दोलखामा राहदानी बनाउनेको संख्यामा वृद्धि 

दोलखामा राहदानी बनाउनेको संख्यामा वृद्धि 

दोलखा, मंसिर १६ 
दोलखामा गत वर्षको तुलनामा यस वर्ष राहदानी बनाउनेको संख्यामा वृद्धि भएको छ । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा तीन हजारको हाराहारीमा स्थानीय जिल्लाका महिला तथा पुरुषले राहदानीका लागि आवेदन दिएका छन् भने दुई हजारभन्दा बढीले राहदानी लिइसकेका छन् । पछिल्लो समयमा वैदेशिक रोजगारीका लागि तथा डीभी चिट्ठा पारेर अमेरिका जाने आशमा राहदानी बनाउनेको संख्यामा वृद्धि भएको हो । गरिबी र बेरोजगारीका कारण वैदेशिक रोजगारीमा जानका लागि राहदानी लिने युवायुवतीको संख्या बढेको जिल्ला प्रशासन कार्यालय चरिकोटले जनाएको छ ।

जिल्लाका अधिकांश युवा कोरिया भाषा पढेर कोरिया जानको लागि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय आउने गरेको पाइएको छ । विदेशमा काम गर्न, पढ्न र घुम्न जानका लागि राहदानी बनाउने युवाहरूको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार आर्थिक वर्षको साउन महिनादेखि मंसिर १३ गतेसम्म दुई हजार नौ सय ४५ जनाले राहदानी लिएका छन् । साउनदेखि असोज महिनामा एक हजार दुई सयभन्दा बढीले अमेरिकाले जारी गरेको डीभीको लागि आवेदन दिन र राहदानी लिन युवाहरू आएको कार्यालयले जनाएको छ । 

विशेषगरी राहदानी लिनेमा युवा र शिक्षक रहेका छन् । एक पटक डीभी परेपछि लामो समय विदेशमै बसेर परिवारका अन्य सदस्य पनि लैजान मिल्ने वातावरण भएकाले पनि विद्यालयका शिक्षकहरूले पनि राहदानी लिएका हुन् । साथै कतिपयले वैदेशिक भ्रमणका लागि पनि राहदानी बनाउने गरेको कार्यालयले जनाएको छ । राहदानी बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका बैतेश्वरका विशाल बस्नेतले विदेशमा काम गर्न जानका लागि राहदानी बनाउन आएको बताए ।

उनले नेपालमा स्वरोजगार कार्यक्रम सरकारले गरे पनि लामो समयसम्म रोजगार नदिएकाले आफू विदेशिनु पर्ने बाध्यता रहेको बताए । सन्तान र श्रीमती पाल्नकै लागि वैदेशिक रोजगारमा जानुपर्ने आम युवाहरूको स्थिति रहेको छ । तामाकोशी गाउँपालिका जफेका हरि तामाङ पनि मलेसिया जानाको लागि भन्दै आइतबार राहदानी बनाउन चरिकोट आएका थिए । गरिबीको कारण आफू घरखर्च चलाउनका लागि नै विदेश जान लागेको सुनाए । 

कार्यालयबाट साधारण र दु्रत राहदानीका लागि आवेदन दिने धेरै रहेका छन् । राहदानी आवेदन दिनेमा पछिल्लो समय महिलाको संख्यामा वृद्धि भए पनि महिलाको तुलनामा पुरुष नै बढी रहेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी अलौखबहादुर आलेले जानकारी दिए । दुई महिनाको अवधिमा सात सय ८३ जना महिला र एक हजार आठ सय ५१ जना पुरुषले राहदानी लिएको उनले बताए ।

उनका अनुसार विशेषगरी विदेशी राष्ट्र कोरिया, जापान, अमेरिका, अस्ट्रेलिया र खाडी मुलुक मलेसिया, दुबई, कतारलगायतका देशमा रोजगारीका लागि जान दु्रत राहदानीका लागि चार सय ९४ महिला र करिब नौ सय पुरुषले गरी एक हजार तीन सय जनाले कार्यालयमा आवेदन दिएका छन् । त्यसैगरी साधारण राहदानीका लागि तीन सय छ महिला र छ सय ६३ पुरुष गरी नौ सय ६३ जना आवेदन दिएको कार्यालयले जनाएको छ । कतिपयले भने जिल्ला प्रशासन कार्यालय दोलखाबाट राहदानीका लागि सिफारिस लगेर काठमाडौँबाट पनि राहदानी लिने गरेका छन् । गत आर्थिक वर्ष २०७५/०७६ मा भने तीन हजार एक सय ७७ ले राहदानी लिएका थिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस