काम गर्न नसके राजीनामा देऊ : ऊर्जामन्त्री पुन

काम गर्न नसके राजीनामा देऊ : ऊर्जामन्त्री पुन

काठमाडौँ, मंसिर १६ 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कार्यसम्पादन सम्झौताअनुसार काम गर्न नसके राजीनामा दिन मातहत निकायका कर्मचारीलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको ०७६/०७७ को प्रथम चौमासिक प्रगति समीक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा उनले कार्यसम्पादन सम्झौताअनुसार काम नभएको तर्फ संकेत गर्दै उक्त कुरा बताएका हुन् । 

सम्झौताअनुसार काम नगरी बस्ने र राजीनामा पनि नदिए जिम्मेवारीबाट हटाउने चेतावनी समेत मन्त्री पुनले दिएका थिए । ‘मैले प्रधानमन्त्रीज्यूसँग कार्यसम्पादन सम्झौता गरेको छु, म त्यहीअनुसार काम गर्छु, सचिवज्यूले मसँग गर्नुभएको छ । त्यस्तै सचिवज्यूसँग सहसचिव र अन्य उच्च अधिकारीले सम्झौता गर्नुभएको छ’, मन्त्री पुनले भने । सम्झौताअनुसारको काम भयो कि भएन अहिलेलाई त्यो नै मूल्यांकन भएको बताउँदै उनले कार्यसम्पादनअनुसार काम नभएको भए आफ्नो जिम्मेवारीबारे सोच्न अनुरोध गरे । 

राज्य र सरकारको कार्यशैली फेरिएको भन्दै उनले त्यहीअनुसार काम गर्न पनि निर्देशन दिए । उनले भने, ‘प्रधानमन्त्री, मन्त्रीले भनेको कुरा हो भन्दै गर्छन् यस्तै हो चलिरहन्छ भन्ने कुरा जस्तो भयो । लेखेको, नेतृत्वले भनेको र योजनामा रहेको कुरा कार्यान्वयन गर्ने हो भन्ने देखिएको छैन । यसलाई गम्भिरतापुर्वक लिनुहोस ।’ 

उनले बजेटमा एउटा उल्लेख भएको र काम गर्दा त्यसलाई बेवास्ता गर्ने कार्यशैली देखिएको भन्दै लक्ष्यभन्दा बाहिर गएर काम नगर्न समेत निर्देशन दिए । राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनामा गम्भीर भएर काम गर्न र फिल्डमै गएर आयोजनाको अवस्था बुझ्न र सहजीकरण गर्न पनि उनले आग्रह गरे । 

अन्तर्मन्त्रालय र अरु निकायलाई दोष देखाएर आफू पन्छिने काम भइरहेको भन्दै मन्त्री पुनले नेतृत्वले समस्याको समाधान आफैले गर्नुपर्ने बताए । ‘तपाईंहरुले राष्ट्रिय गौरव र प्राथमिकतामा परेका आयोजनाहरुको सोझै सचिव, महानिर्देशकहरुले नै निगरानी र सहजीकरण गर्नुप-यो, आफै फिल्डमा गएर भए पनि समस्याको समाधान गर्नुप¥यो । अहिले पनि अरुलाई मात्र दोष दिएर उम्किने काम राम्रो होइन’, उनले भने ।  (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस