कृषिको व्यवसायीकरण र दिगो विकास

कृषिको व्यवसायीकरण र दिगो विकास

विश्व मानचित्रमा शून्य दशमलव शून्य तीन प्रतिशत र एसियामा शून्य दशमलव तीन प्रतिशत भू–भाग ओगेटेर दुई विशाल देशहरू चीन र भारतको बीचमा रहेको नेपाल मुलतः कृषिप्रधान देश हो । देशको अर्थतन्त्रको ठूलो हिस्सा कृषि क्षेत्रले ओगटेको छ भने यो पेशा समग्र नेपाली जीवन प्रकृतिकै एउटा अभिन्न पाटो हो भन्दा अतियुक्ति नहोला । यसलाई तथ्यांकगतरूपमै जाने हो भने पनि कृषि विकास मन्त्रालयका अनुसार ६५ दशमलव सात प्रतिशत नेपालीहरू कृषिमा आश्रित रहेका छन् ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले करिब ३५ प्रतिशत योगदान पु-याएको अनुमान छ । राष्ट्रिय आय तथा रोजगारीमा कृषि क्षेत्रले उल्लेखनिय स्थान ओगटेको छ । यसबाट बढ्दो जनसंख्याको भरणपोषणलगायत जीविकोपार्जन र आयआर्जनमा ठूलो हिस्सा रहेको छ । यसबाट के कुराको अवगत हुन्छ भने कृषि नै अर्थतन्त्रको मेरुदण्ड हो । राष्ट्रमा दिनप्रतिदिन बढ्दोरूपमा जनसंख्या वृद्धि, खेतीयोग्य भूमिको सीमितता, खेतीपाती गर्ने पुरानै प्रचलन, प्राकृतिक स्रोतहरूको जथाभावि प्रयोग एवं अज्ञानता आदि कारणहरूले गर्दा कृषि उत्पादनमा क्रमिकरूपमा ह्रास आउँदै गइरहेको छ । फलस्वरूप केही दशकअघि खाद्यान्न निर्यात गर्ने देश आज आएर खाद्यान्न आयात गर्नुपर्ने स्थिति आएको छ । यसले गर्दा हाल देशमा खाद्य संकटको स्थिति गुज्रिरहेको छ । समयमा नै यसप्रति ध्यान नदिने हो भने भविष्यमा गएर विकराल स्थिति नआउला भन्न सकिन्न । 

देशको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्व र योगदान रहेको एकातिर छ भने अर्कोतिर बहुसंख्यक किसानहरूको रोजगारी र आम्दानीका अवसरहरू वृद्धि गर्न कृषि क्षेत्रको व्यवसायीकरण एवं व्यापारीकरण गर्न जरुरी छ । कृषि विकासको जिम्मा लिएको कृषि विकास तथा पशुपन्छी मन्त्रालयका अनुसार कुल खेती गरिएको भूमि ३० लाख ९१ हजार हेक्टर विभिन्न बालीनालीहरूको खेती भएको अनुमान छ । कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार अन्नको भण्डार मानिने तराईका जिल्लाहरूमा पनि खाद्यान्नको अभाव हुन गइरहेको सम्बन्धित क्षेत्रले उल्लेख गर्दै आएको छ । कृषि विकासको लागि आवश्यक पर्ने उन्नत बीउबिजन, मल, उन्नत औजार आदिका कारणहरूले गर्दा पनि प्रतिइकाइ खाद्यान्न उत्पादकत्वमा न्यून हुँदै गइरहेको छ ।

विगतका वर्षहरूमा बाली लगाउने बेलामा हुने रसायनिक मलको हाहाकारको स्थितिले गर्दा खाद्यान्न उत्पादनमा प्रतिकूल असर पर्दै गएको सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ । यसको साथसाथै उर्वर भूमिको चर्को रूपमा खरिद बिक्री, कृषि मजदुर विदेश पलायन र आधुनिक प्रविधिका साथ व्यावसायिकरूपमा खेतीपाती हुन नसक्दा पछिल्लो समय त्यहाँको खाद्यान्न बालीको उत्पादकत्व घट्दो क्रममा रहेको छ । देशको कृषि क्षेत्र विगत केही वर्षदेखि निर्वाहमुखी भएकोमा केही वर्षयता व्यवसायउन्मुख भैरहेको छ ।

साना टुक्रे भूमिको खण्डीकरण, सिंचाइ हुन नसकेका भूमि, खेती गरिने उर्वर भूमिमा जमिन्दारको अनुपस्थिति, साना सीमान्त किसानहरूको भूमिमा खेतीका लागि जल, मल, गुणस्तरीय बीउबिजन, बाली संरक्षण, उन्नत औजार उपकरण तथा ऋणमा न्यून पहुँच हुनु, उत्पादित फसलको परिमाण सानो हुनु, कृषि बजार केन्द्र र भण्डारण केन्द्रको सहज व्यवस्थाको कमी हुनुले कृषि उत्पादन र उत्पादकत्वमा ह्रास आएको छ । स–साना परिमाणमा कृषि उपजहरू साना र मध्यम वर्गका कृषकहरूबाट उत्पादन भई बजारमा पु-याउन लागत बढी लाग्ने हुँदा यस्ता साना किसानहरूले फाइदा लिन नसक्दा कृषि क्षेत्रबाट पलायन हुन थालेका छन् । कृषि क्षेत्रमा सरकारी लगानी न्यून हुनुका कारण पनि कृषि क्षेत्रको व्यवसायीकरण र व्यापारीकरण हुन सकिरहेको छैन । 

विगतका वर्षहरूमा कृषि क्षेत्रको वार्षिक वृद्धिदर अपेक्षाकृत सन्तोषजनक हुन सकेको थिएन । कृषि क्षेत्रबाट प्राप्त हुन गएको रोजगारी अवसर र मुलुकलाई समष्टिगतरूपमा प्रदान हुने खाद्य सुरक्षाको कारण अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय रहन गएको हो । कृषि क्षेत्रलाई व्यवसायीकरण तथा विविधीकरण गरी तुलनात्मक लाभ एवं प्रतिस्पर्धाको लागि सक्षम बनाउनु आवश्यक छ । कृषि क्षेत्रको उत्पादन एवं उत्पादकत्व वृद्धि गरी बहुसंख्यक कृषक समुदायको जीवनस्तरमा सकारात्मक सुधार ल्याउन कृषि विकासका कार्यक्रमहरू केन्द्रित रहेका छन् । खाद्यान्न बालीहरू धान, मकै, गहुँ, जौ, कोदो, फापर आदिमा भएको उत्पादन र उत्पादकत्व वृद्धिले नेपालको खाद्य सुरक्षामा टेवा पुगेको छ ।

हाम्रो राष्ट्रिय आय विदेशी मुद्रा आर्जन विदेश व्यापार र रोजगारी प्रदान गर्ने सन्दर्भमा कृषिको सर्वोपरी महत्व छ । आर्य हिन्दु संस्कृतिबाट विकसित नेपाली समाजमा धार्मिक, अन्धविश्वास, रूढीवादी तथा कुसंस्कृतिले जरो गाडेको छ । यहाँ शिक्षा र चेतनाको क्षेत्रमा विकास हुन सकेको छैन । यसैले गर्दा हाम्रा पुर्खाहरूले गरिआएको परम्परालाई नै पछ्याउँदै आएका छौँ । यो नै हाम्रो पछौटेपन हो । यसकारण कृषि क्षेत्रमा आधुनिकीकरण ल्याउन नयाँ प्रविधि, ज्ञान, सीप आदिको विकास गराउँदै लैजानु नितान्त आवश्यक देखिन्छ । मुलुकको कुल परिवार संख्या ५४ लाख २३ हजार दुई सय ९७ मध्ये ४१ दशमलव चार प्रतिशत अतिसाना कृषक समूह र ३० दशमलव आठ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेका ग्रामीण जनताको जीवनस्तर उकास्न एवं उत्थान गर्नमा पनि यस व्यवसायले ठूलो भूमिका खेल्न सक्छ । 

अन्त्यमा भन्नुपर्दा कृषिलाई व्यवसायीकरण एवं व्यापारीकरण नै गर्ने हो भने तराईको उर्वर भूमिमा सिंचाइ सुविधा उपलब्ध गराउने, वैज्ञानिक कृषि प्रणाली अवलम्बन गर्ने र वैज्ञानिक भूमिसुधार कार्यक्रम लागू गरी गरिब किसानलाई जग्गा वितरण गर्न आवश्यक छ । किनकी पुरानो संरचनामा ८६ प्रतिशत नेपाली जनता कृषिमा संलग्न रहेका छन् । त्यसमध्ये पनि ६६ प्रतिशत कृषक परिवारका हातमा राष्ट्रिय आयको २० दशमलव ५९ प्रतिशत मात्र पर्छ । नेपालमा योजनाबद्ध आर्थिक विकासको थालनी विसं २०१३ सालबाट भएको थियो । दोस्रो त्रिवर्षीय योजना र पहिलोदेखि दशौं पञ्चवर्षीयसम्मका पञ्चवर्षीय योजनाका वर्ष र बहुदल र गणतन्त्रकालसहित एक शताब्दी पुग्न थाल्दा पनि योजनाबद्धरूपमा आर्थिक विकासको प्रयास अघि बढ्न सकेको छैन ।

वस्तुतः नेपालको आर्थिक विकासको गतिलाई निराशाजनक नै मान्नुपर्छ । सन् १९७० को दशकमा खाद्यान्न निर्यात गर्ने नेपाल पञ्चायतकालीन समयमा होस् वा अहिलेको समयमा खाद्यान्न आयात गर्ने अवस्थामा आइपुग्नु यसको प्रमाण हो । त्यसैले यहाँको कृषि उद्योगधन्दा नै फस्टाउन सकिरहेको छैन । अब आएर सरकारी, गैसस, स्थानीय निकाय र स्थानीय कृषक समूह र सहकारीको साझेदारी र सहकार्यमा कृषि उपज संकलनदेखि लिएर प्रतिइकाइ उत्पादकत्व वृद्धिलाई व्यवस्थितरूपमा परिचालन गर्न सकेमा ग्रामिण क्षेत्रका कृषक समुदायको रोजगारी र आम्दानी वृद्धि हुँदै जाँदा कृषि क्षेत्रको व्यवसायीकरण र व्यापारीकरणमा समेत टेवा पुग्ने कुरामा कसैको दुई मत नहोला । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस