बाह्र रोपनी जग्गा दान गरेका छन् भने बाँकी जग्गाको व्यवस्थापन गाउँपालिका र वडाका जनप्रतिनिधिहरूले उपलब्ध गराएका छन् । नेपाल प्राकृतिकरूपमा संसारकै धनी देश भए पनि आर्थिकरूपमा गरिब देश हो । उमाकुण्डको झगरेखानी रामेछाप जिल्लाकै विकट र विकासका दृष्टिले समेत पछि पारिएको गाउँ हो ।

झगरेखानी विकासको दृष्टिले अत्यन्तै नाजुक, राज्यले दिनुपर्ने र गर्नुपर्ने विकास निर्माणका हरेक कुरामा पछि पारिएको छ । यो ठाउँलाई भौतिक पूर्वधार तथा विकासमा मात्र नभई शिक्षाजस्तो अत्यन्तै अपरिहार्य विषयमा समेत पछि पारिएको छ । आर्थिक, सामाजिक, शैक्षिक, भौतिक पूर्वधारका विकासलगायत हरेक क्षेत्रमा पछि पर्दा यहाँका जनताहरूलाई धेरै पीडाबोध हुने गर्दछ । यस क्षेत्रको जनताको आर्थिक स्थिति राम्रो बनाउन सक्ने कुनै आधार नभएपछि यहाँका युवाहरू गाउँनै खालि गरेर विदेश पलायन हुनुपर्ने डरलाग्दो अवस्था रहेको छ । 

नेपाली भूमिमा जन्मनुभएका भगवान बुद्धको दर्शन र बुद्ध धर्म संसारभर फैलिँदै र लोकप्रिय हुँदै गइरहेको छ । तर, नेपालमा बौद्धमार्गीहरूको जनसंख्या दश प्रतिशत पनि छैन, जुन दुःखद कुरा हो । नेपालमा बुद्ध धर्म पछि पर्नुको थुप्रै कारणहरू छन, ती सबै कारणहरू यहाँ उल्लेख गर्न सकिँदैन । अन्य धर्मलाई बौद्धमार्गीहरूले कहिले सानोठूलो भनी भेदभाव गर्दैन । अनेक आलोचना गर्नुभन्दा पनि बौद्ध धर्म र दर्शनको कसरी जर्गेना गर्ने र मानव उपयोगी बौद्ध दर्शनलाई कसरी सबैतिर फैलाउने भन्ने मुख्य कुरा हो । 

बुद्धका दर्शन र महाज्ञानहरूलाई आम नेपाली समुदायले बुझ्ने गरी नेपाली भाषामा नसिकाउनु र नपढाउनु नै बौद्ध धर्म पछि पर्नुको मुख्य कारण हो । बाौद्ध दर्शन र महाज्ञानहरूलाई नेपाली भाषामा सिकाउने र पढाउने व्यवस्था गरेको भए सायद आज नेपालमा सतप्रतिशत नेपालीहरू बैद्धमार्गी बन्ने थिए होला । बुद्धका दर्शन र महाज्ञानहरूलाई नेपाली भाषामा नसिकाउने, नपढाउने र लुकाइछिपाइ राख्ने गरेकै कारण बुद्ध जन्मेको देश नेपालका नागरिकहरूलाई बौद्धमार्गी हौ भन्न पनि लाज लाग्ने अवस्थाको सृजना भएको छ । 

लामा नपढेका वा तिब्बती भाषा नजानेका अधिकांस नेपाली नागरिकहरूलाई बौद्ध दर्शका पञ्चशील र अष्ठशीलको सामान्य सिद्धान्त समेत थाहा हँुदैन भने कसरी बौद्ध दर्शन र धर्मको विकास हुन्छ ? नेपालका बौद्धमार्गीहरूलाई बौद्ध धर्म र दर्शनअनुसार गरिने जन्म, बिवाह, मृत्यु संस्कार र सामान्य धार्मिक पूजापाठ मात्रै गर्न जानेका छन् । बुद्ध धर्मको शास्त्र त्रिपिटक नै नेपाली भाषामा छैन भने आदिवासी समुदायको भाषामा हुने कुरै भएन । बरु अहिले नेपालका सबै गाउँबस्तीको आदिवासी समुदायको हातहातमा आदिवसी समुदायकै भाषामा बाइवल पुगेका छन् र बौद्ध तथा हिन्दु धर्ममाथि धार्मिक अतिक्रमण भइरहेको छ ।

झगरेखानी र धर्मगुरु थेन्डुप रिन्पुछेले बौद्ध गुम्बा, बिहार र स्कुल निर्माण गर्ने घोषणा गर्नुभएकै स्थानमा निर्माण भएमा त्यस क्षेत्रमा बौद्ध धर्म र दर्शनको ज्ञान व्यापकरूपमा फैलनेछ । परमपुजनीय धर्मगुरु रिन्पुछेले यसको निर्माण गर्ने घोषणा गर्ने क्रममा योजना सम्पन्न भएपछि यस गुम्बामा नियमितरूपमा धर्मगुरु र रिन्पुछेहरूबाट बौद्ध धर्म र बौद्ध दर्शनका बारेमा नियमितरूपमा प्रवचनहरू दिइने र धर्म गुरु थेन्डुप रिन्पुछे स्वयम् उपस्थित भएर हरेक छ महिनामा एक पटक करिब पाँच हजार जनालई बौद्ध धर्म र दर्शनको बारेमा प्रवचन दिने घोषणा पनि गर्नुभएको छ ।

धर्म्गुरु रिन्पुछेले निर्माण गर्नुहुने यस गुम्बामा बुद्ध दर्शनहरू पढाइनेछन्, बौद्ध दर्शनका महत्वपुर्ण कुराहरू जीवनमा लागू गर्न सिकाइनेछ । बौद्ध धर्म, दर्शन र ज्ञानको महत्वका बारेमा यस ठाउँका बौद्धमार्गीहरूलाई प्रवचनद्वारा सिकाइनेछ र यस गुम्बामा थुप्रै विद्यर्थीहरूलाई पढाइनेछ । बौद्ध धर्म र दर्शनको विषयमा रामेछापका मात्रै नभएर दोलखा, सोलुखुम्बु र ओखलढुंगाका जनताले समेत लाभ लिन सक्नेछन् भने भेगीय हिसाबले उमाकुण्ड, गोकुलगंगा र लिखुतामाकोशीका बौद्धमार्गीहरू बढी लाभान्वित हुनेछन् । 

बौद्ध धर्म र बुद्धका दर्शनहरूलाई आज विश्वका सबै धर्म र समुदायले अनुसरन गरिरहेका छन् । उहाँका जीवनका दुःख, रोग, भोक, माया, लोभ, घृणा र तिरस्कार, क्रोध, घमण्ड आदिका विषयमा दिनुभएका ज्ञानमार्ग र दर्शनहरू, शान्ति र जीवनका मध्यम मार्ग मानव समुदायको जीवनका र सम्पूर्ण प्राणी जगतको भलाइको लागि हो भन्ने कुरा विश्वका शिक्षित सभ्य मानव समुदायले बुझिसकेका छन् र विश्वभर दिनमा दुई गुणा र रात चौ गुणाको दरले बुद्धका अनुयायीहरू बढदै गइरहेका छन् । 

मानव समुदायको सामाजिक र धार्मिक विषयमा मात्र महत्व नभएर बौद्ध धर्म र दर्शनको महत्व आर्थिक र पर्यटनको विकासमा समेत रहेको देखिन्छ । यस आयोजनाको निर्माण कार्य सम्पन्न भयो भने त्यस क्षेत्रको मानव समुदायको दैनिक जीवनमा केही सकारात्मक परिवर्तन ल्याउनेछ । यस आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रको पर्यटन र रोजगार व्यवासायको विकासमा वृद्धि हुनेछ जसले आर्थिक विकासका अवसरहरू सिर्जना गर्नेछन् । आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेपछि यस क्षेत्रका बौद्ध धर्म र दर्शनका बारेमा पढ्न चहनेहरूले आफ्नै ठाउँमा बसेर बौद्ध धर्म र दर्शनको अध्ययन गर्न पाउनेछन् । बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माणको सबैभन्दा महत्वपूर्ण विषय यही हो । यस आयोजनाको निर्माणले यस क्षेत्रको मानव सभ्यताको विकास र सामाजिक एकतामा बल प्रदान गर्नेछ । 

परमपुजनीय छैटौ निर्माणकाय धर्मगुरु थेन्डुप रिन्पुछेले तेस क्षेत्रमा निर्माण गर्ने भनी घोषणा गर्नुभएको बौद्ध गुम्बा, बिहार र शिक्षालयको योजना अहिले कुन अवस्थामा अघि बढिरहेको छ यस बारेमा त्यस क्षेत्रका स्थानीय मानिसहरू बेखर रहेका छन् । यस क्षेत्रका मानिसहरूलाई यतिबेला श्रद्धेय धर्मगुरु थेन्डुप रिन्पुछेले घोषणा गर्नुभएको यस योजना निर्माण हुन्छ कि हुँदैन भन्ने चिन्ता र चासोको विषय भएको छ । त्यस क्षेत्रमा बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माण कार्यको योजनाकार धर्मगुरु र सम्बन्धित सबै सरोकारवालाहरू लागि परेका कारण यस क्षेत्रका जनप्रतिनिधिहरू यस शिक्षालयको निर्माण हुने कुरामा पूर्ण विस्वासमा छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस