विद्या भट्टराई : ‘आँशुको व्यापार’को आरोपलाई जनमतबाटै जवाफ

विद्या भट्टराई : ‘आँशुको व्यापार’को आरोपलाई जनमतबाटै जवाफ

काठमाडौँ, मङ्सिर १६
वास्तवमै कठिन थियो–विद्याको राजनीतिक यात्रा । ‘सेतो साडीमा आँशुको व्यापार गरेर सहानुभूति बटुल्न खोजेको’ आरोप लाग्दा कुनै बिझाउने जवाफ नदिइ विद्या भट्टराईले अन्ततः जनताको मतबाट गतिलो जवाफ दिइन ।राष्ट्रिय चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं. २ को उपनिर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार भट्टराई प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरसहित निर्वाचित भइन । उनले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतान्तरले विजय हासिल गरेर राजनीतिमा आफ्नो पकड देखाइन ।

दिवङ्गत नेता रवीन्द्र अधिकारीका जीवनसँगीनी भएकाले पनि उनीप्रतिको चासो उत्तिकै थियो । राजनीतिक पृष्ठभूमिका आधारमा उनी राजनीतिमा आउनुपर्छ भन्ने जमात पनि बाक्लै थियो, त्यही भावनालाई नेकपाले मनन गरेर टिकट दियो । जब नेकपाको कास्की जिल्ला कमिटीले उनलाई एकमात्र उम्मेदवारका रुपमा नाम सिफारिस ग¥यो, तब उनीमाथि पार्टीभित्रैबाट रोक्न प्रयास नभएको होइन ।

नेत्री भट्टराईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाका एक अभियानकर्मी अधिकारीले विकास र समृद्धिका लागि साँच्नुभएका सपना तथा आफ्ना योजनालाई पूरा गर्दै जनताको आफूमाथिको आशा र भरोसा टुट्न नदिएर राजनीतिक यात्रामा अघि बढ्ने बताइन ।

भट्टराईले कहीँ कतै एक थोपा आँसु झारेर मत मागिनन् । पीडाका ती तमाम अवस्था बिर्सन खोजे पनि उनका अगाडि मतदाता रवीन्द्रलाई सम्झेर भक्कानिन्थे तर उनले आफूलाई सम्हालिन र मतदातालाई निडर भएर सम्झाइन । आरोप प्रत्यारोपमा नउत्रिएर राजनीतिक संस्कारको उच्चतम उदाहरण उनले प्रस्तुत गरेकी थिइन । विद्या भट्टराई आफ्ना पति अधिकारीको मृत्युपछि कुनै पदको लोभले राजनीतिमा प्रवेश गरेकी कदापि थिइनन । एउटा बाध्यता थियो । आम जनताको चाहना थियो ।

वि.सं. २०२९ कात्तिक २९ मा काठमाडौँमा जन्मीएकी भट्टराईमा सानै उमेरमा राजनीतिक चेत थियो । उनी ७ कक्षा पढ्दा नै अनेरास्ववियुमा आबद्ध भएकी थिइन । वि.सं. २०४२ मा पशुपति मित्र मा.वि., चावहिल काठमाडौँमा ७ कक्षामा अध्ययनरत हुँदा अनेरास्ववियुले आयोजना गरेको सरसफाइ आन्दोलन, हाजिरीजवाफ, वक्तृृत्वकला, वृक्षरोपण आदिमा सहभागी भएर उनले आफ्नो राजनीतिक यात्रा शुरु गरिन ।

वि.सं. २०४७ मा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध भइन । अखिल नेपाल महिला सङ्घको जिल्ला समिति काठमाडौँमा कोषाध्यक्ष हुँदै उनी तत्कालीन नेकपा (एमाले)को सङ्गठित सदस्यका रुपमा राजनीतिक यात्रामा अघि बढिन । वि.सं. २०४८ मा अनेरास्ववियु राष्ट्रिय परिषद्मा निर्वाचित भएकी विद्या १८ वर्षकै उमेरमा एमाले वडा कमिटी सदस्यसमेत बनिन ।

नेविसङ्घको वर्चस्व रहेको पद्मकन्या क्याम्पसमा २०४९ सालमा स्ववियु सभापतिमा उम्मेदवार बनेकी थिइन । वि।सं। २०५० बाट अनेरास्ववियु महिला विभाग प्रमुखका रुपमा उनी क्रियाशील हुँदै २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव बनिन । पार्टीको सिद्धान्त र विचारबाट निरन्तर अघि बढ्दै जाँदा एमालेका जुझारु युवानेता अधिकारीसँग उनको निकटता बढ्यो । साथीभाइको शुभेच्छा र विचारको निकटाताले रवीन्द्र र विद्यालाई जीवनमा पनि एक हुन प्रेरित ग¥यो । उनीहरुले २०५६ साल असार २६ गते वैवाहिक जीवन प्रारम्भ गरे ।

रवीन्द्रको राजनीतिक गतिशीलतालाई उचाइ दिन र परिवारलाई व्यवस्थापन गर्ने थप जिम्मेवारी बहन गर्न उनले पर्दा पछाडिबाट राजनीति सहायोगीका रुपमा भूमिका निर्वाह गरिन । वि.सं. २०५८ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्राध्यापन शुरु गरेकी भट्टराई पछिल्लो समय त्रिविमा उपप्राध्यापक थिइन् । उनेले समाजशास्त्रमा एमफिल गरेकी छन् भने त्रिविमा समाजशास्त्रका सिद्धान्त र विकासका सिद्धान्तको अध्यापन गराउँदै आएकी थिइन । राजनीतिक चेत समाजको गहिरो अध्ययनले प्राध्यापन पेशामा राजीनामा दिएर राजनीतिमा पुनरागमन गरिन ।

प्राज्ञिक र तार्किक क्षमताका रुपमा परिचित उनी चुनावी अभियानमा घरदैलोमा पुग्दा लोकप्रिय उम्मेदवारका रुपमा स्थापित हुन सफल भएकी थिइन । उनको राजनीतिमा पुनरागमनले धेरै महिलालाई राजनीतिमा ऊर्जा थपेको देखिन्छ । अहिले विद्याले जीत हासिल पारेको यस क्षेत्रमा रवीन्द्रले पहिलो संविधानसभा २०६४ र दोस्रो संविधानसभा २०७० र आम निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचन २०७४ सालमा जितेर ह्याट्रिक गरेका थिए ।

रवीन्द्रको उत्तराधिकारीका रुपमा चुनावी मैदानमा होमिएकी भट्टराईले रवीन्द्रको विरासतलाई जोगाउँदै विजय यात्रा जारी राख्न सफल भइन् । वि.सं. २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीको निधनले शोकमा रहेकी भट्टराईले शोकलाई शक्तिमा बदले आम कस्केलीको चाहनालाई स्वीकार्दै चुनावमा होमिएर विजयी हासिल गरिन ।

प्रतिकृया दिनुहोस